उहाँको जीवनका पछिल्ला आयामहरूबारे न त मैले सोध्न सकेकी छु, न त उहाँले केही भन्न चाहनु भएको छ । उहाँ चकमन्नतासँग संवाद गरिरहनुभएको छ ।

‘ममी, तपाईंको टिकटक लाइभमा सधैँ आउने यी बूढो जस्तै देखिने मान्छे को हुन् ?’

‘साथी ।’

‘बूढो मान्छे पनि साथी हुन्छ, ममी ?’

‘टिकटकमा जो पनि साथी भै हाल्छ नि ? तँलाई चाहिँ किन चाहियो ?’

‘उहाँका सबै भिडियोलाई सधैँ कमेन्ट गर्नुहुन्छ, लाइक गर्नुहुन्छ …।’

नौ कक्षामा पढ्ने छोरीको हठ पनि सहन सकनिन् शारदाले । उनले बोल्नै पर्ने भयो ।

‘हामीलाई स्कुलमा पढाउने सर । अब त भो ?’

‘उहाँले मात्रै पढाउनु भयो त हजुरलाई ?अरु टिचर थिएनन् स्कुलमा ?’

‘अरुले टिकटक चलाउँदैनन् नि त!’

‘होइन होला !’

छोरीको यो हठले शारदा अवाक बनिन् । उनले बर्षौंदेखि भन्न नसकेको एउटा कथा यस्तो थियो —

===

विद्यार्थीहरूका मात्र नभएर अभिभावकका पनि प्रिय शिक्षक थिए उनी । उनको नाम के थियो थाहा थिएन धेरैलाई । तर सबैले ‘कार्की सर’ भनेर चिन्थे, त्यही नामले बोलाउँथे । उहाँको पहिचान त्यही थियो । उनी तराइबाट कामको खोजीमा पहाड चढेका थिए । उनलाई पहाडको उचाइ राम्रो लाग्थ्यो । पहाडका उचाइले क्षितिजसँग चुम्बन गरेका दृष्य देखेर उद्वेलित हुन्थे । त्यहीँ पुगेको अनुभूति गर्थे । चिसा कुहिरोका सिरक आढेर उन्मत्त बाँच्नु उनको उद्देश्य थियो । जागीर अर्को पाटो थियो, बाध्यताको । यही सोचेर उनी उक्लिएका थिए पहाड । मा.वि. तहको गणित विषयको अध्यापनको लागि उनलाई सरकारी र नीजि दुवै खाले विद्यालयहरुले हार्दिकताका साथ स्वीकार गरे ।

सुरुदेखि नै उनी पहाडको बजारको रङ्गमा रङ्गिन सुरु गरे । साैन्दर्यताको प्रशंसामा लामै गफ गर्थे । प्रकृतिप्रेमी उनी विहान एकपटक खुल्ला र ठूलो खेलमैदानमा घुम्थे । बेलुका एकपटक चीयावगान र नजिकै रहेको मन्दिर घुम्न जान्थे । चियाको बोटमा उनको उन्माद उच्छिटिन्थ्यो । पोखिन्थ्यो असरल्ल । छेवैमा गएर स्पर्श गर्थे चियाको पातलाई, अनि मुनालाई । मुसुक्क मुस्कुराउँथे ।

विद्यार्थी केटाकेटीसँग उनका नोष्टाल्जीया पस्केर तिनलाई उद्वेलित बनाउँथे । धाराप्रवाह बग्ने उनका ‘न्यारेटिभ’ले केटाकेटी कल्पनाको भाष्यमा पस्थे । अनि फस्थे । उनको विगत र कल्पनामय आगत तिनीहरुको सपना बन्थ्यो । निकै परको क्षितिज । उनले अवलम्बन गरेका शिक्षण प्रक्रियाहरू, सिकाइ विधिहरू, विद्यार्थीलाई पठनकार्यमा सम्मोहन दिने सूत्रहरू पस्किएर होला, उनी अब्बल शिक्षक थिए । अभिभावकहरू गौरवान्वित थिए उनको प्रस्तुतिबाट ।

कसै कसैले उनको ईर्ष्या पनि गर्थे । तर विद्यार्थी उनको प्रशंसा गर्थे ।

‘सर, तपाईं क्याम्पस पढ्दा कस्तो हुनुहुन्थ्यो होला ? अहिले त तपाईं यसरी हामीलाई उराल्नुहुन्छ ।’ बिना हिच्किचाहट केटाकेटी प्रश्न गर्थे उनलाई ।

उनी भन्थे, ‘मैले लुकेर र छिपेर कहिल्यै केही गरिनँ । जे गरेँ खुल्ला । साथी थिए खुल्ला । सरहरु थिए खुल्ला । भावना थियो खुल्ला ।’

‘वाउ !’ केटाकेटी रोमान्चित हुन्थे ।

मा.वि. तहका भए पनि केटाकेटी परिपक्व हुन्थे । ती शारीरिक र मानसिक रुपले हुर्किसकेका थिए । त्यही भएर होला, उनीहरू सरका हर भाष्यको अनौठो बुझाइ राख्थे, भिन्न बुझाइ राख्थे । तिनका चेतनाले कार्की सरका अभिव्यञ्जनाहरुलाई यौनिकतासँग जोडेर पनि बुझ्थे।

‘सरले खुलम खुल्ला भनेको तैंले बुझिस, करुणा ?’

‘अलिअलि ।’

‘पातकी !’

‘हैन है, यस्तो सोच्नु पाप हो ।’

‘म त यस्तै मान्छे मन पर्छ ।’

‘यस्तै कि यही मान्छे ?’

‘नकरा…बे… ।’

करुणा र उनका साथीहरु आफ्ना संवेगात्मकताहरु लज्जाको आवरणमा सजाएर राख्थे कार्की सरको विषयलाई लिएर ।
उनी प्रशंसा गरेर कहिल्यै थाक्दैनथे । उनी कवि भएका भए कति भावुक कविता लेख्थे होला ! दुनियाँलाई रुवाइदिन्थे होला । उनले बिद्यार्थी केटाकेटीको खुलेर प्रशंसा गर्थे । लुगाको, अनुहारको, कपालको, आँखाको सबै प्रशंसा गर्थे । उनले अङ्ग्रेजी कवि एन्ड्रिउ मार्भेलको एउटा कविता ‘टु हिज कोइ मिस्ट्रेस’ मुखाग्र गरेका थिए । त्यसमा प्रेमीले आफ्ना प्रेमिकाको सुन्दरताको बयान गर्न हजार बर्ष लगाएर भए पनि गर्ने थिएँ भनेर घोषणा गर्छ । उनी त्यो प्रेमीको फ्यान जस्तै देखिन्थे ।

‘अन्जु, तिम्रो कपाल त ! कति चिल्लो ? त्यो छुनेहरु त ठहरै होलान् हा हा हा ।’

कार्की सरको यो अभिव्यञ्जनासँगै सबै हाँस्नथाल्थे । उनले जे बोले पनि कुनै केटाकेटीले असजिलो महसुस गर्दैनथिए । बरु उल्टै रमाउँ उनका प्रेमिल अभिव्यञ्जनाहरुमा । अन्जुले मुस्कुराएर उनको प्रशंसालाई साथ दिन्थी । यस्तो त चलिरहन्थ्यो उनको । कक्षामा हुल्लडवाज केटाहरुलाई गाली गर्थे उनी, तर ती रमाउँथे उल्टै ।

‘तँ मोरालाई पर टुंडिखेलमा लगेर भुँइमा चराउँछु ।’

‘सर, गोल खेल्नेले सबै दुवो मारेका छन् । के छ र चर्नु, सर ?’ केटाका कुराले कक्षाभरी हाँसो फैलिन्थ्यो । सरको गाली तिनलाई आनन्दको मुहान हुन्थ्यो र सबै गलल हाँस्थे । सरको गालीलाई गाली नसम्झने विद्यायार्थी आजकल कहाँ पाइन्छ र ?

कार्की सर विद्यार्थीहरुबीच लोकप्रिय शिक्षक थिए । उज्यालो भुइँमा खस्दाखस्दै केटाकेटी उनको कोठामा ढोका ढकढक्याउँदै आइपुग्थे । ती ट्यूशन पढ्न आउँथे । ट्यूसन पढेपछि मात्रै धेरै नम्बर ल्याउन सकिन्छ भन्ने तिनका मनमा जरो गाडिएको थियो । त्यही भएर होला, केटाकेटी थुप्रै समुह बनाएर पढ्न आउँथे, अनि उनी पनि प्रफुल्ल मुद्रामा सधैँ प्रस्तुत भएर पढाउँथे । व्यस्त थिए । कतिले पैसा दिन्थे, कतिले दिदैनथिए । तर कसैलाई गाली चाहिँ गर्दैनथिए । ती केटा पनि हुन्थे, केटी पनि हुन्थे । आधाघण्टा पढ्थे । बाँकी आधा घण्टाको समय अरू सरहरूको टिकाटिप्पणी गरेर, अनि सरको आफ्नै विगतको रङ्गिन दिनहरूको फेहरिस्त सुनाएर बिताउँथे । अनि गलल हाँस्थे । अनि बेलुका साँझसम्म पढाइरहेका हुन्थे ।

मानिसहरु भन्थे, ‘यी सरलाई झर्को पनि नलागेको । रिस पनि नउठेको । केटाकेटी बाहेक कोही पनि नचाहिने रहेछ । अचम्मैका जन्तु रहेछन् यी !’

उनी आधुनिककताको रसमा जीवनको परिभाषा खोज्थे । उनीसँग केटाकेटी संवाद गर्थे । भेट हुनासाथ केही न केही विषय ल्याएर मज्जाले हाँस्थे ।

उनीकहाँ पढ्न आउनेहरुमा अन्जु पछाडि पछाडि हिँडने गर्थी । समूहमा पढ्न आउँदा पनि ऊ साथीहरुसँग खुलेर बोल्दिनथिई । बस्दा पनि पछाडिपट्टि बस्थी । गणितका सूत्रहरु कोरा लाग्थे उसलाई, किनभने ती सूत्रले जीवनको कुनै सूत्र बताउँदैन थिए । उसले पालेको निरसतालाई ती सूत्रले कुनै खोला तारेको छैन लाग्थ्यो । जीवनका सूत्र होइनन् ती । न त ती सूत्रले जीवन परिवर्तन् गर्छन् । चासो नदिए जस्तो गरेर पनि सरको कोठामा पढ्न जान्थी अन्जु ।

कार्की सर अन्जुको त्यो शान्तपनमा धुमिल हुन पुगे । ऊ पछाडि बसेर सरको बोलीमा एकाग्र भएर सरको अनुहारमा नहेरी लेख्थी । सर उसको कपाल हेर्थे । सरल, कुनै ब्यूटी पार्लर गएर नबनाएको कपाल थियो । कुर्ता सुरुवाल सुती कपडाको सस्तो तर फेन्सी थियो । चिल्ला पाखुरा बाहुलाले कहिलेकहींँ छोप्थ्यो । उनी देख्थे परबाट, उसको लामो सुलुत्त परेको घाँटी कुनै मन्दिरको गजुर भएर ठडिएको थियो । उनी दर्शनार्थी भएर तल मन्दिर परिसरमा उभिएका हुन्थे । उसको लामो निधारमा उनले थुप्रै रङ्ग र अवयवहरु नाचिरहेको देख्थे र उनी त्यसको रमिते हुन्थे । पुष्ट शरीरमाथिसम्म कुर्ता र त्यसमाथि शल हुन्थ्यो । उनले सम्झिन्थे, उसले आफ्नाे  शरीरलाई किन यत्ति धेरै छोपेकी हो ? म के गर्थें त्यसको घाँटीलाई । उनी बारबार उसको अनुहारमा हेर्थे । अरुले देख्छन् कि भनेर आँखा घुमाइहाल्थे । परैबाट मनको भेटी चढाएर मुस्कुराउँथे । मन्दिरमा भीड भएपछि परैबाट पैसा र फूल चढाएपछि मनोकामना किन पुग्दैन ? सबै जना भित्र पस्ने ठाउँ मन्दिरमा कहाँ पुग्छ ?  उनी यस्तै भुइँमा टेकेर उभिएका हुन्थे ।

अन्जु आउन थालेपछि सरको हुलिया बदलियो । उनले हिजोका ठट्टा पचाएर नितान्त शान्त देखिन थाले । उनी अन्जु जस्तै भए । अथवा अन्जु उनीजस्तै भई । सरलतामा सुन्दरता । सुन्दरतामा सरलता । उनले त्यतिका दिनसम्म अन्जुले बोलेको सुनेका थिएनन् । साथीसँग पनि आवाज थिएन ।

एउटा ‘आइडोल’ उनको अगाडि दर्शन गर्न दिनदिनै आउँछ भन्ने लाग्थ्यो तिनलाई । उनीका गफ, अनि गीतका हावादारी कुरा सबै एउटै खाडलमा गएर पुरिए । तिनका सबै राेमान्स अन्जुले निर्माण गरेका खाडलमा गएर पुरिए । उनी आफ्नै उमङ्गको मलामी भरेर आउन थाले त्यसपछि । आफ्नै हाँसोको लाश बोकेर हिँड्न थाले त्यसपछि ।

उनले सम्झे, हैन के भयो मलाई ? उसमा केही त्यस्तो विशिष्टता थिएन । म किन यसरी बेचैन भएँ यसबाट ?

उनले त्यही कारणले हो, अन्जुलाई पैसा माग्ने आँट गरेनन् । “के भनेर माग्ने जबकि आजसम्म ऊ एक शब्द बोलेकी छैन । कसरी पैसा माग्ने, पड्केले आफै बुझेर ल्याए पनि हुने नि !” एक्लै भुतभुताउँथे उनी । तर ऊ महिना मर्ने बित्तिकै पैसा ल्याएर सरलाई केही नबोली दिन्थी । सरले निकैबेर लगाएर समात्थे । त्यो दृष्यलाई स्लो मोसनमा हेर्थे साथीहरु ।

उनलाई सकस भयो, शिर उठेन जस्तो भान भयो । ढले जस्तो, ढक भए जस्तो, बिनापत्तामा, उठ्नै नसक्नेगरी ! उनी कमजोर भए आफैसँग । यो कसरी सम्भव छ ? आफैलाई सोध्थे, उत्तर थिएन । हो रहेछ, मनले कुनै कारण र कुनै उत्तर फेला नपारी रचेको फूलबारीको प्रपञ्चको कुनै नाम छैन । बेनामे भाव, अस्तित्वविहीन भाव — उनको निष्कर्ष थियाे  । यो कारणको हत्या गरेर रचेको रङ्गिन मनले बिस्तारै उनको जिजिविषा भत्किँदै गयो ।

अन्जुको आगमनसँगै उनका तमाम अवयवहरु जग्मगाउन थालेका थिए । छचल्किन थालेका थिए । रसाउन थालेका थिए । चेतनाका अजश्र धाराले हजारौं सूर्यको प्रज्वलन एकैसाथ मनमा गरिदिए जस्तो भान भयो । उनी अलौकिक आनन्दले धिपधिपाइरहेको भए ।

यसैबीच दशैं तिहारको छुट्टी भयो । कार्की सर पनि लामो छुट्टीमा परिवारसँग सुनौलो समय गुजार्न भनेर घर गए । उनले तीन बर्षअघि बिहे गरेका थिए । हजुरआमा आफैसँग भएकी र उनको हेरचाह गर्नु पर्ने भएकै हुनाले होला, उनले श्रीमतीलाई घरमा छोडेका थिए ।

उनलाई यो अधुरो बाटोको यात्राले थकान दिएको जस्तो लाग्दैनथ्यो । उनी हरदम मुस्कुराइरहन्थे । उनी कामको लागि विहानै एउटा सपना बोकेर हिँडथे र बेलुका गाँठो फुस्किएको सपनाको पोको फुकाउँथे । पाण्डोरको बाकस जस्तै । खुशी र आनन्द आउनु पर्ने ठाउँमा तिक्तता र निरसता नआवस भन्थे ।

तर उनले तिनै नीरसतासँग सधैँ जुधिरहे । दशैं तिहारको खुसीयाली बाँड्न घर पुग्दा उनी झस्किए । घरको आँगनमा उनका पाइतालाले स्पर्श गर्नसाथ उनी प्रेरणासँग साक्षात्कारमा हुन्थे । उनको स्वागत हुन्थ्यो । अनि हजुरआमाको मुस्कानले उनलाई स्वागत गर्थ्याे।

तर त्यसबेला उनी घरमा पुग्दा सधैँ जस्तो उनले स्वागत पाएनन् । स्वागत गर्ने मान्छे थिएनन् । टाँडे घर नियास्रिरहेको थियो । आँगनमा झारले साम्राज्य जमाएको थियो । भुइँ नलिपेको महिनौं भइसकेको थियो । गोठमा बाँधेका गाई पनि थिएनन्, बाख्रा पनि । सिकुवा ठसठसी गन्हाइरहेको थियो । चाडबाडको मुखमा पनि यस्तो निरसता ! उनी अचम्मित परे ।
कार्की सरले सरासरी घरभित्र पस्न चाहेनन् । किनभने उनले त्यहाँ अनौठो परिदृष्य देखे ।

‘प्रेरणा ..!’ उनले बेस्सरी कराए सिकुवामा पुगेर ।

‘छैन..’ निन्याउरो स्वरमा बोल्दै हजुरआमा भित्रबाट बाहिर आइन् । उनी थरर्र कामिरहेकी थिइन् ।

‘कता गइ त ?’

‘खै, माइत जान्छु भन्थी ।’

‘कहिले गएकी ?’

‘अस्ति नै…।’

‘मलाई नभनी …’

‘तेरै आमाको बिंडो थामेकी होला नि त ! तँलाई तीन बर्षको हुँदा छाडेर अर्कासँग पोइल गई । त्यही रनाहामा तेरो बाबु साइकलमा हुइँकेर जाँदा बसले किचेर मारिदियो । तँ चाहिँ शान्त भएर बस । बाबुको जस्तो मुर्ख्याँइ नगर ।’

कार्की सर थचक्क बसे सिकुवाको काठे खाटमा । फोन सुबिधा भएको भए सबैतिर सम्पर्क हुन्थ्यो होला, त्यो पनि थिएन ।
उनलाई आकास झरेजस्तो भयो । सगरले थिचे जस्तो भयो ।

हजुरआमाको ख्याल पनि गर्नु पर्ने । जागीर पनि टाढा गएर खानु पर्ने । नजिकै पनि नपाइने । जीवनको यो बिरोधाभासमा उभिएका थिए उनी ।

भोलिपल्ट उनी ससुराली गए । प्रेरणा घरमा थिइन ।

‘प्रेरणा खोइ ? म उनलाई लिन आएको ।’ ससुराली पुग्नासाथ आँगनमा बसिरहेका ससुरालाई नमस्ते गर्न भ्याउने बित्तिकै यो प्रश्न गरे उनले ।

‘दिल्ली जाने भनेर हिँडी त ! ज्वाइँको अनुमति लिएर हिँडेकी भन्थी त !’

‘राम्रो संस्कार दिनुभएको रहेछ छोरीलाई । गर्व लाग्यो तपाईंहरुदेखि ।’

यत्ति भनेर उनी ससुरालीमा चिया मात्रै पिएर निराश हुँदै घर फर्किए ।

श्रीमती र हजुरआमाको व्यावस्थापनको बिरोधाभासमा उनको परिवार बाँचिरहेको थियो । मानिसका परिस्थितिहरुले भिन्न भिन्न रुपलाई एउटै भुङ्ग्रोमा हालेर जाँचिदिँदा रहेछन् । हजुरआमा र श्रीमती एउटै प्रेमको बाकसमा अट्दैनन् भनेको उनले बुझेका थिएनन् । त्यही भएर ती आँटेनन् । ती फरक फरक प्रेमको आयाममा मात्रै हुर्किन्छन् भन्ने कुरा बल्ल बुझे ।

त्यही भएर उनको दशैं पनि आएन ।  त्यही भएर उनको तिहार पनि आएन ।

तिहार पछाडि स्कूल लाग्यो । सबै सरहरु आए । सबै विद्यार्थीहरु आए । शिशिरको मिठो र केही चिसो समय आयो । विद्यार्थीमा लामो छुट्टी पछाडिको उमङ्ग आयो, जोश आयो, होस आयो । जाँगर आयो । औल झरेका चराहरु लेकतिर आए । तर कार्की सर आएनन् ।

यत्रतत्र हल्ला भयो । खैलाबैला भयो, ‘कार्की सर आएनन् । ’

दूरसञ्चार अफिसमा हेडसरलाई फोन आयो भन्ने सुनियो — “हेड सर, नमस्कार । बूढी आमालाई एक्लै छोड्न नमिल्ने भएकोले गर्दा मैले घर छाड्न मिलेन । मलाई माफ गर्नु होला । माफ पाइनँ भने म जीवनभर मरिरहने छु ।”

विद्यार्थीहरु तिलमिलाए जस्ता भए । निराश जस्ता भए । तिनका बोलीमा मुस्कान हरायो । तिनले आफ्नाे आगत निरस देखे । एसएलसीमा लगातार तीन बर्ष नील खाएर सम्बन्धन नै काटिन लागेका बेलामा कार्की सरको आगमनले पहिलो ब्याचमै पचास प्रतिशत नतिजा ल्याएर त्यो स्कुलको प्राण जोगाइदिएका थिए उनले ।

‘उहाँ हाम्रो शिक्षक मात्रै होइन, एउटा मार्गनिर्देशक पनि हुनुहुन्थ्यो ।’

त्यसपछि कार्की सरसँग ती कुनै पनि विद्यार्थीहरुको भेट सायद भएन । समुद्रको डुङ्गामा चढेका यात्रीहरु त्यो डुङ्गा दुर्घटना भएपछि शायदै फेरि भेट हुन्छन् । त्यस्तै भयो तिनीहरुको त्यो समय र त्यो जिन्दगी ।

समयले धेरै फन्का मारिसक्यो यो बीचमा । तर सम्झनाका तरेलीहरु परेली परेलीमा आएर बसिरहँदा रहेछन् हरपल । चार महिना पहिले फेसबुकमा ‘पिपल यु मे नो’ भनेर केही मानिसहरुको सूचि आयो । त्यो सूचिमा एउटा मान्छेको नाम र फोटो थियो । त्यो नाम भन्दा पनि कार्की थर भएकाले अन्जुको भाव कताकता बहकियो । अनौठो सञ्चार भयो उनीमा । सम्झिन् उनै कार्की सरलाई । पक्कै उही हुनु पर्छ, उनको अन्तरहृदयले त्यही भनिरह्यो । अनि प्रोफाइल खोलेर हेर्दा तिनै कार्की सर रहेछन् । फोटा उनकै थिए । हामीले पढेको सिंजन माविका फोटा थिए । उनकी दिवंगत आमाका फोटा थिए । उनको घरका फोटा थिए । उनी गएका मन्दिरका फोटा थिए । सुन्दर र रमणीय स्थानहरुका फोटा थिए । अनि पर एउटा कुनामा उनले पढाएकी विद्यार्थी अन्जुको पनि फोटो थियो …।

हामीलाई माया गर्ने र हामीले पनि माया गरेका सरलाई भेटेँ । हामी फेसबुकमा मात्रै नभएर टिकटकमा पनि साथी भयौँ । उहाँको जीवनका पछिल्ला आयामहरूबारे न त मैले सोध्न सकेकी छु, न त उहाँले केही भन्न चाहनु भएको छ । उहाँ चकमन्नतासँग संवाद गरिरहनुभएको छ । उहाँका उसबेलाका मन र तनका छालहरु एकाएका समुद्रमा गएर मिसिए जस्तो शान्त छन् । उहाँ पूर्णरूपले विनिर्माण हुनुभएको छ ।

===

‘कुरा यत्ति हो, बुने । कथा यही हो । कारण यही हो मैले सधैँ कार्की सरलाई लाइक र कमेन्ट गर्ने ।’ शारदाले लामो सास फेर्दै छोरीलाई अर्थ्याउन खोजिन् ।

‘ओ माइ गड ! तपाईं पनि कार्की सरको उस बेलाको विद्यार्थी ? अनि अन्जुको फोटो हुँदैमा तपाईं किन भावुक ? त्यो त अन्जु र कार्की सरबीचको कुरा होइन ?’

‘त्यो अन्जु मै हुँ । मलाई साथीहरुले बोलाउने नाम अन्जु थियो । बिहे गरेपछि मेरो नागरिकता र सर्टिफिकेटको शारदा नाम लिएर तेरो बाबाले बोलाउनु भयो र म अन्जुबाट शारदा भएँ ।’