‘नमस्कार है हजुर ! आज एघार बजे धृतिको घुम्टो हटाउने कार्यक्रम छ, बिर्सनुहोला भनेर सम्झा’को । म त्यसकै कामले अलि व्यस्त छु । भरे उतै गफ गरौँला, अहिलेलाई मैले राखेँ पनि ।’

उसले नमस्कार फर्काउन पनि नभ्याउँदै फोनकर्ताले फोन काट्यो ।

‘कस्तो मु… स्वाँठ रे’छ । खबर मात्र गर्नु थ्यो त म्यासेज नै गरेको भए भई त हाल्थ्यो ! कसैलाई नपरेको कुकुर चटारो यही जाँ..लाई पर्दो रेछ ।’

उसले कपको पिँधमा बाँकी चिनीबिनाको कालो चिया घुटुक्क निल्यो र भित्तामा टाँगिएको घडी हेर्यो । ब्याट्री सकिएको घडी गजधम्म थियो ।

यत्तिकैमा धृति कोठाभित्र छिरी, उसले देख्यो धृतिको अनुहारमा अभावका उदासीहरू उसले खाने गरेको कालो चिया जत्तिकै खल्लो भएर छरपस्ट छ । झ्यालपट्टि मुन्टो बटारेर उसले श्रीमतीको उदासीन अनुहार देख्दै नदेखेझैँ गर्यो ।

‘लौन ! स्कुलबाट हिजो पनि फोन आ’को थ्यो । एक हप्ता भैसक्यो भोलि भोलि भनेको, मलाई त शरम नै लागिसक्यो । तपाईंले चाहिँ नसुनेको कि मतलब नगरेको ?’

‘कहिलेकाहीँ मान्छेले देखेर, सुनेर र बुझेर पनि गर्न सक्ने चाहिँ केही हुँदैन नि ? हो, म त्यही अवस्थामा छु, त्यसैले मेरा इन्द्रिय र जिम्मेवारीमाथि शङ्का गर्ने काम नगर तिमी ।’

उसले झ्यालबाट क्षितिजतिर हेरेर जवाफ दियो ।

‘बरु त्यो शर्माजीलाई भेट्नु नि ! यसो त्यस्तै काम आएको रैछ भने गरे भैगो त ! दस÷पन्ध्र दिन लाग्नु भो भने सकिहाल्नु हुन्छ । एडभान्सको पैसोले छोराको स्कुलमा तिर्न पुग्छ । बाँकी पैसो भए एक÷दुई महिना त कमसेकम सुबिस्ताले बित्छ । तपाईंको आदर्शले घरको चुल्हो बल्दैन, छोराको फिस तिर्दैन ।’

थोत्रो सोफामा थुप्रिएका पतिका कपडा पट्याउँदै धृतिले लोग्नेको अनुहार हेरी ।

‘को शर्माजी ? त्यो दलाल ? अब म बाँच्नकै लागि त्योसँग गएर हात जोडौँ ? ढिलो चाँडोको कुरा हो, सबै व्यवहार मिल्दै जान्छ, तिमी धेर चिन्ता नगर ।’

यो पटक उसले श्रीमतीको अनुहार हेरेर यति भन्यो ।

‘नापियो ! यही रटान सुनेर कपाल फुल्ने बेला भैसक्यो । तपाईंले ज्यू ज्यू गर्नै पर्दैन, तिनीसँग सित्तैमा लिएर खाने हैन क्यारे ! आफूले जानेको काम गर्दे बापतको पैसो लिनलाई कोही सानो ठुलो हुँदैन ।’

‘आफूले लेखेको कुरो बेचेर खाइँदैन ।’

‘त्यसो भए लेखेकै कुरो चपाएर बस्नू !’

ड्याम्म ढोका लगाएर श्रीमती भान्सातिर गई । ऊ एक छिन रनभुल्ल भयो । झुन्ड्याइराखेको सर्टको गोजीबाट उसले चुरोटको बट्टा झिक्यो र बाँकी रहेको अन्तिम खिल्ली उडाउन

थाल्यो । हठात् उसको ध्यान उसैले टेबलमा राखेको चुरोटको खाली बट्टामा पर्यो । टेबलमा बडो शानले बसेको सूर्य चुरोटको बट्टालाई हेर्दै उसको ओठमा च्यापिएको पाइलट चुरोटको खिल्ली हीनताबोधले निसास्सिरहेको झैँ उसलाई लाग्यो ।

‘मलाई सूर्य चुरोटको बट्टामा पाइलट चुरोट हालेर किन दियो त्यो पसलेले ! के त्यसले मेरो खिल्ली उडाएको ? उडुस कहीँको !’

उसले टेबलको सूर्य चुरोटको बट्टालाई हत्केलामै किचिमिची पा¥यो र त्यो डल्लोलाई झ्यालबाट फ्याँक्यो ।

स्वास्नीले माइतीबाट ल्याएकी गुन्द्रुकको झोलसँग बाउले गाउँबाट पठाइदिएको चामलको भात खाएपछि अग्निदत्त शर्मा बाहिर निस्कनै के लागेको थियो, श्रीमतीले सोधिहाली – ‘हैन काँ हिँड्न लाग्नु’भा फेरि ?’

‘तिम्रो यो बानी चैँ कहिल्यै नसुध्रिने भो है ! जब हिँड्न लाग्यो अनि साइतै बिग्रने गरेर ‘काँ हिँडेको ?’ भन्नु पर्ने, कति सम्झाउनु !’

उसले जुत्ता टकटक्याउँदै मुख बिगार्यो ।

स्वास्नी लोग्नेको अनुहार वाल्ल परेर हेर्न लागी ।

‘आज तिम्रो घुम्टो हटाउने रे ! (उसले आँखा झिम्क्यायो) बिहान फोन आ’थ्यो त्यो दलालको, एघार बजे पुग्नु छ ।’

उसकी पत्नी झनै वाल्ल परी ।

‘त्यही किताब के त ! त्यसैको विमोचन रे क्या, ‘धृति’को ।’

यो पटक पत्नीको मुहार रातो रातो भयो, ऊ मुसुक्क मुस्कुराई ।

‘ए लौ लौ, आज यसो कुरो पनि चुहाइ हेर्नू नि ! मिलेछ भने काम लिँदा हुन्छ । दुई-तीन महिना भने पनि आनन्द हुन्छ । म यस्तो काम गर्दिन भनेर ठुलो मान्छे बन्ने हैन नि फेरि ! उनीहरूलाई त के छ र ! तपाईंले नगरे, गर्ने कति पाउँछन् पाउँछन् ।’

ऊ टेम्पोबाट सुन्धारा ओर्लियो र बागबजारतर्फ लाग्यो । सुन्धारादेखि बागबजारसम्म जाँदा उसले एक मनले सोच्यो– ‘तातो न छारो म किन जाने त्यहाँ ? मेरो काम पो के छ ? खासमा मेरो काम त त्यो शर्मालाई पुस्तक इमेल गर्दे पछि नै सकिएको हो नि ! वरिष्ठ बनाइएकाहरूलाई मुखमा हेरेर ङिच्च गर्दै नमस्ते गर्न किन जानु म ?’

उसलाई फेरि लाग्यो– ‘हैन हैन ! म गएर चाहिँ के बिग्रन्छ र ! हेरौँ न, माहौल के कस्तो हुँदो रैछ । के कसो भन्दा रैछन् । आखिर अरू काम पो के नै छ र !’

मनमा कुरा खेलाउँदै ऊ बागबजार पुग्यो । पुस्तक विमोचनको कार्यक्रम कुनै अमुक होटेलको सभा हलमा गरिँदै थियो । गेटदेखि नै बिहेघर जसरी सजाइएको होटेलको साजसज्जा  देखेर उसलाई एक पटक गलत ठाउँमा पो आएँ कि क्या ! भन्ने भ्रम पनि भयो । ऊ धक मान्दै मान्दै गह्रौं पाइला लतार्दै भित्र छि¥यो । ‘विमोचन कार्यक्रम यता’ भनेर बाण चिन्हले जता जता देखाउँछ ऊ त्यता त्यता गयो । सभा हलको बाहिरपट्टि निलो सारीमा सजिएकी एउटी आकर्षक कायाकी नवयुवतीले उसलाई झुकेर अभिवादन र स्वागत एकै पटक गरी । एकाएक युवतीको उच्च उरोजका साथ गहिरो र अलौकिक सौन्दर्ययुक्त नाभिमा अल्झिएर रङमङिएकाे उसको होसले युवतीको अभिवादन फर्काउने भने मेसो  पाएन । उसले हलभित्र पस्दा हप्प गर्मी भएको अनुभव गर्यो ।

हलको चारै कुनामा ठुला ठुला ब्यानर टाँगिएका थिए, ब्यानरको एकातिर पुस्तकको आकर्षक कभर प्रिन्ट गरिएको थियो भने अर्को छेउमा कथित लेखिकाको तस्बिर थियो । रङ्गिन कपालमाथि कालो चस्मा सिउरिएकी पैँतालिस-पचासकी लेखिकालाई उसले गौर गरेर हेर्याे र मुसुक्क मुस्कुरायो । मञ्चको वरिपरि विशिष्ट अतिथिहरू कोही विराजमान थिए त कोही विराजमान हुने क्रममा थिए । उसले भन्ने गरेको दलाल प्रकाशक ढोकाको छेउमा पाहुनाहरूको स्वागतार्थ हात जोडेर उभिएको थियो । ऊ सरासर गएर अन्तिम लहरको अन्तिम कुर्सीमा बस्यो । उसले चिनेकाहरू,नचिनेकाहरू, उसले मात्र चिनेकाहरू, साहित्यकारहरू, स्वघोषित साहित्यकारहरू, समालोचकहरू, पत्रकारहरू टनाटन थिए । चिनिएका र किनिएकाको यति बिघ्न बाक्लो उपस्थिति देखेर ऊ छक्क पर्यो ।

त्यत्तिकैमा ऊ बसेको लहरको पछाडिको सानो ढोकाबाट हलभित्र लेखिका प्रवेश गरिन् । उसले पछाडि फर्किएर हेर्यो, लेखिका आएको ढोका शौचालयको रहेछ । तिनको शरीरबाट निस्किएको अत्तरको मनमोहक गन्धले ऊलगायत वरि-परिकाको नाक प्रफुल्ल भए । लेखिकाको गलामा झुन्डिएको सुनको सिक्री, हातका बाला, औँलापिच्छे लगाइएका विभिन्न डिजाइनका औँठीहरू देखेपछि उसलाई लाग्यो कि– लेखिका क्षमतावान् मात्र होइन निकै धनवान् पनि छिन् ।

कार्यक्रम सुरु भयो । विशिष्ट अतिथिले पहिर्याइदिएको सयपत्रीको माला र प्रकाशकले ओढाइदिएको खादा लगाएर लेखिका गजक्क परेर बसिन् । कथित समीक्षक, समालोचक आदित्यादीले पुस्तकका बारेमा चर्चा परिचर्चा गरे ।

एउटाले भन्यो– डायस्पोरिक साहित्यमा यो एउटा कोसे ढुङ्गा हो ।

अर्कोले भन्यो– वर्तमान नेपाली साहित्यमा एउटा देदीप्यमान नारी हस्ताक्षरको उदय भएको छ ।

फेरि अर्कोले थप्यो– भाषिक सौन्दर्यले युक्त यति लालित्यमय उपन्यास हालमा चाहिँ मैले पढेको छुइन ।

अझै अर्कोले भन्यो– वहाँको प्रथम पुस्तक पढेदेखि नै म वहाँको प्रशंसक भएको हुँ । यति छोटो अन्तरालमा तीन-तीन वटा पुस्तक त्यसमाथि यो स्तरको लेख्नको लागि सानो अध्ययन, मेहनत र लगनशीलताले सम्भव छैन ।

सबैले ताली बजाए । उसले पनि बजायो । उसले नयाँ कुरा थाहा पायो, लेखिकाको यसअघि नै अन्य दुई पुस्तक प्रकाशित भैसकेका रहेछन् ।

अन्तिम अन्तिममा उद्घोषकले निकै अन्योलकाबिच लेखिकाको नाम बोलायो । लेखिका माइक अगाडि उभिएर एक छिन अकमक्क परिन् । माइकलाई तीन-चार पटक हातले ठटाइन्, फुकिन्, फेरि ठटाइन् ।

उसले आँखा नझिम्क्याई लेखिकालाई हेरिरह्यो ।

अन्ततः लेखिकाको मुखबाट बोली निस्कियो ।

‘यस सभाका सभापति, आदरणीय अतिथि जन तथा प्रिय पाठकहरूमा अभिवादन । मेरो तेस्रो कृतिको रूपमा आएको ‘धृति’ उपन्यासको बारेमा म के भनूँ ! यो एउटी नारीको कथा हो, जहाँ कतै म आफैँ उपस्थित भएकी छु, कतै मेरा भोगाइ र अनुभूति उपस्थित छन् त कतै समाजमा देखेका घटना र पात्रका अनुभूतिलाई उपस्थित गराएको छु । समग्रमा यो एउटा नेपाली नारीको कथा हो । यस उपन्यास लेख्दै गर्दा म कत्ति पटक रोएँ, कतै हाँसे र कतै पात्रसँग बग्दै जाँदा उपन्यासको मुख्य पात्रकै रूपमा आफूलाई उभ्याएँ । यसका सबल पक्ष र दुर्बल पक्षका बारेमा विज्ञ समीक्षक, समालोचक, अग्रज तथा पाठकहरूले कृतिको पठनपछि बताउनु नै हुनेछ । मेरो दुई शब्द यहीँ टुङ्ग्याउँछु, हवस् त धन्यवाद ।’

सबैको गडगडाहट तालीले लेखिकाको मन्तव्यलाई अनुमोदन ग¥यो । उसले पनि ताली बजायो, र यो पटक उसले लेखिकाको बारे अर्को नयाँ कुरा थाहा पायो कि– लेखिकाको अभिनयमा पनि राम्रो दखल रहेछ ।

औपचारिक कार्यक्रम सकिएपछि पाठकहरू पुस्तक किनेर लेखिकाको हस्ताक्षर लिन लाइन लागे । उसलाई कसैले कोट्यायो, ‘हजुर पनि लिनुहुन्छ कि ?’

‘भयो, मैले पढिसकेँ ।’

उसले कार्यक्रममै व्यवस्था भएको कफी सुर्काउँदै अन्तैतिर हेर्यो ।

‘ओहो अग्निदत्तजी ! काँ यता कुनामा बसिरा’को भन्या ! जाऊँ हिँड्नुस् यसो चिनजान गरौँ ।’ प्रकाशकले मञ्चतिर देखाउँदै भन्यो ।

‘हैन हैन ठिकै छ, म यतै ठिक छु । मैले सबैलाई चिनिसकेँ । बरु अब निस्कनु पर्ला ।’ ऊ टकटकियो ।

‘हत्तेरी के भन्नु भएको यस्तो ! लन्चको कार्यक्रम छ, खाएर जानुपर्छ । यी यताबाट बायाँ

छिर्ने !’ प्रकाशकले बाटो देखायो ।

‘गएर लिँदै गर्नुस्, म पनि आइहालेँ । त्यसपछि हामी दुईबिचमा एउटा कुरा छ, गोप्य !’ ऊ दाँत देखाउँदै मञ्चतर्फ बढ्यो ।

अग्निदत्त शर्मा एक छिन अक्क न बक्क पर्यो र कुर्सीबाट उठेर प्रकाशकले देखाएको दिशातिर लाग्यो ।

उसले यो प्रकारको लन्च जीवनभरमा एकाध पटक मात्र भेटेको होला । सालोको बिहेको पार्टीमा खाएको जति भव्य खाना उसले अन्त कतै खाएकै थिएन । नेपालको सामान्य लेखकको पुस्तक विमोचनमा यो प्रकारको भव्यता उसको कल्पनाभन्दा टाढाको कुरा थियो । अग्निदत्तले बिहान खाएको गुन्द्रुक र भातलाई ‘देखिस् त ?’ भन्ने शैलीमा डबल लन्च गर्‍यो र केही बेर यो विमोचनको खर्च अनुमानमा झोक्रियो ।

होटेलको गेट नजिकै ट्याक्सीहरूको लाम थियो । अग्निदत्तले देख्यो कि प्रकाशक शर्मा विमोचन भएको पुस्तकको बिचमा सानो खाम राख्दै वरिष्ठ पाहुनाहरूलाई बिदाइ गर्दै छ । ऊ एक छिन गम खायो र बजारमा कहिलेकाहीँ सुनिआएको हल्ला साँचो रहेछ भन्ने निष्कर्षमा पुग्यो ।

उसले यस पटक लेखिकाको बारे अर्को तथ्य पत्ता लगायो कि– लेखिका धनकी मात्र होइन मनकी पनि धनी रहिछन् ।

कार्यक्रममा आएका सबैलाई बिदा गरिसकेपछि प्रकाशकले अन्तिममा लेखिकालाई बिदाइ ग¥यो र अग्निदत्त बसेको कुनाको एउटा टेबलमा गएर बस्यो ।

‘अब हजुरको काम आयो, एउटा राम्रो प्रोजेक्ट छ । तीन महिनामा सके हुन्छ ।’– प्रकाशकले कुरा सुरु ग¥यो ।

‘हैन, म सक्दिन । यस्तो काम एकपल्टलाई गरियो, अब नगर्ने ।’– अग्निदत्तले चाख देखाएन ।

‘कस्तो मान्छे हो तपाईं ! नगर्ने चाहिँ किन ? पैसा पनि त आउँछ नि । आफ्नो क्षमताले गर्ने कुरो हो, कुनै दुई नम्बरी थोडी हो ? तपाईं जस्तो मान्छेले यसो पन्ध्र-बिस दिन लुखुरलुखुर पार्नु भो भने सकिइजान्छ त ।’

प्रकाशकले वेटरलाई बोलाएर केही इशारा गर्‍यो । क्षणभरमै टेबलमा केही पेय पदार्थ र स्न्याक आयो । अग्निदत्तले प्रकाशकको अनुहारमा हेर्यो ।

‘सबै गइसके त ! हामी दुई हो बाँकी, यसो माहौल बनाउनलाई मात्र हो । अलिअलि लिऊँ न !’

‘हैट ! हुन्न । यसरी दिउँसै काँ हुन्छ !’

‘हल्का भन्दै छु त !’

अग्निदत्तले त्यसपछि प्रतिवाद गरेन ।

‘हेर्नुस् शर्माजी, यसरी कुनामा बसेर लेखेर तपाईंको केही हुनेवाला छैन । केही हुनलाई मान्छेसँग घुलमिल हुनुपर्छ, चिनजान गर्नुपर्छ । नमस्ते गरेपछि नमस्ते पनि खाइन्छ के ! म चाहिँ तपाईंको भलो होस् भनेर भन्छु, तपाईं भने खालि फोस्रो आदर्श छाँट्नुहुन्छ । काम मसँग जत्ति भने पनि छ । तपाईं हुन्छ भनेर सुरु मात्र गर्नुस् न, पैसाको के दुःख ! अब छोराको पढाइ, घरखर्च, यताउता । खर्च त तपाईंको पनि निकै होला । काम छैन, सधैँभरि कति अभावमा पिल्सिएर आदर्शको खोक्रो बर्को ओढ्नुहुन्छ ?’

प्रकाशकले खर्च र छोराको पढाइको कुरा गरेपछि अग्निदत्तलाई झ्वास्स छोराको स्कुल फिसको बारेमा बिहान धृतिसँग भएको गन्थन मन्थन याद आयो ।

‘अब हेर्नुस् ! के लेख्ने कसो लेख्ने त्यो मलाईभन्दा तपाईंलाई नै थाहा छ । तपाईं मेरो साथीजस्तो मान्छे हुनाले पनि पहिलेको भन्दा यसमा अलिकता रकम मेरो तर्फबाट थप गर्ने विचार गरेको छु । के छ त तपाईंको विचार !’

‘हैन होस् म गर्दिन ।’–अग्निदत्तले अन्तिम घुट्को निलेर भुईँतिर हेर्दै भन्यो ।

‘तपाईं पनि अचम्मकै मान्छे हुनुहुँदो रेछ, पढायो पढायो सोह्र दुना आठ । बरु अहिले कति दिऊँ ? मैले पहिलेको भन्दा बिस थप्ने विचार गरेको छु । समस्या छ भने आजै आधा लिएर जानुस् र काम सुरु गर्नुस् ।’

प्रकाशकले गोजीबाट चेक झिक्यो र रकम भर्न थाल्यो । अग्निदत्त को आँखासामु आफ्ना अभाव र आर्थिक सकसका हरेक क्षणहरू नाच्न थाले ।

‘धेरै ठुलो मान्छे नहुनुस् ! ल यो राख्नुस् !’– प्रकाशकले टेबलमाथि चेक राख्यो ।

अग्निदत्त कहिले चेक त कहिले प्रकाशकलाई हर्दै निकै बेर सोच मग्न भयो । अन्त्यमा उसले चेक टिप्यो र गोजीमा राख्यो ।

* * * 

अग्निदत्तलाई कता टेकिरहेछु भन्ने पत्तो भइरहेको छैन । उसको शरीर बागबजारबाट सुन्धारातिर लागिरहेछ भने मन कहिले कता लाग्छ, कहिले कता । बाटोभरि उसले अनेक अनेक सोच्दै हिँड्यो र अन्तिम निष्कर्षमा पुग्यो – ‘आ ऽऽऽ त्यो दलेले भनेको कुरो पनि ठिकै हो । मेरी स्वास्नीले भनेकी पनि ठिक हो । यो काम मैले नगरे अरू कसैले गर्छ । मलाई पैसा चाहिएको छ, त्यसलाई किताब । मेरो खोक्रो आदर्शले मेरो चुलो बल्दैन, छोराको फिस

तिर्दिँदैन । बेकारको घमन्ड गरेर के मार्नु छ र ! दले, मान्छे त्यस्तो भए पनि दिलदारै हो । त्यसले मलाई ‘धेरै ठुलो मान्छे नहुनुस् भन्यो, सुन्दा रिस उठे पनि त्यसले त्यो मेरो हितमै भनेको हो । ठिकै भन्यो त्यसले, अबदेखि म ठुलो मान्छे बन्दिन । अबदेखि अग्निदत्त शर्मा ठुलो मान्छे बन्दैन ।’

उसले सर्टको अगाडि गोजीमा घुसारेको चेकलाई बिस्तारै छाम्यो र लर्बरिँदै महाकाल मन्दिर नजिकैको जेब्रा क्रसबाट पारि तर्यो ।