नपरोस् केही लिनु दिनु नहोस् कुनै शर्तबन्द

नठानियोस् मेरो माया तौलिहिँड्ने स्वार्थी यन्त्र

‌ओत लाग्ने तिम्रो ठाउँमा, अट्न म मात्र सकूँ

बितोस् जुग जुग आखिरमा म वैशाख बनूँ ।

यस्तै भावमा अस्ति वैशाख १ गते उसको फेसबुक स्ट्याटस देखेँ। सामाजिक सञ्जालमा त्यति सक्रिय होइन ऊ । तर प्रत्येक वैशाखमा उसले केही न केही लेख्छ । कहिले पत्रिकामा छापिएको हुन्छ । कहिले कुनै अनलाइनमा। कसको यादमा लेख्छ होला यस्ता मिठा मिठा कविताहरू। कहिल्यै खुलाउँदैन । तर म बुझ्छु यी कविताहरू उसले मेरो लागि लेखेको हो । मेरो यादमा लेख्दो हो बिचरा । यहीँ वैशाख त हो ऊ र म “हामी” भएको । फेरि यहीँ वैशाखमै हो ऊ पर गएको । त्यसपछि कहिले पनि मैले छुन नपाएको । आफैलाई ठट्टा गर्छु । कस्तो केटा मान्छे पनि नछुने भएको । जिन्दगीमा अनगिन्ती मान्छे भेटियो । तर त्यो के थियो ऊसँग जो कसैसँग थिएन । सायद मेरो भाऊ थियो ऊप्रतिको । मैले यति मोल माथि गरिदिएकी थिएँ कि थप बोली कसैले लगाउनु पर्ने थिएन।

खुलस्त भनेको थियो उसले तिमी मेरो तेस्रो मान्छे हौ । थाह छैन ऊ मेरो कति नम्बर प्रेमी हो । मलाई त गिन्तीमा पनि भुलाउने मान्छे हो ऊ । जब उसले मेरो आँगनमा पाइला टेक्यो । मैले उसको मनको नाप लिएँ। र आफ्नो मनको प्रयोगशालामा भएको सिसाको भाँडोमा हालिदिएँ। सायद त्यहीँ भाँडोको नाम प्रेम हो । तर ऊ मेरो प्रेमी होइन पटक्क होइन। जाबो प्रेमीले त्यस्तो हैसियत कहाँ पाउँछ र ? ऊ त मेरो प्रेमिल साम्राज्यमा एकछत्र राज गर्ने श्री श्री श्री महाराज १००८ हो।

मान्छेले एक जुनीमा कति पटक साँचो अनि चोखो प्रेम गर्छ । म यसै भन्न सक्दिनँ । म यसको लागि उपयुक्त वक्ता होइन । तर यसो फर्केर हेर्छु । जिन्दगीमा साँच्चैको प्रेम गर्छु भन्नेहरू निकै भेटिए । अनि मैले पनि साँच्चिकै ठानेकाहरूको लाइन  पर तुम्बा धारासम्मै पुग्छ क्यारे।  स्कुले जीवनबाटै गन्ती गर्ने हो भने त अझ परको फुङसिङे डाँडासम्मै जाला।

ऊ मसँग एकदम धेरै बोल्थ्यो। तर अरूसँग कामको विषय बाहेक कहिल्यै बोलेको देखिनँ । कहिले बिहानको ४ बजे ऊउठेर दौडने कहिले ९ बजेसम्म पनि सुतिरहने । कहिले रातभर पढ्ने, कहिले दिनभर साउथ इन्डियन मुभी हेर्ने । एक प्रकारले कुनै कुराको टुङ्गो नभएको जस्तो मान्छे थियो । तर एउटा कुरा उसको गज्जब थियो । शैक्षिक चेत र सेवाभाव । र अर्को कुरा उसको चित्रकला प्रतिको रुचि । मान्छे पुरै पूजा पाठ जपतप ध्यान गर्ने तर भगवानसँग कहिले केही नमाग्ने । उसको हरेक धार्मिक जस्तो देखिने क्रियाकलाप पछि एऊटै इच्छा हुन्थ्यो। मानसिक शान्ति । हामी मगन्ते होइनौ । सर्जक हौँ । उसका यस्तै तर्क र व्यवहारले म प्रभावित थिएँ । एऊटा खास्सा चरित्र उसको के थियो भने उसको बोली र व्यवहार एक थियो। सन्सारमा विरलै मान्छेमा यो चरित्र हुन्छ भन्ने मेरो मत छ । यो बिरलै भेटिने मान्छे हाम्रो स्कुलमा स्वयंसेवक शिक्षकको रूपमा भित्रिएको थियो । शिक्षक सेवा भर्खर पास गरेर आएकी म उस्तै त्यस्तै मान्छे कहाँ गन्ने थिएँ । फेरि मैले गन्नु पर्ने बाध्यता पनि थिएन । मलाइ कसैले पहिले नै गनिसकेको थियो । यो प्रसङ्ग पछि आउला । अहिले उसकै कुरा गरौँ।

ऊसँग देशको मुहार शिक्षा मार्फत फेरिन सक्छ भन्ने राम्रो खाका थियो । देशमा भइरहेको विकृति विसङ्गति, अर्थ राजनीतिको समूल शिक्षाद्वारा सुधार्न सकिन्छ भन्ने उसको तर्क अकाट्य थियो । मैले त्यत्रा त्यत्रा शिक्षाका सिद्धान्त र तीनका प्रणेता रटेको कुरा उसको अघि फिस्स भइहाल्थ्यो । यद्यपि व्यवहारिक रूपमा उसको अवधारणा हेर्न बाँकी थियो । र त्यहीँ ज्ञानलाई व्यवहारिकतामा ढाल्न उसले कुनै दुर्गम विद्यालय छनौट गरेको थियो । उसले भन्थ्यो, “मान्छेलाइ स्कुलले बिगार्छ । स्कुलहरू सबै भत्काउनु पर्छ”। विकल्पमा जीवन सिकाइ केन्द्र खोलिनु पर्ने तर्क थियो। ज्ञान र सीप बिनाको वर्तमान शिक्षा प्रणाली खारेज गरौँ भन्ने त उसले फेसबुकमा कभर पेज नै राखेको थियो। गाँठी कुरा विद्यार्थीले खेल्दा खेल्दै नै सिक्ने र त्यसरी नै सिकाउनु पर्ने तरिका थियो ऊसँग। उसले साना साना नानीहरूलाई सुगाको सट्टा मान्छे बनाउनु पर्छ भन्थ्यो।

त्यसको लागि शिक्षा, सिकाइ र जीवनलाई जोड्नुपर्छ भन्थ्यो। केही काम नपाएर बेरोजगार भएको व्यक्तिले पढाउने होइन । अनुसन्धान  गर्न सक्ने, सङ्गीत, साहित्य, पेन्टिङ, खेलकुद, वाली-विज्ञान, वन-विज्ञान, रैथाने प्रविधि जस्ता सबै कुरामा पोख्त मान्छेले मात्र प्रारम्भिक कक्षामा पढाउनु पर्छ । मान्छे बनाउने कुरा गाह्रो हो । व्यक्तिको जन्मजात गुणको आधारमा उसको भविष्यको खाका  कोरिदिने व्यक्ति शिक्षक मात्र होइन । शिक्षा सेवा आयोगले उत्कृष्ट ठहराएकाहरूले जागिर खान्छन् । पढाउन पनि सक्छन् तर कसैको जीवन दिशा देखाउन सक्छन् भन्नेमा सन्देह रहन्छ । मान्छे त्यहीँ भएर भेडा बाख्रा भइहाल्छ भन्ने थियो । करार र भनसुनमा पढाउने शिक्षकहरूलाई उसले झनै निकृष्ट ठान्थ्यो ।

खाडी गएर ऊँट चराउनु पर्ने मान्छेहरू यहाँ किन केटाकेटीको भविष्य बिगारिरहन्छन्  भनेर रातभर गनगन गरेको सुन्थे। प्रत्येक व्यक्ति केही न केही गुण लिएर जन्मेको हुन्छ । शिक्षाले त्यो गुणलाई फुलाइदिने हो । विद्यार्थीको सामर्थ्य औंल्याइदिने मात्र हो । कसैलाई जोड घटाउ गुना भागा जाने पछि पढ्न मन लाग्दैन तर उसको पुर्खौली पेसा व्यापार हो भने मास्टर डिग्री नै किन चाहियो । डिग्री पढुन्जेल उसको व्यापार स्थापित भइसक्छ । विनोद चौधरी पी एच डी गरेर व्यापार गरेका होइनन् । मिरा राईले दौडमा मास्टर सकेको हो र । मान्छेलाई बेकारमा स्कुल र विश्वविद्यालयमा भुलाइएको बारे उसको ठुलो आपत्ति थियो । यहाँको सामुदायिक विद्यालयले खाँडीको लागि र संस्थागत विद्यालयले युरोप अमेरिकाको लागि कामदार तयार पार्ने कार्य नै नेपालको शिक्षा हो ।

उसको तर्क कति सत्य थियो कति तथ्यमा आधारित थियो उसैले जानोस् । मलाइ के कुरा चाहिँ ताजुब लाग्यो भने मेडिकल, इन्जिनियरिङ, आर्ट्स, कमर्स, एजुकेसन जेसुकै पढे पनि लास्टमा पैसा नै कमाउनु शिक्षाको अन्ततः उद्देश्य हो भने बेलैमा पैसा कमाउने शिक्षा किन सुरु नगर्ने त । यता गयो उता गयो यो पढ्यो त्यो पढ्यो अन्तिममा मान्छे पैसा कै पछाडि लाग्ने रहेछ र पैसा भन्ने कुरा सबैलाई नभई पनि नहुने रहेछ । राजनीति, धर्म, अध्यात्म, स्वास्थ्य संस्था जस्तो पवित्र सेवा भाव हुनुपर्ने क्षेत्र समेत पैसाकै पछि लागेको देखियो । बाहीरी बोक्रे कुरा नगर्ने हो भने बेलैमा केटाकेटीलाई वित्तीय साक्षरताको कक्षा सञ्चालन गर्नुपर्छ । सबैको एक प्रकारको स्टेण्डर् भयो भने मात्र सबै क्षेत्र अलि सफा हुन्थ्यो की । पूर्वीय ज्ञानले सिद्धान्तको कुरा गर्छ । पश्चिमको शिक्षा चाहिँ सीप र दक्षतामा आधारित छ । त्यसैले शिक्षा पश्चिमीहरूको र ज्ञान हामी पूर्वेलीहरूको ठिक छ । यो दुईलाई सम्मिश्रण गरे मात्र वास्तविक विद्यालय शिक्षा सफल हुने उसको दाबी थियो।

उसका यिनै र यस्तै कुराहरूले म मात्र होइन सिङ्गो विद्यालय परिवार नै प्रभावित भयौँ । यद्यपि खासखुस कुरा के पनि चल्यो भने उसको यो अवधारणा अबको ठ्याक्क १०० वर्ष पछि सुरु हुनेछ । खास गरी नेपालमा । मान्छेका कुरा न हुन । कसैले चाहिँ के पनि सुनेको रहेछ भने एउटा गम्भीर प्रेममा परेर धोका पाएको मान्छे हो ऊ । र मन बहलाउन यस्तो मोबाइलको टावर पनि घाम लाग्दा मात्र आउने ठाउँहरूमा डुली डुली हिँड्छ ।

ऊ  अर्थात् मिस्टर स्टेन्जर । यो चाहिँ मैले मेरो कनट्याक्ट लिस्टमा सेभ गरेको नाम हो । नागरिकतामा चाहिँ उसको नाम सेसेहाङ साँवा लिम्बु थियो । मेरो नाम पनि भनिहाल्छु ल । खास नाम इच्छालक्ष्मी खबास । स्कुलमा लक्ष्मी मिस । अँ उसले भने मलाइ डार्क डिजायर भनेर सेभ गरेको रहेछ । म कसरी उसको अँध्यारो इच्छा भएँ । मलाइ भाउन्न भएर आएको थियो । यति रिस उठ्यो कि मिस्टर स्टेन्जर भन्ने कनट्याक्ट नै उडाइ दिएँ । भेटघाट भने सरकारले नै बन्द गरिदियो । कुरा कोरोना कालको थियो । लकडाउनको कारण घर जाने गाडी पनि पाइएन । पुराना साथीहरूसँग फेसबुकमा कुरा गरेर बितिरहेको थियो । नजिकैका चिनेकै मान्छेहरू समेत धमाधम बितिरहेका थिए।

एक प्रकारको सन्त्रासको समय थियो। गाउँपालिकाले कोभिड टेस्ट गर्ने भयो । मलाई  डर लाग्यो यदि ठ्याक्क पोजेटिभ देखायो भने । सबै सर म्याडमहरूको अनुरोध लत्त्याउँदै ‘जन्मिदा एक्लै मर्दा नि एक्लै’ भन्ने गीत सुन्दै बसेँ । भोलि कि पर्सिपल्ट रिपोर्ट आयो । गाउँपालिकाको ३ जना कर्मचारी सहित एक शिक्षक सङ्क्रमित । विद्यालय क्षेत्र थप आतङ्कित भयो । सबैको जिज्ञासा को शिक्षक ?  कुन स्कुलको शिक्षक ? यसो झ्याल खोलेर तल सडकतिर हेरेँ । मिस्टर स्टेन्जर एक हातमा झोला र अर्को हातमा थर्मस बोकेर उभिरहेको देखेँ ।

मैले हत्तपत्त स्वास्थ्य शाखा प्रमुखलाई फोन गरेँ । त्यो सङ्क्रमित शिक्षक उहीँ उभिएको मान्छे  रहेछ । मलाइ एक्कासि रिँगटा चल्यो । यस्तो दुर्गम ठाउँमा कसरी कोभिड आइपुग्यो । यहाँ सङ्क्रमण देखिने बित्तिकै गाउँका मान्छे डराए । भन्न त कसैले पनि भनेनन् तर सबैको मनमा यी सङ्क्रमितहरू यहाँबाट जाउन् भन्ने थियो । एक्कासि एम्बुलेन्स देखा पर्यो । सङ्क्रमित सबैलाई एम्बुलेन्सले लाने भयो । तर मलाइ भित्र भित्र बेजोडले पिडा हुन थाल्यो । सेसेहाङ जाने भयो । यत्रो दिन रिसमा होइन प्रेममा पो जलेको रहेछु ।

मलाई आभास नै नभई त्यो मान्छेले कसरी कसरी मेरो जीवनको अकरणीय पाटो बनिसकेछ । हुन त उसले एक शैक्षिक सत्र पुरा गर्यो । ऊ आएदेखि विद्यालयमा देखिने परिवर्तन भयो। विद्यालयले पहिलो पल्ट लिपपोत पायो । सानो भए पनि चटक्क बगैँचा र फूलबारी पायो । एक विद्यार्थी एक बिरुवा, एक विद्यालय एक बगैँचा त शिक्षा नीतिमै छ नि भन्ने जानकारी मात्र गराएन लागु पनि गर्यो । शिक्षा नियमावलीको नियम ८४(१) यो पालिकाको लागि अमिल्दो छ । हामीले अब पालिकाको अधिकार प्रयोग गरेर माघबाट विद्यालय सञ्चालन गर्नुपर्छ भनेर निकै पटक धायो । हो त्यहीँ बेला पो मलाई थाह भएको उसले शैक्षिक सत्र फेर्ने कुरा गरेको रहेछ ।

अँ अर्को  कुरा दुई वटा दराजमा केटाकेटीका लागि खेल सामग्री र पुस्तक सङ्कलित भएको थियो। एउटा सानै भए पनि लाइब्रेरी खोल्ने उसको योजना थियो। सबैभन्दा गज्जबको परिवर्तन विद्यालय ठिक १० बजे सुरु हुन्थ्यो अनि हप्ताभर विद्यार्थीहरू रमाइ रमाइ पढेको देखिन्थ्यो। माथि भोटे गाउँका केही र उता फुङसिङे गाउँका गरी विद्यार्थीहरू थपिएका थिए। बस्ने ठाउँ नपुग्दा सेसेहाङले आफैँ पनि बेन्च बनाइहाल्थ्यो।

जे पनि गर्न सक्ने मान्छे भएको थियो ऊ। सामान्य मोबाइलको प्राविधिक ज्ञान पनि थियो। फुर्सदको बेला निःशुल्क मोबाइल सर्भिस प्रदान गर्दथ्यो। उसको खास तलब थिएन । विद्यालयले उसको खाने बस्ने व्यवस्था मिलाएको थियो। म विद्यालय नजिकैको घरमा बस्थेँ। हामी स्कुले केटाकेटी लगेर कहिले निवाँफुङ डाँडातिर जान्थ्यौँ। कहिले नजिकैको माङहिममा गएर त्यहाँको गुरुसँग मुन्धुमको कुरा विद्यार्थीहरू माझ गर्थ्यौं । कहिले अलि पर हुचिल झरना तिर जान्थ्यौँ। म बाहिरको मान्छे भएकोले अलि बढी फुर्सद हुन्थ्यो । बाँकी सबै सर म्याडमहरू यहीँको स्थानीय भएकोले यो स्कुल बाहिरको पाठ्यक्रमको थप जिम्मा मलाई थियो।

यी एकाएक ऊसँग बिताएको क्षणहरू तरो ताजा भएर आयो । यहीँ लगभग एक वर्षभित्र कति परिवर्तन गरेको थियो उसले । विद्यालयले पूरा होस पाएको थियो । अनि म चाहिँ पूरा बेहोस भएको थिएँ । हुन त मेरो व्यक्तिगत खोजखबर उसले कहिले गरेन । यदि गरेको भए पनि मैले सही नबताउने सम्भावना निकै थियो । किन मान्छेले ढाँट्छ हँ ? म उसको नजिक भइरहन कहिलेसम्म ढाँटिरहन सक्थे । यदि उसलाई मेरो बिहे भइसकेको हो । श्रीमान् कोरियातिर छन् भन्दा उसले के सोच्दो हो । तर मैले राजी खुसीले त्यो बिहे भन्ने गेम खेलेको होइन । मैले गेम नै भन्नुपर्ने बाध्यता चाहिँ मेरो आमाबाबुले गर्दा आइपरेको हो । म आफैँ केही गर्न चाहन्थे । केही हुन चाहन्थे तर सानैमा मेरो गेम चेन्ज भयो । मलाई उत्तापट्टि घरमा जान मन नै लाग्दैन थियो ।

बाहिरबाट हेर्दा सबै ठिकै थियो तर खै किन किन ममा के के नपुग्दो थियो। यो क्रम चलेको पनि निकै वर्ष भएको थियो । त्यसैले मैले आफू स्व निर्भर हुने निर्णय गरेँ । नतिजा स्वरूप अहिले यहाँ आइपुगेको छु । त्यस्तो दुर्गम स्कुलमा किन जानुपर्‍यो । कुरा नउठेको होइन तर कुरा यहाँ आत्मसम्मानको थियो । अहिले आएर हेर्दा कुरा त त्यो मान्छेसँग भेट हुनु पो रहेछ जस्तो लाग्छ । सेसेहाङसँग जति समय व्यतीत भयो मेरो जीवनकै स्वर्णिम काल थियो । म उसलाई प्रेमभन्दा धेरै अनि यो माया साया भन्दा पनि अर्कै। अझ ठुलो अझ व्यापक रूपमा केही गर्थे । यो अनुभूति र समर्पणको सायद नाम छैन ।

उसले मलाई के सोच्थ्यो म यकिन भन्न सक्दिन । तर यति भन्न सक्छु । यदि जीवनमा मैले केही सफलता प्राप्त गरेँ भने  ऊ भन्दा खुसी अरू कोही हुन सक्दैन । र मैले दुख पाएँ भने उसले जति सहयोग पनि मलाई सायद कसैले गर्दैन । खासमा मलाई आइपर्ने सहयोगी हातहरू अरू पनि निकै नै हुन सक्छन् । तर ती हातहरू कोही कर्तव्यका, कोही सामाजिक बाध्यताका र केही स्वार्थका हुन्छन् । स्वतःस्फूर्त र विना लेभलको सहयोग उसैको हुन्छ । हाम्रो यात्राको न कुनै नाम थियो न कुनै गन्तव्य । तर यस्तो यात्रा काश सबैले गरोस् । म को हुँ भनेर चिनाईदिने मान्छे कसलाई चाहिँदैन र । मैले भनिसके नि । ऊ न मेरो प्रेमी हो न त हामीले सँगै मर्ने सँगै बाँच्ने भन्यौँ । न हाम्रो कुनै भविष्य थियो न त कुनै बन्धन । न हामीले त्यस्तो यो लोकमै नभएको त्यस्तो केही असामाजिक कार्य नै गर्यौं । हामी बस हामी मात्र भयौँ ।

यहाँबाट एम्बुलेन्स हिँडेको बेलुका देखि फोन गरेँ । उठे त मरिजाऊँ । कोभिड लागेको मान्छे जति बेला पनि अक्सिजन लेभल घट्न सक्छ । जति बेला पनि चोला फेर्न सक्छ । सामाजिक सञ्जालले त्यहीँ भन्थ्यो । पत्रकार, शिक्षक, कर्मचारी, प्रहरी सबै सबै स्वास्थ्य विज्ञ भएको बेला थियो । सेसेहाङले मरिगए फोन उठाएन । पर्सी पल्टदेखि अफ नै भयो । मेरो ढ्याङ्ग्रो बजेको बजेकै गर्न थाल्यो । खाने बस्ने होस भएन । एक हप्तापछि उसले हेडसरलाई अब म स्कुल आउँदिन भनेर म्यासेज पठाएछ । गाउँभरिका मान्छेले उसलाई  कोभिड पोजेटिभ हुँदा गरेको व्यवहारले साह्रै मन दुखाएछ । त्यत्रो जीवन दर्शन नै बोकेको मान्छे पनि मान्छेकै व्यवहारबाट थाक्दो रहेछ । स्कुलमा त्यस्तै चर्चा भयो । तर ऊ यत्तिमै थाक्ने मान्छे होइन भन्नेमा म चाहिँ विश्वस्त थिएँ । उसले सही बहानामा स्कुल छोड्ने निर्णय गर्यो भन्नेमा मेरो मत थियो । यो मत कहीँ पनि जाहेर गर्न नमिल्ने थियो । मलाई हरेक साँझ नै अँधेरो जस्तो । घाम पनि मधुरो जस्तो। यो स्कुल पनि हल्लाखल्ला जस्तो मात्र लाग्न थाल्यो । पठनपाठन नियमित थिएन । मनमा एक तमासको खालीपन थियो । आखिर के थियो त सेसेहाङ मेरो लागि । झन्डै १५ दिन पछि उसले मलाई लामो म्यासेज लेखेछ । यति खुसी भएँ कि त्यति म शिक्षा आयोग पास हुँदा पनि भएको थिइनँ । तर मुर्दारले म्यासेज चाहिँ के खाले लेख्यो लेख्यो ।

मेरा पनि तिम्रो जस्तै धेरै खाल्डाहरू छन् । चाहेर नचाहेर पुर्ने कोसिस गर्छु । मलाई भौतिक जीवन यी र यस्तै तानाबानाले जेलिएको हुन्छ भन्ने लाग्छ । त्यसैले म स्वतन्त्र जीवन बाँच्न चाहन्छु । न कसैको दबाबमा न कुनै प्रतिशोधमा । वास्तवमा जीवन मृत्युको तयारी मात्र त हो । साधना र तपको लागि समय पुग्दैन भनेर मैले गृहस्थी बारे कहिल्यै विचार गरिनँ। भ्यायौ भने अटोवायोग्राफी अफ योगी पढ्नु । त्यो मिलेनछ भने सिद्धार्थ पढ्नु । त्यो पनि भएन भने अलकेमिस्ट पढे पनि भयो । अँ खासमा तिम्रो लागि यहीँ वेस्ट होला की । अनायास दैवले तिमीसँग जोडिन लेखेछ । न कुनै हतारो न कुनै पश्चता एउटा मिठो साईनो जोडियो । मलाई यस्तो पनि हुन्छ र ? जस्तो लागेर उस्तै कथा भेट्न गुगल गरेँ । भागवत गीता पढेँ । कहीँ चित्त बुझेन । आत्म सर्वेक्षण गरिहेरेँ । कति पनि ग्लानि भएन । मलाई लाग्यो मैले बेठिक गरिन । प्रेमको विराटतालाई मनुष्यले कति सङ्कुचित रूपमा बुझेको रहेछ हगि । मलाई तिम्रो आभास सधैँ हुनेछ । यी हेर त अहिले पनि तिमी मेरो नजिक छौ । कानमा तिम्रो मिठो आवाज सधैँ गुञ्जन्छ । मलाई तिम्रो यस्तै साथ भए पुग्छ जिन्दगी नै माग्ने मेरो हैसियत रहेनछ । समयले मलाई अझ निर्धो साबित गर्दै छ । तिम्रो सामीप्यको आभाको अघि म केबल प्रयास मात्र गर्छु जस्तो लाग्छ । तिमीलाई मैले जुन स्थानमा राखेँ त्यो कसैको हुनेछैन । तिमीसँग मेरो कहिल्यै गुनासो हुने छैन । खाली एउटै कुरा हाम्रो भेट ढिलो भयो । म तिमीसँग बिदा मागेर हिँड्न सक्छु जस्तै लागेन । खैर जीवनमा तिमी सदा अमेट रहनेछौ।

कस्तो मिठो दुखाइ । यो म्यासेजले पिडा र प्रेमको एकै चोट प्रहार गर्यो । एउटा मिठो साथ छुटेको थियो । अब ऊ नआउने पक्का थियो । तर उसले एउटा सोच छाडेको थियो । विद्यालय र शिक्षाको लागि देखेको सपना छाडेको थियो । उसको अपुरो शैक्षिक सपनाहरू मैले पुरा गर्नुपर्ने थियो । लेख्न त मैले पनि निकै म्यासेज लेखेँ । तर किन किन पठाउनै सकिनँ । मन पनि भएन ।

मलाई उसको म्यासेजको उत्तर लेखेर होइन । गरेर पठाउनु थियो । यस्तरी पठाउनु थियो कि उत्तर पढ्न होइन हेर्न आउनु परोस् ।

सेवारो ।