बिउँझेर, पर्दामा मुजाहरू परेको बिहानको उज्यालोलाई ठिमाएपछि रूपलाल पूरै ब्युँझ्यो ।
औँलाहरू आफै एउटा खोप्चो बनिएर देब्रे आँखको डिल छाम्न पुगेछन् । घोप्टो ढाड उचालेकोे चिल्लो कडा गाँठो निकै ठूलो भएछ आज । गुम्सिएका ताता औँलाहरू तन्केको छालाको चिल्लोमा टाँसिए, झुक्किँदै सुल्के, घुमे । गाँठो होइन, होइन होला, आफूलाई भन्दै आज गाँठोकै नापजोखमा आइपुग्यो । ‘अब यसलाई गाँठै भन्नुपर्छ ।’ भित्रपट्टि जत्रै गाँठो उम्रे पनि ऊ केही भन्ने थिएन, टाउकोभित्र जम्मै भरियोस् । सबले देख्छ बाहिरपट्टि, हेर्छ । छाम्दा ठूलो लागेको मात्रै, उसले नयाँ मनले छाम्यो । पाँचै औँलाले राम्ररी समात्नु हुन्छ ।
अग्लोमा औँलाको माथि नै भित्र आइपुगेर हुन्छ । ‘स्तूपहरू ।’ साँच्ची स्तूप, ठूलो टाउकोमा गोलो र चढ्ने मसिना सिँढीहरू : देखेकोलाई आँखासँगै झ्याप्प मनले निभाइदियो । ‘मैले के गरेँ र मलाई यस्तो ।’ उसको छातीभित्र सानो ऊजस्तै एउटा अर्को मान्छे हुँक्क रोयो । आँखामा गाँठो भएकाे ठिकदार— अरू ठिकादारले भन्छ, देब्रे आँखामा ठूलो गाँठो भएको ठिकदार— उसकै बहिदारले कराएर कुल्लीहरूलाई भन्यो । अनुहार पहेँलो कुच्रियो उसको । ‘होइन, यो सब भएकै छैन ।’ यो गाँठो सानै छ, छाम्दा ठूलो लाग्छ । उसले गाँठा देब्रे हातले छाम्यो । अलिक सानो गाँठा छ । नङ गाडेर हेर्यो, झट्टै दुखेन, पछि दुख्यो । रातभरि थिचिएको दाहिने हातलाई ठूलो लागेछ, सानै छ गाँठा, उसले मन थिच्यो । तर गाँठा हो ।
बाँच्नु गाँठा नभई, न उम्री सलक्क बाँच्नुपर्छ ठीक बाँच्नु त्यसरी । झट्ट रूपलालले एउटा मान्छे सम्झ्यो : उसको घिच्रोमा गाँठो थियो, नास्पातीजत्रै तर चिल्लो, कैले आफैँ घट्थ्यो, कैले फुलिन्थ्यो । रूपलालहरू डराउँथे त्योसँग । एउटा केटाले (अचेल बुझ्दा नहुने कुरा गरेको रहेछ यसले) भन्थ्यो, “हिङ्ग मिहिन कुटेर छर्दा गाँठा काइँक-कुइाक कराउँछ ।” अब एउटा त्यस्तै नियाँमा बलजफ्ती उसलाई पसाउँछ दुनियाँले । उसलाई भोकजस्तो डर लाग्यो । “पाक्यो चिया ?” उसले सक्दो सधैँको भएर करायो । अलि छड्के परेर गाँठो लुकाएको रहेछ । रने गएपछि थाहा पाएर ऊ झोक्कियो । बात गर्दा आँखामै हेर्ने आँखाहरू र उसको सधैँ बिरामीले जस्तो मुखैले सास फेरिरहने बानी । आफ्नो काम : जति मोटो देवल उभ्याउन पायो उति धेर नाफा, खबटाहरू हालेको पनि पूरा नपाई पाइन्छ : हातमा त्यस्तै ठूलो काम ऐले । नाफा जोड्ने सोचेर ऊ अलमलिन खोज्यो । गाँठो झन् ठूलो लाग्यो । रने आउँदा रूपलाल गाँठो सुमसुम्याइरहेको थियो ।
“सानो ऐना ले । यो गाँठो कत्रो देख्छ ?”
“सानै देख्छ ।”
“ऐना ले ।”
गोलो सानो ऐना गएर ल्याइदियो रनेले । रनेको हातमा गोलो ऐना चाहिएको भन्दा एकदम ठूलो देख्यो रूपलालले, रीसले पड्क्यो— “सानो ले ।” त्यो सानै थियो, घरमा त्योभन्दा सानो थिएन । रूपलालले बाक्लो भौँ दुवै जोरेर टेबलमा हेर्यो ऐनालाई, आफ्नो भनाइमा नआउने मान्छेलाई जस्तो उता फर्केको सुग्घरी ऐनाको उज्यालोमा दराज उत्तानो परेको र बुट्टे रातो लुगाको एक छेउ थियो । मैले-ऐनाले-देखेको छुइनँ, ढुक्क लाग्यो उसलाई, खोक्यो जित्ने गरेर । प्याला बिस्तार उठाएर ओठमा टाँस्यो । प्यालाको बिट घुमेको र दानाहरू खस्रिएको थियो, ओठले थाहा पायो । झङ, झङ-झङ, झङ-झङ, घराक-घर रेल कुदेर गयो— लिखमा उसको खुट्टा थररर थर्केको रहेछ— रतो टाली फिलिक्क तानेर रेल घुम्ती घुमेर गयो ।
उसको एकोहोर्याइ चुँडियो, चकमन्न लामो भयो । चिया सुरुप्प पियो । नबजाई पिउनु भन्छ, शिष्टता, उसलाई शिष्टता आएन । संसारमा धेरै कुरा गर्ने गाहारो छ, उसले मनमा भन्यो : थुप्रै गाहारो कामहरू टाढामा उभिइरहेको थियो, पर्वतहरूजस्तो । बल्ल-बल्ल उसले ऐना उठाएर हेर्यो । अनुहारको छालाभन्दा सेतो गाँठो आँखैमाथि रहेछ । तल्तिर झर्न खोजिरहेको थियो ।
आँखामा सधैँ ऊ आफूलाई सफा, सलक्क अनुहारको मानिस हेर्थ्यो, देख्न सक्थ्यो पनि। ऐनामा अर्कै मान्छे देख्यो । त्यसलाई घुमाई, घुमाई, निहुराई, टोकी अघिकोमा मिलाउन खोज्थयो पनि । ऐनामा जतिपल्ट हेर्नु उसलाई सानो सानो तर भित्र गाडिने तर्साइ हुन्थ्यो र ऊ ऐना हेर्दैनथ्यो । ऐनाले ढाँट्दैन तर त्यस्तो चिसो आँखा र मनले हेर्दैन मान्छेले, अर्कै देख्छ, प्रायः नै मनलाई उसले ज्ञान दिन्थ्यो । मान्छे जत्रो छ त्यो भन्दा ठूलो हुन्छ । कारण जिउँदो हुन्छ । ऊ गाँठा हेर्दै थियो, ऐना ठूलै भएछ, आँखा र अनुहार पनि देखिन्छ । सानो गोलो ऐनामा गाँठो मात्रै देखे ऊ वैज्ञानिकले जस्तो नआत्तिई हेर्न सक्थ्यो त्यसलाई । यो तेरो अनुहारमा गाँठो हो भनिहाल्छ ठूलो ऐनाको पाटाले । परेला, नाक, ओठ, चिउँडो हेर्यो । एक-एकवटा चीज सबै ठीक छ उसको ।
‘गाँठो सानै छ ।’ सानो ऐना नपाएको उसको ऊ खुशीले केटा उमेरको उसको सानो गालो डिब्बे ऐनामा खोजेर ल्याएछ : (कहाँ कैले हरायो त्यो उसलाई पत्तो छैन ।) : सानो ऐनामा ऊ आफ्नो बल मात्र, आँखा मात्र, दाँत मात्र, ओठ मात्र हेर्थ्यो र सबै जोड्थ्यो । उसले त्यै ऐना खोज्यो । अकस्मात गाँठोसँग सुहाउँछ कि सुहाउँदिन कि, लाज मान्दै लुक्दै उसलको आज्ञा र चाह विचार बनेर आउँछ । ऊ विचारजस्तै लजाएको र डराएको छ । पर्दा सारेर उज्यालो हुल्यो । सिरक ओढेकै झ्यालमा सरेर गयो । ऐनामा धेरै किसिमले हेर्यो । सुहाउनुको भावना मिलेन । एउटा जम्मै मानिस गाँठोसँग हार्न थाल्यो, गाँठोलाई जितिदिन सकेन । उसले केहीले मिचेको— को विरोधमा फेरि ऐना उठाएर हेर्यो, एउटा डरलाग्दो आँखा र गाँठो निस्क्यो ऐनामा । गाँठो ठूलै छ ।
अब बजार सबै ब्युँझिसकेको थियो । कालो मालगोदाम, झाडुले कोरेबाटेका सडकहरू, घामले भेटेको साइनबोर्ड, रेल आइपुगेको, दोकानहरू बजेको जम्मैले मिसिएर उसलार्य बाशिर डाकिरहेका थिए, हेर्न चाहिरहेका थिए ।
ऊ उठेर आयो । स्वास्नी पूजा गरिरहेकी थिई । देखेर दैलोमा उभियो, मूर्तिलाई हेर्यो । उसले देवता देख्यो, बत्ती देख्यो, धूप धूवाँ आइरहेको देख्यो, थाल, प्रसाद । त्यो गाँठो बाधा थिएन । मनमनै ढोगेर निस्क्यो त्यहाँबाट । गाँठो हराइमागेन, मागेनछ । छानेर बित्यास लागेन । ठूलो-ठूलो विपदमा ऊ ईश्वरलाई पुकार्थ्यो, एकपल्ट पत्नी साह्रै बिमार हुँदा, एकपल्ट ठूलो ठेका पाउनुपर्दा । दुवैमा ऊ बाँचेको थियो भित्रसम्म डरले नछिचोली, नकामी ऊ भगवानलाई केही भन्दैन । आज पनि भनेन । सफलताहरू आउँछन्, जान्छन् । सफलताहरू उसलाई छोरीको किताबको हिसाबजस्तो लाग्छ : एउटा बाँदर चिप्लो खाँबामा एक उफ्राइमा तीन हात चढेर अढाइ हात सुल्केर झर्छ ।
आफैलाई ऊ एक्लैमा भन्थ्यो, ए बाँदर, अलि-न-अलि उफ्रन पाइनँ भनेर सुल्केर झरि नै जान्छु, भुइँमा थुप्रो लाग्छ । कति माथि पुगेर झरेँ, बाँदरको सफलता त्यत्ति । ‘राम्रो दिन भएछ’ । उसले दैलोमा पुगेर भन्यो । आज भनेन तर सधैँ भन्थ्यो “भगवानको घाम लागेको ।” भगवान झलमल्ल छ— उसलाई लागेको छ । सेतो रङ्गको दैलोमा पहेँलो पर्दा थियो, उसले धेरै महिनाको रोगी भैसकेर हेर्यो, उभेर हेरिरह्यो । लामो एउटा छायाको डोरो उक्लिँदै सिँढीमा आएको रहेछ, स्वाँ स्वाँ सास फेरेर बाक्लिन्थ्यो, रोकिन्थ्यो । नीलोमा दुइटा चम्केको एउटा झिँगो भुइामा टाँस्सिएर सर्दै गयो । छोरीले देखेर सोधी,
‘आँखामा के भयो ?’ ।
‘गाँठो निस्केको छ ।’ उसले भन्यो शुक्रबार र बुधबार हो जत्तिकै अर्थबिना पारेर ।
“कैलेदेखि ?”
“निक्कै दिनदेखि निस्कँदै थियो, अब ठूलो भयो । अब यत्तिकै हो या, हराउँदैन ।” यतिसम्म यसरी भन्न सक्दो रहेछु खुशी लाग्यो ।
आएर घरको कोठा-कोठा चाहार्न थाल्यो, हेर्न थाल्यो । माथिका झ्यालहरू जम्मै उदाङ्गो खोल्यो । अर्को कोठा पुग्यो, झ्याललाई बाहिर पठायो । उभिएर अरूका घरहरूलाई हेर्यो भित्रतक गयो । ‘हेर्छु, देखेँ ।’माटोको सुन्तला, केरा, अम्बकमाथिबाट धूलोहरू फुक्यो, सारसलाई उभ्याइराख्यो, भित्तामा हिमाल बाङ्गिएको हेर्यो, देख्यो । सिँढीमा एउटा सुका सेतो देख्यो, टिपेर हेर्यो, औँलाले बोकेर ल्याई सिह्रानीमुनि थैलोमा थपिदियो । खुशी लागेको थियो, झसङ्ग भयो । सुकालाई गाँठो भएको आँखाले देखेको थियो । हो, तारिक, घडीमा समय, पला यसैले चहकिलो देख्दो रहेछ । उसलाई क्षति ऐले भएको लाग्यो ।
एक जनाले दिउँसो आएर सोध्यो, “दुख्दैन ?”
“दुख्दैन ।” उत्तर रुखो दियो रूपलालले ।
“डाक्टरलाई देखाइहेर्नुभएन ?”
“डाक्टरले निको पार्छ ?” सोध्यो उसले ।
“इन्जेक्शन लाइदिन्छ । अपरेशन गर्छ ।”
“हराउँछ ?”
“काटिदिन्छ । यस्तो कसरी निस्क्यो ?”
त्यो मान्छे छक्क परेको थिएन, पछि पर्दै गयो ।
बजारमा माइक लागेको छ , कालो टाउका र आँखाहरूको समुद्र छ- “एउटा कहाँको मान्छेको निधारैमा त्यहाँनिर यत्रो बयरजस्तो निस्केको थियो । यस्तो गाँठा ।” त्यो मान्छेले बतायो – “अस्पतालमा गएर काट्यो । काट्दा यस्तो हाँसउठ्दो घटना भयो ।”
त्यो मान्छेको मजाले आफैँ हाँस्यो, रूपलाललाई कारण नजानिएको डर लाग्यो । ‘के भएर भने क्लोरोफम सुँघाएको लट्ठिएर जागिहालेछ- मद खानेलाई लाग्दैन रैछ- डाक्टरले आरी-रेतीले निधारको डल्लो रेटेको, पेन्चिसले कटककटक् हड्डी भाँचेको हेरिबसेछ ।’
ठूलो आँखाले रूपलालले हेरिबस्यो ।
“तपाईं रक्सी खानुहुन्न, मासु खानुहुन्न, राती डुल्नुहुन्न र पनि के निस्क्यो यो ?”
गाँठो अघि पारेर आँखाले रूपलालले त्यो मान्छेलाई हेर्यो । “यो आँखाले म यो दाहिनेले भन्दा चहकिलो देख्छु, तेजिलो । यो गाँठो बेट्री थपेको, यतापट्टि ।” त्यो मान्छे यस्तो गफमा हाँस्न सकेन । “मलाई लाज लाग्छ यस्तो देखिनु ।” उसले धेरै साहसी भएर पछि भन्न सक्यो (अपरेशन गर्नुछ ) “कतिले सोध्छ, कतिले के-के भन्छ । अनेक अर्थ लाउँछ । आज अफिसै आइनँ । दिनभरि घर बसेको आजै हो म, कति वर्षमा ।”
बारको यतापट्टि मनमा जता त्यो मान्छे उठ्यो । सानो केटाको जस्तो घुम्ने बाल कोरेको र काँदिएको अनुहार थियो । ‘शुभ लक्षण भन्छ, नकाट्नु पनि भन्छ ।’ जाने बेलामा एकपल्ट फेरि त्यो मान्छेले गाँठोमा हेर्यो, केश कोरेर आमाले छोरीको कपाल हेरेको जस्तो, रूपलाल गाँठो देखाइरह्यो ।
‘पैसा कमाउन पर्छ मर्दले’ रूपलाल आफ्नो कुरा आफैँलाई भन्दै थियो त्यो मान्छे गएपछि । गहिर्याएर भन्दै गयो- “पैसा कमाउनुमा राखिएको छ होड मर्दहरूको मर्दपनको । कमाउने काममा यस्तो प्राणपनको युद्ध छ, साहस कौशल, सामर्थ्य जम्मैको जाँच छ यसमा । एउटा सुन्दरता छ यसमा ।” ऊ अनुहारमा हर्ष छापेर पूरा सास भरेर चौकीमा उत्तानो पर्यो, तन्क्यो ।
दार्जिलिङका दोकान, गल्ली, घरहरूका कुनाकाप्चामा छाडिएका रातका टुक्राहरू साँझपछि भेला भएर बढेपछि रूपलाललाई सजिलो लाग्यो, सास खोल्न पाएको लाग्यो । ‘अँध्यारो प्यारो लाग्नु म हारेको हो ।’ विद्रोह मच्चायो उसले तुरुन्त आफूमा । चौकीमा बसिरहेको उसले घरभरि उठेर बत्ती बाल्यो, मान्छे भएकै ठाउँमा गयो, सेतो खातामा बिजुली खन्याएर काम खोल्यो । काम हेर्न गइनँ- ऊ झोक्कियो-‘म लुकेर बसेँ, जाबे निस्केको केटाजस्तो । मैले मानेर यो ठूलो भयो । मैले योभन्दा ठूलो हुन सक्नुपर्छ ।’ छोरी आई छेउमा, स्वास्नी आई । गाँठो देखाएर उसले कुरा गर्यो- “तिमीलाई कति दिनुपर्छ घरखर्च ?”
“ऐले पर्दैन ।” स्वास्नीले भनी गाँठो हेर्दै । “के हेर्छौ यो गाँठो ?” हकार्यो उसले- “डाक्टरले काटिदिन्छ तर म गाँठै लिएर बाँच्छु । लाज लाग्छ ? (अपरेशन गर्नुपर्छ ।) मलाई लाग्दैन । खोँडे, काना, कोत्रे, छःऔँले थुप्रै छ दुनियाँमा, थुप्रै छौँ । मूर्ख, गरीब, अपढ ।”
मूर्ख, गरीब, अपढलाई अफ्नो वर्गमा गाभेर फेरि उसले दुर्बलता देखाएको अनुभव गर्यो ।
उज्यालो बत्तीमा बसेर उसले भात खायो, पढिरह्यो, उज्यालोमुनि सुतेर अरूलाई बत्ती मार्न लायो । ‘म एक व्यक्ति रहेछु ।’ अन्धकारमा हराएर लम्पसारिएको उसले बुझ्यो, ‘फेदमा म व्यक्ति रूपलाल’ उसले चिन्यो, अलिकमाथि नेपली, सबभन्दा माथि पृथिवीको मान्छे । बीच-बीचमा चेप्टिएका अनेक अस्तित्व रहेछु । मैले एक दिन रोक्किँदा यी प्रत्येकको कथामा आफ्नो-आफ्नो एक-एकवटा सङ्कट आउँदो रहेछ । बजारमा माइक लागेको छ, भाषण हुँदै छ, ऊ घर आउन खोज्दै छ । निदायो ।
कति दिनमा आज ऊ छिट्टै निदायो । सपनामा कतै गाँठो छैन रहेछ, उसलाई धूमधाम खुशी लाग्दै थियो, ढिलो गरी उदाएको जूनमा रूपलाल ब्युँझ्यो । उसलाई खेद लाग्यो अब त्यो नजाने भएको गाँठो सपनामा जाँदा खुशी लाग्दा । ‘होइन, नभएको धए साँच्चै त म खुशी हुन्थेँ ।’ उसले आफू मानिसको स्वभाव बुझ्यो । ‘हामी जम्मै कसरी बाँच्न चाहन्छौँ ?’ प्रश्नबाट व्याख्या हुत्तिएर निस्कन थाल्यो । आफ्नो विगतमा एउटा कालो काम, एउटा दाग, एउटा दोष नपारी हामी बाँच्न चाहन्छौँ । सलसलाउँदो सलक्क मन र इतिहास लिएर । जुन कुरा असम्भव छ, असम्भव रहेछ । टीकाहरू पुक्क-पुक्क थपिन्छ हामीमा । सलक्क भई बाँच्ने हाम्रो भित्रको चाहलाई ग्लानि र लाज बढ्छ । बढ्यो भन्दैमा तर आत्मघात गर्नु भएन सबले । गाँठैसँग बाँच्न सक्नुपर्छ । तेल नराम्रो भनेर आफू बत्ती कहिले निभ्दैन, जलेरै रातलाई डढाइरहने बल गर्छ त्यसले । विशेष प्राप्ति देखाएर पनि गाँठैसँग बाँच्नुपर्छ…’
‘गर्वसँग नहोला, जीवनपूर्वक बाँच्नु मैले बुझेँ ।’उसले भन्यो ।
‘जीवनपूर्वक ?’ उसको आधाले उसलाई सोध्यो ।
‘हो जीवनपूर्वक ।’ उसले भन्यो- जीवन यस्तो छ ती समस्तलाई स्वीकार गरेर त्यहीपूर्वक ।
ऊ त्यस बिहानी रातदेखि त्यसरी नै बाँचेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।