एक्कासि उसले भन्यो –“बडा बाबू, आज मेरो दिमागले काम गरेको छैन । पूरा डिस्टर्ब छ । काममा भूल हुनसक्छ । राम्ररी हेरिदिनुहोला। ”

“के भयो त्यस्तो ?”, मैले सोधेँ ।

“मेरी सालीले गर्दा आज तनाउग्रस्त छु । मेरी स्वास्नीले मलाई किचकिच गरेको गरेकै छे । खासमा भनुँ भनेँ मेरो घरमा शान्ति नै छैन । मेरी सासू खसेको पाँच वर्ष भयो । ससुरा थलापरेका छन्। मान्छे कोही चिन्दैनन्, कोमामा गएको जस्तो । ससुरालीको सप्पै जग्गा जमीन साढुभाइले आफ्नो नाममा गरिसकेछ । अहिले उल्टो सालीलाई सस्तो दाममा बेच्छु भन्दै रहेछ । साली पनि किन्न तयार । कस्तो अचम्म ! सालीलाई पैसा चाहिएको रहेछ । मेरी स्वास्नीले चैँ पैसा देऊ भनेर किचकिच गरेर केही छैन । मैले पैसा कहाँबाट ल्याउनु ? पैसा फल्छ ?” उसले भन्यो, “मैले पनि भनिदिएको छु  । सालीलाई पैसा चाहिएको छ भने मलाई भनोस् । फोन गरोस् । उसले मलाई पैसा मागेकै छैन । तिमीचैँ किन बाठी हुन्छौ ?- मैले भनेको यति मात्र हो, बूढिया हुप्प फूलिएकी छे । मसँग कुरा पनि गर्दिन । फेरि मलाई छिटो रिस उठ्छ । हाई प्रेसर छ । आज त दवाई पनि खाएको छुइनँ । सकिएछ । किन्नुपर्छ। ”

मैले भनेँ– “दवाई किनेर खाइहाल्नू । चिन्ता नगर्नू । टेन्सन नलिनू । सबै ठीक भइहाल्छ।”

उसले भन्यो- “खै ! टेन्सन भइहाल्छ । हिजो पनि एउटा घटना घटेछ । सानी छोरीले भनेकी । मेरी दुईवटी छोरी छन् । छोरीहरू म भनेपछि हुरूक्कै हुन्छन् । मलाई सबै कुरा भन्छन् । आमासित ग्रह  नै मिल्दैन । सानी छोरीले आज भनी – बाबा, हिजो राति आमाले मलाई जुत्ताको झटारो हिर्काउनुभयो, अनुहारमा नै लाग्यो । यी हेर्नुहोस् त !

मैले छोरीको अनुहारमा हेरेँ । नीलडाम बसेको रहेछ । मलाई हिजो किन नभनेकी भनी सोध्दा, ‘तपाईंले आमालाई कराउनुहुन्छ र फेरि झगड़ा हुन्छ । केही पनि नभन्नु नि आमालाई !’ भनी । त्यसको कुरा सुनेर मन दुख्यो। वास्तवमा मेरी स्वास्नी र ममाझ दूरत्व बढेको छ– सात महिना भइसक्यो । हामीमाझ विवाद उसकै माइतको समस्या लिएर हुन्छ। उसले उसको माइतलाई पैसा दिएर सघाऊँ भन्छे। कतिपल्ट सघाइसकेँ । तर मलाई पर्दा उसको माइतले पचास हजार पनि पत्याएन । छोरीको होस्टेलको खर्च तिर्नुपर्ने हुनाले मैले मागेको थिएँ । तर अहँ, दिएन मलाई। एक महिनाको लागि मात्र हो भन्दा पनि पत्याएन । मैले त कतिचोटि हो हो, दस बीस हजार गरेर सघाएको उसको माइतलाई । त्यो पैसा फर्किएन । तर मलाई पर्दा एक कन्ची पाइनँ । सुदमा पैसा लिएर काम चलाएँ । अघिबाटै भविष्य निधि खाताबाट धेरै रकम निकालिसकेको थिएँ र त्यहाँ त्यति पैसा नभएकोले कोओपेरेटीभ सोसाइटीबाट लोन लिएर कर्जा तिरेँ । अहिले चाहिँ उसको माइतलाई पैसाले सघाइदेऊ कि देऊ भनेर बूढियाले रातदिन किचकिच गरिबस्छे । उसको माइतबाट मलाई मागेकै छैन, र पनि नमागी छ भने पनि देऊ भन्छे। सालीले त झन् मागेकै छैन । सालीलाई पनि पैसा देऊ भनिबस्छे । मेरोमा रुपियाँको बोट भएको जस्तो । तर मैले पनि भनिदिएँ- ‘तिम्रो बहिनीलाई पैसा चाहिएको छ भने मलाई मागोस् उसले । म जति दिन सक्छु दिनेछु।’, यति के भनेको थिएँ । भनावैरी सुरू भयो । त्यसपछि त हाम्रो सम्बन्धमा फाटो नै आएको जस्तो भयो । मलाई पनि के लागिरहेको छ, अब एक दुई वर्ष जति नोकरी गर्छु । त्यसपछि मेरो बाबाको पुरानो घरमा गएर बस्छु । वाक्क भइसकेँ । यहाँ धेर दिन बस्दिनँ । बूढिया र छोरीहरू यहाँ बस्छन् भने पनि मचाहिँ बस्दिनँ । शान्ति नै छैन घरमा । कसरी बस्नू ? बरु नोकरी छोडेर, बाबाको पुरानो घर राइगञ्जमा छ, त्यही गएर खेती गरेर बस्छु । कमसेकम शान्ति त पाउँछु । मनमा शान्ति छैन भने घर-परिवार, पैसा भएर पनि केही फाइदा छैन । ”

कुन्नि किन ? मलाई अचानक आज उसले मनका कुरा भनिरहेको थियो । वास्तवमा अस्तिको दिनदेखि मसित धेरै कुरा गर्दैछ ऊ ।

अस्ति अफिसमा के भयो भने, उसले अधिकारीको हस्ताक्षरहीन डुप्लिकेट प्रमाणपत्र सम्बन्धित अनुभागलाई काम गर्न सजिलो होस् भनेर दिएछ । अनुभागमा कार्यरत लिपिकले भने बिर्सिएर त्यो डुप्लीकेट प्रमाण पत्र फाइलभित्र हालेर बडाहाकिमकहाँ प्रस्तुत गरेछ, सत्यापनको निम्ति । प्राधिकृत अधिकारीद्वारा हस्ताक्षर नभएको प्रमाणपत्र देखेर बडा हाकिमले रिसाएर सोधीखोजी गर्दा उसले अनुभागलाई दिएको कुरो थाहा पाएर बडाहाकिमले उसलाई आफ्नो च्याम्बरमा बोलाएर भक्कु गाली गरी उसलाई त्यसदिन कुनै काम गर्न दिएनन् । रिसले उसको विरुद्धमा अनुशासनात्मक कार्वाही गर्छु भन्दै थिए बडाहाकिमले । मलाई बोलाएर बडा हाकिमले भने- “उसको काम ठीक छैन, अलिक याद गर्नुहोला । अब के गर्नू ? उसको खिलाफमा एक्सन लिनू ?”

मैले भनिदिएको थिएँ– “सर ! गल्ती गरिहाल्यो । वार्निङ दिएर माफ गरिदिनुहोस् । ऊ काममा निपुण छ। फेरि खट्छ पनि । तपाईंले एक्सन लिनुभयो भने छुट्टीमा बसिदेला। त्यहीमाथि स्टाफ कम छ । काम ठप्प हुन्छ। एकपल्टलाई माफ गरिदिनुहोस्। ”

मेरो कुरा सुनेर बडाहाकिमले उसलाई वार्निङ दिएर माफ गरिदिए। यसरी स्ट्रिक्ट बडाहाकिमको कार्वाहीबाट उसलाई मैले बचाएकोले हुनुपर्छ सायद, अचेल ऊ मसित निकै झ्याम्मिएको

छ ।

उसले भन्यो—“बडाबाबू ! म दवाई किनेर आइहाल्छु ल ? प्रेसर बढेको जस्तो छ । ”

“जाऊ जाऊ, दवाई किनेर खाइहाल।”, मैले भनेँ । ऊ दवाई किन्न गयो बाहिर । म सोच्दै काम गर्न थालेँ ।

भोलिपल्ट बिहान उसले सोध्यो- “बडाबाबू ! भारत र पाकिस्तानको स्थिति के छ ?”

मैले भनेँ– “पाकिस्तानमाथि आक्रमण चाँडै होला जस्तो छ ।”

“मेरो त घरमै पाकिस्तान छ ।”- उसले भन्यो ।

“के भयो फेरि ?”- मैले सोधेँ ।

“के हुन्थ्यो र ? त्यही हो सालीलाई पैसा दिएन भनेर बूढिया अझै ठुस्किरहेकी छ । आमा भनेको त कस्तो महान् शब्द हो नि ! तर मेरी बूढियाले छोरीले लगाएको नयाँलुगा देखेर रिस गर्छे । छोरीले क्या हो त्यो अहिलेको नयाँ स्टाइलको लुगा लगाउँछु भनेर रहर गर्दा मैले किनिदिएँ । छोरीलाई त्यो लुगाले कस्तो सुहाएको ! कस्ती राम्री देखिएकी ! छोरीले पनि लगाएर खुसी हुँदै आमालाई

देखाई । तर आमले के भनि थाहा छ ?- यस्तो घिनलाग्दो लुगा नलगा | अरू पनि के के जाति भनेर छोरीको मूड अफ गरिदिई । छोरी त मन दुखाएर रोई । खासमा नि बडाबाबू, मेरो घरमा आगो लगाउने चाहिँ मेरी साली नै हो । बूढियालाई चम्काएर ब्रेनवास गरिसकी । भोलि छुट्टी छ । म जान्छु र सालीलाई भक्कु हकारेर आउँछु । कुनै बहिनीले आफ्नी दिदीको घर बिगार्छ ? अचम्म ! भक्कु गाली गरेर आउँछु । बूढियाले मन दुखाएछ भने पनि दुखाओस्। परवाह छैन । मलाई छोड्छु, तिमीसित बस्दिनँ भनिछ भने पनि स्वागत छ । झुन्डिएर मर्छु भनिछ भने पनि ठीक छ । वाक्कै पारिसकी ।”

उसले भन्यो ।

मैले भनेँ– “थत् ! यस्तो नेगेटिभ कुरा सोच्नुहुँदैन । सबै ठीक भइहाल्छ ।”

“ससुरालीलाई कम्ती सघाएको ? सालोको बिहेमा पच्चीस हजारको त माछा नै किनिदिएँ । त्यस्तो त कतिपल्ट हो हो, सघाएको । तर आफूलाई पर्दा भने कुनै हेल्प पाइनँ । तर भोलि जान्छु, अन्त: गएर नकराई भएको छैन । तर भोलिचैँ सालीलाई तर्साउँछु, तर्साउँछु। क्या हो अन्त ? दिदीलाई किसिम सुनायो । चम्कायो । मेरो खिलाफमा बोल्नु लगायो । ब्यौरा नै ठीक छैन ।”, उसले भन्दै थियो ।

“एकपल्ट नरिसाइकन ठन्डा दिमागले राम्ररी सम्झाऊ । मनमुटाउ भएको छ भने पनि बसेर कुरा गरेर समाधान सूत्र खोज्ने कोसिस गर । आखिर आफन्त हो । समयमा काम लाग्छ ।”, मैले भनेँ ।

“आफन्त ? अबुई ! आफ्नो मान्छे त झन गाँडु हुँदोरहेछ । हुँदैन बडाबाबू, हुँदैन । जान्छु तर सम्झाउनु होइन । गाली गर्नु ।”, उसले भन्यो ।

एक सप्ताहपछि, तीन दिनको छुट्टी लिएर गएको ऊ पाँच दिन हुँदा पनि अफिस आएन । फोन गर्दा पनि लागेन । के भयो ? किन आएन ? यी प्रश्न सबै सहकर्मीहरूका मुखमा झुण्डिएका थिए ।

बुधबारको दिन मात्र सहकर्मी सौरभ दासले खबर ल्यायो- “बडाबाबू ! शङ्कर दा त अस्पतालमा रहेछ । पूरा चोट लागेको छ रे !”

उसैको नाम हो शङ्कर अर्थात् शङ्कर पाल; जसले मलाई गएर सालीलाई कराउँछु, गाली गर्छु भन्दैथ्यो । प्राप्त खबरअनुसार सालीसित भनावैरी हुँदा सालीका समर्थकहरूले उसलाई धुलाई दिएछन् र अस्पतालमा भर्ना हुनुपरेछ । सुनेर म छक्क परेँ । जाती हुनुलाई पन्ध्र दिनको मेडिकल लीभमा बस्नु पर्यो उसलाई ।

जाती भएर ऊ अफिस आउँदा सबै सहकर्मीहरूले उसलाई सम्झाए । मैले पनि सक्दो सम्झाएँ । उसले भने भन्दै थियो- “केस गरेको छु। अब सबैलाई कठघरामा उभ्याउँछु । आफन्त भन्ने जति सबै गाँडु हुँदा रहेछन्। साह्रै स्वार्थी र लोभी हुँदा रहेछन्। काँ छाड्छु र ? जे सुकैहोस् । घिसार्छु घिसार्छु। ”

मनमुटाउको आगोलाई बुद्धि पुराएर समयमा राम्ररी निभाउनु सकिएन भने त्यो दावाग्नि बनेर कत्रो समस्या खड़ा हुँदो रहेछ भन्ने प्रमाण उसको किस्साले बखानिरहेको थियो ।

डाउहिल,खरसाङ