“हाई लिसा कति च्याटमा मात्र कुरा गर्ने, यसो भेट भएर चिनजान पनि गरौँ न । भेटघाटमा कुरा गरेजस्तो च्याटमा हुँदैन क्यारे । अनि एक आपसमा विश्वास पनि नहुने रहेच भन्या ।”
सगर लिसाको प्रत्युत्तरको आशामा थियो । लिसाबाट कुनै पनि जवाफ नआएपछि केही समय प्रतीक्षा गर्यो । फेरि मोबाइलको कि थिच्न थाल्यो ।
“खासमा म तपाईँले सोचेजस्तो खराब मान्छे होइन नि । लिसा जी केही त लेख्नु न । किन चुप ? के तपाईंले मेरो प्रश्नको उत्तर दिनुहुन्न ?”
सगरले फेसबुकमा साथी भएपछि म्यासेन्जरमा सन्देश पठाएर भेट हुनको लागि अनुरोध निकै गरेको थियो ।
===
लिसा थिइन् अनलाइन व्यापारी । विगत तीन वर्षदेखि अनलाइनमार्फत कपडाको व्यापार गर्दै आएकी लिसाले व्यापारकै लागि भए पनि फेसबुकमा रिक्वेस्ट आए जति सबैलाई साथी बनाउँथिन् । लिसाको अनलाइन व्यापार राम्रै बढेको थियो । सामानको माग बढ्दै गएपछि माग भएअनुसार सामान ल्याउन र पुर्याउन पनि दुई जना कर्मचारी चाहिएको थियो ।
लिसाका श्रीमान् रमण थिए सरकारी जागिरे । भूगर्भविद् रमण दोलखाको भूगोलको अन्वेषणका क्रममा भूकम्पमा परी मृत्यु भएपछि लिसाले एक मात्र छोरीको पालनपोषण र शिक्षादीक्षाको उपयुक्त व्यवसाय खोज्न थालिन् । केही समय विद्यालयमा शिक्षण गरिन् तर दामभन्दा कामको अत्यधिक चाप बढी भएपछि र सानी छोरीको अवस्था अस्तव्यस्त भएपछि उनले विकल्प खोज्न थालिन् । सानी छोरीको स्याहार र काम दुवैलाई अनुकूल हुने उनले एक व्यवसाय रोजिन् त्यो हो अनलाइन व्यापार ।
लिसाले सोचिन्, “पुरानो फेसबुकबाट व्यापार गर्दा सायद सोचेजस्तो सफलता नमिल्ला । अब यो सानु शर्मा भन्ने पुरानो फेसबुक डिलिट गर्छु अनि नयाँ खोल्नुपर्ला । बरु नाम पो के राख्ने होला ….? अँ लिसा अनलाइन सप राख्नुपर्ला । अनि यो चालिस कटेको फोटो प्रोफाइलमा राख्नुभन्दा । २० वर्ष अगाडिको फोटोलाई इडिट गरेर राख्नुपर्ला ।”
उनले नाम र फोटो दुवै फरक राखेर अनलाइन व्यापार गर्न थालिन् ।
उनका भाइ उनकै साथमा थिए । भाइको सहयोगमा आवश्यक सामान ल्याउने र माग भएअनुसार सामान पुर्याउने काम लिसाले गर्थिन् । एक दिन उनको भाइ ललित हातमा पासपोर्ट लिएर आए र भने, “दिदी म केही भन्न खोज्दै छु तर सकिरहेको छैन ।”
लिसाले सोधिन्, “किन के भयो बाबु , म त तिम्री दिदी हुँ नि । ढुक्कसँग भन न ।”
ललितले मुन्टो निहुर्याउँदै भन्यो, “दिदी मेरो त अस्ट्रेलिया भिसा लाग्यो नि ! म अर्को महिना नै उड्ने भएँ ।”
विदेशको केही प्रसङ्ग नै नझिकेको भाइले एक्कासि भिसा लाग्यो भन्दा लिसालाई सपना हो कि बिपना भन्ने लाग्यो ।
श्रीमानकाे मृत्युपछि दुःख सुखमा दाहिने हात बन्दै आएको ललितले अस्टे्रलिया जाने कुरा गर्दा उनले आफूलाई रित्तो देख्न थालिन् । पूरै धर्ती भासिएजस्तो भयो । वरिपरि पुरै अँध्यारो देख्न थालिन् । आफूलाई समाल्दै फेरि भाइलार्ई प्रश्न गर्न थालिन्, “बाबु, तिमीले त कहिल्यै विदेश जाने कुरा त गरेका थिएनौ नि ? फेरि आज यो एक्कासि……………, के भन्दै छौ ?”
“व्यापार राम्रै चलेको छ । दिदी भाइ मिलेर काम ग¥यौँ भने यसबाटै अपार गर्न सकिन्छ । विदेशको दास भएर बस्नुभन्दा स्वदेशको मालिक हुनुमा कयौँ गुना इज्जत र बुद्धिमानीपूर्ण हुन्छ । दिदी भाइ मिलेर यही व्यापारलाई राम्रो बनाउने सोच थियो । तिमी भने…………………।” लिसा सुँक्क सुँक्क गर्न थालिन् ।
ललितले लिसालाई भन्यो, “दिदी मेरो पढाइका लागि जसरी पनि जानै पर्ने भयो । म जहाँ भए पनि यो भाइ तपाईँकै हो । मैले हरदम सहयोग गर्ने छु दिदी यो मेरो वाचा भयो ।”
त्यसको १५ दिनपछि ललित बिदेसियो । केही समय त लिसा अलमलमा परिन् । श्रीमान्को मृत्युपछि भाइको साथ र सहयोग पाएकी लिसाले भाइ विदेश गएपछि संसार रित्तो र शून्य देख्न थालिन् । त्यसपछि फर्किइन् आफ्नै व्यवसायतर्फ । जब उनले अनलाइन सपको म्यासेज देखिन्, सामानको अर्डर निकै बढेको थियो ।
उनले सोचिन्, “साथमा सानी छोरी छिन्, छोरीको हेरचाहसँगै सामान ल्याउने, लैजाने, पैसाको कारोबार, सबै सम्हाल्नै पर्याे । ममात्र के गर्न सकुँला ? यसो एक दुई जना कर्मचारी राख्यो भने पक्कै राहत मिल्ला । आर्थिक पक्ष भने आफैँ हेर्नुपर्ला । सामान ओसारपसार भने उनीहरूलाई गर्न लगाउनुपर्ला ।” उनले फेसबुकमा विज्ञापन लेखिन्, जहाँ लेखिएको थियो,
लिसा अनलाइन सपका लागि पुरुष कर्मचारीको आवश्यकता
तलब: रु १५,०००
उमेर: १८ देखि ३० वर्ष
विज्ञापन देखेपछि सगर लिसासँग झन् नजिकिन थाल्यो । उसले फेरि च्याटमा लेख्यो, “लिसाज्यू, म तपाईंको सपमा जागिर खान चाहन्छु, भन्नुहोस् न कहाँ आऊँ ।”
तीन हप्ता अगाडि मात्र फेसबुकमा जोडिएको सगर यति सारो नजिकिन खोजेको लिसालाई मन परेको थिएन तर सगरको अत्यन्त सम्मान गर्ने बानी र व्यवहारका कारणले उनको मन तानेको थियो ।
उनले सोचिन्, “चिन्दै नचिनेको मानिसको पो के विश्वास हुन्छ र ? बरु एक पटक सगरको मन कस्तो रहेछ ? विचार कस्तो रहेछ बुझ्नुपर्ला अनि केही सोच्नुपर्ला ।”
उनले सगरलाई सन्देश लेखिन्, “सगरजी तपाईँले मेरो सपमा काम गर्ने इच्छा व्यक्त गरेको कारणले म भेट्न खोज्दै छु । तपाईं न्युरोडको स्काई बेकरी क्याफेमा आउनुहोला ।”
यति उत्तर पाएपछि हुन्छ भन्दै सगरले आफ्नो कुरा टुङ्ग्यायो र उसले सोच्दै मनको लड्डु घिउसँग खान थाल्यो, “१५ हजारको जागिर खाएपछि त केही हदसम्म भए पनि घर परिवारलाई पनि राहत मिल्छ । के थाहा भाग्य चम्कियो भने, लिसाको मन पनि जित्न सकिएला । सके उनीसँगै लगानी गरेर व्यापार गरुँला नत्र व्यापारको आइडिया बढाएर खोलुँला, सगर अनलाइन सप आहा ! भइने पो भयो मालामाल अब ।”
अर्को दिन सगरले लिसालाई भेटेर जागिर फिक्स गर्ने योजना बनायो । उसले आफ्ना पाइलालाई मोड्न थाल्यो । ऊ बानेश्वरबाट गाडी चढ्यो । फेसबुकको प्रोफाइलमा देखेकी लिसाको आकर्षक तस्बिरले ऊ हराइरहेको थियो ।
उसले मनमनै सोच्न थाल्यो, “आहा ! कति मेहनती र आँटिली नारी ? १८–२० वर्षकै उमेरमा राम्रो प्रगति गरेकी ? प्रत्यक्ष देख्दा कस्ती होलिन् ? सायद फोटोमा देखेभन्दा अझै सुन्दर ।” ऊ एक्लै मुसुक्क हाँस्यो । अनि बाहिर हेर्यो । “उफ् ! यो काठमाडौँको जाम पनि कति । कतै जाँदा समयमा पुग्न पनि नपाइने ।” सगरमा लिसालाई भेट्ने तीव्र आकाङ्क्षाले सताइरहेको थियो । जुन बाहिरबाट प्रस्टै देखिन्थ्यो ।
सगर सोधखोज गर्दै स्काई क्याफेसम्म पुग्यो तर त्यहाँ उसको नजरमा घुमेकी र फेसबुकमा देखेकी लिसालाई देखेन । केही समय क्याफेस्थित बगैँचाको कुर्सीमा बस्यो । यताउता हेर्यो अनि एक्लै बर्बराउन थाल्यो । “के खालकी केटी होला ? एक बजे बोलाएर साढे एक बजेसम्म पनि नआउने ? हुन त व्यस्त मान्छे व्यापारको कारणले केही अलमल भयो होला ? पक्कै आउलिन्, विश्वासिली पात्र हुन् ।”
सगर बसेको कुर्सीभन्दा केही पर उसले अन्दाजी ३८–४० वर्षकी अधबैँसे महिलालाई देख्यो । उनीसँगै एउटी सात आठ वर्षकी बालिका हातमा आइसक्रिम लिएर खाँदै थिइन् अनि सोध्दै थिइन् ।
“मामु हामी फन पार्क जाने भन्या होइन, कति बेला जाने ?”
लिसाले जवाफ दिइन्, “मेरो सानुले पहिले आइसक्रिम खाएर सकाउने, अनि जाने हस् ।”
बालिकाले स्वीकृति सूचक टाउको हल्लाइन् ।
यी सबै कुराहरू टाढैबाट सुनिरहेको सगर लिसा भएतिरै लाग्यो । केही समय बोलेन । अनि सोध्यो, “आन्टी १८–२० वर्षकी एउटी केटी यता आएको देख्नुभएको छ ?”
लिसा अलमलमा परिन्, अनि जवाफ दिइन् । “म त यहाँ भर्खर आएकी थाहा भएन नि । अनि अघिदेखि तिमी निकै छटपटिएको देख्छु, केही विशेष थियो कि, कि केही इमर्जेन्सी छ ?”
सगर एक वर्ष अगाडि मात्र सहर पसेको थियो । आफूमा लागेको कुरा सुनाइहाल्ने सिधा बानी भएको केटो थियो ।
उसले भन्यो, “अनलाइन व्यापारमा जागिरका लागि भ्याकेन्सी खुलेको रहेछ । त्यसका लागि उनले नै मलाई यहाँ बोलाएकी थिइन् । १ बजे बोलाएकी हुन् तर दुई नै बज्दा पनि आइनन् ।” सगरले यति कुरा खोल्दा लिसाले उसलाई चिनिसकेकी थिइन् तर उनी अपरिचित नै बनेर उसलाई केही सोध्न चाहन्थिन् ।
“भाइ तिमी त जागिरका लागि आएको भन्थ्यौ तर तिमीमा त अर्कै खालको बेचैन देख्छु, निकै छटपटिएका छौ अनि उनीप्रतिको उत्सुकता त फरक देख्छु नि अनि तिनी कस्ती छिन् नि ?”
“लाम्चो, गहुँगोरो मुहार, मृगनयनी, तस्बिरमा देख्दै निकै जाँगरिली, चञ्चल अनि निकै आकर्षक पनि ।” सगरले निकै हँसिलो पारामा भन्यो ।
“पहिले उनीसँग भेट भएको छैन ?” लिसाले सोधिन् ।
“छैन नि आन्टी अनलाइनमा म्यासेजमा मात्र कुराकानी भएको ।” सगरलाई आफ्नो मनभित्रको बाढी कता गएर कोसँग पोखूँ जस्तो लागेको थियो । लिसाले प्रश्न सोध्दै जाँदा उसले सत्य कुरा खोल्न थाल्यो ।
“भाइ तिमी जागिरका लागि आएको भन्छौ ? तर तिम्रो मनमा,मुहारमा देखिएको भाव त निकै फरक देखिन्छ नि ? कि मसँग कुरा खोल्न अड मान्यौ ?” लिसाले फेरि सोधिन् ।
“त्यसो होइन आन्टी, म त हजुरलाई देख्ने बित्तिकै कता कता देखेजस्तो, चिनेजस्तो, बेलाबेला भेट भइरहेजस्तो लाग्यो ?”
“देखेको पनि हुन सक्छ तर मेरोजस्तै अनुहार मिल्ने अरू पनि त कोही हुन सक्छ नि ।” लिसाले बिस्तारै च्यापुनेर पुगेको मास्कलाई तानेर मुखमा लगाइन् र सगरको कुरा सुन्दै गइन् ।
सगर भन्दै थियो, “आन्टी म एक वर्ष अघि मात्र गाउँबाट आएको हुँ । बि.ए. दोस्रो वर्षमा पढिराछु । गाउँमा पनि बा आमालाई निकै दुःख छ । बाले यसो दूध, घिउ, बाख्रा बेचेको पैसा पठाउनुहुन्छ । जसोतसो खान बस्न पुर्याएको छु । यसो पढ्न र खान बस्न पुग्छ कि भनेर काम गर्न खोजेको हुँ । म त काम गर्दै जाँदा गाउँको पाटो बेचेर भए पनि उनको बिजनेस पार्टनर भएर नै काम गर्न चाहन्थेँ तर के गर्नु तिनले कर्मचारी मात्र चाहिएको भनेकी छिन् । तर म त उनको व्यापारमा नजिकैबाट साथ दिन चाहन्थेँ ।”
“सुन्छु, उनी निकै मेहनती छिन् । व्यापारमा छिटै राम्रो प्रगति गरेकी, उनलाई अझ साथ दिने मान्छेको खाँचो छ रे । एक जना कर्मचारीले मात्र पुग्दैन रे ।”
“मोरी राम्री पनि निकै छ क्या, म त उसको रूपमा नै फिदा छु । यस्ती जाँगरिली, बुद्धिमान, व्यक्तिलाई नजिकको साथी बनाउन पाए त आहा ! भविष्य बन्थ्यो । यति भए मलाई अरू केही चाहिँदैनथ्यो । बरु म त पढाइ सढाइ छोडेर उनलाई नै साथ दिन्थेँ । उनको मन जित्दै गएपछि र नजिकिँदै गएपछि …।”
“यति धेरै कुरा मनमा साँधेका रहेछौ, भाइ तिमीलाई उनको बारेमा अरू केके थाहा छ नि, लिसाले मनभित्रबाट फुट्न लागेको बाँधलाई रोक्दै सोधिन् ।”
“अरू त मलाई केही थाहा थिएन बाँकी कुरा उनको स्टाफ भएर काम गर्दै गएपछि थाहा होला ।” सगरले भन्यो ।
“उनी त विवाहित होइनन् र ?” लिसाले सोधिन् ।
“कहाँ हुनु, भर्खर १८–२० वर्षकी छिन् । फेसबुकमा सिङ्गल लेखेको छ ।”
“ए, ए होला त्यसो भए मलाई पनि थाहा नभएको हुन सक्छ ।” लिसाले थपिन् ।
“तिम्रो बेचैन र हडबडी देख्दा तिमीले उनलाई निकै माया गर्छौ जस्तो पो लाग्यो नि ? के तिमी जागिरकै लागि आएका हौ र ?”
सगरले भन्यो, “होइन आन्टी, हुन त क, कति बेला उनलाई भेटूँ, कुरा गरूँ, जब फिक्स गरूँ जस्तै भएको छ । उनीसँगै च्याटमा कुरा गर्न मन लागिरहन्छ अनि उनकै सुन्दर चेहराको याद आइरहन्छ ।”
त्यति बेलासम्म सानी नानीले आइसक्रिम पनि खाइसकेकी थिइन् ।
उनले आमालाई सोधिन्, “मामु फन पार्क जाने भन्या होइन ?”
“जाने मेरो बाबा जाने, ल हिँड ।”
“म अब हिँडे है भाइ, तिम्रो मनमा भएकी लिसासँग छिट्टै भेटेर सपना पूरा गर्नु है । शुभेच्छा छ ।” यति भनेर लिसा हातमा छोरी डोर्याउँदै आफ्नो बाटो लागिन् । केही पर पुगेपछि फेरि सगरतिरै फर्केर हेरिन् । सगर घरी यता घरी उता पाइला मोड्दै थियो अनि हातको घडी हेर्दै नजरहरू चारैतिर डुलाउँदै थियो मनभरि लिसालार्ई भेट्ने तीव्र उत्कण्ठाले व्याकुल थियो । आफ्नो प्रोफाइलको कारणले पढेर सफल मान्छे बन्ने सपना बोकी सहर पसेको युवाको मनमा आएको हुन्डरी देख्दा लिसाको मन एकतमासको भएको थियो । त्यसपछि लिसा आफ्नो वास्तविकता खोलूँ वा नखोलूँ भन्ने द्विविधाका साथ छोरी लिएर बाटो लागिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।