मुगलान छिर्नुअघि बाबाले दिएको दुई रुपैयाँको नोट अझै उसको साथमा थियो । त्यो नोट चुमी निक्कै भक्कानियो, ‘कतै मेरो पनि बाको जस्तै हालत हुने त हैन ! त्यसो भो भने त मेरी जूनुको सपना कसले पूरा गरिदेला !’
विवाह भएको तेस्रो दिनमै मंगल कतार उड्यो ।
भर्खरै घर भित्र्याएको दुलहीलाई अचानक छोडेर कतार उड्नुपर्दा ऊ जिउँदो लास भएको थियो । एक मन त उसलाई यति चाँडै कतार उड्न मनै थिएन, तर के गर्नु ! त्यही कतार उड्ने भिसाको लागि म्यानपावरलाई दुई लाख पैसा बुझाइसकेको थियो । दुईटा हातको लड्डु निल्ने कि ओकल्ने, ऊ दोधारमा थियो ।
आफू पाँच वर्षको छँदा मंगलका बा मुग्लान पसेका थिए । गएको एक महिनामै मंगलका बा ट्रक दुर्घटनामा परेर बिते । परिवारको जेठो छोरो थियो ऊ । ऊ चार वर्षको हुँदा उसको बहिनी जन्मेकी थिइ । बहिनी जन्मदा पोषिलो खानाको अभावले आमा पनि बिस्तार बिस्तारै रोगी हुँदै गइन् । बा बितेको चार वर्षपछि क्षयरोगले ग्रस्त भै आमाले पनि संसार छोडिन् । अब उसको साथमा एउटी बहिनी बाहेक अरु कोही थिएनन् ।
समय बित्दै गयो । बहिनी बढ्दै गइ । आवश्यकता बढ्दै आयो । दिन प्रतिदिन ऊ पनि दुःखको आहालमा डुब्न थाल्यो । दुःखको पहाड अग्लिदै गयो । ती दुःखको दिनमा पाहुना बनेर एकदिन पनि सुख उसको घरमा छिरेन ।
अलि अलि भएको पाखो बारी बुवाको काजक्रिया गर्दा सकियो । सम्पतिको नाममा त्यही एउटा बचेको घर थियो । त्यो घर पनि, कठै आमाको काजक्रिया गर्दा लागेको खर्च ब्यहोर्न भनी बेच्नुपर्यो । अब भने यिनै घाम, जुन, आकाश, हावा र धरती बाहेक अहँ उसको साथमा अरु केही थिएन । भगवान त झन् परको कुरा ।
घर भन्दा केही माथि एउटा भेडी गोठ थियो । गोठ मालिक एक्लो थियो । उसको पनि कोही परिवार थिएनन् । परिवार नभए पनि ऊ कहिल्यै दुःखी भएन । बरु तिनै भेडाहरु उसको परिवार थिए । पछि उसैले मंगलको दाजुबहिनीलाई आफ्नो सन्तान मानी पाल्न थाल्यो । पढाउन थाल्यो ।
समय कहाँ एकनास रहन्छ र ! एकदिन चैते हावाहुरी र चट्याङमा परी गोठ मालिकले सधैं सधैंलाई संसार छोड्यो । मंगल र मङ्गली फेरि पनि टुहुरा भए । मालिक वितेकै रात उनीहरूको सबै भेडाहरु चोरीए । मालिक बितेको पीरले ऊ बेहोस भै भुइँमा ढलेको थियो । मङ्गली चाहिँ दादा दादा भन्दै मंगललाई बोलाइरहेकी थिइ । तर अहँ मंगलको होस खुलेन । यही मौकामा मङ्गलीलाई पनि उठाए ती चोरहरूले ।

मिलन कार्की
के उजेलो हो र पूर्णेको जून ! जति उजेली मङ्गली थिइ । के सुन्दर हो र गुलाफको फूल ! जति सुन्दर मङ्गली थिइ । के मीठो हो र कोइलीको स्वोर ! जति मीठो स्वर मङ्गलीको थियो । मङ्गली दुनियाँकै सबैभन्दा राम्री थिइ । मीठो बोल्थी । उनको ओठबाट कहिल्यै कुनै अपवित्र शब्द उच्चारण भएको थिएन । उसको हृदयमा प्रेमको महासागर थियो । ऊ सारा संसारलाई प्रेमको पाठ पढाउन जन्मिएकी थिइ । तर दुर्भाग्य ! ईश्वर पनि सत्यलाई नै कुल्चन चाहन्छन् । मान्छे मात्र हैन सत्यसँग ईश्वर पनि डराउँदा रहेछन् । माकुराको जस्तै ईश्वरको पनि यहाँ आफ्नै जाल छ ।
होस खुलेपछि मङ्गलीलाई नदेख्दा फेरि बेहोस भयो । करिब तीन दिनपछि होस खुलेपनि आफ्नो प्यारी बहिनी गुमाउँदाको पीडाले कहिल्यै खुसी हुन सकेन । खुलेर हाँसेन । जहाँ पुगेपनि उसको आँखामा मङ्गली नाचिरहन्थी । ननाचोस् पनि कसरी ? मङ्गली नै त उसको सिङ्गो ब्रह्माण्ड थिइ ।
बिस्तार बिस्तारै मंगललाई गाउँ मन पर्न छोड्यो गाउँमा बस्ने रहर मर्न छोड्यो । चाँडो भन्दा चाँडो गाउँबाट बाहिरिन चाहन्थ्यो ऊ । अन्तत: एकदिन गाउँलाई सधैंको लागि त्याग्यो । आफूसँग बचेको केही केही सम्पति बोकेर ऊ काठमाण्डौं पस्यो ।
सुरुका दिनमा काठमाण्डौं खुबै मन पर्यो उसलाई । सडक तथा अग्ला होचा घरहरूको झिलिमिली, गाडीहरुको लावा लस्कर, मीठो मसिनो खानाको परिकार, अर्धनग्न भेषमा सजिएका सोड्सेनीहरु, यस्तै यस्तै… काठमाण्डौंका हरेक वस्तुहरूले कति पनि ढिला नगरी उसको मन जितिरहेको थियो । “यति राम्रा मान्छेहरूको मन झन् कति राम्रो हुँदो हो !” काठमाण्डौं टेकेको एक हप्तापछि उसले सोच्यो ।
काठमाण्डौंमा मंगलको कोही आफन्त थिएनन् । गाउँबाट ल्याएको अलि अलि पैसा पनि सानो तिनो रमाइलोमा भुल्दा एक हप्तामै सक्कायो । एक हप्तामै उसले बुझिसकेको थियो । यो सहर हो । बिना पैसा सहरमा बाँच्न गाह्रो छ । पैसा हुनेहरूको अखडा हो सहर । पैसा नहुनेलाई त कुकुरले पनि हेप्छ । भिखारी भन्दा त कुकुरकै कति हो कति सान छ सहरमा । यहाँ भिखारी भै हात थाप्नु भन्दा त कुकुर भै भौतारिनुमै इज्जत छ । तीनकुने चोकको खाली मैदानमा उभिएर झोक्रिदै सोच्यो उसले ।
भर्खरै मात्र सत्र वर्ष पुगेको लक्का जवान थियो ऊ । गाउँमा छँदै कक्षा नौ सम्म पढेको थियो । अब यही सहरमा काम गर्दै बाँकी पढाइलाई अघि बढाउनु पर्ला । यति सोचि ढिला नगरी कामको खोजीमा भौतारिनुसम्म भौतारियो । महिना दिन बित्यो । कतैबाट पनि कामको जोहो मिलेन । अन्तत: साह्रै निरास भयो ऊ । अब म बाँच्दिन । जीवनको ढोका चारैतिर बन्द छन् । मेरो त खप्पर नै… ! यस्तै यस्तै, मनमा नानाभाँती कुरा खेलाउदै आत्महत्या गर्न भनी, एकदिन पशुपतिको जंगल छिर्यो ।
आत्महत्या गर्ने त भनियो । रुखमा झुण्डिउ डोरी छैन । विष पिउ त विष किन्ने पैसा पनि छैन । बाँच्न त यसै गाह्रो उसै गाह्रो । मर्न झन् कति गाह्रो हो । बुझिनसक्नु छ श्रृष्टिको यो लीला । आ भो ! म त मर्न भनेर पो यो जंगल छिरेको । मर्ने बेलामा पनि के नानाथरी सोच्नु । बरु कापे रुख पो खोज्नु पर्यो । भेटेपछि त्यै कापेमा घाँटी अड्काएर यो संसार छोड्छु । नभन्दै उसले सोचेअनुसारकै रुख भेट्टायो पनि । अनि सुरु गर्यो ढिला नगरी रुख चढ्न ।
रूख चढेर कापेमा आफ्नो घाँटी अड्काउन मात्र के लागेको थियो, अचानक कतै टाढाबाट एउटा सुरिलो आवाज आएर उसको कानमा ठोक्कियो । आवाज यति मीठो थियो कि… यति मीठो आवाज यसअघि उसले कहिल्यै सुनेको थिएन । आत्महत्या गर्न ठीक परेको ऊ उक्त आवाजले गर्दा आत्महत्या गर्नै बिर्सियो । बरु आनन्दसँग रुखको हाँगामा बसेर उक्त आवाज सुन्न थाल्यो । आवाज सुन्दा सुन्दै ऊ रुखमै निदायो ।
निद्राबाट बिउँझदा झमक्कै साँझ परिसकेको थियो । पशुपतिमा सन्ध्याकालीन आरती सुरु हुँदै थियो । ऊ त्यही रुखको हाँगामा बसेर पशुपतिको मनोरम र कारुणिक दृश्य हेरिरहेको थियो । “हैन यति मीठो गीत गाउने को केटी होली ? कतै किचकन्या त हैन। फेरि मान्छेको स्वर पनि यतिविघ्न मीठो हुन्छ र ?” अचम्म मान्दै आफैसँग बोलिरहेको थियो ऊ ।
“कतै मेरै लागि भनेर स्वर्गबाट कुनै अप्सरा त झरेकी हैन ?” निकै बेरपछि रुखबाट झर्दै उसले सोच्यो ।
“यही रुखमा चढ्नाले यति मीठो गीत सुन्न पाइयो । फेरि यही रुखबाट ओर्लन किन हतार ? भो, जे पर्ला पर्ला । आजको रात यही रुखमा बिताउँछु ।” भुइँमा पाइला टेक्नै लाग्दा अचानक ऊ झस्कियो । र पुन चढ्न थाल्यो त्यही रुख ।
“हैन कस्तो मूर्ख म ! यति राति पनि कसैले गीत गाउँछ र ? ” अचम्म मानी आफैसँग प्रश्न गर्छ ऊ ।
न मेरो कुनै बस्ने डेरा छ । न साथमा पैसा छ । आजको रात यही रुखमा बिताउँछु । अहो ! कति जाती छ यो रूख । रूख जस्तो हुन पाए पो जिन्दगीको मज्जा नै बेग्लै । रूख न धनीको न गरिबको । रूख त सबै सबैको । रुखलाई अंगाल्दै सुस्तरी मुस्कुराउँछ ऊ ।
त्यो रात ऊ त्यही रुखमा निदायो ।
अर्को दिन बिहान चराहरूको गीतसँगै ऊ बिउँझियो ।
अहो ! यो रुखमा कति मज्जासँग निद्रा लागेको । ज्यान पनि कति हलुङ्गो भएको आज । साँच्चै नै प्रकृतिसँग जोडिनुको आनन्द कति बेग्लै । जिन्दगीमा अरु केही गर्न सकिएन । अब वन मान्छे भएर यो जुनी काट्नुपर्छ के हो ? आँखा मिच्दै मन मनै भन्छ ऊ ।
ला… ला.. ला… हुँ… हुँ… हुँ… हिजोको त्यो मीठो स्वर फेरि उसको कानसम्म आइ ठोक्कियो ।
हैन, यो भाका हिजो पनि गुञ्जीएको थियो । फेरि आज त घामको पहिलो किरणसँगै पो आयो त । यो भाका गुनगुनाउने पक्कै पनि यतै कतै बसेको हुनुपर्छ । यति सोच्दै ऊ त्यही भाका गुनगुनाउनेको खोजीमा लाग्यो ।
साँझ पर्नै लागेपछि मात्र उसले भाका गुनगुनाउनेलाई फेला पार्यो । उनको मुहार देख्ने बित्तिकै ऊ भावविह्वल भएर रुन थाल्यो । धन्य भगवान ! यो पाली चाहिँ तिमीले म अनाथमाथि न्याय गर्यौ । मेरो पीडालाई बुझ्यौ । धन्य भगवान ! मलाई खुसी तुल्यायौ । तिमीलाई म दुखीको कोटि कोटि प्रणाम !
मङ्गली ! एकोहोरो भएर टोलाइरहेकी मङ्गलीलाई सुस्तरी बोलायो उसले ।
मङ्गली केही बोलिनँ । वर्षौंपछि भेटेको दाजुलाई एकोहोरो हेरिरही । उनको आँखामा खुसीको महासागर नाचिरहेको थियो ।
दादा… निकै बेरपछि बडो मीठो आवाजमा बोली ऊ ।
तँ यहाँ कसरी मङ्गली ? लामो लामो सास फेर्दै मंगलले सोध्यो ।
कथा निकै लामो छ । यी कुरा पछि गरौंला । बरु तपाईं कहाँ बस्नुहुन्छ ? के गर्नुहुन्छ ? लामो सास फेर्दै मङ्गलीले सोधी ।
ढिला नगरी मंगलले आफ्नो सबै कथा सुनायो । कथा सुनेर मङ्गली कत्ति पनि विचलित भइन । बरु भन्न थाली ।
यो मानव चोला हो दादा । दुःख सुख पाउनकै लागि धरतीमा हाम्रो जन्म भएको हो । दुःख बिनाको जिन्दगी त खै के जिन्दगी । हामी हाम्रो आफ्नो मात्रै दुःख देख्छौं । अरूको देख्दैनौं । वास्तवमा तपाईंलाई जस्तो छ अरूलाई पनि त्यस्तै छ दादा । हाम्रो सानो आँखाले यो सिङ्गो ब्रह्माण्डको कथा ब्यथा देख्न सक्दैन । मुस्कुराउँदै उसले भनी ।
मंगलले उनको कुरामा ध्यान दिएन । बरु भन्यो, हिँड जाऊ कतै एउटा डेरा खोजेर बसौंला । अब त तँ मेरो साथमा छेस् । तेरो लागि यतै केही दुःख गर्छु । नभए परदेश गएरै भए पनि तँलाई ठूलो गायिका बनाउँछु । अचेल त निकै मीठो गाउन थलिछस् । खुसी हुँदै मंगलले भन्यो ।
मेरो लागि त्यस्तो केही दुःख नगर्नु । म त भिक्षुणी भइसकेकी छु । अब मलाई सांसारिक बस्तुप्रती कुनै मोह छैन । फेरि म त्यस्तो मीठो गीत गाउने पनि भएकी छैन । भ्रममा नपर्नु । त्यो गीत अरु नै कसैले गाएको हो । मुस्कुराउँदै मङ्गली भन्छे ।
त्यसोभए कसको हो त त्यो आवाज ? मंगल अचम्ममा पर्छ ।
अरु कोही नभएर ऊ पनि हामी जस्तै दुःखी चेली हो । उनको पनि यस संसारमा अरु कोही छैनन् । बरु यिनको लागि भने तपाईंले जे जस्तो दुःख गरेपनि तपाईंको परिश्रम कहिल्यै खेर जाँदैन । जरुर उसको मीठो स्वरलाई सारा संसारमाझ पुर्याउनु छ । भाका गुनगुनाउनेतिर इशारा गर्दै मङ्गली भन्छे ।
मंगललाई हेरेर सुस्तरी ऊ मुस्कुराई । उनको मुस्कानमा मंगल अचानक एकोहोरो भयो । उसले सारा संसार बिर्सियो ।
…
झण्डै पाँच वर्षको संगतपछि मंगल र जूनुले पशुपतिलाई साक्षी राखी सँगै जिउने मर्ने प्रण गरे ।
विवाहअघि जूनुको लागि मंगलले आफ्नो बलबुताले भ्याएसम्म सङ्घर्ष गरेको थियो । पढाइलाई पनि स्नातक तहसम्म पुर्याएको थियो । जागिरको लागि भौँतारिदा कयौं जोडी जुत्ता फटाएको थियो । उसले जे सपना बोकेको थियो, त्यो कहिल्यै साकार भएन । यही निरासाको चंगुलमा फसेपछि ऊ देश छोड्ने योजनामा लागेको थियो ।
जूनुुले भने उसलाई परदेश नजान भनिरहेकी थिइ । बरु म गाउँदिन । आफ्नो कलालाई यत्तिकै थाती राखिदिन्छु । नाथे यै स्वरको लागि किन यस्तो दुःख । भो अब सामान्य जिन्दगीमा फर्कन्छु । गीत नगाए पनि बाँच्न त सकिन्छ क्यारे । आँखाभरि आँसु बनाइ हरेक भेटमा जूनु भक्कनिन्थि ।
हैन ! यो परमात्माले दिएको महान् र सुन्दर उपहार हो । यसको तिमीले सदुपयोग गर्नै पर्छ । यो मीठो आवाज सारा संसारलाई सुनाउनै पर्छ । नत्र भने परमात्मामामाथि अन्याय हुन्छ । फेरि यति मीठो उपहार हतपत कहाँ पाउन सकिन्छ र ? चिन्ता नगर तिम्रो कलाको खातिर मेरो ज्यानै किन नजाओस् । म तिम्रो यति मीठो आवाजलाई त्यसै खेर जान दिने छैन । सम्पतिले कति बाँच्छ र मान्छे, जति ऊ उसको प्रतिभाले बाँच्छ । जूनुलाई फकाउँदै मंगल भन्थ्यो ।
जूनु त्यति दुःखी कहिल्यै भएकी थिइनँ, जति दुःखी ऊ आज हुँदैछे । जसले उनलाई संसारकै सारा खुसी दियो, त्यही नै आज उनलाई छोडेर बिरानो देशमा उड्दै थियो । उनलाई एक्लो छोड्दै थियो । यतिविघ्न माया गर्ने मान्छेलाई परदेश पठाउँदा आफ्नै मीठो स्वरसँग एकफेर उनलाई बेस्सरी रिस उठ्यो । यै स्वरको कारण त यतिविघ्न माया गर्ने मान्छे भेटेँ । भो यो निर्दोश स्वरलाई के गाली गर्नु बित्थामा । एयरपोर्ट छिर्दै गर्दा उसले सोचि ।
राति नौ बजे मंगल कतार उड्यो ।
आकाशमा उड्दै गर्दा उसले भावविह्वल भै जूनु रोएको सम्झ्यो । उपचार नपाएपछि रोगको पीडाले छट्पटाइ आमाले संसार छोडेको सम्झ्यो । बहिनीसँग छुट्टिदाको तीतो क्षण सम्झियो। आफू खेलेहुर्केको घर आँगन सम्झियो । आफूलाई हुर्काउने मालिक सम्झ्यो । मुगलान छिर्नुअघि बाबाले दिएको दुई रुपैयाँको नोट अझै उसको साथमा थियो । त्यो नोट चुमी निक्कै भक्कानियो, ‘कतै मेरो पनि बाको जस्तै हालत हुने त हैन ! त्यसो भो भने त मेरी जूनुको सपना कसले पूरा गरिदेला !’
आफ्नो सपनाको लागि पनि देश छोड्नुपर्ने ! माने प्रभु ! तिम्रो लीला अपार रहेछ । आँखाभरि आँसु बनाइ प्लेनको झ्यालबाट पुलुक्क काठमाण्डौंलाई हेर्छ मंगल ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

