
कथाकारलाई न उसको नाम जान्नु छ न थर न ठेगाना ।
ऊ कर्कश छे अनि एक्ली पनि, उसलाई उसको नामले कसैले चिन्दैनन् । अन्ध मुष्टि छे, अधबैँसे छे, सबैले उसलाई काली भन्छन् । काठमाडौँको कुनै गल्लीको तल्लो पट्टि एउटा सिमसिमे राजाको पालाको घर छ, उसको महल त्यही हो । त्यो घरका साहु को हुन् थाहा छैन, कालीको बाउ को हुन् थाहा छैन र उसको नाउँ के हो थाहा छैन। मैले उसका व्यक्तिगत जानकारी जानेर पो के गर्नु ?
उसको महल ७२ सालको महाभूकम्पले हल्लाएर थङथिलो पारेको छ । उसलाई हेर्दा त्यस्तै लाग्छ । कालीले पनि उसको जिन्दगीमा त्यस्ता थुप्रै प्रलयहरू पार गरेर अझैसम्म प्राण जोगाएकी छे । वरिपरि अरू घरहरू नहुँदा हुन् त त्यो घर एक हलिउड चलचित्रमा देखाइने भूत घर जस्तो छ । त्यो घरको दोस्रो तल्लामा बस्ने ऊ पनि भूत जस्तै छे, घर ७२ सालमा भूकम्पले नलडेर भूत घर जस्तो भएको छ । ऊ त्यही भूकम्पले अकालमा नमारेर भूत जस्ती भएकी छ । शरीरमा हाड छ, छाला छ तर मासु छैन । प्राण छ त्यसैले जिउँदो छे । हाँसो कर्कश छ र भयानक। चकमन्न रातमा ऊ हाँसेर म थुप्रै पल्ट तर्सेको छु ।
म उसको महलको दाहिने घरको तल्लो तलामा बस्थेँ । एक दिन म मोबाइलमा मन्द गीत बजाउँदै, हल्का गुनगुनाउँदै भात पकाउँदै थिएँ । आबुइँ म तर्सिएँ, मुटु झन्डै बाहिर निस्केको । खऊङ्ग्रङ्ग कपाल, सेतो दाँत देखाएर काली झ्यालमा चियाउँदै थिई । म तर्सिएको देखेर ऊ भयानक कर्कश हाँसो हाँस्दै ओझेल परी । मैले लामो सास तान्दै पानी खाएँ । त्यस दिनदेखि उसलाई सिधा हेर्ने साहस जुटाउन सकिनँ । उसलाई कहिले अगाडिको किराना पसलछेउ एक तमासले चुरोट धुवाउँदै गरेको देख्थेँ, कहिले मेरो भान्साको झ्याल अगाडि झाँक्रो फिँजाउँदै काँक्रो चपाउँदै देख्थेँ । ऊ दिन प्रति दिन साँगुरिँदै, चाउरिँदै, दारिँदै झन् झन् डरलाग्दी हुँदै जाँदै थिई। धोबी खोला तिरमा बलात्कारपछि मरी भनेर फालिएकी उसको यो दोस्रो अवतार हो रे टोलका सुकिलाहरू त्यसै भन्थे ।
ऊ दिनभर कहाँ जान्थी ? के गर्थी ? मलाई वास्ता थिएन । तर जब दिनको उज्यालो रातको अन्धकारमा बिलाउँथ्यो उसको पालो आउँथ्यो। फोनमा माग राख्थी दुई क्वाटर भोड्काको । लाडे पल्टन्थी र भन्थी, ‘म तपाईंको त हुँ क्यारे’ । अनि सुनाउँथी, ‘तिमि मेरो, म तिम्रो, माया चोखो छ हाम्रो’ । अनि उही उसको पेवा कर्कश हाँसो।
मेरो भान्साको ठिक अगाडी उसको कोठा उक्लने भरेङ थियो। ऊ व्यग्र प्रतीक्षा गर्थी, उसको आसिक कहाँ आइपुग्यो भनेर पटक पटक फोनमा जानकारी लिन्थी। को ? कस्तो ? आसिक आउँछ मलाई मतलब थिएन। उसका यस्ता भोड्के आसिक एक भन्दा पनि अनेक थिए। यो कुरा स्पष्ट थियो।
कालीसँगै उसले दिदी भन्ने एउटी महिला पनि सँगै आएकी थिई। त्यो महिला उसको सानो तर अनौठो छोरोसँग महलको तल्लो तल्लामा बस्थी। त्यो छोरोको बाउ को थियो ? मलाई जानकारी थिएन।
===
एक रात भोड्के शृङ्खलाको नयाँ अध्याय ८ बजेपछि सुरु भयो। कालीकी दिदीको अनौठो छोरोले सानो कचौरामा हालेको कुखुराको मासु लुछ्दै मेरो झ्यालमा आएर “ए दाइ मासु खाने ?” सोध्यो । मैले केही नबोली झोल हालेको काउलीको तरकारीसँग कपाकप भात खाएँ । कालीको दिदी छोरो सुताएर माथि उक्ली। भोड्काको साथ मासुको तड्का १० बजेसम्म चल्यो । उनीहरू जति मात्तिँदै जान्थे उति हाँसोको ध्वनि बढ्दै जान्थ्यो। बोतल रित्तियो, मासु सिद्धियो । रात बढ्यो मात चढ्यो। सबै चकमन्न भयो।
भोड्के शृङ्खलाको दोस्रो अध्याय, उनीहरूको आवाजको भाका फेरियो। उनीहरू अब शरीरको प्यास मेट्दै थिए। त्यत्रो भूकम्पले नभत्काएको घर यिनले त पक्का नभत्काउलान् । मैले टी भी को आवाज बढाएँ। मुन्ना भाइले झमझम बर्सातमा भिजेर रिसको झोकमा सर्किटको गालामा नमिठो झापड हान्यो । सर्किट गाला छाम्दै रोयो । म भावुक भएँ। अब के हुन्छ ?
जब शरीरको भोक समाप्त भयो, भोड्के शृङ्खलाको तेस्रो अध्याय सुरु भयो । गन्द्राङगुन्द्रुङ् गरेको ठुलो आवाज आयो मुन्ना भाइले सर्किटसँग रुँदै माफी मागेको सुनिएन।
म झस्किएँ, “कालीको महल भत्कायाे कि क्या हो ?” । कोलाहल, चिच्याहट र हानाहान । काली अनौठो भाका हाली रुन थाली । सुन्न हुने तर भन्न नहुने शब्द मेसिन गनबाट गोली निस्के झैँ उसको मुखबाट निस्कन थाले। कालीकी दिदीले ल खा, लु जा भन्दै कोदो चुटेझैँ भोड्के पाहुनालाई फाली । भोड्के शृङ्खलाको हिरो र साइड हिरोले धोबी कुटाइ खाए, ज्यान जोगाए र भागे सायद, रगतपच्छे र अर्धनग्न ।
कालीकी दिदी बलियाे रहिछ । कालीकाे “मार्यो मलाई” भन्ने कष्टकर रुवाइ सुनियो । सायद ऊ पनि रगतपच्छे, अर्धनग्न छे । ऊ रुन्थी मात्र म सुन्थे मात्र।
त्यस घटनाको ३/४ दिन सम्म काली चकमन्न भई । उसकी तल्लो तल्ले दिदीले उसको हेरचाह गरी। त्यो घटनाको हप्ता दिन पछि ऊ उठी, उसले अनुहारभरि निला डामहरू लुकाउन टाउकोमा सल बेरेकी थिई। ती डामहरू ठिक हुँदा नहुँदै अर्को भोड्के शृङ्खला मञ्चन भई गयो ।
हरेक भोड्के शृङ्खला नयाँ भाग लगभग एउटै जस्तो लाग्थ्यो प्रेमबाट सुरु भागाभागमा अन्त्य र क्रमशः । तर त्यो रातपछि एक दुई शृङ्खला मात्र मञ्चन भयो र भोड्के शृङ्खला बन्द भयो । भोड्के शृङ्खला सकिएको ५/६ महिना भएको हुँदो हो, कालीले सानी कालीलाई जन्म दिई।
एक पल्ट मैले चियाएर त्यो सानु काली अनुहार हेरेको थिएँ । ऊ गोरी थिई । सानु काली अब कालीको साथी भएकी थिई। जब जब सानु काली डाँको छाडेर रुन्थी तब तब काली कुनै भूतको चलचित्रमा गरे जस्तै उ लु लु लु लु गरेर कराउँथी अनि बाँदर खेदे जस्तो हइ… हइ… हइ… गर्थी । कहिलेकाहीँ मेरो साने भन्दै लाडे स्वरमा फकाएको पनि सुनिन्थ्यो। म झस्कन्थे त्यो सानु काली कतिञ्जेल ज्युँदो रहली ? यदि बाँची हाली भने पनि उसको नसिबमा त्यो नारकीय जीवन बाहेक केही हुने थिएन। बिचारी आफ्नी आमा बाहेक आफू पनि छु भन्ने छुटाउन नसक्ने उसलाई भविष्यको के ज्ञान ?
सानु काली जन्मेको ३ महिनाकी हुँदा सम्म ४/५ पल्ट खाटबाट लडिसकेकी थिई, ऊ यो संसारमा लड्नै आएकी हो। त्यसै ताका एक रात उसको बाबु हुन सक्ने पुरुष र उसकी काली आमाको भयङ्कर झगडा भएको थियो । वरपर सबैले सुनेका थिए त्यो कोलाहल । त्यो पुरुषले कालीलाई शब्द नै पिच्छे दिएको विभूषण, उसले कालीकि दिदी लाई पनि मुखमा आए जति गाली गर्यो । पुलिसले त्यो व्यक्तिलाई समातेर गाडीमा जाकेपछि मात्रै टोल सुनसान बनेको थियो।
नेपथ्येमा सानु काली सकेको बल निकालेर रोएको सुनिन्थ्यो । रोएर आँसु सकिने भए उसले ठुलो भएपछि रुनु पर्ने थिएन। तर रोएर न पिडा सिद्धिन्छ न आँसु रित्तिन्छ। त्यो घटना भएको ५ दिन नबित्दै उसको रातको १० बजे आफ्नी आमालाई वेश्याको संज्ञा दिँदै रुने करिब ७ बर्से छोरो बोकेर कालीकी दिदीले त्यो घर छोडी।
अब त्यो खण्डहरमा कालिका आमा-छोरी मात्र थिए। सानु कालीको जन्मपछि काली काममा जान छाडेकी थिई । बेला बेला मैले दुई किलाका चामलका थैला उसको दैलाअगाडि छोडिदिन्थेँ। के गर्ने म आफै बेरोजगार जो थिएँ। उसको महल अगाडिको तरकारी पसलमा फाल्नका लागि तयार तरकारी ऊ साहुनीसँग मागी लान्थी। बेला बेला काली तल्लो तल्लाको कुनामा अण्डाको गोदाम राख्ने नेवार दाइसँग अण्डा मागी लान्थी, ऊसँग तिर्ने पैसा थिएनन् भन्ने ज्ञान हुँदा हुँदै पनि साहु अण्डा दिन्थ्यो। काली पैसाको साटो बैँस तिर्थी । बाँच्न कै लागि मान्छेले अनेक गर्छन् । बेला बेला फोनमा काली उसकी आमासँग गफ गर्थी । ज्वाइँ काममा गाका छन् भरे आउँछन् भन्थी ।
===
केहीपछि मैले काठमाडौँको अर्को गल्लीतिर मेरो डेरा सारेँ । डेरा सरेको २ वर्ष जति भएको हुँदो हो बाटोमा फेरि कालीलाई फेला पारेँ, काली हल्का उज्याली भएकी थिई । एक हातले आमाको हात र अर्को हातले पार्लेजी बिस्कुट समाउँदै, रमाउँदै सानु काली फुरुङफुरुङ् हिँड्दै थिई ।
मैले मनमनै भनेँ, “सानी कालीले ठुली कालीको जस्तो नियति भोग्न नपरोस्। सानु काली सधैँ यस्तै खुसी रहोस् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

