
ही… ही… ही…
माथिल्लो रोडबाट गुन्जेको सामूहिक हाँसोले अचानक झस्कियो सङ्कल्प ।
हैन हाम्रै गाउँका दिदीबहिनीहरू हैनन् यी ? हाँसो त चिने चिने झैँ लाग्छ । अब घरसम्म पुग्नलाई साथीहरू पनि पो भए । अलि पर चौतारीमा कुरेर बस्नु पर्ला । अन्तर्मनसँग कुरा गर्दै ज्याकेटको गोजीबाट चुरोट निकाल्यो र हतार हतार सल्काउँदै चौतारीतिरको बाटो ततायो ।
हैन आधा घण्टा हुन लागिसक्यो त ! यिनीहरू अझै आइपुग्दैनन् ! फेरि बाटो पनि यही हो । न यिनीहरू अरू नै कोही हुन् कि ? आ… ! भो अब पर्खन्न । बरु बिस्तारै हिँड्छु । फेरि जाडो पनि लागिरहेको छ । यो माघको ठण्डी । पर शेर्पा दाइको होटेलमा गएर जाँड खानुपर्ला । अनि त घर पुग्नलाई यसो ऊर्जा पनि त मिल्छ । सोच्दै चुरोटको अन्तिम सर्को तान्यो उसले ।
दुई कचौरा जाँड सक्काउँदा पनि उनीहरू नआएपछि उसले आफ्नो घरको बाटो ततायो । केही पर पुगेपछि घडी हेर्यो । भर्खर रातको ९ बज्दै थियो ।
आज किन कोही हिँड्दैनन् भनेको त रात धेरै बितिसकेर पो रहेछ । फेरि बाटो पनि उस्तै डरलाग्दो छ क्यारे । अहो ! मुर्दा खेद्ने बाटो आइपुग्नै बाँकी पो छ त । त्यै बाटोको छेउमा किचकन्याहरू पनि हिँड्छन् भन्ने कथा उहिल्यैदेखि सुनिएको छ । फेरि आज म एक्लै । तर केही छैन । चुरोट छँदैछ क्यारे ! सोच्दै ज्याकेटको खल्ती छाम्यो उसले ।
अलि अलि डराउँदै । चुरोट सल्काउँदै । दायाँबायाँ कतै नहेरी फटाफट आफ्नो बाटो तताउँदै मुर्दा खेद्ने बाटोनेर पुग्यो । त्यहाँ पुग्ने बित्तिकै केही अनौठो महसुस गर्यो उसले ।
निस्पट्ट अन्धकार । सुनसान रात । कतै हावा चलेको सम्म आवाज आउँदैन । केही परबाट आएको गुह्य खोलाको आवाजले भने अचानक तर्सियो ऊ । उसलाई त्यो खोला छ भन्ने थाहा नभएको हैन । तर अचानक तर्सियो कसरी ? यसको भेउ ऊ आफैँले पाउन सकेको थिएन ।
खोलाको आवाजले तर्सिएसँगै कहिले गीत गाएजस्तो । कहिले हाँसेजस्तो । कहिले केही बोलेजस्तो अनेक अनेक प्रकारका आवाजहरू उसको कानमा गुन्जन थालेका थिए । उसको कानमा यी अनेक प्रकारका आवाजहरू गुन्जिए पनि ऊ भने रत्तीभर डराएको थिएन । कसैको मोहनी मन्त्रले लट्ठिएजस्तो एकोहोरो भएको थियो । आफ्नो वरिपरि भइरहेको घटना त थाहा थियो उसलाई । तर त्यसमा के छ र के कारण यस्तो भइरहेछ भन्ने चाहिँ थाहा थिएन ।
मुर्दा खेद्ने बाटो कटेपछि अलि पर दोबाटो आउँथ्यो । दोबाटो पुग्ने बित्तिकै फेरि अर्को चुरोट सल्कायो । “हैन के भइरहेछ आज मलाई ? कैले के के आवाज गुन्जेको छ । कैले ध्यान एकोहोरो भएको छ । फेरि आफ्नो वरिपरि त्यस्तो केही छैन । केहीले तर्साएको भनौँ हातमा चुरोट छ । जाँड लागेको भनौँ, जाबो दुई कचौरा जाँडले मात्ने कुरा पनि त भएन । खै के हो के ?” लामो सुस्केरा तान्दै दोबाटोको उकालो लाग्यो ।
अलिकति उकालो कटेपछि फेरि अर्को खोला आउँथ्यो । खोला वरिपरि खुल्ला ठाउँ नभएर पूरै बाँस घारी र भालु सोतर थियो । खोलाको मुहान त्यस्तै ५०० मिटर माथितिर थियो । त्यो खोलाको मध्य भाग भने अँध्यारो र साह्रै डरलाग्दो थियो । दायाँ बायाँ दुवैतिर पहाडले छेकेको र बिचमा खोच परेको त्यो खोलासँग त्यही गाउँका स्थानीय त प्रायः डराउँथे भने, भो नयाँ आगन्तुकको त कुरा नगरेकै जाति ।
दुर्भाग्य भनौँ या सौभाग्य ! त्यही बाटो भएर उसको घर जानु पर्थ्यो ।
नोकिया मोबाइलको लाइटको सहायताले जसोतसो घर पुग्नै आँटेको थियो ऊ । त्यो खोलाको सय मिटर जति पर उत्तर दिशामा उसको घर थियो ।
त्यो खोला, बगिरहने खोला मात्र नभएर खत्री टोलको पधेरो पनि थियो । गाउँमा एक घर एक धारो हुनु पहिले खत्री टोलको साझा धारो त्यही पँधेरो थियो । एक घर एक धारो भएपछि धेरैले त्यो पधेरो बिर्सिसकेका थिए । कहिलेकाहीँ ट्याङ्की या पानीको पाइपमा खराबी आएको बेला भने तिनको विकल्प भनेको त्यही पँधेरो थियो । दस बज्नै आँटेको बेला पँधेरो नजिक पुग्यो ऊ ।
“ए दाजु यो गाग्री माथि तान्न सघाउनु न । म त ढाड दुखेर मर्नै आँटे । आज दिनभर आलु रोप्न भनी मल बोकेको, साह्रै थकाइ लाग्यो ।” पानी भरिँदै गरेको गाग्रीतिर इशारा गर्दै पँधेरोदेखि अलि पर ओभानो भुइँमा लम्पसार परेर सुती बिना ।
हुन पनि बिनाको घरमा कोही थिएनन् । ऊ बाहेक घरका अरू सबै मामाघर गएका थिए । मामा घरमा जेठा मामाको छोराको बिहे थियो क्यार ।
बिना उसको काकाको छोरी थिई ।
“हेर्नु न दाजु कस्तो नराम्रोसँग दुखेको यो ढाड । म त मर्छु क्यारे । लौ अब चाहिँ गाग्री उचालिदिनु है । बरु बोकेर घरमै पुर्याइदिए राम्रो हुन्थ्यो ।” गाग्री समाउँदै भनी बिनाले ।
“पख एकछिन । एउटा चुरोट सल्काउँछु म ।” यति बोल्दै ज्याकेटको गोजीमा हात हाल्छ ऊ ।
“यहाँ मान्छेलाई ढाड दुखेर मर्नु भइसक्यो । ह्या पर्दैन चुरोटसुरोट खान ।” लामो सास फेर्दै ऊ सङ्कल्पको मुखमा भएको चुरोट खोस्न पाइला के लम्काएकी थिई लाइटर बाली सङ्कल्पले चुरोट सल्काइ भ्यायो पनि ।
उसले चुरोट सल्काएको मात्रै के थियो, बिना र गाग्री अचानक गायब भए । त्यसपछि भने छाँगाबाट खसेजस्तो भो सङ्कल्प । मुटुले ठाउँ छोड्यो । सल्किरहेको चुरोट ओठमा च्यापेको च्यापै घरतिर दौडियो ।
आँगनमा पाइला राखेको मात्र के थियो, उसको नजर तल काकाको घरतिर मोडियो ।
आँगनमा बत्ती बलिरहेको थियो । ट्वाइलेटको छेउमा बाँधेको कुकुर फुकाएर माथि बार्दलीतिर डोर्याउँदै थिई बिना । बिना प्राय: ढिलै सुत्ने गर्थी । अझ यसपालि त एसएलसी परीक्षा पनि त नजिकिँदै थियो ।
ए बिना… उसले बिनालाई बोलाउन खोज्यो तर बिचैमा रोकियो । “बिचरा ! एक्लै हुनको डरले कुकुरलाई बार्दलीमा बाँध्न भनी डोर्याउँदै छे । आज जे भयो भयो । बरु भोलि भेटेरै कुरा गरौँला ।” मनसँग बोल्दै आफ्नो कोठातिर लाग्यो ऊ ।
रातभर निदाउन सकेन सङ्कल्प । मनमा नाना थरी कुरा नचाउँदा नचाउँदै बिहानको पाँच बजेको थियो ।
घरमा जान्ने बुझ्ने भनेकै हजुरआमा थिइन् । ढिला नगरी रातिको सबै घटना हजुरआमालाई सुनायो । रातिको घटनाले होला, उसको मुहार नै बैँस सकिएको बूढो रुखजस्तो भएको थियो । चिन्ताले बेस्सरी गलाएको थियो । ज्यान पनि रातिदेखि कामेको काम्यै थियो ।
“भो चिन्ता नगर । धन्न त्यसले तँलाई समात्न चाहिँ पाइनछ । समातेको भए कथा अर्कै हुन्थ्यो । तर कता कता शङ्का छ मलाई । तैँले केही खराबी गरेकै हुनुपर्छ । नत्र आफ्नै मान्छेको रूप धारण गरी किन सताउँछ र जो कोहीले । साँचो भन् कुरा के हो ?” अँगेरीको पातमा सुर्ती बेर्दै सोध्छिन् हजुरआमा ।
…
कुरा तीन वर्ष अघिको हो ।
नगरकोटकी मञ्जरी आफ्ना केही साथीहरूसँग जिरी घुम्न गएकी थिई । जिरीबाट चेर्दुङ उक्लने क्रममा सङ्कल्पसँग उनको भेट भएको थियो । माघको महिना । हिउँ खेल्न भनी चेर्दुङ जानेहरू धेरै थिए । सङ्कल्प पनि दिनभर हिउँमा हिँड्नुको आनन्द लिनको लागि चेर्दुङ गएको थियो ।
सङ्कल्प निकै नै सुन्दर थियो । मीठो बोल्नु उसको अर्को खुबी । उसको वाककला यति कलात्मक थियो कि बिरामीले थलिएकाहरू समेत उसको बोली सुन्नासाथ आधाजसो त निको भइसक्थे ।
उसले भर्खरै कलेज सुरु गरेको थियो । बिहान कलेज जान्थ्यो र दिउँसो वन जङ्गल घुमेर विभिन्न चराहरू बारे अध्ययन गर्थ्यो । सानैदेखि चराप्रति खुब प्रेम थियो उसलाई । सानैदेखि चराहरूको सङ्गत गरेर नै भयानक मीठो बोल्न जानेको थियो । भविष्यमा चराविद् बन्ने सानैदेखिको सपना थियो ।
चेर्दुङको चुचुरो छेऊ बसी आफ्ना साथीहरूलाई केही कथा सुनाउँदै गर्दा नै मञ्जरीले उसको आवाज सुनेकी थिई । आवाज भन्दा बोल्ने उसको शैली देखेर क्षणभरमै सङ्कल्पसँग लट्ठिएकी थिई ।
उसको आवाज सुन्ने बित्तिकै मञ्जरीलाई सङ्कल्पसँग बोल्न मन लागेको थियो । उसको मीठो आवाजको तारिफ गर्न मन लागेको थियो । तर के गर्नु, अनजान र कतै टाढाको पाहुना न थिई ऊ । “अन्जामै जो कोहीको तारिफ गर्नु र नजिकिन खोज्दा त म माथि चारित्रिक शङ्का लाग्न कति नै समय लाग्छ र ।” भो आज दिनभरमा उसको बारे जसोतसो बुझ्ने कोसिस गर्छु । आत्मलाप गर्दै पारी गौरीशङ्कर हिमाललाई एकोहोरो हेर्छे ऊ ।
चेर्दुङ घुमेको भोलिपल्ट नै नगरकोट फर्की मञ्जरी ।
चेर्दुङ घुम्ने क्रममा, सङ्कल्पका केही साथीहरूसँग परिचय गरेर उसको फोन नम्बर पनि मागी ल्याएकी थिई । घर आइपुग्ने बित्तिकै सङ्कल्पलाई फोन गरी र भनी, “हेल्लो सङ्कल्प ! म तिमीलाई असाध्यै प्रेम गर्छु ।”
सङ्कल्प हाँस्यो मात्रै । केही भनेन ।
बोल न सङ्कल्प । तिम्रो आवाज सुन्न आतुर छु । म मञ्जरी । नगरकोटदेखि बोलेकी । अस्ति हिउँ खेल्न तिम्रै ठाउँ आएकी थेँ । तिमी साथीहरूलाई कथा सुनाइरहेका थियौ । हो त्यही दिनदेखि तिमीलाई मन पराए । म फेरि तिमीलाई भेट्न आउँछु ल । ऐलेलाई राखेँ । बाई… ।
कहिल्यै मन्दिर नजाने मञ्जरी सङ्कल्पलाई भेटेपछि दिनहुँ मन्दिर जान थाली । खाली सिउँदोमा सङ्कल्पको नाउँमा सिन्दूर भर्न थाली । सङ्कल्पले आफ्नी बनाओस् नबनाओस् ! सयौँ जूनी सङ्कल्प कै नाउँमा सिन्दूर लाउने वाचा गरी । मनभरि सङ्कल्पलाई बोकेर हिँड्न थाली । अब उनको हृदयमय सङ्कल्प बाहेक अरू केही अटाएको थिएन ।
सङ्कल्पले भने उसको वास्ता नै गरेको थिएन । उसको लक्ष्य महान् चराविद् बन्नु थियो । अनाहकमा जो कोहीको प्रेममा परेर आफ्नो सपनाको हत्या गर्नु थिएन । उसलाई थाहा थियो । प्रेमले अन्धो र एकोहोरो बनाउँछ । पाइला अघि बढ्न दिँदैन । प्रेमले जे पनि गर्न सक्छ ।
समय बित्दै गयो । समय मिलाउँदै हरेक महिना सङ्कल्पलाई भेट्न मञ्जरी जिरी पुग्थी । पहिलो भेटमा मञ्जरीको सिउँदो सजिएको देख्दा सङ्कल्प अचानक झस्किएको थियो । भित्र भित्रै निकै डराएको थियो । डरले रातो नीलो उसको मुहार देखेर मञ्जरी बेस्सरी हाँसेकी थिई ।
थाहा छ ! तिमीलाई भेटेको भोलिपल्ट देखिनै पशुपतिनाथलाई साक्षी राखी, तिम्रै नाउँमा यो सिउँदो सजाएकी मैले । मलाई लाग्छ, युगौँ युगदेखि तिमी मेरो थियौ । म तिम्री थिएँ । यो ब्रह्माण्डको अस्तित्व रहेसम्म हामी सधैँ सँगै रहनेछौँ । खुसी हुँदै उसले भनेकी थिई ।
…
दुई वर्षपछिको कुरा हो । एकदिन रिसाउँदै सङ्कल्पले भन्यो । अरू कुरा मलाई थाहा छैन । खाली प्रेम प्रेम । प्रेम बाहेक तिम्रो दिमागमा अरू केही छैन ? मैले पहिल्यैदेखि भनेको छु त म तिमीलाई प्रेम गर्दिनँ भनेर । मेरो आफ्नै सपना र गन्तव्य छ । तिमीलाई सँगै राखेर म आफ्नो गन्तव्य भुल्न चाहन्नँ भनेर । यस्ता पागलसँग के विवाद गर्नु । यति भनी भुतभुताउँदै आफ्नो बाटो लागेको थियो ऊ ।
मञ्जरी धनी बाबुकी छोरी थिई । सङ्कल्प सामान्य किसानको छोरो । सङ्कल्पलाई थाहा थियो, वनको चरीलाई वनमै रमाउन दिनुपर्छ । उसको स्वतन्त्रता हर्नु पाप हो ।
मञ्जरी मेरो बोलीमा लट्ठिएकी हो । तर पनि आत्मैदेखि ऊ मलाई प्रेम गर्छे । म पनि गर्छु । फरक यत्ति कि ऊ मसँग जुनी बिताउन चाहन्छे । म आफ्नो स्वास्नी बनाएर उसलाई दासी बनाउन चाहन्नँ । म चाहन्छु ऊ चरी भएर आफ्नै संसारमा उडिरहोस् । जून भएर आकाशमा उदाइरहोस् ।
प्रेमको मूल्य उसैलाई थाहा हुन्छ, जसले प्रेमी या प्रेमिकाको लागि सब थोक त्याग्न तयार हुन्छ । उसको लागि दोस्रो कुनै सपना हुँदैन ।
मेरो कुरा किन बुझ्दैन सङ्कल्प । म उसको हुन चाहन्छु । उसको साथमा रम्न चाहन्छु । तर ऊ भन्छ हामी सँगै रहन सक्दैनौँ । खै के हो के ? यसभन्दा बढी सोच्न नसकेर मञ्जरी अचानक भक्कानिई । अन्ततः उसले केही सोच्न सकिनँ ।
मञ्जरी धरतीमा छैन ।
निकै महिनापछि सङ्कल्पको कानमा उक्त खबर पुगेको थियो ।
मध्य साउनको बेला थियो । सङ्कल्पले आफ्नो कुरा नसुनेपछि मञ्जरी पूरै पागल भइसकेकी थिई । सङ्कल्पलाई भेटेदेखि नै आफ्नो मनसँग वाचा गरेकी थिई उसले । यदि कारणवश सङ्कल्पको हुन सकिएन भने सधैँ सधैँको लागि संसार छोड्ने । आखिर भयो पनि त्यही ।
वर्षाको मौसम । एक हप्ता अघिदेखि परिरहेको साउने झरी रोकिने कुनै सङ्केत थिएन । त्यति नै बेला सोची उसले, अब संसार छोड्छु । आफूले मनैदेखि रोजेको मान्छेलाई पाउन नसक्नु पनि खै के जिन्दगी ! माया प्रेममा पनि धनी गरिबको पर्खाल ठड्याएर बस्छ ऊ । साँचो प्रेममा धनी गरिबसँग आखिर के नै लेनदेन छ र ?
यस्तै यस्तै, मनमा अनेक तरहका कुरा खेलाउँदै एक दिन बिहानै सुनकोसी नदी किनारतिर पाइला लम्काइ । दोलाल घाटको पुलबाट फाल हानी सुनकोसी नदीलाई नै आफ्नो जीवनको वली चढाउने निधो गरेकी थिई उसले ।
२०६४ साल साउन २५ गते । दिउँसोको ठिक बाह्र बजे सुनकोसी नदीमा फाल हानी मञ्जरीले आफ्नो जीवन लीला समाप्त गरी । वर्षाको भेलले उग्र सुनकोसीले क्षणभरमै मञ्जरीको इहलीला समाप्त गरिदियो । मञ्जरीको आत्मा वैकुण्ठ नगएर सिधै आफ्नो घरतिर दौडियो । तर बिच बाटोमै अड्किएर अचानक केही सोच्न थाली ।
अब मेरो शरीर छैन । घरमा मेरो खोजी हुन्छ । भो भो घरमा नगएकै बेस । बरु सङ्कल्प के गर्दो रहेछ त्यो हेर्नतिर लाग्नुपर्ला । यति सोच्दै जिरीतिर आफ्नो पाइला लम्काउँछे मञ्जरी ।
…
मञ्जरीसँग बोलचाल नभएको ठ्याक्कै दुई महिना बितिसकेको थियो । मान्छेको मन न हो । कति नै दिन कठोर रहन सक्छ र ? आफूलाई निस्वार्थ प्रेम गर्ने मान्छे अचानक सधैँ सधैँको लागि छुट्दा कसको पो मन नरोई बस्न सक्छ र ? मञ्जरीको खोजीमा देशको हरेक कुना काप्चा डुल्दा पनि कुनै नतिजा हात नलागेपछि सङ्कल्प बौलाउनु सम्म बौलाएको थियो । अब त हरेक दिन आफ्नो भाग्यलाई सराप्न थालेको थियो ।
एउटा तल धरतीमा झोक्रिने, एउटा चाहिँ माथि वायुमण्डलमा झोक्रिने क्रम निकै महिना चल्यो । ती दुवैलाई एक अर्कासँग भेट्ने छटपटी चलेको पनि निकै समय भइसकेको थियो । भेट्ने चाहना भएर मात्रै के गर्नु, एउटासँग भौतिक शरीर थियो । अर्को सँग थिएन ।
समय बित्दै गयो । सङ्कल्प पनि चराविद्को सपना त्यागेर रक्सीबाज भइसकेको थियो । गन्तव्य हराएको यात्री भएर असरल्ल छरिएको थियो । रातभर निदाउन सक्दैनथ्यो । कहिले तल दोभान खोलातिर बरालिन जान्थ्यो त कहिले त्यही दोभान खोलाको चिहानमा गई लम्पसार परेर मरेको नाटक गर्थ्यो । “ए मञ्जरी ! कस्तो निष्ठुर के तिमी ? मलाई चाहिँ यहाँ एक्लै छोडेर तिमी चाहिँ आकाश पारी बसाइँ सर्यौं हैन ? खुब साँचो प्रेमको कुरा गर्थ्यौ हैन ! देखियो तिम्रो साँचो प्रेमको करामत ।”
एकदिन भने सङ्कल्प बौलाउनु सम्म बौलायो । साँझ छिप्पिँदै थियो क्यार । त्यही छिप्पिँदो साँझमा अचानक चिहान तिर दौडियो ऊ । दैव संयोग त्यो दिन भर्खरै एउटा मुर्दाको अन्त्येष्टि सकिएको थ्यो । सायद रात पर्न लागेकोले होला, त्यो मुर्दा जलाएको दाउरा पनि नदीमा बगाइएको थिएन । घाट पनि अन्तजस्तो खुल्ला र सामान्य कहाँ थियो र फेरि । साह्रै डरलाग्दो अनि आफ्नो लास समेत त्यो घाटमा कहिल्यै कसैले नजलाओस् जस्तो । अबुइ… सम्झँदा पनि आङ नै सिरिङ्ग !
घाट पुगेको मात्र के थियो, त्यो भर्खरको आलो खरानी आफ्नो शरीरमा धस्न थाल्यो । त्यही पर कुनामा केही महिनाअघि एउटी किशोरीको लास गाडिएको थियो । गएर जमिन खोस्रिन थालिहाल्यो । यो सबै हरकत रक्सीको बलमा गरिरहेको थियो ।
अन्ततः रातको एक बजेतिर आफ्नो घर पुग्यो ऊ ।
सङ्कल्पको यस्तो पागलपन देखेर परिवार मात्र हैन सिङ्गै गाउँ नै आजित भइसकेको थियो । वैध, धामी झाँक्री अनेक धाउँदा पनि उसको मनस्थिति ठिक हुन सकेको थिएन ।
“यति राम्रो मान्छेलाई यस्तो हालत बनाउने कुन चाहिँ कुकुर्नी होली फेरि ? यस्ताले त मरे पनि कहिल्यै सुख नपाउन । सङ्कल्पले पनि माया नगरेको त कहाँ हो र ? माया नगरेजस्तो गरेर त्यसको मन पो चोरेको थियो त यसले । कस्ती अबुझ बोक्सी रैछे भने नि !” यस्तै नाना प्रकारले मञ्जरीलाई सरापिरहन्थे गाउँलेहरू ।
सङ्कल्पको बिजोग देखेपछि मञ्जरी नपछुताई रहन सकिन । माया त साँचो नै गरेको रहेछ । तर के गर्नु । हरेक कुराको समय हुन्छ । समयमै गतिलो निर्णय लिन नसकेपछि यस्तै हो । हुँदा चाहिँ मतलब गरेन । नभएपछि रोइ कराइ गरेर आखिर हुने के नै हो र ? बेकारको नाटक मात्रै ! यसले साँचो माया गरेको हो कि हैन ? समय आओस् न मात्रै ! परीक्षा नलिई कहाँ छोड्छु र ? यति सोच्दै एक अनुकूल समयको पर्खाइमा लागि मञ्जरी ।
…
लागेको घाउ कहाँ आलो बस्छ र सधैँ । शरीरमा होस् या मनमा, लागेको घाउ एकदिन अवश्य पुरिएर जान्छ । अन्ततः सङ्कल्पले पनि दिन हप्ता महिना र वर्षसँगै मञ्जरीलाई भुल्दै गयो । मञ्जरीसँग छुटेको चार वर्षपछि नजिकैको एक युवतीसँग मागी विवाह पनि गर्यो ।
अरू त सबै ठिकै थियो । तर सङ्कल्पले बिहे गरेको चाहिँ मञ्जरीको सहन सकेकी थिइन । जसलाई मनैदेखि माया गरेँ उसैले वास्ता नगरेपछि कलकलाउँदो जिन्दगी त्यागेँ । मलाई थाहा भो । उसले मलाई माया नै गरेको रहेनछ । ती दिनमा उसले गरेको हरकत सबै पागलपन रहेछन् । मैले संसार त्यागेको खबर सुनेपछि, मेरो आत्मा नभड्कियोस् भनेर ती नाना थरी हरकत गरेको रहेछ । मान्छेको जात न पर्यो । बिना बहाना त कहाँ चैनले सास फेर्न सक्छ र !
पखोस् ! उसलाई पनि मसँगै लिएर आउँछु एकदिन । सोच्दै निक्कै भक्कानिई मञ्जरी ।
…
काम विशेषले, सङ्कल्प त्यो दिन खिम्ती पुल घुम्न गएको थियो । खिम्ती पुलमा आफ्नो काम सकिएपछि साँझ आफ्नो घर फर्कँदै थियो । त्यो दिन बिहानैदेखि सङ्कल्पको मन मस्तिष्क ठिक ठाउँमा थिएनन् । मनमा पनि केही अनौठो अनौठो कुरा खेलिरहेका थिए । अहिले कति बज्यो ? आज के बार ? कुन महिना ? यी सामान्य कुराहरूको पनि कुनै हेक्का थिएन उसलाई ।
मञ्जरीले खोजेको नै त्यही थिई । उसलाई थाहा भयो । आज सङ्कल्पको ग्रह कमजोर छ । तसर्थ उसमाथि जे गरे पनि काम सफल हुने निश्चित छ । अर्को कुरा, त्यो युवती बिहे गरेकै कारण समय समयमा सङ्कल्पको ग्रह कमजोर हुने वातावरण सिर्जना भएको थियो । अब कहाँ पहिला जस्तो बलियो रहन सक्छ र सङ्कल्प ? सोच्दै खुसीले लामो सास फेर्छे मञ्जरी ।
मान्छे त्यसलाई मात्र सत्य ठान्छन्, जे उनीहरू आफ्नो आँखाले देख्छन् । तर वायु त अदृश्य छ नि । हो त्यही अदृश्य वायु नै संसारभरका कयौँ मृतकरुको आत्मा हो । जब बतास चल्छ । जो कोहीको घरबार उडाइदिन्छ । जसको जे जे छ त्यही नष्ट गरिदिन्छ । अनेक तरहका वितण्डा मच्चाउँछ । यी सबै वितण्डा वायुले नमच्चाएर क्रोधित मृतकहरूको आत्माले मच्चाएको हो । खुबै भौतिकवाद र अध्यात्मवादको गफ चुट्नेहरूले कहाँ यी कुरा बुझ्छन् र !
जीवित मान्छेले त जाबो एउटा सानो संसार न देख्ने हो । मृतकले त के के देख्छ देख्छ ? वायुले नदेखेको संसारमा के छ र ?
आत्मासँग नहुने भनेको त्यही एउटा शरीर न हो । तर भावना ? विना भावनाको शरीर त लास भैगो नि । शरीर नभए पनि मज्जाले बाँच्न सक्छ आत्मा । तर के विना आत्मा शरीर बाँचेको कसैले देखेको छ ? कहाँ रहेको छ र विना आत्माको सभ्यता ? भावना, इच्छा र जिज्ञासाहरू तबसम्म बाँचिरहन्छन् जबसम्म आत्मा जीवित रहन्छ । कि ? यस्तै नानाथरी सोच्दै सङ्कल्पको पछि पछि लागि मञ्जरी ।
दिन सबैको आउँछ । त्यही दिन आएको मौका छोपेर नै मञ्जरीले बिनाको रूप धारण गरी सङ्कल्पलाई आफूसँग ल्याउने विचार गरेकी थिई ।
विडम्बना ! मञ्जरीले जे सोचेकी थिई त्यो पूरा हुनै पाएन । त्यही चुरोट नै उसको सपनाको खलनायक भएर उपस्थित भइदियो । तै पनि हरेस खाइन उसले ।
अझै तीन चार दिन यसको ग्रह साह्रै कमजोर छ । जसरी हुन्छ म आफ्नो बनाएरै छोड्छु यसलाई । बिहा जीवित शरीरको मात्र नभएर मृत आत्माको पनि हुन्छ । र सात जुनीको कुरा छ । लामो सास फेर्दै त्यही खोला छेउको ठुलो रुखमा विश्राम लिन्छे मञ्जरी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

