म आश्रम फर्किएँ । मानव जातिको इतिहास बदल्ने उद्देश्यले बनेको भवन कति छिटो व्यापारिक प्रयोजनका लागि भाडामा लागिसकेको रहेछ ! त्यो देखेर म एक पटक भक्कानिएँ ।

गोदावरीमा अवस्थित शान्ति-वन नजिकैको सुन्दर जङ्गल । त्यहाँ पुग्ने जो कोही पनि आफ्ना सम्पूर्ण दुःख भुलेर आनन्दमा मग्न हुन्थे । त्यहाँ बनेका कुटीहरूमा साधक, योगी, ऋषि, महर्षिहरूबाट अखण्ड रूपमा जप, ध्यान, हवन, यज्ञ आदि भइरहन्थे । यस्ता विविध यज्ञ-तपस्याद्वारा दिव्य बनेको यस भूमिमा गुरु हिरानन्द आफ्ना शिष्यहरूलाई बेलाबेलामा उपदेश दिन्थे ।

एक दिन उनले उपदेश दिने समय पारेर उनका शिष्य कैलाशानन्दले उनीसँग जिज्ञासा राखे, “गुरुदेव ! यो ठाउँ निकै दिव्य छ । हामीजस्ता भड्किएका, आफ्नो गन्तव्यबाट टाढिएका; असफलता, रोग, शोक आदिको चपेटामा परेका अर्थात् नरकतुल्य जीवन बाँचिरहेका लाखौँ मानिसहरूले आज भौतिक शिखर चुमेर पनि स्वस्थ, परमानन्दमय जीवन बाँचिरहेका छन् । यस दिव्य ठाउँको रहस्यबारे जान्ने इच्छा थियो ।”

= = =

हिरानन्द एक पटक मुसुक्क हाँसे र भन्न सुरु गरे –

धेरै पहिलाको कुरा हो, सफलताको शिखर छुन दौडिएका विलास ढकालको स्वास्थ्य-अवस्था बिग्रियो । उपचारका लागि जति अस्पताल-औषधि गर्दा पनि समस्या घट्नुको सट्टा झनै बढ्दै गयो । रोगले आकुल-व्याकुल भएपछि योगबाट समस्या ठिक हुन्छ भनेर उनले कतैबाट सुने । झिनो आशा बोकेर उनी योग सिक्न निस्किए । निरन्तर योग अभ्यास गरे । बिस्तारै उनको स्वास्थ्य-समस्या ठिक हुँदै गएन मात्र, एकपछि अर्को गर्दै अनेकौँ सिद्धिहरू पनि घट्न थाले । चित्त स्थिर हुन थाल्यो । आफूभित्रबाट आनन्द आएको अनुभूति गर्न थाले । आनन्द आउन थालेपछि उनले आफ्नो नाम नै विलास ढकालबाट विलासानन्द बनाए ।

आफूले नयाँ जीवन प्राप्त गरेकोमा विलासानन्दले आफूलाई सौभाग्यशाली ठान्न थाले । उनको मनमा विचार खेल्न थाल्यो, “विश्वभरका मानिसहरू रोग, असफलता र बेचैनको सिकार छन् । संसारका उनान्सय प्रतिशत मानिसहरू सधैँ एक प्रतिशत मानिसहरूको दास बनिरहेका छन् । अब मैले असफलता, रोग र बेचैनीको सिकार भोगिरहेकाहरूको उद्धार गर्नुपर्छ । आफूले पाएको ज्ञान आफूमा मात्र सीमित राख्नुहुन्न ।”

उनले मनमनै सङ्कल्प गरे, “म सिङ्गो विश्वको कल्याणमा लाग्छु ।’ एउटा अभियानको घोषणा गरे र दिनरात, भोक-प्यास, आँधी-हुरी नभनी निरन्तर आफ्नो अभियानमा लागे । अभियानको नारा थियो – ‘सिङ्गो संसार बदल्नुअघि आफू बद्लिऔँ’ ।”

आफू बद्लिएर संसार बदल्ने उद्देश्य लिएर एउटा ठुलो जमात अभियानमा जोडियो ।

= = =

यति भनिसक्दा नसक्दै हिरानन्दको आँखाबाट आँसुको भेल बग्न थाल्यो ।

“अनि के भयो नि, गुरुदेव ?” कैलाशानन्दले जिज्ञासापूर्वक सोधे ।

आफूलाई सम्हालेर हिरानन्दले पुनः भन्न थाले –

असफलता, रोग, शोक आदिद्वारा व्याकुल भएका धेरै मानिसहरूले यस ठाउँमा राहत पाउन थाले । नयाँ जीवन पाएको अनुभव गर्न थाले । उनको यस कदमको चर्चा देश-विदेशमा चल्न थाल्यो । पढिरहेका, काम गरिरहेका र काम गर्ने तयारी गरिरहेका धेरै जना आफ्नो पढाइ र काम छाडेर उनले सुरु गरेको अभियान नै महत्त्वपूर्ण ठानी अभियानमा जुट्न थाले ।”

“विलासानन्द पनि के कम, जोखिम मोलेरै संसारमा सामान्य रूपमा असम्भव मानिएका कामहरू सम्भव गराउन अनेक प्रयोग गर्न थाले । पेटमा गाडी दौडाउने, आगोमा नाच्ने, आगो खाने, नाङ्गो खुट्टा सिसामा नाच्ने, भोकभोकै महिनौँ जमिनमुनि बस्नेलगायत अनेकौँ कार्य गराउन थाले । अभियानमा जुटेका मानिसहरू दिनरात, भोकतिर्खा, आँधीहुरी नभनी विलासानन्दको योजनामा साथ दिन लागिपरे । यी सबै कार्य गरे पनि सबै जनाको एउटै सङ्कल्प हुन्छ – मानव जातिको मुक्ति ।

विलासानन्दप्रति उनका शिष्यहरूले गरेका त्याग, समर्पणको चर्चा गरी साध्य थिएन । विलासानन्द पनि आफ्ना सम्पूर्ण इच्छाहरू तिलाञ्जली दिँदै निरन्तर अभियानमा जुटिरहेका थिए । समूह ठुलै भएका कारण देश-विदेशका ठाउँ ठाउँमा कार्यक्रमहरू एकैसाथ चलिरहेका थिए । ‘यो हामी सबैको साझा अभियान हो’ भनेर सहयोग गर्ने हातहरू बढिरहेका थिए । ठाउँ ठाउँमा अभियानका लागि भनेर भवनहरू पनि बनिसकेका थिए । अझै धेरै ठाउँमा बन्ने तयारी भइरहेको थियो । निकै उत्साहजनक तरिकाले अभियान बढिरहेको थियो ।

यति भनेर हिरानन्द पुनः रोकिए ।

कैलाशानन्दले आफ्ना गुरुको अनुहारमा हेरे । हिरानन्द एक छिन रोकिए र पुनः अगाडि भन्न थाले –

अभियानले थोरै समयमै निकै ठुलो चर्चा कमाइसकेको थियो । एक्कासि के भयो कुन्नि, विलासानन्दले यो अभियान ‘एउटा एक्सपेरिमेन्ट (प्रयोग) मात्र थियो’ भनेर घोषणा गरिदिए ।

घर-परिवार, पढाइ, काम आदि आफ्ना सबै कुरा छाडेर अभियानका लागि जीवन समर्पित गरेकाहरू छाँगाबाट खसेझैँ भए । ‘लास नबनुन्जेलको हरेक सास अभियानका लागि’ भनेर सङ्कल्प लिनेहरूले आफ्नो टाउकोमा आकाश जत्रो ढुङ्गो खसेको अनुभव भयो । किंकर्तव्यविमूढ बने उनीहरू ।

यति भनिसकेर निकै भावुक भए हिरानन्द । आँखाभरि आँसु बनाए । आँसु अलिकति कम भएपछि भन्न थाले –
केही समयपछि कतिले ‘मेरो भाग्यमा यस्तै रहेछ’ भनेर आफूले जलाएर आएको आफ्नै घरको खरानी बटुली नयाँ घर बनाए । कति विक्षिप्तको (डिप्रेसनको) सिकार बने । कतिले विलासानन्दलाई गाली गर्दै दिनहरू बिताए । केही भने विलासानन्दले ठुलै घात गरेको भए पनि उनले सिकाएको ज्ञान महत्त्वपूर्ण छ भन्ने ठान्दै त्यही ज्ञानको सहाराले अघि बढ्ने प्रयत्न गरे ।

= = =

यो घटनाको निकै समयपछिको कुरा हो । खचाखच मानिसहरूले भरिएको चौरमा विलासानन्दको प्रवचन चलिरहेको थियो । प्रवचनको लयसँगै मानिसहरू क्षण क्षणमा हाँस्ने, क्षण क्षणमा रुने, उफ्रने, चिच्याउने गरिरहेका थिए । बडो रौनकतासाथ प्रवचन कार्यक्रम बढिरहेको थियो । फेसबुक, युट्युब च्यानलहरू लगायत अन्य आधुनिक सञ्चार-माध्यमहरूबाट प्रत्यक्ष प्रसारण भएका कारण देश-विदेशबाट यस कार्यक्रमलाई नियाल्नेहरूको सङ्ख्या धेरै थियो ।
एक्कासि विलासानन्द टोलाएर एकोहोरो हेर्न थाले । उनका आँखामा आँसुका छिटा देखिए । उनका शिष्यहरू ‘गुरुदेवलाई भाव-समाधि’ लाग्यो भनेर तँछाडमछाड गर्दै फोटो खिच्न थाले ।

विलासानन्द एक्कासि बरबराउन थाले – ‘के यही हो जिन्दगी मैले खोजेको ? के यही हो जिन्दगी मैले चाहेको ? कहाँ पुग्न खोजेको थिएँ, कहाँ पुगेछु ! मेरो जिन्दगी, मलाई माफ गर । मेरो जिन्दगी, मलाई माफ गर । पाखण्डको अन्त्य गर्दै असल समाजको निर्माण गर्न पो हिँडेको थिएँ, आज आफैँ झन्झन् पाखण्डको दलदलमा फसेछु । मेरो जिन्दगी, मलाई माफ गर । मलाई माफ गर मेरा सम्पूर्ण साधकहरू हो, मलाई माफ गर ।सम्पूर्ण मेरा शुभचिन्तकहरू हो, मलाई माफ गर । बिस वर्षमा यो राष्ट्रको मुहार र चालीस वर्षमा विश्वको मुहार फेर्ने सपना बाँडेर आफू भने तुच्छतुच्छ स्वार्थमा भुलेछु । मलाई माफ गर मेरो जिन्दगी । मलाई माफ गर मेरा सम्पूर्ण साधकहरू हो, मलाई माफ गर । मैले तिमीहरूलाई ठुलठुला कल्पना गराउँदै गएँ । ठुलठुला सपना देखाउँदै गएँ । ठुलठुला सङ्कल्प गराउँदै गएँ । खै कहाँ गए मेरा ती कल्पना ? मेरा ती सपना ? खै कहाँ गए मेरा ती महान् सङ्कल्प ? म आफैँ आफ्नो सङ्कल्पबाट निकै टाढा पुगिसकेछु । मलाई माफ गर मेरा साधकहरू हो, मलाई माफ गर ।’

आफ्नो भावनामा बग्ने स्वभावका विलासानन्द अझै बरबराउँदै गए – ‘मेरा ज्युँदा सहिदहरू हो, तिमीहरू कहाँ छौ ? मैले तिमीहरूको महिमा बुझ्नै सकिनँ । मानव जातिमा पाँच हजार वर्षदेखि चल्दै आएको शोषण र शासनको इतिहास बदल्न सिङ्गो संसारको अघि नाङ्गो हिँड्ने साहस गर्‍यौ । माफ गर ज्युँदा सहिदहरू हो । हे महायोद्धा, हे महामाता ! तिमीहरूले आफ्नै शरीरमा गाडी कुदायौ । आफ्नो जीवनको प्रवाह नगरी भोकभोकै महिनौँ जमिनमुनि बस्यौ । भक्कानिएर रुँदै कुन कुन देशमा पुग्यौ, विश्वयात्री हो ! तिमीहरू विश्वको इतिहास बदल्ने सपना बाँडेर कुन कुन देशमा पुग्यौ ? अब कुन देश जाने तयारी छ तिमीहरूको ?’

‘मेरा सम्पूर्ण साधकहरू हो, मलाई माफ गर । मैले तिमीहरूलाई शब्दब्रह्मको पाठ पढाएँ । शब्दब्रह्मको महिमा त्यत्रो सिकाएँ । आज आफैँ आफूले बोलेका शब्दहरू, आफूले गरेका सङ्कल्पहरूबाट आफैँ टाढा टाढा भागेछु ।’

अझै बरबराउने क्रम रोकिएन उनको – ‘खै कहाँ छन्, के गर्दै छन् ती महान् हस्तीहरू, जो आफ्नो सर्टिफिकेट जलाएर; जागिर, घर, परिवार समाज छाडेर; ताप र चाप सहेर हिरा बन्ने सपना बोकी आएका थियौ । मैले तिमीहरूको महत्त्व बुझ्न सकिनँ । हे सम्पूर्ण साधकहरू हो, मैले कहिल्यै तिमीहरूको महिमा बुझ्नै सकिनछु । मलाई माफ गर, मैले तिमीहरूको त्यागको मूल्य ठम्याउनै सकिनँ । तिमीहरूले गरेका पुरुषार्थ त परै जाओस्; मप्रति गरेको विश्वास, समर्पणको महत्त्व मैले बुझ्नै सकिनँ । विश्व एक परिवार, विश्वको एक सरकारको परिकल्पना गर्दै तिमीहरूलाई असम्भवको पहाड चढाएँ; असम्भव देखिने घटनाहरू अवचेतन मनबाट कसरी सम्भव हुन्छ प्राक्टिकल गराएँ; सारा कुरा मेरो अधैर्यता र अल्प ज्ञानका कारण रत्नपार्कको चटकजस्तो मात्र भएछ । रत्नपार्कमा चटकेहरूले चटक देखाएर आफ्नो स्वार्थ पूरा गरेझैँ आफ्नो स्वार्थ पूरा गराउन ‘विश्व एक परिवार, विश्वको एक सरकार’को नारा लगाएको थिइनँ । मलाई माफ गर हे साधकहरू हो, मलाई माफ गर ।

मैले बुझेँ, योगी-सद्गुरुको तक्मा पाएर के भो, आफू भित्रभित्रै आफैँ जलेपछि ?

दुनियाँले ताली बजाएर के भो, आफैँ आफूभित्र गलेपछि ?

उनी विगतमा गरेका सम्पूर्ण घटनाहरूलाई नियाल्दै पश्चात्तापको आँसु बगाएर छाती पिटीपिटी रोए । रुँदारुँदै उनको मनका सम्पूर्ण क्लेशहरू सबै पखालिएर गयो । सहस्र चक्रबाट ब्रह्माण्डीय दिव्य ऊर्जा शरीरमा प्रवेश गर्‍यो र शरीर दिव्य बन्यो । तत्कालै दिव्य आत्माको दर्शन मिल्यो । जीवन-जगत्को सम्पूर्ण रहस्य बोध भयो । विगतका घटना घट्नुका कारण पनि छर्लङ्ग भयो । एक्कासि उनको मुखबाट आवाज आवाज निस्कियो – ‘जे भयो, राम्रैका लागि भयो । जे भइरहेको छ, राम्रैका लागि भइरहेको छ । जे हुनेछ, राम्रैका लागि हुनेछ ।’

विगतमा घटेका सम्पूर्ण घटनाबाट पाठ सिक्दै उनले प्राणी मात्रको कल्याणका लागि आफूले गरेका वाचा सबैसामु पूरा गर्ने सङ्कल्प लिन्छन् ।

स्वर्ग लोकबाट नियालिरहेका सिद्धात्माहरूले पुष्पवृष्टिका साथ उनको भव्य स्वागत गर्छन् । विलासानन्दले पहिला सङ्कल्प लिएर अधुरा रहेका सम्पूर्ण प्राणी मात्रको हित हुने एकाएक कामहरू पूरा गर्दै जान्छन् ।

कैलाशानन्द – अनि, गुरुदेव ! हजुरलाई यो घटना कसरी थाहा भयो ?

हिरानन्द – म पनि यस कथाको एक पात्र हुँ । मेरो नाम कोइलाबहादुर थियो । थोरै पैसाको सामान्य जागिर, घर खर्च धान्न धौधौ थियो । उल्टै शरीरमा अनेकौँ रोगहरूले घर बनाउँदै थिए । पैसा-अभावको कारण अस्पतालको अनुहार देख्न सकिरहेको थिइनँ ।

म विलासानन्दका कुराहरू सुन्ने गर्थें । उनका कुराहरू प्रेरणामूलक लाग्थे । उनका हरेक क्रियाकलाप नजिकबाट नियालिरहेको थिएँ । विलासानन्दले अभियान घोषणा गरिसकेपछि संसारमा केही उपलब्धि हासिल गरिसकेकाहरू आफूले प्राप्त गरेको उपलब्धि सबै सबै बेकार रहेछ भन्ने ठानेर उनको सङ्गतमा जान्छन् । म त के नै थिएँ र ! उनले भनेको एउटा कुरा मेरो मनमा गहिरो तरिकाले बिझ्छ – ‘हिरा हामी सबैलाई थाहा भएको वस्तु हो । जब कोइलाले राप र ताप सहन राजी हुन्छ, त्यही राप र तापकै गहिराइमा परेको कोइला नै हिरामा परिणत हुन्छ । हिमालको सङ्गतमा पुगेको पानी बरफमा परिणत हुन्छ । हामीले यस्तो वातावरण सिर्जना गरेका छौँ, जहाँ कोइलाजस्तै कौडीको भाउमा बिकेकाहरू पनि हिरा भएर निस्कन्छन्, आफ्नो क्षेत्रमा अघि बढिरहेकाहरूको त कुरै छोडौँ ।’

उनले गरेको यस्तो कुराबाट प्रभावित भएर मैले घर छोड्ने निर्णय गरेँ । आश्रममा बस्दा घर-परिवारको निकै याद आउँथ्यो । मैले कमाएको दुई-चार पैसाले परिवार चलिरहेको थियो । विलासानन्दलाई मेरो यो अवस्था सुनाउँदा उनी भन्थे – ‘एउटा परिवारको बिचल्ली भएर के भो, हामी लाखौँ परिवारको कल्याण गर्छौं । (शास्त्रीय भनाइ जोड्दै) परिवारको कल्याणका लागि आफ्नो स्वार्थ छोड्नु, समाज-कल्याणका लागि परिवारको स्वार्थ छोड्नु, राष्ट्र-कल्याणका लागि समाजको स्वार्थ छोड्नु, विश्व-कल्याणका लागि राष्ट्रको स्वार्थ छोड्नु र आत्म-कल्याणका लागि सबै कुरा छोड्नु ।’

उनका यस्तै कुराहरूले निरन्तर प्रेरणा मिल्थ्यो । उनको सङ्गतमा बसेर गरिएको योग-ध्यानको अभ्यास र प्राकृतिक आहारले मेरो स्वास्थ्य निकै राम्रो बन्यो । आत्मबल पनि निकै बढ्यो । आश्रममा भएका सबैले अनौठा अनौठा सङ्कल्पहरू गरिरहेका थिए । मैले पनि आफ्नो सम्पूर्ण जीवन अभियानका लागि समर्पण गर्ने सङ्कल्प लिएँ । यस्तो सङ्कल्प लिएपछि विलासानन्दले म कोइलाबहादुरबाट हिरानन्दमा रूपान्तरण भएको घोषणा गरे ।

साँझ-बिहान नभनी म निरन्तर अभियानको काममा जुट्न थालेँ । दार्जिलिङमा कार्यक्रम भएकाले म प्रचार-प्रसार-ब्यानर टाँस्ने, भित्ता-लेखनलगायतका कामहरू गरिरहेको थिएँ । सोही क्रममा एक जना साथीले फोन गरेर मलाई कार्यक्रम रोकिएको कुरा सुनाए ।

‘कति दिनका लागि ?’ –  कुनै कारणवश रोकिएको होला भन्ने लागेर मैले सोधेको थिएँ ।

तर, उनको जवाफ सुनेपछि मैले सपना हो कि यथार्थ छुट्याउनै सकिनँ – ‘अब सधैँका लागि रोकियो ।’

म आश्रम फर्किएँ । मानव जातिको इतिहास बदल्ने उद्देश्यले बनेको भवन कति छिटो व्यापारिक प्रयोजनका लागि भाडामा लागिसकेको रहेछ ! त्यो देखेर म एक पटक भक्कानिएँ । निकै बेर त्यहीँ नजिकैको जङ्गलमा बसेर ह्वाँ ह्वाँ रोएँ । पूर्व, पश्चिम, उत्तर या दक्षिण पाइला अब कतातिर बढाउने भनेर मैले ठम्याउनै सकिनँ । दिशाविहीन भएँ म । आफूले गरेको सङ्कल्प स्मरण गरेँ । दिमागमा विचारको बाढी चल्यो ।

आफ्नो जीवन समर्पित गरेको आश्रय स्थल नै बन्द भएपछि कहाँ जानु र, आफैँलाई सम्हाल्दै म आफ्नै घरतिर लागेँ ।
घर-परिवार र समाजलाई मैले अनेक सपना देखाएको थिएँ । धेरैले मैले देखाएको सपनाबारे सोधे । कतिले गिल्ला गरे । मेरो मनमा अनेकौँ भाव पैदा हुन थाल्यो । जे भए पनि आफूलाई सम्हाल्दै आफ्नो कार्यमा लागेँ ।

= = =

धेरै समयपछिको कुरा हो, एक दिन एक्कासि विलासानन्दको फोन आयो । सम्पूर्ण नयाँ-पुराना साधक-साधिकाहरू जमघट कार्यक्रम भएको बताए । म पनि त्यस कार्यक्रममा सहभागी भएँ । आफ्नो विगत सम्झँदै आफूबाट भएको गल्तीबाट धेरैले ठुलो दुःख पाउनु परेको भन्दै विलासानन्दले माफी मागे । भने – ‘यो आश्रम सबैको साझा हो । मैले मोहवश मेरो स्वार्थका लागि प्रयोग गरेँ । अब सबैका लागि खुला छ ।’

त्यसपछि यस ठाउँमा धेरै साधक, योगी, ऋषि मुनिहरूको जमघट हुन थाल्यो । ठाउँ ठाउँमा कुटी र हवनकुण्डहरू बन्न थाले । त्यसै बेलादेखि यस ठाउँमा अखण्ड हवन, जप ध्यान, प्रवचन, सत्सङ्ग आदि चलिरहेको छ ।