मैले निरीह भई याचनाका आँखाले अन्तिमपटक उसलाई हेरेँ ।
तर उसका आँखामा उही कठोरभाव साबिककै थियो । त्यो देखेपछि मेरो ऊप्रतिको कुनै आशा पनि बाँकी रहेन अब । दार्ने, चिथोर्ने, कोपर्ने, मार्ने औजारहरू सफा गरिँदै थिए । सानो स्टिलको भाँडोमा राखिएका ती साना–साना औजारहरूलाई म भीमकाय खुकुरी, बन्चरो, फरुवा, झिर, भालाजस्तै डरलाग्दा हतियार देख्न थालेँ । अब ती हतियारहरू मेरो शरीरभित्र घुसारेर मेरा अङ्गहरू खोतलेको कल्पनाले आङ जिरिङ–जिरिङ गर्दै जर्किरह्यो ।
ऊ मेरो त्यो विवश हालत हेर्न वा त्यो काम सफल भएको हेरेर सन्तुष्टि लिन त्यहीँ उभिरहेको थियो । मैले नै आदेशात्मक शैलीमा भनेँ, “बाहिर जाऊ ।”
आदेशयुक्त यिनै दुई शब्द भए पनि मैले निसङ्कोच भएर बोलेँ अहिले । सायद ऊप्रतिको बढ्दो वितृष्णाले मलाई उसको विरुद्धमा उभिन साहस दिन थालेको थियो ।
अब ती औजारहरूले आफ्ना काम सुरु गरे मेरो सग्लो शरीरमा । असह्य पीडा जति सहँदै जान्छु त्यति नै ऊप्रतिका रहे–बचेका माया, प्रेम, सद्भाव मनबाट रित्तिँदै जान थाले । कोपरेको, लुछेको, खुर्केको थाहा पाउँदापाउँदै बेहोस भएछु ।
बेहोसीको पनि कति मिठो आनन्द ! पीडाको मुक्तिपछिको त्यो आनन्द म भोगिरहेकी थिएँ । एकैछिनपछि त म मरि पो सकेछु ।
आँगनमा लडाइएको लास हेर्न गाउँका नरनारी हस्याङफस्याङ गर्दै आउन थाले । साडीको सप्काले मुख छोपेर रुन थाले स्त्रीहरू । पुरुषहरूको मन पनि थामिएको छैन । खिन्नताले सबैको छाती गाँठो परेको छ । धेरैजसोका आँखाका चेप रसाएका छन् । मेरो असामयिक मृत्युले छरछिमेकीहरू दार्शनिकजस्ता भएका छन् । उनीहरू भनिरहेका छन्, “शास्त्रले भनेझैँ यो शाश्वत सत्यका अगाडि कसको के नै पो लाग्छ र ? जस्तोसुकै विजय–शिरोमणिले पनि बेहोर्नैपर्ने पराजय । साँच्चै जीवनको अन्तिम सत्य यही हो ।”
मृत्युपछिको संस्कारका लागि मलामीहरू मेरो लास उठाएर घाटतिर हिँड्छन् । ठिक त्यही बेला मेरी प्राणप्यारी छोरी रोशनीको तिखो रुवाइ अझ चर्किन थाल्छ ।
छोरीको चर्को रोदन अनि शङ्खको एकोहोरो ध्वनिको कर्कश आवाजले आतङ्कित भएर झल्यास्स बिउँझिन्छु । शरीर पसिनाले निथ्रुक्क भिजेको रहेछ । छेउमा सुतिरहेकी रोशनीलाई गालामा च्वाप्प म्वाइँ खाएर एकछिन छातीमै टाँसिराख्छु । अनि मलाई आफ्नै मृत्युको सपना देखाउने मेरो गर्भको सन्तानलाई पेटमा सुमसुम्याउँछु । सोच्छु, श्रीमान्ले बेलुका सुतिसकेपछि राखेको गर्भपतनको प्रस्तावले सपनामा मृत्युशय्यासम्म पुर्यायो मलाई ।
गएको रात विवाद भएपछि मलाई पटक्कै निद्रा लागेको थिएन । निराकार रातमा झ्यालबाट देखिने आकाशका ताराहरूको रमितलाग्दो तिरिमिरी र चन्द्रमाको शीतल उज्यालोले पनि मन शान्त भएन । श्रीमान्लाई मैले भनेकी थिएँ, “यसमा मेरो हैन तिम्रो गल्ती छ । तिमीले जबरजस्ती नगरेका भए न म त्यो कालकोठरीमा पुग्थेँ, न आज यो स्थिति हुन्थ्यो ! मलाई यस्तो अवस्थामा पुर्याउने तिमी हौ ।”
ऊ एकदमै कम बोल्ने स्वभावको व्यक्ति हो । मेरो विद्रोहलाई सामान्य ठान्दै उसले स्वाभाविक उत्तर दियो, “अब यो वादविवाद गर्ने बेला होइन । जति ढिला गर्यो त्यति बिग्रन्छ । त्यसैले समस्याको समाधान गरौँ, विवाद नगरौँ ।”
मैले पनि आफ्नो अडान छाडिनँ । कत्ति पनि धक नमानी मैले उसलाई भनेँ, “मैले समाधानको उपाय बताइसकेँ । त्यो तिमीलाई मन्जुर छैन क्यारे । अब तिमी नै भन न त, उपाय के छ ?”
“जतिसक्दो चाँडो एबोर्सन गरौँ ।” उसले त्यही सहज उत्तर फेरि दोहोर्यायो ।
दोहोरिएर आएको त्यही सहज उत्तरले मेरो संवेदनामा बेस्सरी हिर्कायो ।
उसका कुराले मलाई यति ग्लानि भयो कि अब ऊसँग फेरि एक शब्द पनि बोल्न सकिनँ र अर्कोपट्टि फर्किएर सुतेँ ।
अर्कोपट्टि फर्किँदैमा सोचाइको सिलसिला किन रोकिन्थ्यो र ? सबै कुरा बुझेर पनि अबुझ बन्ने त्यो धृष्ट मान्छेसँग के बोलूँ, के भनूँ ? यस्तै सोचेर निकै बेरसम्म मन खिन्न भइरह्यो ।
मातृत्वलाई त्यति हल्का रूपमा लिने मान्छेको जीवनसङ्गिनी बन्नुपरेकोमा म विक्षिप्तजस्तै बनेँ । यस्तो सोच भएको मान्छेसँग बाँकी जीवन कसरी काट्ने भनेर अत्तालिन पुगेँ ।
म यस घरमा नयाँ–नयाँ दुलही भएका बेला लाग्थ्यो स्वर्ग यही हो । समयमा र शान्तसँग खाइन्थ्यो, निदाइन्थ्यो । घरका कामहरू गरिन्थ्यो । सधैँ झगडा र अशान्ति मात्र भइरहने मेरो माइतीघरबाट म यो सुख र शान्तिको स्वर्गमा अवतरण गरेकी थिएँ । लाग्थ्यो, बाँकी जीवन यसरी नै सुखमय भएर बित्ने रहेछ ।
तर होइन रहेछ ! भावीले मान्छेको परीक्षा बेला–बेलामा लिइराख्दो रहेछ । त्यसका लागि भइरहेको सुख खोसेर कसैलाई अभावको, कसैलाई छटपटीको भुङ्ग्रामा हालिदिँदो रहेछ ।
बिहे भएको डेढ वर्षपछि छोरी जन्मिई, रोशनी । खुसीमाथि अर्को खुसी थपियो तर वास्तवमा खुसीका पलहरू छिटै सकिँदा रहेछन् । त्यसैले त यसको महङ्खव धेरै भएको होला । हाम्रा खुसीका दिनहरू पनि घट्तै जाँदै थिए ।
घरका कमाउनेहरू एक–एक गर्दै छुट्टिई भिन्न हुँदै गए । परिवार सानो हुँदै गए पनि आर्थिक समस्या ठुलो हुँदै गयो । जेजस्तो भए पनि सुखदु:ख लाए–खाएकै थियौँ । एक जनाले मात्र कमाउँदा घर चल्न साह्रो पथ्र्यो । त्यसैले म पनि काममा जान थालेँ । मान्छेलाई कामले नै बनाउँदो, चिनाउँदो र परख गर्दो रहेछ । काममा जान थालेपछि मेरा पनि साथीभाइ र छरछिमेकमा बिस्तारै सम्बन्ध राम्रो बन्दै गयो ।
छरछिमेकी पनि केही व्यवहार गर्नुपरे मैसँग सल्लाह गर्न थाले । बिस्तारै घरव्यवहार र सामाजिक सम्बन्धमा म ऊभन्दा अगाडि भएँ । आफू अघि सरेर केही नगर्ने अनि मैले गरिसकेपछि चित्त नबुझाउने र कचकच गरिरहने बानी थियो उसको । अरूका नजरमा ऊ सोझो मान्छे थियो तर घरभित्र उसको स्वरूप अर्कै थियो । कहिलेकाहीँ त उसको कपटी व्यवहारको सिकार हुनुपर्दा दिक्क लागेर आउँथ्यो ।
लाग्थ्यो, विवाह सम्झौता हो । सोचेजस्तो जोडी त दुनियाँमा कति प्रतिशत मानिसले पाएका होलान् र ! त्यही कारण पनि मैले उसका कतिपय अपठ्यारा बानीहरूलाई सामान्य रूपमा लिनुपर्छ ।
मैले उसका कपटपूर्ण व्यवहारलाई पनि सामान्य ठान्न थालेकी थिएँ । जेनतेन परिवार चलाएकै थियौँ ।
यसै समयमा एक दिन अचानक मेरा पतिले मलाई एउटा नयाँ योजना सुनाए । मलाई कमाउन विदेश पठाउने योजना । त्यो उसकी टाढाको नाता पर्ने दिदी शान्ताले उसलाई सम्झाएकी रहिछ । दिदीका कुरामा ऊ पूरै कन्भिन्स भएको रहेछ ।
तर म त्यो कुरा कल्पना गर्नै सक्दिन थिएँ । मेरी सानी चार बर्से छोरी रोशनीलाई छोडेर एक रात पनि कहीँ जान नसक्ने म कसरी विदेश जान सक्थेँ ? फेरि भाषाको समस्या । अनि कहाँ हो कहाँको विदेश ! म सम्झेरै काबु थिएँ ।
तर मेरो लोग्नेको एकतमासको रटाइको अन्त्य थिएन । अभावका, समस्याका जुनसुकै सिलसिलामा पनि ऊ त्यही कुरा दोहोर्याउँथ्यो, “यसरी दु:ख गरेर कति दिन चलाउने ? दुई–चार पैसा कहिले जम्मा गर्ने ? मलाई विदेश जान धेरै पैसा लाग्छ, त्यो जुटाउन गाह्रो छ । त्यसैले तिमी विदेश जाऊ । जान पैसा नै नलाग्ने । पछि कमाएर तिर्दा हुने । यो त मौका हो हाम्रा लागि ।” मौका पर्यो कि ऊ त्यही एउटै आशयका कुरा दोहोर्याइरहन्थ्यो ।
उसले जति कर गरे पनि मलाई विदेशिने मनै भएन । “दु:खसुख चलेकै छ । हाम्रा पनि त दिन आउलान् नि । म यसलाई छोडेर कसरी जानु ?” म काखकी छोरी रोशनीको कपाल सुमसुमाउँदै भन्थेँ ।
यसरी म नजान कोसिस गर्थेँ । ऊ पठाउने जिद्दी गथ्र्यो ।
एक दिन एकाबिहानै तिनै शान्ता दिदी भनाउँदी घरमै पो आइपुगी । त्यो दिनभरिको भलाकुसारीबाट म विदेश जान राजी भएँ । भनूँ, राजी पारिएँ ।
तर शान्ता दिदीले कति आँट दिँदा पनि मेरो हृदय भने काँपिरहेको थियो । विदेश… कहाँ हो कहाँ… कस्ता मान्छे…. कस्तो व्यवहार…? यस्तै कल्पनाले हिम्मत हार्थेँ ।
जसरी भए पनि विदेश जानु नै पर्ने स्थिति बन्यो, गएँ । विदेश शान्ता दिदीले सम्झाएको दिवास्वप्नभन्दा विपरीत भएर आयो । त्यहाँ भोगेका यातना र दु:खका कथा त धेरै छन् । कतिपय घटना सुनाउनै सक्तिनँ । कतिपय घटना सुनाउनै मिल्दैन ।
सुरु–सुरुमा त ती रङ, भाषा, परम्परा केही नमिल्ने पराईहरूले दिएको सास्ती भोग्दै गएँ तर जब उनीहरूबाटै शान्ता दिदीले मलाई बेचेकी रहिछ भन्ने थाहा भयो त्यसपछि भने सहन गाह्रो भयो । धेरै मुस्किलले घर–परिवार र आफन्तसँग मैले सबै कुरा भन्न सकेँ ।
मेरा आफन्तहरूको लाखौँ प्रयत्नपछि भाग्यले आठ महिनामा आफ्नै देशमा आइपुगेँ तर दुर्भाग्यले सात महिनाको गर्भ पनि लिएरै आएँ । मैले मेरो त्यो अवस्थाको बारेमा मेरा श्रीमान्लाई त्यसै रात जाहेर गरेँ । ऊ त त्यो कुराले यति आक्रोशित भयो कि उसको अनुहारको रङ देखेर मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो । आफूले केही गल्ती नगर्दा पनि लाग्ने त्यो कस्तो भयङ्कर डर हो ? बुझिनसक्नु लाग्यो ।
त्यसपछि मैले नै युद्धमा हारेको सिपाहीजस्तो काँतर भएर भनेँ, “एबोर्सन गरौँ ।” त्यो कुरा उसलाई पनि मन पर्यो । हामी दुवै डाक्टरकोमा गयौँ । सामान्य चेकजाँचपछि डाक्टरले एबोर्सन सम्भव नभएको बताए ।
त्यसपछि मेरो लोग्ने भनाउँदोको स्वभाव झनै बदलियो । समयमा नखाने, नसुत्ने, नबोल्ने गर्न थाल्यो । उसको दिग्दारी यति थियो कि मानौँ उसले नै त्यो गर्भ बोकेको छ !
मेरो पेट दिनप्रतिदिन डोलिन थालेको थियो । पेटभित्र बच्चा जति चलमलाउँथ्यो उति मलाई उकुसमुकुस भएर आउँथ्यो । विदेशमा भोगेका ती क्षणहरू दिमागमा सलबलाउन थाल्थे । त्यसपछि भविष्य सम्झेर अत्तालिन पुग्थेँ । अज्ञात भयले घाँटी अठ्याउन आइपुग्थ्यो ।
यता ऊ भने दिनप्रतिदिन निर्दयी बनिरहेको थियो । विनाकारण मसँग रिसाउने, कुट्नै छोप्ने गर्न थाल्यो । यसरी त्यो लाछी लोग्नेमान्छे विना कुनै पराक्रम वीर भइरहेको थियो । छरछिमेक, साथीभाइ र समाजमा सधैँ ऊभन्दा अगाडि हुने गरेकी म अपराधबोधले झन्–झन् निम्छरो भइरहेकी थिएँ ।
पेटभित्रको बच्चाको स्वास्थ्यका लागि पनि मैले बिहान बेलुकी हिँडडुल गर्न जरुरी थियो तर म घरको आँगन नाघेर बाहिर पाइला राख्नै नसक्ने अवस्थामा पुगेकी थिएँ ।
पेटभित्र मात्रै असजिलो थिएन, दिमागमा पनि असजिलोपन र छटपटी गुजमुजिएको थियो । देख्ने चिनारुहरूले केही भन्लान् भन्ने भयले आफैँसँग अत्तालिन्थेँ ।
यसै विषयमा सल्लाह लिन ऊ धेरै डाक्टरकोमा धायो । छ महिना नाघेको भनेपछि कुनै डाक्टर पनि गर्भपतनको जोखिम मोल्न राजी भएनछन् ।
कानुन विपरीतको काम गर्न को पो राजी हुन्थे र !
तर खै कुन एउटा वैद्यले मेरै लाग्नेको रिक्समा एबोर्सन गरिदिने भएछ । हिजो दिउँसो खुसी हुँदै उसले यो खबर सुनायो । यो खबर सुनाउन पाउँदा मात्रै ऊ निकै प्रसन्न देखिन्थ्यो ।
तर म त्यो खबरले कसरी खुसी हुनु ? जब कि डाक्टरले एकान्तमा बोलाएर, “कुनै हालतमा त्यस्तो काम नगर्नू, तपाईँको ज्यानलाई खतरा छ” भनेका थिए ।
मैले फेरि उसलाई काँतर भएर भनेँ, “तपाईँले यो बच्चा मेरै हो भनिदिए त सबैको मुख बन्द भइहाल्थ्यो नि ! डाक्टरले कुनै हालतमा त्यसो नगर्नू, ज्यानको जोखिम छ भनेका छन् ।”
त्यति भन्नका लागि मैले ठुलै सहास जुटाउनुपरेको थियो । उसका आँखामा आँखा जुधाउन पनि सकिरहेकी थिइनँ ।
मेरो अडान उसलाई मन पर्ने कुरै भएन । रिसाएर आफ्नो हत्केलाले जोरसँग आफ्नै निधारमा ठोक्दै भुतभुतायो । लगत्तै ऊ मेरो सेखी झार्न घरबाट हिँडेको थियो ।
उसका यसखाले क्रियाकलापले म पनि आजित भएकी थिएँ । दिउँसोभरि केही काममा पनि हातै लाग्दैनथ्यो । सोच्थेँ, यो लोग्नेस्वास्नीको सम्बन्ध के यही हो ? ऊ मेरो स्थितिमा भएको भए के म पनि यस्तै व्यवहार गर्थेँ होला त ? मेरो गल्ती के त ? प्रश्नैप्रश्नका ताँती लाग्थे मनमा ।
एकछिनपछि ती प्रश्नहरूका जबाफ पनि आफैँ दिन थाल्थेँ । आफ्नो कथित सान र कथित सामाजिक इज्जतका लागि मलाई मृत्युको सुलीमा चढाउन आतुर भएको हो यो मेरो पति भनाउँदो । विनाकसुर मलाई मृत्युदण्ड दिन कस्सिएको हो ।
शारीरिक र मानसिक रूपमा नाजुक अवस्थामा पुगेपछि एकाएक मभित्र जसरी पनि बाँच्ने अभिलाषा पलाएको थियो । म आफूभित्र एक अद्भुत आत्मप्रेरणा जाग्रत् भइरहेको महसुस गरिरहेकी थिएँ ।
गल्ती उसले गर्ने, मृत्युदण्डको सजाय मैले पाउने कुरा सायद विधातालाई पनि मन्जुर थिएन ।
गएको रात निकै अँध्यारो छिप्पिसकेपछि ऊ घर आइपुग्यो । विवादको शृङ्खला निकै चर्किँदै गयो । जब ऊ मलाई वैद्यकहाँ लैजानमै दृढ देखियो तब म निरुत्तर भएर ओछ्यानमा ढल्किएकी थिएँ । खै कति बेला निदाएछु थाहै भएन ।
बिहानपखतिर त्यही डरलाग्दो सपनाले मलाई अत्याएर उठायो । त्यो सपनाले मेरा नश्वर आँखालाई मात्रै बिउँझाएनन्, मेरो जीवनको मार्ग देख्ने चेत र जीवन बाँच्ने प्रेरणालाई पनि बिउँझाइदियो ।
सोचेँ, आफ्नो अहम्का अगाडि मेरो प्राणसम्म उसलाई तुच्छ हुन्छ भने मेरो जीवन नै मेरो सर्वस्व हो । मेरो जीवन बाँच्ने इच्छा र अधिकारका अगाडि उसको पुरुष–अहम् मलाई पनि घृणास्पद छ । प्रेमका लागि पो समर्पण हुन्छ, घृणाका लागि त तिरस्कार नै काफी हुन्छ ।
त्यसपछि मैले निर्णय गरेँ – अब म जसरी पनि बाँच्छु । उसका विरुद्ध सङ्घर्ष गरेर भए पनि बाँच्छु । त्यसको तुच्छ मनोवाञ्छालाई लत्याएर भोलिका सम्भावित यस्तै घटनाका विरुद्धको जिउँदो उदाहरण बन्नका लागि भए पनि बाँच्छु । बिहानको सूर्योदयले मलाई नयाँ जीवनका लागि शुभकामनास्वरूप सुनौला किरणले आलोकित गर्नेछ । अनि म उसलाई मेरो अपरिवर्तित निर्णय आत्मविश्वासका साथ सुनाउनेछु । उसका आँखामा आँखामा जुधाएर म भन्नेछु, “तिम्रो ढिपीका कारण बोक्नुपरेको भए पनि म मेरो गर्भको सन्तानलाई जसरी पनि जन्म दिन्छु ।”
(अमृता पाठक चौलागाईंको नवीनतम् कथासङ्ग्रह ‘चैतु काका’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।