‘२०१० साहित्य अकादमी पुरस्कार विजेता नेपाली साहित्यकार रामचरण काफ्ले जेलमा परे’

२५ अगस्त, २०१८ मा हिमालय दर्पण समाचारपत्रको पहिलो पानामा छापिएको हेडलाइन हो। मैले यिनै साहित्यकारलाई लोकसभा चुनाव-२०१४ को छेउछाउ इमेल-पत्र लेखेको थिएँ। इमेलमा यी कुरा समावेश थिएँ-

आदरणीय रामचरण सर,

सादर नमस्कार!

म, सावन शिवा, सिलगढीबाट। कानुन पढ्दै गरेको छात्र हुँ। सानैबाट साहित्य पठनमा रुचि राख्थेँ। मलाई सबैभन्दा मन पर्ने नेपाली साहित्यकार तपाईं हुनुहुन्छ। तपाईंका अहिलेसम्म प्रकाशित भएका सबै साहित्यिक कृति नछुटाई पढेको छु। तपाईंका विचार, लेखनशैली, भाषाशैली, पाठकको रुचिअनुसार राख्ने विषयवस्तु मलाई औधी मन पर्छ। तपाईंको उपन्यास ‘दुई किनारको सेतु’ ले मलाई धेरै प्रभावित पारेको थियो। जातिवादको पर्खाललाई तोडेर सामाजिक समानता एवम् समान मानवाधिकारको सन्दर्भ अनि अन्तर्जातीय विवाहको पक्षलाई उपन्यासमा मुख्यविन्दु बनाइएको कथावस्तुले मेरो अन्तर्मनलाई छोएको थियो। यो पुस्तक कसैले पढ्दा पनि ऊ अवगत हुनेछ- तपाईंको बृहद सोच एवम् प्राज्ञताबारे। यही पुस्तकले तपाईंलाई साहित्य अकादमी पुरस्कारबाट अलङ्कृत गरायो। म सामान्य पाठक, ठुलो कुरा गर्ने क्षमता छैन तर पनि टिप्पणी गर्न चाहेँ, कि यो पुस्तक साहित्य अकादमी पुरस्कारका लागि सुयोग्य पुस्तक थियो। यो पुस्तकले मात्रै हैन ‘सरोवरको फूल’ उपन्यास पनि मेरो मनको छेउमा छ। गरीब र दलित केटाको पात्रद्वारा कति सहजतासँग उसका कष्ट एवम् अपहेलनालाई परिभाषित गरेर अन्तमा नायकको रूपमा उभ्याउनु भएको छ। भन्न त मिल्ने कुरा होइन तर पनि यहाँ उल्लेख गर्न मन लाग्यो- तपाईं वर्ण व्यवस्थामा उच्चवर्णसमुदायको भएर पनि यसरी आफ्नो कलमले जातिगत रूढिवादी मानसिकता राख्ने मान्छेलाई नयाँ सोचतिर लैजानु कुनै सानो कुरा होइन जस्तो मलाई लाग्यो। यो बृहत सोचका लागि म तपाईंलाई सलाम गर्छु।

सर, तपाईंका पुस्तक म खोजीखोजी पढ्छु। भनौँ, म तपाईंको ठुलो प्रशंसक हुँ र तपाईंको प्रशंसक हुनमा मलाई गौरवान्वित लाग्छ। सामाजिक सञ्जालमा मैले तपाईंलाई फलो गरेको छु। तपाईंका प्रत्येक पोस्ट पढ्ने गर्छु, प्रतिक्रिया दिने गर्छु। सायद नोटिस् पनि गर्नु भएको छ होला।
तपाईंसँग भेट्ने मेरो प्रबल इच्छा छ। आशा छ तपाईंसँग कुनै दिन भेट हुन्छ होला। मेरो रहेको एक सालको पढाइ सकेपछि दिल्ली आउने योजना छ। आशा छ दिल्ली आएको बेला तपाईंले भेट्न समय दिनुहुन्छ होला। चरण स्पर्श !

तपाईंको हितेशी,

सावन शिवा

सिलगढी, मोबाइल नं. ९८५८९६४२५६

===

मैले विशुद्ध मनले केही स्वार्थ नराखी इमेल-पत्र पठाएको थिएँ। मैले रिप्लाइको अपेक्षा राखिनँ अनि एकहप्ता बित्ता पनि केही रिप्लाइ आएन। इमेल पठाएको दुई हप्ता बितेपछिको पहिलो आइतवार मेरी बहिनी रुमि अत्तालिँदै हिमालय दर्पण पत्रिका लिएर मेरो कोठामा आई। बहिनी एघार कक्षामा पढ्थी। सत्र वर्ष पुगेकी मेरी बहिनी धेरै सुन्दर, उत्ताउलो स्वभाव र सबैकी प्यारी थिई। म आफ्नो पाठ्य पुस्तकमा धारा ४९९ पढ्दै थिएँ। उसले समाचारको साहित्य भागमा औँल्याउँदै मेरो फोटो र रामचरण सरलाई लेखेको इमेल-पत्र देखाई। बहिनीको अनुहारमा खुसीको कान्ति दौडिएको थियो। देखेपछि मेरो पनि हर्षको सीमा रहेन। हर्क र विनोद मनमा संचारित भयो।

मेरा प्रिय साहित्यकारले मेरो पत्र फोटोसहित छापिदिएछन्। योभन्दा ठुलो कुरा मेरा लागि अरू के हुन सक्थ्यो र ? सरर पढेँ। धेरै ठाउँ संशोधित गरिएको अनि केही हरफ थपिएको रहेछ। म जस्तो सामान्य पाठकको पत्र संशोधित हुनु स्वभाविक थियो। मलाई केही फरक परेन। लेखको आरम्भमा रामचरण सरको फोटो र अन्तमा मेरो नामसहित फोटो राखिएको रहेछ। आमा, साथी, छिमेकी सबैलाई देखाएँ। सबैले स्याबासी दिए। फुर्केर मेरा खुट्टा भुइँमा रहेनन्।

आजको समाचार-पत्रलाई जोहो गरेर राखेँ। प्रकाशित इमेल-पत्रको फोटो खिचेँ, व्हाट्सअपमा चारैपट्टि फिँजाएँ, सामाजिक सञ्जालमा राखेँ। बधाइको ओइरोलाई रिप्लाइ गर्नमा दिन बित्यो। कलेजमा दिनभरि साथीमाझ यही चर्चाको विषय रह्यो। रामचरण सरको यो स्नेहले उहाँप्रति मैले राखेको सम्मान अझ बढ्यो। उहाँलाई भेट्न उत्कट इच्छा झन् प्रबल भयो।

केही घण्टामा रामचरण सरको फेसबुक पेजमा प्रकाशित इमेल-पत्र पोस्ट भयो। केप्सन लेख्नु भएछ, ‘मेरो अन्नय पाठकको पत्र, यहाँलाई हार्दिक धन्यवाद। कुनै दिन अवश्य भेट्नेछु।’ लाइक र कमेन्टको भेल बग्यो। एक घण्टा लगाएर सबै कमेन्ट पढेँ। सबैले रामचरण सरको गुणगान र मेरो प्रशंसाको सेतु बाँधेका थिए। एकजनाको प्रतिक्रियाले मेरो मन जित्यो। लेखेको थियो- ‘इमेल-पत्रमा अनन्य पाठकमा लेखनकला लुकेको छ। यसरी नै लेखिरहे भने लेखक बन्ने क्षमता देखियो।’ मेरो मन फुरुक्क भइदियो। त्यही दिनबाट कविता, आलेख लेखन सिक्न थालेँ। मैले पनि कमेन्टमा रामचरण सरलाई लामो कमेन्ट गरेर धन्यवाद गरिदिएँ। यसपछि घन्टाभरमै एकसय जना जतिको फ्रेन्ड रिक्वेस्ट आयो होला।

हर्षको नशामा रामचरण सरको म्यासेन्जरमा गएर त्यही लामो धन्यवादीय कमेन्ट म्यासेजमा पठाएँ। यो चोटि चैँ रिप्लाइ आउँछ भनी ठुलै अपेक्षा राखेँ। केही घण्टामा म्यासेज सिन भयो तर रिप्लाइ चिल्लै। मन खिन्न। मेरो पत्र मन पराएर सरले प्रकाशित गर्नुभयो, प्रकाशित पत्र फेसबुकमा पोस्ट पनि गर्नुभयो तर मेरो म्यासेज पढेर पनि रिप्लाइ गर्नुभएन, किन होला ?

मनमा निकैबेर यस्तै खुल्दुले प्रश्न सलबलाए। यो खुल्दुली यही रोकिएन। सोचेँ, सरले इमेलमा केही दुई शब्द लेखेर पठाउन सक्नुहुन्थ्यो तर केही प्रतिक्रिया दिनुभएन। मेरो फोटो इमेलको प्रोफाइलबाट लिनुभयो, यो क्रममा एक रिप्लाइ गर्दा के हुन्थ्यो ? मैले इमेलमा फोन नम्बर पनि राखेको थिएँ, एउटा कल आएको भए कति खुसी लाग्ने थियो ! यसरी मेरा अपेक्षा तन्किँदै गए। लामो सास फेरेर मैले अपेक्षाको प्वाललाई बुजो लगाइदिएँ अनि हर्षको डुङ्गामा फेरि सवारिएँ।

मभन्दा खुसी हुनुहुन्थ्यो मेरी आमा। हुनु पनि किन नहून्, यस्तै दिनका आशामा जीवनका सबै खुसी त्यागेर मेरो र बहिनीका लागि कष्ट झेल्दै आउनुभएको थियो। दाजुबहिनी सानै छँदा बाबा स्वर्गवासी हुनुभयो। हामी सानै छँदा बाबाको चोला उठे पनि आमाले हामीलाई केहीको कमी हुन दिनुभएन। भोक-तिर्खा नभनी मजदुरी, अरूका घरमा भाँडा माजेर हाम्रो शिक्षालाई प्राथमिकता दिनुभयो। यसरी आजको दिन मेरो सानो सफलता हात लाग्दा आमाका आँखामा खुसीका आँसु झरे। बाबालाई सम्झिँदै  कुरा गर्नुभयो- ‘तेरा बाबा जिउँदो हुन्थे भने कति खुसी हुन्थे होला ?’ आमाले हामी दुवैलाई पनि रुवाउनुभयो।

हाम्रो यो खुसीको क्षणमा दिन रामचरण सरको हात परेको मलाई थाहा थियो। उहाँलाई यसको जानकारी नभए पनि उहाँकै कारण मेरो परिवारमा ठुलै खुसी आयो। पुनः आँसु पुछेर रामचरण सरलाई सम्झिँदै उहाँको चरणस्पर्श गरेँ।

===

इमेल-पत्र प्रकाशित भएको ठीक छ महिना पछिको कुरा हो। एलएलबीको फाइनल परीक्षा सकिएर म ढुक्क भई घरमा आराम फर्माउँदै थिए। साँझको कुरा हो। आमा खाना पकाउनु हुँदै थियो। रुमि स्कुलको कार्य गर्दै थिई। म टीभीमा दृश्यम सिनेमा हेर्दै थिएँ। चार्जिङमा राखेको मेरो सेमसङको फोनमा रिङ बज्यो। गएर फोनको अनुहार हेरेँ। अन्नोन् नम्बरबाट कल आएको रहेछ। उठाउन मन लागेन। मन फिल्म हेर्ने मुडमा थियो। फोनको देब्रेपट्टिको बटन थिचेर आवाज दबाइदिएँ जसरी पावरफुल मान्छेले गरीबको आवाज दबाइदिन्छन्। फोन फेरि बज्यो, भारी मनले कल उठाएँ। उताबाट केटीको सुमधुर आवाज आयो। भर्खरै फोन हेरेर ओइल्याएको अनुहारमा अर्कै उत्साह दौडियो। कौतूहलताले मन कुरीकुरी हुन लाग्यो।

‘हेलो !’

‘हेलो !’

‘सावन बोल्नु भएको हो ?’

‘यस, म सावन हुँ ?’ मैले पनि बोली मिठो बनाउँदै उसको प्रश्नमा उत्तर दिएँ।

‘म, प्रिया काफ्ले, रामचरण काफ्लेकी छोरी। आज हामी सिलगढीमा छौँ। पर्सि पापाको यहाँ पुस्तक विमर्शको कार्यक्रम छ। पापाले तपाईंलाई कल गरेर इनफोम गर्नु भन्नुभएको थियो, सो कल गरेकी। पापासँग भेट्ने इच्छा राख्नुभएको छ अरे। समय छ भने भोलि बिहान होटेल सम्राटमा आउनसक्नु हुन्छ।’

पहिले त उसको मिठो आवाजमा आनन्दित भएको थिएँ। अब मेरा प्रिय उपन्यासकारकी छोरीले मलाई उपन्यासकारसँग भेट्ने समयको जानकारी सुनाउँदा मेरो खुसीको सीमा कहाँ रहन्थ्यो होला र ! मैले के कस्तो प्रतिक्रिया दिने हो खुसीको मातमा केही मेसो पाइनँ। मैले नाई भन्ने प्रश्नै थिएन।

‘थ्याङ् यू सो मच। म भोलि बिहान पक्का आउनेछु।’ फुर्किँदै भनेँ।

प्रियाले होटेलको पता भनेर फोन राखी। आमा र बहिनीलाई सुनाएँ। दुवै खुसी। रातभरि निद्रा लागेन। मेरा प्रिय उपन्यासकारसँग भेट्ने मेरो इच्छा पूरा हुन गइरहेको थियो। उहाँसँग साक्षातकार हुने जानकारीले मेरो मन प्रफुल्लित भएको थियो। जसलाई करीब आठ वर्ष यता पढ्दै आएको थिएँ, उसले मलाई सम्झेर भेट्न बोलाउनु मेरा लागि चानचुने कुरा थिएन। उहाँको सहजता, डाउनटूअर्थ बुझ्दै लाँदा मेरो उहाँप्रतिको सम्मान अझ बढिरहेको थियो। नियतिको खेलमा म अनुगृहित भएको अनुभव गरिरहेको थिएँ।

हिजै मैले प्रियाको फोन नम्बर सेभ गरेको थिएँ। बिहानको घाम एक हातमाथि चढेपछि व्हाट्सअपमा आठ बजे पुग्ने जानकारी प्रियालाई म्यासेज गरेँ। उसको रिप्लाइ आयो, ‘ओके’।

नुवाइधुवाइ गरेँ। सर्टपेन्टमा स्त्री लगाएँ, इत्र जिउभरी छर्कें। इत्र जिउभरि छर्किनु चैँ प्रियालाई भेट्दा आकर्षण गराउने निहुँ थियो। आखिर उसको मिठो आवाजले म लट्ठ भइसकेको थिएँ। मेरो घर बाघडोगराबाट सम्राट होटलको दूरी दस किलोमिटर थियो। बसबाट जानुथियो, सात बजे नै घरबाट निस्किएँ। बस चढ्नुअघि सरलाई उपहार दिन कलम र ओसोको एउटा चर्चित पुस्तक ‘संभोग से समाधि की ओर’ किनेँ। दुवैको मूल्य मिलाएर चार सय रुपियाँ। मसँग खर्च गर्ने प्रशस्त पैसा थिएन। आमाले मजदुरी गरेर कमाएको पैसाले हामी दुवैलाई पढाउन नै हम्मेहम्मे पर्थ्यो। तर मेरा प्रिय उपन्यासकारलाई भेट्न खाली हात जान उचित लागेन। दाजुबहिनी मिलेर राति नै बहिनीको खुत्रुके फुटाइयो। बहिनीले खुसीखुसी एक हजारमा मलाई पाँच सय दिई।

सात पैँतालिसमै सम्राट होटेल पुगेँ। रिसेप्सनमा पुगेर कल हानेँ प्रियालाई। प्रिया मलाई लिन रिसेप्सनसम्म आई। मेरो पहिलो नजर प्रियामाथि पुगिसक्दा मोहनीको पासोमा बाँधिए। बाइस वर्षको जवान केटा म। आमाले जीवनभर भोगेको कष्टबाट सुखको संसारमा पुर्याउने मेरो लक्ष्य हुँदा मैले आजसम्म केटी हेर्नेतिर समय फ्यालेको थिइनँ। आज प्रियाको यौवनलाई देखेपछि सबै बिर्सिएँ।

प्रिया पनि मेरै उमेरकी केटी भएको अड्कल काटेँ। भर्खरै नुहाएर निस्किएकी हुनुपर्छ, केश स्वतन्त्र छोडेकी, गोरो रङ, उधोका दाँत छड्के भएपनि सन्दरता थप्न सघाएका, मिलेको जिउ। छरिटो आकर्षक जिउमा रातो टप र कालो जिन्स लगाएकी थिई। रिसेप्सनमा आएर यताउता मलाई खोजेको मैले देखेँ। मेरो छेउमा आएर ‘तपाईं नै सावन हो?’ भन्दै पुष्टि गरी। मैले पनि उत्तर दिएर उसको प्रश्नलाई सही ठहर्याइदिएँ। म मुसुक्क मुस्कुराएँ। उसले पनि मिठो मुस्कान दिएर दोस्रो तल्लामा जाने कुरा गरी। म पछिपछि लागेँ। प्रियाको सुन्दरमा मोहित हुनाले केही क्षण त बिर्सिएछु कि म रामचरण सरलाई भेट्न आएको हुँ।

कोठाछेउ पुगेपछि म उसको मोहनीको बगैँचाबाट फर्केर आएँ। अझै सम्झना छ मलाई, रामचरण सर बसेको रुम नम्बर, १२५ थियो। कोठाबाहिर पुगेपछि मन ढुकढुक भयो। उपहार राखेको क्यारीब्याग सम्हालेँ। प्रियाले दैलो बाहिरबाट उघारी। ऊ पसेपछि भित्र छिरेँ। रामचरण सर कुर्सीमा बसेर पुस्तक पढ्नुहुँदै रहेछ। पुस्तकको कभरमा मेरो नजर पर्यो, ‘ट्रुथ बिहाइन्ड द फेस’। म भित्र पसेपछि रामचरण सर पुस्तकलाई मेजमा राखेर उठ्नु भयो। लगाएको चश्मा खोलेर त्यही पुस्तकमाथि राख्नुभयो। यतिबेरमा छेउको मेजमा क्यारीब्याग राखेर जम्ल्याहात गर्दै मेरा प्रिय उपन्यासकारको छेउ पुगेँ। चरणस्पर्श गरेँ। खुट्टामा हात पुग्नु अघि नै सरले ‘यो के गरेको सावन !’ भन्दै अँगालोमा बाँध्नुभयो। रामचरण सरको स्नेहले मलाई स्वर्गमै लगेजस्तो अनुभव गरायो।

कुर्सीमा बस्ने आदेश सरबाट आयो। म लुरुक्कै बसेँ। सरलाई दिन ल्याएको पुस्तक र कलम निकालेर भनेँ- ‘सर, तपाईंका लागि सानो उपहार ल्याएको छु। ओसोको पुस्तक र यो कलम।’

सरले खुसी हुँदै भन्नुभयो- ‘वाह सावन ! थ्याङ् यु सो मच। यु आर सो स्वीट’।

पुस्तक र कलम लिँदै छोरीलाई आदेश दिनुभयो, ‘छोरी यता आएर हामी दुवैको फोटो खिच त ?’

छोरी बाथरुममा थिई। बाहिर निस्की। निलो कुर्ता लगाएकी, मेकअपले उसको सुन्दरतामा थप आकर्षण दिएको, मानौँ विश्वसुन्दरीको प्रतियोगितामा भाग लिन जान लागेकी हो। मैले लोभी नजरले हेरेको बुझेर मिठो मुस्कान छोडी। म पुनः मोहित।

प्रियाले फोटो खिचिदिई। मैले दुवैसँग सेल्फी लिएँ। केही बेरमा चिया आयो। चिया लिँदा सरले सोध्नुभयो- ‘तिम्रो घरमा को को हुनुहुन्छ सावन?’

‘आमा, बहिनी रुमि अनि म। रुमि एक वर्षको नहुँदै बाबा दुघर्टनामा परेर बित्नुभयो।’

‘ओहो ! तिमी के गर्दैछौ ?’

‘सर, मैले एलएलबी सकेँ। रिजल्टपछि प्रेक्टिस्का लागि दिल्ली जाने प्लान गर्दैछु।’

‘बहुत राम्रो। दिल्लीमा केही काम पर्यो भने भन्नुहोला। पाँच वर्ष यता म दिल्लीमा छु। सहयोग गरौँला। मेरी छोरी पनि नोयडामा लो कै पढाइ गर्दैछिन्।’

सरको कुरा सुनेर प्रियातिर हेरेँ। उत्तरमा उसले एकमुट्ठी मुस्कान छोडी। घायल मन झन्डै मूर्छित भएन।

‘हुन्छ सर। तपाईंलाई भेटेर धेरै खुसी लाग्यो। मलाई विश्वास नै लागेको थिएन यसरी तपाईंलाई भेट्छु भनेर।’

सरले अझैसम्म चिया पिउन थाल्नु भएको थिएन। मैले भने कप रित्याइसकेको थिएँ।

सरले कतै जान हतार भएको महसुस गराउँदै भन्नुभयो- ‘मलाई पनि धेरै खुसी लाग्यो सावन। तपाईं पाठकहरू हुनुहुन्छ रत हामी छौँ। तपाईंहरूको बिना हामी केही पनि हैनउँ।’

मनैमन सोचेँ, सरको विचार कति उच्च, कति महान।

सरलाई हतार भएको जानेर बिदा मागेँ। सरले प्रियालाई तलसम्म छोड्ने आदेश दिनुभयो। सरको चरण स्पर्श गरेर म निस्केँ। दैलोमा पुगेर सरलाई पुनः फर्केर हेरेँ, सर चिया पिउन थाल्नु भएको थियो, हातमा त्यही पुस्तक थियो ‘ट्रुथ बिहाइन्ड द फेस’।

प्रियाले मेरो कानुनी पढाइ जानेपछि बोल्नमा रुचि लिई। रिसेप्सनमा निकैबेर हाम्रो गफ भयो- पढाइका कुरा, कलेजका कुरा, केरियरका कुरा। छुट्नुअघि हामी साथी भयौँ। सरलाई भेट्नु मेरा लागि सौभाग्यको कुरा थियो। तीमाथि सरकी छोरी साथी बनिनु झन् ठुलो कुरा। उसले मेरो फोन नम्बर सेभ गरी। मैले हिजै गरेको थिएँ। दिल्ली आएपछि भेट्ने हाम्रो योजना बन्यो।

प्रिया कोठातिर गई। म आफ्नो घर लागेँ। मन खुसीले पोषित भएको थियो। बसमा चढेपछि फोन खल्तीबाट झिकेँ। नेट अन गरेँ। व्हाट्सअपमा प्रियाको नम्बरबाट अघि लिएका फोटा टिन्टिन् मेरो फोनमा उत्रिए। छुटिनुअगाडि फोटा पठाइदिने आग्रह राखेको थिएँ। फोटा डाउनलोड गरेर ‘थ्याङ्कस्’ लेखेर सेन्ड गर्दिएँ। तुरुन्तै चेटमा ‘वेलकम’ उपस्थित भयो।

फेसबुक खोलेँ। रामचरण सरको पेजमा अघि लिएका फोटा पोस्ट भएका रहेछन्। योभन्दा ठुलो खुसी मेरा लागि अरू के हुन्थ्यो होला र ? मेरा लागि हर्षको सीमा आकाशको अन्तिम सीमा भयो। कमेन्टमा लामो धन्यवाद लेखेँ। आज पनि केही क्षणमा फ्रेन्ड रिक्वेस्ट भटाभट आउन थाले। मन रमाइलो भयो। रामचरण सरकै फ्यान भएकाले गर्दा यति धेरै स्नेह पाएको थिएँ। ‘तपाईं धन्य हुनुहुन्छ रामचरण सर।’ मनैमन भनेँ।

===

२५ अगस्ट, २०१८ मा प्रकाशित समाचारले म उहाँको अन्नय भक्त दुःखी हुनुपर्ने तर म औधी खुसी थिएँ। पहिलोचोटि भेट हुँदा जति खुसी थिएँ त्योभन्दा बढी खुसी रामचरण काफ्ले जेल परेकाले थिएँ। जसलाई मैले मेरो जीवनको आदर्श मानेँ, आज त्यही व्यक्ति मेरा लागि अभिशाप बन्यो। फुल्दै गरेको मेरो परिवारको खुसीमा जहर मिश्रण गरिदियो। मैले सपनामा पनि सोचेको थिइनँ, रामचरण काफ्फेले मेरो जीवनमा प्रलय लिएर आउनेछ। उसलाई मैले त मानवताको प्रतिमूर्ति मानेको थिएँ।

===

रामचरण काफ्लेलाई भेटेपछिको तीन महिनामा म दिल्ली पसेँ। उसकी छोरी प्रिया, म दिल्ली आएपछि मेरी प्रियसी भई। मेरा लागि दिल्ली अनभिज्ञ थियो। प्रियाले कोठा खोज्नदेखि लिएर लोफर्ममा ज्वाइनिङ् हुनसम्म मद्दत गरी। हामी बिस्तारै निजिकियौँ। मित्रताको सम्बन्ध प्रेममा परिणत भयो।

म दिल्ली पसेको केही महिनामा उसको पनि कानुनी पढाइ सकियो। प्रिया पनि मैले प्रेक्टिस् गरेकै लोफर्ममा ज्वाइन गरी। रामचरणलाई पनि हामी एकै ठाउँ काम गरेको जानकरी थियो। उसले आपत्ति गरेको कुरा मसँग प्रियाले कहिल्यै गरिन। काम गर्ने एकै ठाउँ भएपछि हाम्रो माया झन् फस्टाउँदै गयो। केही वर्षमा घरमा कुरा राखेर बिहे गर्ने कुरा भएको थियो। उसले आफ्ना परिवाको सबै कुरा साझा गर्थी। घरमा भएको एकएक कुरा मलाई सुनाउँथी। प्रिया र म जति नजिकिँदै थियौँ रामचरण मेरो नजरबाट तल झर्दै थियो। उसका पुस्तकमा उसले लेखेका आदर्शका कुरा खकुलिँदै थिए।

रामचरण, धुम्रपान गर्दोरहेछ, दिनै रक्सी धोक्ने बानी रहेछ, कुराकुरामा झर्किने बानी रहेछ, उसको स्वभाव जति स्नेह र श्रद्धा देखिन्थ्यो उसको जीवनमा त्यसको केही मूल्य रहेनछ। एकदिन बेलुकी मैले प्रियालाई कल गरेँ। उसको आवाजले रोदनको आभास गरायो। मैले कारण सोधेँ, भनी- ‘पापाको अर्कै महिलासँग सम्बन्ध रहेछ। मम्मीले थाहा पाउनुभयो। धेरै दिनदेखि मम्मीपापाको झगडा भइरहेकोरहेछ। आज मैले थाहा पाएँ। आज पापाले मम्मीलाई डिभोर्स दिने कुरा गर्नुभयो। मम्मीपापाले मलाई गोडा धुने बेलामा डिभोर्स दिने कुरा सुन्दा मलाई एकदमै दुःख लागिरहेको छ।’ भन्दै प्रिया अझै रोई।

प्रियाको कुरा सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ। मलाई झट्टै सम्झना आयो रामचरणको उपन्यास ‘सीताराम’ जसमा उसले पतिव्रता साथै पत्नीव्रताका सिद्धान्त र विचार यति राम्ररी राखेको थियो कि सहजै पाठकले उपन्यासकारलाई सहजै पत्नीपरायण भएको बुझ्छ। रामचरणलाई चिन्दै जान लागेपछि उसको सामाजिक प्रसिद्धि, पुस्तकका विचार र यथार्थको भिन्नता बुझ्दै गएँ। रामचरणले मेरो इमेल-पत्र प्रकाशित गरेको, सामाजिक सञ्जालमा राखेको, देखावटी स्नेह आदि पाठकप्रति गरेको उद्गार हैन रहेछ वरन् उसकै प्रसिद्धिका लागि गरेको चतुर कार्य रहेछ।

हाम्रो प्रेम एक वर्ष पुग्न लागेपछि रामचरणले हाम्रो प्रेमप्रसङ्गबारे थाहा पायो। थाहा पाएको भोलिपल्ट काममा आउँदा प्रियाको अनुहार औँल्याएर सुन्दरताको कान्ति मेटिएको थियो। मैले सोध्दा जवाफ दिई ‘पापाले तपाईंलाई घर बोलाउनु भएको छ। जसरी भए पनि आज आउनु होला।’ यति कुरा सुनाएर मसँग दिनभरि बोलिन।

त्यही दिन म प्रियाको घर गएँ। रामचरण घरमा थियो। प्रियाकी आमा किचनमा काम गर्दै थिइन्। रामचरणसँग यो दोस्रो भेट थियो। पहिलोचोटि जसरी नै आज पनि उसलाई भेट्ने उत्सुकता थियो, डर थियो अनि कतै हाम्रो प्रेमसम्बन्ध थाहा पाएर झपार्न बोलाएको त हैन ? भन्ने शङ्का पनि मनमा चलिरहेको थियो।

मलाई राचरणले अति हर्षको साथ स्वागत गर्यो। त्यही स्नेह, त्यही उत्साह, त्यही हँसिलो अनुहार। एकचोटि लाग्यो प्रियाले मलाई सुनाएका कुरा सबै मिथ्या होलान्। आज पनि मलाई अँगालो मार्यो। मन हर्कले गद्गद भयो।

बसेपछि रामचरणले भन्यो, ‘मैले दुवैको प्रेमबारे जानेँ। खुसी लाग्यो। छोरीले राम्रो केटा रोजिछे। सावन, तिम्रो अनि परिवारबारे सबै भन। छोरी दिनुअघि केटाबारे जान्ने अधिकार छ नि है मेरो, हैन? भन्दै खित्का छोडेर हाँस्यो रामचरण।

लाग्यो, छोरीको प्रेमसम्बन्ध जानेर पनि मनमा आक्रोशित भावना रहेनछ। यसै शङ्का मात्र गरेछु। रामचरण उच्च जातिको भएर पनि म दलितको छोरालाई स्वीकार्न आँट्यो ! नस्वीकारोस् पनि किन र ? यो बखत सम्झेँ, रामचरणको उपन्यास ‘दुई किनारको सेतु’ जसमा अन्तर्जातीय विवाहको मार्मिक कथावस्तु थियो। यस्तो वृहत एवम् उच्च विचार भएको साहित्यकारलाई मेरो जातले के नै फरक पार्ला !

प्रियाबाट जति पनि कुरा सुनेको थिएँ अहिले रामचरणको आत्मीय व्यवहार र मेरो प्रेम सहजै स्वीकारेको देख्दा सुनेका कुरा धमिलिए। लाग्यो, ती उसका व्यक्तिगत कुरा हुन्, मैले ती कुरा लिएर उसको चरित्रलाई जज गर्न मिल्दैन।

पुनः म रामचरणको आदर्शतामा बगेँ। उसले मेरो र परिवारको जीवनबारे जान्न राखेको जिज्ञासाले म प्रसन्न हुँदै केही नलुकाई भने। झण्डै दुई घन्टामा बाबा-आमादेखि लिएर आफ्नो कहानी सबै भनिदिएँ। मन हलुङ्गो भयो। प्रियालाई पनि मैले मेरो परिवारको सम्पूर्ण कथा भनेको थिइनँ।

मलाई खाना खिलाएर पठायो। म खुसी भएको थिएँ। बिदा गर्दा प्रियाको अनुहारमा खुसीको एक रेखा पनि देखिनँ। यसैले मलाई पिरोलेको थियो।

प्रिया काममा आउन छाडी। उसको व्हाट्सअपमा एउटा म्यासेज आएको थियो ‘आजबाट मलाई कहिल्यै कल नगर्नू, मलाई बिर्सिदिनू, यसैमा म खुसी हुनेछु’। मलाई ब्लक गरी। मैले कारण जान्न सकिनँ, किन मेरी माया यसरी मबाट टाढिन गई ! कल गरेँ, उठेन। यहाँ पनि म ब्लक भएँ। कतै मेरो अतीत थाहा पाएर मबाट टाढा भएकी हैन ? या रामचरणले मनाही गर्यो ! मैले केही सटीक कुरा बुझ्न सकिनँ। धेरै दिन वेदनाले मन तड्पियो तर प्रिया फर्केर आइन।

बिस्तारै म पुनः सामान्य हुनलागेँ। उसलाई भुल्ने भरसक प्रयास गरेँ। मनको घाउ भरिँदै गयो। मैले प्रियालाई सपनाको अप्रिय घटना मानेर अगाडि बढ्नु नै उचित ठानेँ।

===

एक वर्षपछिको कुरा हो। म सिलगढी घर गएको थिएँ। आमाले मेरो बिहे गर्दिने भनेर लामो छुट्टीमा बोलाउनु भएको थियो। मलाई रामचरणको छायाले पिछा छोडेन। उसको नयाँ उपन्यास ‘मैला वस्त्रको वासना’ लोकार्पण सिलगढीमा हुने जानकारी सामाजिक सञ्जालबाट थाहा लाग्यो। मैले अझैसम्म मेरी प्रेमिकाले छोडेको कारण थाहा पाएको थिइनँ। जान्ने मेरो अन्तिम इच्छा थियो। प्रियालाई भेट्ने इच्छा राखेर लोकार्पण समारोहमा जाने निधो गरेँ।

पुस्तक लोकार्पणको सभागार भरिभराउ थियो। सबै रामचरणसँग फोटो खिच्नेमा व्यस्त थिए। रामचरणले मलाई देख्यो तर नदेखेजसो गरेर मञ्चमा चढ्यो। पुस्तक लोकार्पण भयो। पुस्तक निरुपणमा समालोचक धनराज भण्डारीले समीक्षा गर्दा उपन्यासको कथा मेरै परिवारसित मिल्दोजुल्दो भएको आभास लाग्यो। शङ्का लाग्यो, कतै रामचरणले मेरो परिवारको कथा त लेखेको हैन ! शङ्कालाई दूर गर्न पुस्तक किनेँ। प्रिया रामचरणसँग आएकी रहिनछे। शङ्का र नैराश्य मन लिएर घर फर्किएँ।

राति खान बसेको बेला, आमा औधी खुसी हुनुहुन्थ्यो। रुमि उतिकै खुसी। मेरो बिहे गर्ने कुरा मात्रले रुमि खुसीले अत्तालिएकी थिई। आमाको खुसीको अनुहार देखेर मनमा उब्जिएको शङ्का, निराशा सबै छुमन्तर। आमाले यो खुसी पाउन जीवनमा कति समर्पण गर्नुभयो, त्यसको आभास मलाईभन्दा अरू कसलाई थियो होला र ?

आमाले पहिले भनेका सबै कुरा अहिले सम्झेँ, ‘छोरा, मेरो घर नेपाल सइलुङमा थियो। घरमा धेरै दुःख थियो। बाबा खेतीपाती गर्थे। गोठभरि गाई-भैँसी थिए। मेरो मामाको छोरो दिल्लीमा काम गर्थे। म चौदह वर्षकी थिएँ होला, मामाको छोरो छुट्टीमा घर आएको बेला मलाई पनि दिल्लीमा राम्रो काम लगाइदिन्छु भनी दिल्ली लिएर आए। मामाको छोराले काममा लगाइदिन ल्याएका थिएनन्। म गाउँकी सोझी केटीलाई फँसाएर वेश्यालयमा बेचिदिए। मेरो जीवन नर्क बन्यो। मैले यो दलदलबाट निस्किन परै जाओस् राम्ररी सास फेर्न पनि पाइनँ। यो संसारमा एकचोटि पसेपछि निस्किन सकिँदो रहेनछ।

एकदिन म भएको वेश्यालयमा पुलिसको रेड पर्यो। तेरा बाबा दिल्ली पुलिसमा जागीर गर्दा रहेछन्। त्यो रेडमा तेरा बाबा पनि हुनुहुन्थ्यो। म नेपाली चेलीको दुःख सम्झेर मलाई त्यहाँबाट निकाल्नुभयो। घर पठाइदिन नेपालमा खबर पठाउनुभयो। म वेश्या पेशामा भएको जानेर घरबाट नेपाल नटेक्ने आदेश आयो। मेरा लागि चारैतिरबाट दैलो बन्द भयो। मलाई फेरि त्यही दलदलमा जान मन थिएन। तेरो बाबाले मेरो बाध्यता र भावना बुझेर जीवनसङ्गिनी बनाउने निर्णय लिनुभयो।

बाध्यता मात्र हैन नि, म असाध्यै राम्री पनि थिएँ। मेरो जीवनमा तेरा बाबा भगवान् भएर आउनुभयो। तर मेरो कारणले तेरो बाबाको जीवनमा ठुलो दशा लाग्यो। मेरो बिगतको पेशाले तेरा बाबाको जीवनमा सङ्कट आइपर्यो। साँच्चै तँ त्यो समय पाँच बर्षकी थिइस्। मसँग तँलाई पनि बाबाले स्वीकार्नु भयो। तँलाई सम्झना पनि होला। मलाई तेरो बाबाका परिवारले घरमा पाइला टेक्न दिएनन्। मेरा लागि घर त्याग्नुभयो। बाहिर कोठा लिएर बस्यौँ। कोट मेरिज गर्यौं। मेरो अतीतले यहाँ पनि पिछा छोडेन। ड्यूटीमा बाबाका सहपाठीले पनि कुरा काटिरहे।

सहन नसकेर जागीर र दिल्ली नै छोडरे हामीलाई लिएर बाघडोगरा, सिलगढी आउनुभयो। एयरपोर्टमा सेकुरिटीको नाैकरी गर्न लाग्नु भयो। सुखीको जीवन सुरु हुन लाग्यो। रुमि जन्मी। अतीतलाई हामीले बिर्सिँदै गयौँ। तर यो खुसी धेरै दिन हामीसँग बस्न मानेन। बाबा बस दुर्घनामा परेर हामीलाई छोडेर जानुभयो। तँलाई आफ्नै छोरासरह माया गर्नु हुन्थ्यो। तँलाई आफ्नो नाम दिनुभयो, थर दिनुभयो।’

आमाले आफ्ना बितेका दुःखका कुरा मलाई सुनाए पनि बहिनीलाई कहिल्यै भनक पनि लाग्न दिनुभएन। मैले पनि बहिनीलाई सधैँ आफ्नी बहिनीभन्दा धेर माया गरेँ।

पछिल्ला कुराको सम्झनाले मेरा आँखा रसाएछन्। आमाले आफ्ना खुसीका आँसु पुछेर मेरा आँसु पुछिदिनुभयो। बहिनी अघि नै रुन लागेकी रहिछ। तीनजना केहीबेर अँगालिएर रोयौँ। बाबाका कुरा गर्यौं। सम्झ्यौँ। मेरा बाबा भगवानसरह थिए।

राति सुत्नुअघि शङ्का दूर गर्न त्यही पुस्तक निकालेँ, ‘मैला वस्त्रको वासना’। पढ्दै गएँ, मन डराउँदै गयो, पढ्दै गएँ निधारमा पसिना चिटचिट आउँदै गए। मेरो शङ्का सही थियो। उपन्यासमा मेरै परिवारको कथा लेखेछ रामचरणले। पात्रहरूका नामधरी मेरै बाबा-आमा, मेरो, बहिनीकै थिए।

डरले मेरो हातगुडा थररर काँपे। तीन सय पानाको पुस्तक मैले रातभरिमा पढिसकेँ। मेरा प्रिय उपन्यासकारको यो पुस्तकले हाम्रो अतीतको घाउलाई आलो बनाइदियो, समाजको अगाडि हाँसोको पात्र बन्न खाडल खनिदियो। मेरी आमाको अतीत सबैलाई छर्लङ्ग थाहा भएपछि समाजले कुन दृष्टिले हेर्ने हो? कस्तो व्यवहार गर्ने हो ? मेरी बहिनीको कलिलो मनमा के असर पर्ने हो ? सोचीसोची मेरो मन भारी हुँदै गयो। एक झप्को सुतिनँ। बहिनीको हातमा पुस्तक नआहोस् भनी लुकाएँ।

सामाजिक सञ्जालमा पुस्तकको प्रचार व्यापकतासँग भयो। केही दिनमै पुस्तक बेस्ट सेलरको लिस्टमा टप भयो। पाठकले पुस्तक लिँदै, पढेर आफ्ना अनुभव साझा गरे। कतिले मेरो बाबा र आमाको मार्मिक कथा र पात्र मन पराएर दुवै पात्रको चरित्रचित्रण गर्दै प्रचारप्रसार मजाले गरे। पाठकलाई कथा मन पर्यो, पात्र मन पर्यो, पात्रप्रति सहानुभूति राखे तर समाजको अगाडि यथार्थ आउँदा हाम्रो जीवनमा के असर पार्ने हो, त्यसको भयले पलपल सताइरहेको थियो।

जुन कुराको शङ्का थियो त्यही हुन लाग्यो। मेरो परिवारको कथा बुझेपछि सिलगढी, दार्जिलिङ, सिक्किम, असमका प्रायः नेपाली पाठकले उपन्यास खोजीखोजी पढे। रामचरणको फेसबुकमा मेरो इमेल-पत्र पोस्ट हुनाले जुन परिचय सबैले मेरो पाएका थिए त्यो पुस्तक बिकाउन थप सहायक सिद्ध भयो। पाठकले राम्रो उपन्यास भेटे तर मेरो परिवारमा कष्टले पाइला राखिसकेको थियो।

पुस्तक लोकार्पित भएको एक सातापछिको कुरा हो। बहिनी प्रायः समय उदास भएर बस्थी। सधैँ हाँसिरहने बहिनीको अनुहारमा अमावस्यको रातजस्तो अँध्यारो मेरो नजरबाट लुक्न सकेन। उसको निराशाको कारण मैले धेरैचोटि सोधेँ तर ‘केही हैन’ भन्दै टारी। मेरो मनमा चल्दै गरेको आशङ्काको गति झन् बढ्यो।

केही दिनमा मायाले फकाएर सोधेँ। आँसु झार्दै बहिनीले भनी। जुन कुराको डर थियो त्यही भयो। उसले पुस्तक पढिछे। हाम्रो परिवारको कथा बहिनीले थाहा पाउनुमा डराउने कुरा थिएन। उसका स्कुलमा अन्य विद्यार्थीले पनि पुस्तक पढेछन्। हाम्रो कथा जानेपछि बहिनीप्रति हेर्ने दृष्टि सबैको फेरिएछ। उसको अनुपस्थिमा वेश्याको छोरी भन्दै बहिनीको कुरा काट्न थालेछन्। यसले बहिनीलाई अत्यन्त पीडित बनायो। बहिनीलाई चिन्ता लिनुपर्दैन भनी धेरै सम्झाएँ, बुझाएँ तर सामाजिक तिरस्कारबाट जाती हुने मलम कतै पाइँदो रहेनछ।

कुरा यही थामिएन। बहिनीले पाउँदै गरेको लाञ्छना मैले पनि पाउन थालेँ। कलेज, गाउँ, बजार, कतै हिँडिसक्नु भएन। सबैले हाम्रो परिवारलाई हीनको दृष्टिले हेर्न थाले। कुरा काटेको आफ्नै कानले सुनियो, अरूको मुखबाट सुनियो, कसैले त आमाबाट कथा सुन्ने पनि आँट गरे। आमा यो लाञ्छनाबाट कहाँ बाच्नु हुन्थ्यो होला र ? समाजले आमालाई पुनः वेश्या बनायो। केही दिनमै हाम्रो जीवन पिरको सागरमा परिणीत भयो। तीनैजना मानसिक पीडाले ग्रसित भयौँ।

यसरी मानसिक रोगमा परेर तीनैजनाको जीवन बर्बाद पार्नु अनुचित थियो। यो मैले चाँडै आभास पाएँ। स्वयम् सम्हालिएर बहिनी र आमालाई पनि सम्हाल्नु मेरो जिम्मेवारी थियो। आमा र बहिनी घरबाट निस्किनै छाडे। मैले अनेकौँचोटि प्रयास गर्दा पनि बहिनी स्कुल जान मानिन। मेरो बिहेको कुरा आमाले जहाँ छिनफान गर्नुभएको थियो त्यहाँबाट विवाह अस्वीकारेको खबर पाइयो। यसले आमालाई धेरै प्रतिघात गर्यो। आमा-बहिनी धेरै रोएँ। उनीहरूको अगाडि नरोए पनि मेरो मन भने रोइरहको थियो।

आमाले मेरो बिहे टुटेको पीडा सहन सक्नुभएन। एक रात राति बाह्र बजे आमाको कोठाबाट खर्स्याङ्खुसरुङ गरेको आवाज आयो। मन त्यसै उद्वेलित थियो। निदाएको थिइनँ। झट्टै गएर दैलो खट्खटाएँ। आमाले दैलो खोल्नुभएन। धेरै बेर दैलो नखोल्दा मलाई आमाले आत्महत्या गरेको शङ्का लाग्यो। दैलो तोडेँ। यतिबेरमा बहिनी पनि उठरे आइपुगेकी थिई। मेरो शङ्का सही थियो। आमाले आफूलाई पङ्खामा झुण्डयाउन आँट्नु भएको रहेछ। पाँच मिनट पनि अबेर भएको भए आमाले हामीलाई छोडेर जानुहुने थियो।

आमालाई झारेँ। हामीलाई देखेपछि आमा डाका छोडेर रुन लाग्नुभयो। आमासँगै दुवै रुन लाग्यौँ। आमाले बिलाना गर्नु लाग्नुभयो- ‘हे भगवान् ! मेरो भाग्यमा यति खोट किन ? पुरानो घाव बिर्सेर केही खुसी पाएकी थिएँ। फेरि त्यही घावलाई बल्झाएर मेरा यी छोराछोरीको जीवन पनि बर्बाद गर्दिन लाग्यौ। अब म यो समाजको लाञ्छना सहेर कसरी जिउने ? बरू मलाई त्यही दलदलमामा बस्न दिएको भए हुन्थ्यो नि ! अब मैले छोराछोरी को यो हालात देख्नु पर्ने थिएन। मेरा छोराछोरीले यो समाजसँग कसरी लडेर बाच्छन्? बाध्यताले गराएको गल्तीमा दण्ड भोग्नुपर्ने छ भने दण्ड मलाई देऊभगवान्। मेरा छोराछोरीले किन भोग्ने ? के गल्ती छ र यीनीहरूको?

‘आमा, म सब ठीक गर्ने छु। हामीलाई केही हुँदैन। हामीले यसरी हार मान्नु हुँदैन।’ मन गाँठो भएर बोल्नै सकिनँ।

आज हामी फेरि एकै अँगोलाम बाधिएर रोयौँ। बाबालाई सम्झियौँ। रुमि र मैले आमालाई फेरि यसरी आत्महत्या नगर्ने कसम खुवायौँ।

आमाको आत्महत्या प्रयासले मेरो मन-मतिष्क नै हल्लायो। परिवारको यसरी बदनाम भएको मैले सहन सकिनँ। खुसीको सागरमा चल्दै गरेको जहाज यसरी पल्टाउने प्रयास भयो जसरी चक्रवातले जहाज पल्टाउँछ। हाम्रो जीवनमा रामचरण काफ्ले चक्रवात भएर आयो। उसकी छोरीलाई माया गरेको दण्ड उसले आफ्नो कलमको धारले दियो। प्रत्यक्ष रूपमा उसले गरेको अपराध नदेखिए पनि मानसिक पीडा, सामाजिक सम्मानलाई ठुलो आघात पुर्याएको थियो जसको परिणास्वरूम मेरो परिवारलाई मानसिक साथै सामाजिक प्रतिष्ठाको हनन् भएको थियो। मैले यसका लागि उचित कानुनी दण्ड दिने निर्णय गरेँ।

===

आमा र बहिनी केही सामान्य भएपछि म दिल्ली फर्किएँ। गएको केही दिनमै मैले करकरडुमा कोर्टमा गएर रामचरण काफ्लेको विरुद्ध मानहानि र अनुसूचित एवम् अनुसूचित जनजाति अधिनियम बाबत उजुरी लगाए। कोर्टले संज्ञानमा लिएर पुलिस थानालाई एफआइआर गर्ने निर्देश दियो। मैले साक्ष्य तयार पारिसकेको थिएँ।

रामचरण काफ्लेलाई अदालतले कानुनी नोटिस दियो। १२ फब्रुअरी, १०१८ मा पहिलो केसको डेट परेको थियो। मेरो वकील स्वयम् म थिएँ। पुस्तक साक्ष्यको रूपमा थियो, आमा र बहिनीलाई पनि केसको अघिल्लो दिन दिल्ली बोलाएको थिएँ। साक्ष्यको रूपमा आमा र बहिनीलाई पनि अदालतमा ल्याउन जरूरी थियो। अदालतमा साक्ष्यको रूपमा पुस्तक बाहेक ‘रेकोडेट अडियो’ पनि थियो जसले दोषसिद्ध तुल्याउन ठुलो भूमिका खेल्यो।

अडियोमा मेरो र रामचरणको वार्तालाप थियो।

‘सावन, तिमी यहाँ ? कसरी?’

‘नमस्ते। मेरो प्रिय उपन्यसाकर तपाईं नै हुनुहुन्छ। भेट्न मन लाग्यो अनि आएको। अनि सर तपाईंले अघिल्लोचोटि भेट हुँदा मेरो र तपाईंकी छोरीको प्रेमलाई स्वीकार्नु भएको थियो। त्यसपछि हाम्रो भेट भएन। कारण मैले अझै जान्न पाएको छैन। सर, आज म तपाईंकी छोरीको हात माग्न आएको हुँ। तपाईंकी छोरीको हात मेरो हात राखिदिएर मेरो जीवनलाई धन्य बनाइदिनुस्। सामजले तपाईंलाई सधैँ सम्मानको दृष्टिले हेर्नेछ।’

‘सावन ! तैँले यो सोचिस् पनि कसरी? आफ्नो जात थाहा छ ? तेरो बाउ को हो, त्यो पनि सायद थाहा छैन होला ! होस् पनि कसरी ? वेश्याको छोरो जो होस्। बाउको जानकारी तेरी आमालाई पनि थाहा छैन होला। तँ दलित होस्, अछुत होस्, वेश्याको छोरा होस् अनि म ब्राम्हण जातिको सम्माननीय समाजको प्रसिद्ध साहित्यकार। न तेरो बाउ छ न परिवारमा साथ दिने कोही प्रामाणिक सदस्य। वेश्याको छोरा भएको जान्दैजान्दा पनि म कसरी मेरी छोरी दिन्छु ? म कुनै मूर्ख हैन जो तैँले बुझिरहेको छस्। यति वर्षमा मैले कमाएको मान, सम्मान इज्जतलाई पलमै म कसरी सखाप पार्नु सक्छु ! राम्रो यसैमा हुनेछ, तँ यहाँबाट गई हाल अनि हाम्रो पीछा छोड।’

‘सर, तपाईंलाई त मैले मेरो जीवनको आदर्श मानेको थिएँ। अहिले तपाईंले जुन आफ्नो मूल चरित्र देखाउनु हुँदैछ त्यसको सम्बन्ध के तपाईंले आफ्नो लेखनबाट समाजलाई दिएको सन्देशसँग छैन ? कसरी तपाईंले यस्तो निच सोच राख्न सक्नुहुन्छ ?’

‘मेरा अगाडि सिद्धान्त त ज्ञानका कुरा नगर। समाजको अगाडि लेख्ने, बोल्ने, भाषण गर्ने र यथार्थमा धेरै भिन्न हुन्छ। अर्ती दिन सजिलो र स्वयमले भोग्नमा धेरै भिन्न हुन्छ। मान्छेको सोच र समाज परिवर्तन भनेको शनैः शनैः हुने कार्य हो, ह्वात्ते हुने कार्य होइन। साँचो कुरा बुझिराख। यो पखार्ललाई मेटाउन पुस्तकमा लेखेजसरी सजिलो हुँदैन। त दलित होस् अनि म ब्राम्हण। यसबीचमा  आकाश र पातालको भिन्नता छ। म तँलाई स्वीकार्न कदापि सक्दिनँ।’

यो संवाद म उसको घरमा सिलीगुढीबाट दिल्ली आएको भोलिपल्ट नै रामचरणको घरमा गएको समयको हो। मलाई लागेको थियो, रामचरणले उसकी छोरी मसँग बिहे गर्दियो भने सबै समस्या हल हुन्छ होला ! यो पनि शङ्का लागिरहेको थियो, उसले मलाई अपमान गर्न सक्छ, उसकै कारण मेरो प्रेम-विछोड भएको हुन सक्छ ? अपमान गरेकाे, म प्रमाणको रूपमा राख्न चाहन्थे ताकि अदालतमा साक्ष्यको रूपमा प्रस्तुत गर्न पाऊ। मेरो शङ्का सटीक थियो। उसले मेरो साथै परिवारको घोर अपमान गर्यो। मेरो जातको गर्यो, मलाई अपशब्द बोल्यो। उसको घर पुगिसक्दा मैले मोबाइलको अडियो रेकड अन गरेको थियो। त्यही अडियो अदालतमा रामचरण काफ्लेका लागि जेल पस्ने मुख्य कारण सिद्ध भयो।

तीनचोटि अदालतले केसको सुनवाइ गर्यो। यो क्रममा एक वर्ष बित्यो। अन्तिम डेटमा अदालतले फैसला सुनायो- ‘राचरण काफ्लेलाई मानहानि दोषसिद्ध भएकोमा ४९९ धारा लगाइन्छ अनि अडियो रेकडको साक्ष्यको आधारमा अनुसूचित जाति एवम् अनुसूचित जनताति अधिनियको आधारमा पनि दोषसिद्ध पाइन्छ। दुवै दोषसिद्ध हुँदा रामचरण काफ्लेलेलाई दण्ड-विधानको अधिकार प्रयोग गरेर दुई वर्षको जेल र पचास हजार हर्जाना जमा गर्ने आदेश दिइन्छ।’

२५ अगस्ट, २०१८ को समाचार-पत्रबाट रामचरण काफ्ले जेल परेको खबरले नेपाली साहित्य जगतमा हल्ला मच्चायो। म खुसी थिएँ। मेरो परिवारलाई मानसिक पीडा र समाजमा बदनाम गर्ने अपराधी जेलमा पर्यो।

त्यही दिन साँझमा प्रियाको फोन नम्बरबाट व्हाट्सअपमा म्यासेजको घन्टी बज्यो। म्यासेज खोलेर पढेँ- ‘साजन, आइएम सरी ! मेरो पापाले तपाईंसँग ब्रेकअप गर्ने कडा आदेश दिनुभएको थियो। मैले पापाले भनेको नमान्दा मलाई घरबाट निकालिदिने र मम्मीलाई डिभोर्स दिने धम्की थियो। मम्मीको मायाले पापाको कुरा मान्नुपर्यो। मैले तपाईंजस्तो हिम्मत गर्न सकिनँ। मलाई पापा जेल गएकोमा केही रिगरेट छैन। पापा यही डिजर्ब गर्नुहुन्थ्यो। मैले डेढ वर्ष कसरी बिताएँ मलाई मात्र थाहा छ। एकदिन पनि बितेन जुन दिन मैले तपाईंलाई मिस गरिनँ। मलाई प्लिज माफ गर्दिनु। अब मैले कहिल्यै तपाईंलाई छोड्ने छैन।’

मेरा आँखाबाट आँसु बरर झरेँ। आँसु सुकेपछि प्रियालाई कल लगाएँ। हामी घण्टौँसमय कुरा गर्यौं। भोलिपल्ट भेट्ने योजना बन्यो- नयाँ जीवन, नयाँ प्रेमको सफरका लागि।