पोइल गएकी मेरी आफ्नी स्वास्नीको पछि-पछि लागेर म जाँदै थिए । मेरी स्वास्नी-आफ्नी जसलाई रीतपूर्वक सिन्दूर हालेर मैले विवाह गरेर ल्याएको । त्यही स्वास्नी पोइला गएकी । उही स्वास्नीलाई भाग्यवश अचानक भेटेपछि म उसको पछि-पछि लागेको थिएँ । नदेख्ने गरी इन्द्रचोकदेखि छेकिई, लुकेर जाँदा उसले मलाई देख्न सकेकी थिइन । उसकी साथी सानो पोको बोकेको एउटा बालक कहिले पछि हुन्थ्यो, कहिले अघि, अनि कहिले साथमा ! छाउनीपछाडिको बस्तीतिरबाट स्वयम्भूमुन्तिरको सडक भएर मेरी स्वास्नी सीतापाइलामा पर्ने आफ्नो घरतिर जाँदै थिई ।

मेरो स्वास्नी नराम्री होइन । पछाडिबाट उसको अङ्गप्रत्यङ्ग हेर्दै म अगाडि बढिरहेको थिएँ । शरीरको बनावट राम्रो थियो उसको । न अग्ली न पुड्की, स्वास्नीमान्छेको ठीक उचाइकी थिई । हातगोडा उसको उत्तिकै राम्रा र सफा थिए । मैले उसको कुर्कुचा र धोतीले नछेकिई देखिने खुट्टाको केही भागलाई नियालेर हेरे एकदम कलिला, गोरा र राम्रा थिए । शहरबाहिरको बस्तीमा बस्ने कोही स्वास्नीमान्छेका पनि त्यस्ता हातखुट्टा बिरलै पाइएलान् । तर मेरी स्वास्नीका हातगोडा सेता, सुकुमार देखे । ओड्ने टाउकोबाट झरेर काँधमा अडेकोले अलिकति देखिने उसका कपालका चुल्ठाहरू कति मोटा र काला थिए ।

हामी वेजश्वरी पुगिसकेपछि उसले फर्केर एकपल्ट हेरी अनि मलाई देखि पनि हाली । मैले पनि त्यस बेला छेकिने कुनै ठाउँ पाउनै सकिन किनभने लामो मूलसडकमा त्यस्तो ठाउँ नै थिएन । त्यसैले सहजै उसले मलाई देखेपछि उसको हिँडाइको गति केही कम भयो । शायद मलाई देखेर एकपल्ट ऊ डराई एकछिनको निम्ति ! तर नरुकी बिस्तारै गई । म पनि बिस्तारै पछि लागेँ ।

मलाई त्यसले छाडेर गई । मैले दोस्रो स्वास्नी ल्याएपछि त्यस दिनसम्ममा जम्मा तीनपल्ट मैले भेटेको थिएँ ।

पहिलोपल्ट शोभाभगवतीअगाडि विष्णुमतीको पानीमा आफ्नो हातमा लागेको अबीर-सिन्दूर पखाल्न लागेकी उसलाई पाए । मलाई देख्नेबित्तिकै उसको अनुहार कालोनीलो भइहाल्यो । मलाई हेर्नै सकिन । म पनि धैर्य गरेर पाँच सेकेन्ड पनि त्यहाँ उभिन नसकी सरासर आफ्नो बाटो लागे । उसलाई हेर्दै नहेरी केही पर आइसकेपछि मैले एकपल्ट फर्केर हेरेँ। तर मेरा आँखाहरूले उसलाई कतै पनि पाएनन् । त्यहीँ रोकिएर एउटा चुरोट सल्काई एकछिन उभिरहेँ । उसले घर छोडेर माइतीमा गएपछि एक दिन अचानक मेरो नोकर्नीलाई भेटेर कुरा हुँदा उसले भनेको कुरा मैले सम्झेँ ।

‘मलाई घरबाट निकालेर उहाँलाई आनन्द हुन्छ भने म पनि आनन्दी छु ।’

उसको भनाइ र मेरो विचारको सङ्गम एउटै थियो । मलाई खुद थाहा छ- मेरी स्वास्नी मसित सन्तुष्ट र सुखी हुन चाहन्थी । म पनि स्वास्नीबाट त्यस्तै चाहन्थे । आश्चर्य मलाई यही कुरामा छ- हामी दुवैको संयोग नै वियोग हुन गयो । त्यो स्वास्नीलाई मैले आफ्नो बनाउन र उसले मलाई आफ्नो तुल्याउन दुवैले सकेनौँ ।

यसको वास्तविक कुरा खोलिदिऊँ भने कुरा सुन्दा सबैलाई झर्को लाग्छ । कुरा मामूली छन् । मैले उसलाई आफ्नो घरमा भित्र्याएदेखि पूरा दुई वर्ष ऊ मेरो साथमा रही तर विवाह भएको करीब दुई हप्तादेखि नै उसको र मेरो बिचमा मनोमालिन्य शुरू हुन थाल्यो । हामीहरू दुवै आपसको व्यवहारले असन्तुष्ट हुन थाल्यौँ । मेरी स्वास्नी मलाई आफ्नो वशमा राख्न चाहन्थी तर म स्वतन्त्र भएर रहन खोज्थे । मेरी स्वास्नी मलाई शारीरिक मायाद्वारा आफूमा भुलाउन चाहन्थी तर म त्यो स्वास्नीसित भुलिन चाहँदैनथेँ । त्यो स्वास्नीदेखि म अघाइसकेको थिएँ ।

म कसैको आन्तरिक माया, हृदयदेखि उब्जेको तातो माया चाहन्थेँ चाहे उसैको किन नहोस् तर पनि मैले पाउन सकिनँ । उसको मप्रतिको व्यवहार मेरो निम्ति कहिले पनि परिपक्क भएन, सधै अधुरो, अपूरो मैले अनुभव गर्न थाले । मलाई मात्र त्यस्तो लागेको हैन, उसलाई पनि मेरो व्यवहार त्यस्तै लाग्दो रहेछ । मेरो मायाले पनि उसलाई तृप्त गर्न सकेन । अनि मेरी स्वास्नी बारम्बार माइत जान चाहन्थी । म उसलाई खुशीसाथ बिदा दिन्थे । तीन दिनपछि आउने उसको विचार छ भने उसले बिदा माग्नु पहिले म सात दिनको बिदा दिन्थे । ऊ खुशी भएर जान्थी । खूब सिँगारिएर जान्थी । माइतीबाट फर्कंदा मेरी स्वास्नीमा जुन उल्लास र हर्ष म खोजी गर्थें त्यस्तो केही पनि पाउँदिनथेँ । त्यसैले मलाई झोक चल्थ्यो, ऊ आएको दिन मेरो जीउ नै भारी हुन्थ्यो । त्यसैले म भन्न सक्छु-हामी दुवैलाई आपसमा शान्ति थिएन । दुवै वैरागी थियौँ, दुवैमा अव्यक्त वियोग लुकेको थियो । प्रकट हुन नसके पनि चालबाट सबै व्यक्त भइरहेको थियो ।

म सधैँ आफ्नी स्वास्नीबाट फरक रहन चाहन्थे तर अपसोच ! टाढा म कहाँ जान सक्थेँ र ? ऊ सधैँको निम्ति मेरी हुन आएकी थिई । म उसको पेवाजस्तै हुनुपर्थ्यो । त्यसैले सधैँ बाहिरबाट घरभित्र पस्नेबित्तिकै उसलाई म आफ्नो कोठामा पाउँथे । अनायास मलाई रीस उठ्थ्यो । उसको मुख देख्नेबित्तिकै मलाई झोक चल्थ्यो । मेरो रिसाएको अनुहार देख्नेबित्तिकै ऊ पनि आफ्नो रीस देखाएर कोठाबाट निस्कन्थी । यदि तत्कालै ऊ निस्केर गइन भने म आफै निस्किदिन्थे ।

यस्तै मामूली कारणबाट हामीहरूको झगडा प्रतिदिन बढ्दै गयो । आखिर केही सीप नलागी मैले आफ्नो घरमै बास गर्न छोडिदिए । एक महिनासम्म बाहिर आफ्ना साथीहरूको घरमा सुते । खालि बिहान-बेलुका खाना खान मात्र आफ्नो घरमा आउँथे । आफ्नी त्यही स्वास्नीले बनाएको खानेकुरा छुन पनि छाडिदिएँ । मेरो त्यस्तो व्यवहारले उसलाई बौलाही बनाइदियो । अनि मेरो घर नै छोडेर माइतीमा गएर बस्न थाली । केही समय ऊ माइतीमा बसेपछि मैले अर्की स्वास्नी विवाह गर्नमा अबेर गरिनँ । त्योभन्दा राम्री अर्की केटीसित मेरो विवाह भयो ।

नयाँ दुलहीको साथ म आनन्दले दिन बिताउँदै थिएँ । हामीहरू दुवै सन्तुष्ट र दुवै सुखी थियौँ । मेरो विवाह सम्पन्न भएको करीब दुई महिनाभित्र माइतबाटै ऊ पोइल गएको कुरा सुनेँ । नयाँ दुलहीको साथ सुखपूर्वक दिन बितिरहेकोले मैले उसको सोधीखोजी धेरै गरिनँ । कूचोले बढार्नुको बदला हावाले उडाएर लगेको सम्झी निश्चिन्त आनन्दले रहे । ऊ पोइल गएको कुरा सुन्दा मेरी नयाँ स्वास्नी झन खुशी भएकी थिई ।

दोस्रोपल्ट मैले पुरानी आफ्नी स्वास्नीलाई शिवरात्रिको मेलामा गौरीघाटमा भेटेको थिएँ। हूलमा मैले मात्र उसलाई झलक्क देखेँ । तर उसले मलाई देख्न सकिन । मलाई एकपल्ट उसको मुख राम्रोसित हेर्न मन लाग्यो । गौरीघाटको माथि पुलबाट सामुन्ने भएर मैले उसलाई हेरेँ । ठीक कदकी हँसिली, गोरी, तेइस वर्षकी आफ्नी पोइल गएकी स्वास्नी मलाई त पन्ध्र-सोह्र वर्षकी तरुनी लाग्यो । उसका गाला पहिलेभन्दा रातापिरा थिए । त्यही गाला, त्यही ओठमा मैले कतिपल्ट टोकेको थिएँ, कतिपल्ट चुम्बन गरेको थिएँ । पहिले मसँग रहँदा उसले कानपासा लगाउँथी तर कानपासा छोडेर कानभरी सान-साना मुन्द्रा लगाएकी थिई । विभूति रङ्गको कश्मीराको मफलर ओढेकी अनि कलेजी रङ्गको स्वीटर लगाएकी उसलाई मैले फूल चढाउन हात लम्काएको बेलामा देखेँ ।

त्यही दिन देउपाटनमा मैले उसलाई दिउँसो देखेँ । यौटी मधिसिनीको पसलमा अनेक चिजबीज छानेर हेर्दै खरीद गर्न लागिरहेकी थिई । एकछिनपछि त्यहीँ उसले चुरा लगाई । म केही परबाट अलिकति छेकिएर उसलाई हेरिरहेको थिएँ । त्यो मोरी त्यस बेला मलाई यति राम्री लाग्यो, एकपल्ट गएर एकछिन कुरा गरूँ अनि एकपल्ट म्वाइँ खाएर फर्कूँ जस्तो समेत लाग्यो । मैले आफ्नी घरकी स्वास्नीलाई बिलकुल बिर्सिदिएछु । पोइल गएकी स्वास्नी तस्वीरकी अप्सराजस्ती लाग्यो । मलाई उसको नजीक जान मन लाग्यो । पोइल गएकी स्वास्नीसित कुरा गर्न जान मेरो साहसले मलाई बल दिएन । मलाई साह्रै अपसोच लाग्यो । उसको लोग्ने- जो मेरो जार हो-लाई भाग्यमानी सम्झेँ किनभने उसले त्यस्ती स्वास्नी पायो, मैले गुमाएँ । आफूलाई धिक्कार दिँदै एक्लै विरक्तिएर हृदयका सम्पूर्ण उत्तेजित भावनाहरूलाई दबाउँदै लाखौँ मानिसको हुलभित्र पसेँ ।

त्यसपछि शिवरात्रिको करीब हप्ता दिनपछि यौटी स्वास्नीमान्छेलाई मेरी स्वास्नीले भनेकी रहिछ-‘अस्ति शिवरात्रिमा मैले वहाँलाई देखेँ तर वहाँले देखिबक्सेन । यस जनममा मैले पनि वहाँलाई खुशी बनाउन सकिनँ, वहाँबाट पनि मैले केही पाउन सकिनँ । यो कुरामा हामी दुवैको अभाग हो, कसैलाई पनि दोष छैन । सधैँ झगडा गरेर बस्नुसट्टा छुट्टाछुट्टै भयौँ । आजकाल वहाँलाई पनि आनन्द छ, मलाई पनि आनन्द छ, बेसै छ ।’

बस ! त्यस बेलादेखि मैले उसलाई देख्ने मौका पाएको थिइनँ तर एकपल्ट फेरि उसलाई हेर्ने उत्तेजनाले मलाई कुतकुत्याइरहेको थियो ।

यही कारणले कतिपल्ट म स्वयम्भूतिर, छाउनीतिर घुम्न गएको थिएँ । ऊसित भेट भइहाल्छ कि भनेर कतिपल्ट उसको माइती बालाजुतिर पनि पुगिसकेको थिएँ- यसै घुम्ने बहानाले । तर मेरो खास उद्देश्य उसैलाई देख्ने थियो । उसलाई एकपल्ट हेर्ने आशामा म झुन्डिरहेको थिएँ । तर मेरो प्रयत्न त्यसै खेर गयो । यताउति घुमफिर गर्दा मलाई उसको याद आइरहन्थ्यो । कतै भेट भइहाल्छ कि भनेर जात्राहरूमा पनि ध्यान दिएर स्वास्नीमान्छेको हूलतिर मेरा आँखाले उसलाई खोज्थे । जहाँकाहीँ पनि म उसको प्रतिक्षा गर्थें ।

श्रीपञ्चमीको दिन सरस्वतीस्थानमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म पर्खेर बसेँ । ऊसित भेट होओस् भनेर सरस्वतीसित प्रार्थना गरेँ तर अपसोच ! ऊ आउँदैआइन । शायद आएकी भए पनि मैले देख्ने सौभाग्य पाइनँ । मेरा सारा प्रयास त्यसै विफल भए ।

कति समयपछि त्यस दिन भाग्यवश इन्द्रचोकमा नोट साट्न लागेकी आफ्नी स्वास्नीलाई देख्नेबित्तिकै मैले खम्बाजस्तो भएर उसलाई हेरिरहेँ । नोट साटिसकेपछि ऊ मिठाईको पसलतिर लागी । त्यसपछि अरू तीन-चार पसल घुमेर केही मालताल खरीद गरी रुमालमा पोको पारी आफ्नो साथमा ल्याएको केटोलाई लिन दिई ।

उसलाई हेर्दाहेर्दै मलाई लाग्यो त्यो मेरी स्वास्नी होइन । किनभने त्यति राम्री स्वास्नी मेरी कसरी हुन सक्थी ? अनि अलि नजिक गएर उसलाई हेरेँ । मेरो धारणा गलत थियो । त्यो खास मेरी स्वास्नी थिई । उसलाई हेर्दाहेर्दै सल्काएको चुरोट तान्नै बिर्सेछु ।

उसका राता गाला दोस्रोपल्ट रजस्वला भएर चार दिन बिताएकी कुमारीका जस्ता थिए । घामको तेजमा उसको अनुहार अलिकति बढी हावाले नभेटी झलल बलेको बत्तिजस्तो थियो । उसको सौन्दर्यले मलाई यसरी खिच्यो- उसलाई छोड्न मन नलागी म लुरुलरु पछि लाग्न थालेँ । अलिकति डर पनि लाग्यो । त्यसैले उसले देख्छे कि भनेर छेकिएर अगाडि बढिरहेको थिएँ । त्यस बेला मैले संसारलाई नै बिर्सेको थिएँ । मेरा सारा इन्द्रियहरू उसको ध्यानमा आकर्षित थिए । तन, मन र ध्यान उसको रूपमा तल्लीन भएर विभोर भइरहेका थिए ।

एकपल्ट लत्त्याएर आफैले मिल्काएको भए पनि त्यही स्वास्नीको अलिकति सङ्कोच हृदयले खपिरहेको थियो । जे भए पनि ऊ मेरी खास स्वास्नी थिई । यो कुरा सत्य हो भनेर प्रमाण दिने सारा दुनियाँहरू छन् । त्यसैले मैले सोच्न थाले-अहिले पनि ऊ मेरी स्वास्नी हो । पहिले मेरो जति हक थियो अहिले पनि उत्तिकै हक छ । उसलाई त्याग्नु मेरो पागलपना हो तर पोइल गएकी स्वास्नीको पछि लाग्नु कुनै आश्चर्यको काम मलाई लागेन । कुनै पागलपन मैले ठानिनँ । अर्काकी स्वास्नी भइसकेकीको पछि लाग्न नहुने चेतना मेरो मस्तिष्कमा जीवित थियो । त्यस्तो काम लडकपन हो । एक किसिमको गुण्डापन पनि हो । मेरै मूर्खता हो सबै कुरा मलाई थाहा थियो तैपनि म उसको पछि लाग्दै थिएँ किनभने ऊ मेरी खास स्वास्नी भनेर । हिँड्दाहिँड्दै एकपल्ट अङ्कमाल गरूँ, एकपल्ट उसलाई आफ्नो काखमा राखूँ या आफै उसको काखमा बसूँ जस्तो लाग्यो । तर धेरै मानिसहरू सडकको यत्रतत्र थिए । दिउँसो बीच बजारमा त्यसो गर्न मलाई अलि आँट आएन । एकान्त ठाउँमा पुग्नेबितिकै त्यसलाई च्याप्प पारेर जानै दिन्न भनेर म पछि लागेको थिएँ ।

बिस्तारै गए पनि म नजिकै हुँदै आएको देखेर मेरी स्वास्नीको हिँडाइको गति अघिभन्दा छिटो हुन थाल्यो । आफ्नो साथमा ल्याएको केटोलाई पनि छाडेर एक्लै लम्कन थाली । मैले पनि आफ्नो फट्का लामो-लामो गरेँ । ऊ चाँडो-चाँडो लम्केर गई, म पनि चाँडो-चाँडो लम्कन थालेँ । त्यस बेलाको हाम्रो अवस्था यौटी सच्चरित्र कुमारीलाई एक जना गुण्डाले लखेटिरहेको जस्तो थियो । त्यो लामो बाटो उसले चाँडै नै पार गरी अनि मैले पनि । उसलाई तब थकाइ लागेछ तर म भने लम्कँदै थिएँ ।

उसको गति अलि धीमा भयो । म सरासर गएँ । लम्केर उसको नजिक पुगेँ । यताउति हेरेँ कोही पनि देखिनँ । खेतमा टाढा-टाढा एक-दुई जना ज्यापूहरू काम गरिरहेका, सडकमा एक-दुई जना बिरलै फरक-फरक गरेर मान्छेहरू हिँडिरहेका थिए । त्यही बेला मेरी स्वास्नीलाई मैले भेट्टाएँ । म ज्यादै नजिक आइपुगेको थाहा पाएर ऊ टक्क रोकिई । पछाडि फर्केर आफ्नो साथी केटोलाई हेरी जो अन्दाजी दुई सय गज पर नै थियो । अनि एकपल्ट मेरी स्वास्नीले पुलुक्क हेरी अनि तत्कालै आँखा फेरी । म उसको सामुन्ने एक हातको फरकमा खडा भएँ । ऊ पनि निश्चल भएर उभिई, अगाडि बढ्न सकिनँ ।

मैले एक्कासि आवेशमा उसलाई सोधेँ, ‘तिमी कहाँ जान लागेकी ?’

ऊ बोलिन, चूप लागेर उभिइरही । खम्बाजस्तै भइरही । मैले उसको अनुहारमा हेरेँ, उसले टाउको निहुराई । फेरि मैले एकछिनसम्म यसरी हेर्न थालेँ मानो उसलाई सलक्क निलेर खान टाढादेखि पछि लागेर आएको जस्तो ।

फेरि मैले दोस्रोपल्ट सोधेँ, “तिमी मसित किन नबोलेकी, किन रिसाएकी, मैले तिमीलाई के गरेको छु र ?”

तैपनि ऊ मसित बोलिन ।

म उसको अनुहारमा आँखा गाडेर हेर्न थालेँ । मोरीको त्यो रातो गाला । भर्खरकी यौवनपूर्ण तरुनी आफ्नी स्वास्नीलाई च्याप्प समातेर म्वाइँ खान मन लाग्यो । एकपल्ट अङ्कमाल गर्न मन लाग्यो । त्यही स्वास्नी मलाई पोल्ने घामजस्तो लाग्थ्यो, त्यस दिन शीतल चन्द्रमाजस्तो लाग्यो । उसका कलिला फरफराएका राता ओठ केही कुरा निकाल्नलाई अनायस काँपिरहेका थिए । मैले आफूलाई वश गर्न सकिनँ । त्यही ओठलाई, त्यही गालालाई कटक्क टोकेर रगत निकालिधूँ जस्तो लग्यो । उसको गालासित आफ्नो गाला जोडेर भएभरको बलले उसलाई थिचिधूँ भनेर म झन् नजिक भएँ । ऊ पन्छिन खोजी म अझ नजीक टाँस्सिन पुगेँ ।

अनि एकपल्ट रीसको झोकमा रन्केर उसले मलाई भनी, “हजूरको के गर्ने सुर छ ?”

मैले उसको हात च्याप्प समातेर भनेँ- “म तिमीलाई लिन आएको ।”

एकपल्ट उसले मलाई पुलुक्क हेरी । मैले जबाफमा पुनः जोड दिई निश्चय गराएँ- “हो”

रीसको झोकमा मोरीको रूप यस्तो राम्रो खुलेको थियो । मैले अरू थोक केही गर्न नसके पनि समातेको हात झन् बलसित समाते । छोड्दैनछोड्ने निश्चय गरेर तानेँ । बलसित ऊ मेरो छातीनजीक आइपुगी अनि यताउता उसले आँखा घुमाएर तत्कालै मलाई भनी, “मान्छेको अगाडि बेइज्जत गर्न हजूर सवारी भएको, छोडिस्योस् ।”

उसले मेरो हात झट्कारेर स्वतन्त्र हुन खोजी । तर मैले उसको हात नछोडी जबाफ दिए, “सत्ते म लिन आएको, गाईको मासु खानु, छोड्दिनँ ।”

केही परबाट आइरहेको मान्छेतिर हेरेर उसले मलाईभनी, “मान्छे आयो क्या…”

“हिँड त, मसित हिँड ल ।”

मैले उसको हात छोडिदिएँ । उसले आफ्नो ओढ्नी मिलाई। सडकमा हिँडेको मान्छेले हामी दुवैलाई हेर्दैनहेरी गयो । मेरी स्वास्नीले मलाई तीखा आँखाले हेरी । ठूलाठूला उसका आँखाहरूमा आँसु रसाएर टलपल-टलपल गरिरहेका थिए । त्यसरी मलाई हेर्दा मोरीको आँखामै म्वाइँ खाइदिऊँ जस्तो लाग्यो ।

मैले भनेँ,  “ल हिँड, ऐह्ले जाने ।”

उसले सोधी, “कहाँ जाने ?”

मैले भनेँ खोलेर, “आफ्नो घरमा जाने, मेरो घरमा, तिम्रो घरमा, आफ्नै हाम्रो घरमा ।”

मेरी जाती आफ्नी स्वास्नी अगाडि बढी नबोलिकन । म पछाडि लागेँ । उसले मेरो कुरा स्वीकार गरी । अब मैले उसलाई लिएर हिँडे । मलाई आनन्द लाग्यो । मनमनै असाध्य खुशी भएँ । म दङ्ग परेँ । अहिले घरमा पुगेपछि आनन्दले बस्ने कल्पनामा हिँड्न थाले । मेरी स्वास्नी बिस्तारै हिँडिरहेकी थिई ।

मैले भनेँ, “अलि चाँडै हिँड ।”

मेरो आफ्नो सुर चाँडै घरमा पग्ने । आफ्नो कोठामा पस्नेबित्तिकै उसको म्वाइँ खाने । हजारौँपल्ट उसलाई चुम्बन गर्ने । उसलाई च्याप्प पारेर अङ्कमाल गरेर दुई दिनसम्म कोठैबाट निस्कन नदिने । जोसुकैले जेसुकै भनुन् । ऊ खास मेरी स्वास्नी हो । घरकी स्वास्नीलाई आजैदेखि निकालिदिन्छु । अब उसको मलाई वास्ता छैन । यसलाई सधैँको निम्ति राख्छु । आमाबाबु रिसाए पनि परवाह छैन । पोइल गएकी स्वास्नी ल्यायो भनेर भन्छन् भने पनि सहिदिन्छु । मैले जे गरे पनि अरूलाई के खाँचो । आफ्नो स्वास्नी लिन्छु, बस्छु । यो अर्काकी स्वास्नी होइन, मेरी हो । दुनियाँको कुरा सुन्दैसुन्दिनँ । मेरी स्वास्नी हैन भनेर कसले भन्न सक्ने ? पहिले मैले विवाह गरेर ल्याएको, पछि पोइल गई , यसलाई के दोष ? पोइल जान दिने मलाई नै दोष ! अर्काकी स्वास्नीलाई आफ्नी स्वास्नी बनाएर लैजानेलाई दोष ! यसको केही कसूर छैन । पहिलेको कुरा पहिले नै गयो । यति राम्री स्वास्नीलाई म कसरी छोड्न सक्छु ? अब म यसलाई जीवनभर छोड्दिनँ ।

मेरी स्वास्नीले पछाडि फर्केर हेरी । उसको साथमा आएको केटोले हामीलाई भेटिसकेको थियो । अब मेरी स्वास्नी अघिभन्दा अलि चाँडाे हिँड्न थाली । मलाई उसको साथमा लोग्नेस्वास्नीजस्तै एकै तालमा, एकै चालमा सँगसँगै जोडिएर सडकमा हिँड्न मन लाग्यो । दुई कदम म अघि बडेँ । सँगसँगै हिँड्न थालेँ । कुनै सज्जन स्त्रीपुरुष देवस्थानबाट पूजा गरेर फर्केको जस्तै गरेर हामीहरू हिँड्न थाल्यौँ । उसको मुख हेरेर मलाई खुशी लाग्यो, मलाई अझ ऊसित टाँसिएर हिँड्न मन लाग्यो । म झन नजीक भएर हिँड्न थालेँ ।

छाउनी ब्यारेकअगाडि टुँडिखेलतिरबाट कालीमाटीपुल हुँदै कुपन्डोल ल्याउने मेरो सुर, तर मेरी स्वास्नी लागी सरासर सरस्वतीस्थान जाने बाटोतिर ।

मैले उसलाई छेकेर भनेँ,  “तिमी कहाँ जाने ?”

ऊ बोल्दैनबोली अगाडि बढ्न खोजी । बल गरेर मिचेर जान लागेकीले मैले उसको दुइटै हात समाएर भनेँ- “सत्ते, जान दिउँला, गाईको मासु खाने जान दिउँला, कसले के गर्ने-लौ हेरूँ ।”

उसले टाउको निहुराएर भनी,”म जान्न ।”

मैले सोधेँ, “किन नजाने, तिमीलाई कसले के गर्छ ! म सत्ते छोड्दिनँ, आज अहिले नै लैजान्छु ।”

उसले आफ्नो रीसजति दबाएर राम्रोसित स्पष्ट बोलीमा जवाफ दिई- “लाजमर्नु, सडकको बिचमा छोटो मान्छेहरूको चाला निकालेर, हजूरलाई मान्छेले के भन्लान्, मलाई के भन्लान्- कसरी जाने ? मुखमा जे आयो उही बोल्ने । भोली कसरी दुनियाँलाई मुख देखाउने ?”

उसको भनाइ ठीक र सत्य थियो । मेरी स्वास्नीले सबै कुरा राम्रोसित बुझेर त्यसो भनेकी थिई । उसको भनाइ मैले मानेँ, मन्जुर गरेँ । तर त्यति कारणले-अरूले केही कुरा काट्लान् भन्ने डरले म उसलाई त्याग्ने निष्कर्षमा कहिले पनि पुग्दैनथे । मलाई राम्रै थाहा छ-ऊ पोइल गएकी हो । उसको लोग्ने- मेरो जार पनि जिउँदै छ । घरमा मेरी अर्की स्वास्नी पनि जिउँदै छ । अब फेरि मैले पोइल गएकी स्वास्नीलाई घरमा लैजान पनि नहुने हो । मलाई थाहा थियो- त्यसले मेरो ठूलो बदनाम गर्छ तैपनि मैले उसलाई घरमा ल्याउन खोज्नु मेरो पागलपन हो । सडकको बीच पोइल गएकी स्वास्नीलाई रोक्नु मेरो सिल्पटपन हो । तैपनि मैले त्यसै गरेँ, जानी-जानी अनैतिक काम गरेँ । आफ्नी स्वास्नीलाई समाउनु अनैतिक लागेन ।

उसको कुरालाई ध्यानै नदिई मैले भनेँ- “जोसुकैले जेसुकै भनोस् म तिमीलाई आज घरमा लैजान्छु, मलाई बाबुआमाको पनि वास्ता छैन । कसैले केही भन्छन् भने सबलाई घरबाट निकालिदिन्छु । नसके तिमीलाई लिएर आफै निस्किदिन्छु, सत्ते तिमीलाई लैजान्छु ।”

यति भनेर मैले उसको हात समातेँ । मेरी स्वास्नीले मलाई उसका ठूला-ठूला काला स्नेहपूर्ण आँखाले हेरिरहेकी थिई । सडक सुनसान थियो । मैले उसलाई हेरिरहेको थिएँ । पारस्परिक अव्यक्त मायाले हामी दुवैलाई निलिरहेको थियो । दुवैको अन्तरात्माले आनन्दको अनुभव गरिरहेको थियो तर अपसोच ! त्यस बेला हामीहरू दुवैको हृदय अनायास धकधकाइरहेको थियो । ऊ लोग्ने भएकी स्वास्नीमान्छे थिई, म स्वास्नी भएको लोग्नेमान्छे थिएँ । हामीहरू दुवै लोग्नेस्वास्नी थियौँ तापनि दुवै भयभीत थियौँ । प्रेममा फसेका कुमार र कन्याकेटी युगलको पहिलो नौलो भेट जस्तै अथवा धेरै समयपछि भेट भएको प्रेमी र प्रेमिकाको जस्तै हामीहरूको भेट भइरहेको थियो ।

त्यही स्वयम्भूमुन्तिर सरस्वतीस्थान जाने बाटोनिर ।