लण्डन हिथ्रो एर्पोटबाट उडेको त्यस्तै सात घण्टा जतिको समयपश्चात् म चढेको जहाज अवुधावी एर्पोटमा ओर्लियो । जहाजका सबै यात्रुहरू प्रतीक्षालय कक्षतिर प्रस्थान गरे । म पनि पछिपछि लागेँ ।चार घण्टाको वइटिङ् टाइम एक्लै कसरी काट्ने होला ! मनमा सारै अत्यास लागिरहेको थियो ।

लण्डन आएको लामो समयपछि नेपाल फर्कँदाको छटपटी र कौतुहल्ता अझ थप त्यहीमाथि छँदै थियो । यात्रुहरूको लस्करमा नै मेरा पाइलाहरू अगाडि बढ्दै गइरहेका थिए । ट्रान्जिट प्यासेन्जरहरूको सङ्केतहरू पछ्याउँदै म पनि अरू प्यासेन्जरहरूको साथमा नै आफ्नो पालोमा सेक्युरिटी चेकिङ्ग काउन्टरमा पुगेँ ।

सेक्युरिटी चेक जाँच प्रक्रिया पूरा गर्ने क्रममा काउन्टरमा रहेको सेक्युरिटीले बढो खस्रो बोलीले ओपन दिस ब्याग ! ओपन दयाट् ब्याग ! भनिरहेको थियो । यसो हेर्छु त मान्छे अरबी होला भनेको त इन्डिएन जस्तो पनि लाग्छ ! घरि नेपाली जस्तो पनि लाग्छ ! सेक्युरिटी पहिरनमा वर्ण पनि कालो कसरी चिन्नु ? यसो नाम ब्याज हेरेको त नेपाली जस्तो पो नाम ।

भनी हालेँ,  “भाइ तपाईं नेपाली हो ?”

बल्ल पो अँ हो भन्छ यार ! नेपालीसँग  पहिल्यै नेपाली बोले पनि हुन्थ्याे नि ? कति रमाइलो हुन्थ्यो होला ! तर पनि नेभर माइण्ड ! मैले सहजरूपमा लिएँ । “खुसी लाग्यो भाइ तपाईंसँग यहाँ भेट्न पाएकोमा !” मेरो खुसी अभिव्यक्तिप्रति उसले मुन्टो मात्र हल्लायो । म अगाडि बढेँ । ट्रान्जिट प्यासेन्जर वइटिङ् कक्षमा आएर त्यहाँ भएका कुर्चिमा कत्ति न थाके झैँ गरेर थ्याच्च बसेँ । आफ्नो हातको ह्याण्ड लगेज पनि छेवैमा राखेँ । साँच्चि नै भनौँ भने जिउ पनि थाकेकै थियो । एकचोटी आङ तन्काईं खुट्टा लम्पसार पारेर बसेँ ।

रातको समय भए पनि टर्मिनलभित्रको उज्यालो जगमगावट र मान्छेहरूको चहलपहलले दिनकै अनुभूति दिइरहेको थियो । त्यसैले एक्लै कुर्दा पनि कुनै त्यस्तो अत्यासी हाल्नु पर्ने अवस्था थिएन तर पनि नेपालको एर्पोटमा कतिखेर पाइला टेकौँला भन्ने मनभित्रको हुटहुटीले भने मलाई यो सात घण्टाको प्रतीक्षा पहाडै बनिरहेको थियो ।

गालामा हात लगाएर आँखा चहारिरहेको थिएँ । पर शौचालयतिरबाट सानो स्वीपिङ् मोटर चलाउँदै मेरो छेउतिरै आइपुग्यो । मेरो नजर फेरि त्यही ड्राईभरतिर पर्यो । ठ्याक्कै चिनिहालेँ पक्कै नेपाली नै हो । हाम्रो ड्राइभर भाइ त नेपाली पो हुनुहुँदो रहेछ के भन्न मात्र भ्याएको थिएँ ।

एउटा अलि परतिर म आउनु अघिदेखि बसिरहेको हट्टाकट्टा जवान युवाले देख्दै सेतो हिउँ पनि पगाल्लाजस्तो गरी रुखो वचनप्रति उत्तरमा प्याच्च भनिहाले, ‘के गर्नु त ? नेपालमा केही काम पाइन्न ? कमसेकम यहाँ त उसले काम पाएको छ ? नेताहरूको मात्र रजाइँ छ। जुन जोगी आए पनि कानै चिरेको ! कुर्ची पायो कि त आफू मात्र बुर्कुसी मार्छन् नाथेहरू” ।

मैले सुनिरहेको थिएँ ।

छेउमा बसेको अर्को नेपालीले फेरि प्याच्च भनिहाल्यो, “तपाईंलाई त्यो नेताले विदेश जा र यस्तो मरूभूमिमा सेकिनु भनेको त थिएन होला, हैन त ?”

ओहो, ऊ त भालुको रिस खन्यामाथि भने झैँ उफ्र्याे, “तपाईंलाई के थाहा छ मलाई कति चोट परेको छ भनेर, जन युद्धमा नेताको पछि लागेर बन्धुक समातेर हिँड्दा धन्नै मरिएन ! पछि शान्ति काल भएपछि यसो काम खोजेको कतै पाइएन र बाबु बाजेको जमिन धितो राखेर चार लाख ऋण काढेर कतारतिर हानिएको हुँ । दुई वर्ष भयो तर पैसा कमाउनै सकिएन । कहाँको दलालले उतिबेला कमाइ राम्रो छ भनेर फस्ल्याफुस्लुक पारिहाले । लौ त राम्रै कमाइ होला भनेर आएको त के राम्रो हुनु ? जम्मा नेपाली २०-२५ हजार जति हुन्छ । कति खाने ! कति पैसाले कपडा लाउने ! कतिले नेपाल श्रीमतीलाई फोन गर्ने ! म त पागलै हुन लागेको छु ।”

बल्ल पो मैले बुझेँ कुरोको चुरो । अघि अर्कैको प्रश्न अर्कैको उत्तरमा बिच्चैमा जान्ने भएर किन च्याँट्ठिएको रहेछ भनेर ! हुन त मर्का परेकाले नै त मर्का बिसाउने हो भन्ने सोच मेरो मनमा पर्यो । म स्रोता मैँ सीमित रहेँ !

अलि शान्त भएपछि उसले नजिकको नेपालीलाई सोध्यो, “तपाईं कहाँबाट आउनु भएको हो नि ?”

उसले भन्यो, “म साउदीबाट” ।

“ए त्यहाँको त पैसा ठूलो छ रे नि ! होइन ?” बढो उत्साहले उसले फेरि थप्यो, “अनि तपाईं के काम गर्नु हुन्छ ?”

“म सानोतिनो व्यापार गर्थें तर आजभोलि साउदीकै एक जना र मेरो दाइसँग मिलेर गाई पालन गरेको छु ।”

“गाई पालन ?” उसले आश्चर्य प्रकट गर्यो !

“हो त साउदीमा गाई पालन राम्रो छ हाम्रो फार्ममा पाँचहजार भन्दा बढी गाई छन् । अनि धेरै जसो कामदार नेपाली नै छन् ।”

सहज उत्तरमा उसले पुन: प्रश्न गर्यो, “त्यत्रो धेरै गाई किन पाल्न पर्यो नि ?”

“गाई भनेर नेपालको जस्तो सानो दुध नदिने गाई कहाँ हो र ? तीँ त ठूला ठूला जर्सी गाई यति ठूलो दुधको फाँचा भएको नि ।” हातको इसारामा समेत परि लगायो निकै गर्वका साथ ।

“आखिर गाई नै पाल्नु छ ? गोबरै सोहर्नु छ ? गोठालै लाग्नु छ ? भने के खान यस्तो पचास पचास डिग्रिको तातोमा बाफिन आउनु पर्यो ! त्यहीँ आफ्नै देश नेपालमा आफ्नै गाउँमा गरे भैहाल्यो नि ! जत्ति भने नि वनजङ्गल घाँस पात छँदै थियो …”

मेरो मनमा यस्तै कुरा खेल्दै थिए । अचानक मेरा आँखा पल्लो लाइनको कुर्चीमा बसेकी एकजना युवतीसँग जुज्न पुगे । सुरूमा त मैले त्यति हेक्का गरिनँ । मैले नजर हटाएँ तर फेरि फेरि पनि जुधेपछि भने म पनि सोचमा परेँ ! ए गाँठे ! म सारै हिरो भएकोले यी युवतीले मलाई हेरेकी पक्कै पनि होइनन् । कतै चिनजान भएको थियो कि भनौँ भने पनि मेरो स्मरणमा सम्झेसम्म आज नै पहिलो चोटि देखेको हुँ । म बढो सोचमा परेँ । उठेर गएर झ्याप्पै सोधिहाल्ने आँट मैले गर्न सकिनँ । उनी झन् केटी मान्छे ? मेरो मन दुविधामै छटपटिँदै थियो ।

‘काठमाडौँ जाने यात्रुहरू प्रस्थान गेटतिर जानु‘ भन्ने उद्घोषण भए लगतै एक हुल मान्छेहरू जर्याकजुरूक उठेर प्रस्थान गेटतिर लागे । त्यही हुलमा ती युवती पनि लागिन् । मैले प्रवेसद्वार कटिन्जेल हेरिरहेँ । उनी अदृश्य भइन् । मेरो त अझै चार घण्टा बाँकी थियो ।