लालेले दश वर्षको उमेरमै बाउ गुमायो । उसको घरमा अशक्त बिरामी आमा र दुईजना साना भाइ बैनी मात्र बाँकी रहे । उसको बाउ मर्दा सम्पत्तिको नाममा यौटा झुपडी मात्र छोडेर गएका थिए । अन्य सम्पत्ति केही थिएन । १० वर्षको उमेरमै लानेको काँधमा पारिवारिक जिम्मेवारी आयो । लाले एक्कासि परिपक्क बन्यो ।
केही कमाउने आशामा माथिल्लाघरे दाइसँग लाले शहर गयो । दाइले उसलाई एउटा घरमा नोकरी लगाइदिए । त्यस उसले एक वर्ष काम गयो । त्यहाँ उसले पैसा त कमाएन तर शहरको रहनसहन सिक्यो । उसले त्यहाँको नोकरी छोडेर होटलमा काम गर्न थाल्यो । होटलमा कष्टपूर्ण जागिर गर्दा उसले सांसारिक चालचलनको बारेमा धेरै कुरा सिक्यो । आफ्नो गरिबीको कारण पत्ता लगायो । सुख पाउनको लागि पढ्नु पर्दो रहेछ भन्ने कुरा सिक्यो ।
लालेले आफूले पढ्न नपाए पनि भाइ बहिनीलाई पढाएर ठूलो मान्छे बनाउने प्रण गर्यो र गाउँ गएर भाइबहिनीलाई स्कुलमा भर्ना गरिदियो । अब लालेको काँधमा झन् जिम्मेवारी थपियो । उसले बिरामी आमालाई ओखतीमूलो गर्ने र भाइबहिनीलाई राम्रो शिक्षा दिलाउन आवश्यक पर्ने रुपैँयाको लागि अझ बढी मेहनत गर्न थाल्यो । पढ्न र पेटभरि खान पाउँदा लालेका भाइबहिनी खुसी थिए अनि उपचार पाउँदा र छोराछोरी खुसी भएको देख्दा लालेकी आमा त्यसै खुशी थिइन् ।
होटेलको जागिरबाट लाले खासै कमाइ नहुने ठहर गयो । उसले काम गर्ने होटलमा खाना खान आउने एक जना ड्राइभरसँग उसको हेलमेल बढेको थियो । त्यही हेलमेलको प्रभावले गर्दा लालेको त्यही ड्राइभरले चलाउने बसमा खलासीको नोकरी पायो । शहरमा छिरेको ५ वर्षपछि लालेको बसको ढोका ठटाउँदै सडकमा दगुर्ने गाडीमा हिँड्न पायो । उसको यो जागिर पहिलेको भन्दा सजिलो थियो र आम्दानी पनि बढी नै हुन्थ्यो । ड्राइभरको ऊमाथि राम्रो कृपा थियो, उसले लालेलाई गाडी चलाउन सिकाइदिन्छु भनेको थियो । लाले ड्राइभरसँगै बस्थ्यो खान्थ्यो र कमाएको रुपैया गाउँमा पठाउँथ्यो । उसले मनमनै योजना बनाइसकेको थियो–ड्राइभर भएपछि डेरा खोजेर आमा र भाइबहिनीलाई शहरमै बोलाउँछु । यही राखेर भाइबहिनीलाई धेरै पढाउँछु अनि आमाको राम्रो ओखतीमूलो गराउँछु ।
बसमा काम गर्दा सो बसमा सधैँ यात्रा गरिरहने एक जना भलादमी र लालेबीच सानो परिचय भयो । भलादमीले लालेको घर परिवार र उसले गरेको सङ्घर्षको बारेमा सोध्यो । बिरानो शहरमा लालेलाई भलादमी आफन्त झैँ लाग्यो । उसले भलादमीलाई आफ्नो बारेमा बेलिविस्तार लगायो । एक दिन भलादमीले आफ्नो साथमा भिडियोग्राफरलाई लिएर आयो र लालेको फिल्म खिच्ने कुरा बतायो । देश विदेशमा आफू देखिन पाउने कुराले लाले खुसी भयो । भलादमीले लालेको बिहानदेखि साँझसम्मको सम्पूर्ण क्रियाकलापहरु क्यामरामा कैद गर्यो अनि लालेको सङ्घर्षको बारेमा लामो अन्तर्वार्ता पनि लियो ।
केही दिन पछि भलादमी आएर भन्यो–आज टिभीमा तिम्रो फिल्म आउँदैछ ।
उसले ड्राइभरको डेरामा गएर टिभी हेर्यो । नभन्दै भलादमीले भनेको समयमा लाले टिभीमा देखियो । आफूलाई टिभीमा देख्न पाउँदा लाले निकै खुसी भयो । भोलिदेखि साथीहरूको माझ लालेको छाती गर्वले फुल्यो ।
एकदिन भलादमी फेरि आयो । उसले लालेलाई आफूसँग लिएर गयो । लालेलाई नुहाइधुवाइ गर्न लगायो र एकजोर सुकिला कपडा पनि दियो अनि लालेलाई आफ्नो कथा यसरी भन्नुपर्छ भनेर सिकायो । त्यो दिन लाले भलादमीको ठूलो घरमा बस्यो । अर्को दिन भलादमीले लालेलाई एउटा भव्य समारोहमा लिएर गयो । त्यो समारोहमा सुकिला कपडा लगाएका सयौं मान्छेहरूलाई लालेले देख्यो र अगाडिको अग्लो ठाउँमा केही मानिसहरूसँग उसले टिभिमा देखिरहने ’मन्त्री’लाई देख्यो । भलादमीले लालेलाई लिएर मन्त्रीनजिकैको कुर्सीमा राख्यो । मन्त्रीसँगै बस्न पाउँदा ऊ अलमलमा पर्यो , उसलाई त्यो क्षण सपना हो कि विपना भन्ने छुट्याउन गाह्रो पर्यो ।
केही बेरमै भाषण सुरु भयो । लालेले भाषण त बुझेन तर बीच-बीचमा आफ्नो नाम आएको भने बुझ्यो । हलको एक कुनामा राखिएको ठूलो टिभीमा फेरि लालेको फिल्म देखाइयो । मन्त्रीले उठेर लालेको सङ्घर्षको चर्चा गरे, लालेको बारेमा बनाइएको फिल्म (डकुमेन्ट्री)ले अन्तर्राष्ट्रिय पुरस्कार पाउन सकेकोमा बधाइ दिए । मन्त्रीले लाले र भलादमीलाई संयुक्त रुपमा सम्मानित गरे । फ्रेम हालेको ठूलो सम्मानपत्र दिए र केही पुरस्कार पनि । भलादमीले सिकाएझैँ लालेले पनि भाषण गर्यो । समारोह सकियो ।
जलपानपछि मन्त्रीलगायत सबैले लाले र भलाद्मीसँग बसेर फोटो खिचाए । कार्यक्रम सकिएपछि भलादमीसँगै लाले फर्क्याे । त्यसबेला उसलाई आफू निकै ठूलो भएको महसुस भैसकेको थियो । जीवनमा त्यस्तो क्षण पनि त आउँदो रैछ भनेर लाले दङ्गदास र खुसी थियो । त्यस दिन पनि ऊ भलादमीको घरमै बस्यो । भलादमीका सबै परिवारले उसलाई निकै मायालु व्यवहार गरे । उसले जीवनमा पहिलो पटक मिठो खाना खायो र मुलायम ओच्छ्यानमा सुत्यो ।
भोलि बिहान उठ्दा घाममाथि आइसकेको थियो । ऊ उठ्नेबित्तिकै भलादमीले उसलाई चिया खुवायो र केही ठूला अखबारहरू देखायो जहाँ लालेका ठूला–ठूला तस्वीर छापिएका थिए । लालेलाई सबै कुरा सपनाझैँ लागिरहेको थियो । उसले अखबारमा के लेखेको छ भन्ने सोध्न सकेन । भलादमीले बताएपछि उसले यति मात्र जान्यो– उसको फिल्म सबैले मन पराएछन् ।
खाना खाएर ड्राइभरको डेरामा फर्कने बेलामा भलादमीले उसको हातमा पाँच हजार रुपैँया थमाइदिए पुरस्कार भनेर । लाले खुसी हुँदै फर्क्यो । फर्कंदा उसले आफ्नो फोटो भएका ५–६ वटा अखबारहरु पनि किन्यो । लाले डेरामा फर्कंदा ड्राइभर काममा गैसकेको थियो । ड्राइभरनीलाई उसले सङ्क्षेपमा सबै कुरा सुनायो र यो खुसीको कुरा सुनाउन भनेर लाले त्यही दिन नै घर गयो ।
उसले आफ्नो घरमा गाउँमा आफ्नो प्रगतिको कुरा सुनायो, आफ्नो फोटो छापिएका अखबारहरू देखायो । उसको परिवारमा खुशीयाली आयो । लालेले अब आफू ठूलो मान्छे भएको कुरा सुनायो । अब आमालाई शहरमा लिएर जाने, भाइबहिनीलाई पनि शहरमै पढाएर ठूलो मान्छे बनाउने कुरा सुनायो । पुरस्कार पाएको रुपैँया आमालाई दिएर केही दिन पछि ऊ शहर फर्क्याे ।
शहरमा आउँदा ड्राइभरले उसलाई काममा राख्न मानेन । बालश्रमिक राख्न नहुने कानुन बनेको थियाे । लालेले बालश्रम सम्बन्धी पुरस्कार पाएर चर्चित भएकोले उसलाई काममा राख्दा प्रहरीले कारवाही गर्छ भनेर लालेलाई काममा नराखेको भन्ने लालेले थाहा पायो । उसले धेरै ठाउँमा काम खोज्यो तर उसलाई जागिरमा राख्ने साहस कसैले गरेन । बालश्रम सम्बन्धमा शहरमा ठूला बहस चलिरहेका थिए । अखबार, टिभि र रेडियोमा लालेको बारेमा चर्चा चल्दै थियो । सबैले लालेलाई बालश्रमिकको रूपमा व्याख्या गरिरहेका थिए । लालेलाई काममा लगाउँदा बालश्रम सम्बन्धी कानुनले समात्ने र सजायमा परिने डर सबैलाई थियो ।
डुल्दाडुल्दा लालेको खल्ती खाली भयो । अरू ठाउँमा कुनै सिप नलागेपछि एकदिन लाले आफ्नो बारेमा फिल्म बनाउने भलादमीलाई भेट्न गयो । भलादमी महोदय र उनको परिवार त्यहाँ थिएनन् । लाले सम्बन्धी फिल्म चर्चित भएपछि विदेश बस्ने अवसर पाएकाले उनीहरु सबैजना विदेश गैसकेका रहेछन् । महिनौँसम्म शहरमा भौँतारिइरह्यो । कहिले भोकै बस्यो अनि कहिले साथीहरूसँग मागेर खायो ।
अकस्मात एकदिन उसले आमा सिकिस्त भएको खबर पायो । ऊ हतारहतार गाउँ गयो । आमा निकै सिकिस्त थिइन्, उपचारको आवश्यकता थियो । ऊसँग रुपैँया थिएन र रुपैँया आउने श्रोत पनि थिएन । उसलाई कसैले ऋण पत्याएन र एक दिन लालेको आमाले पनि उनीहरुलाई छोडेर गइन् । अब लाले अभिभावकविहीन भयो । ऊसँग धन सम्पत्ति केही थिएन । खान पनि नपाउने अवस्था आएपछि लालेका भाइबहिनी स्कुल जान छोडे । भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बालुवाको घर भत्कियो । बाँच्नको निम्ति नै सङ्घर्ष गर्नु पर्ने भएपनि एकदिन लालेको भाइ पनि गाउँले दाइसँग शहरमा जागिर खोज्न गयो । लालेले भर्खर फर्कंदै गरेकी फूलजस्ती आफ्नी बहिनीलाई पनि गाउँले दिदीसँग काम गर्न शहर पठायो र आफू लाहुरे हुन इन्डिया गयो ।
वर्षौं बित्यो लाहुरे भएको लाले गाउँ फर्किएन । लालेको बारेमा कसैलाई केही थाहा छैन । तर गाउँमा कहिलेकाही सुनिन्छ ड्रग्स ओसार्ने काममा लागेकोले लालेको भाइ जेलमा थुनिएको छ रे ! लालेकी बहिनीलाई दलालले बम्बैको कोठीमा पुयाएको छ रे !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।