बदमास

उसले बदमास कहिल्यै देखेको थिएन, केवल सुनेको थियो । उसको एउटा मित्र थियो, जो उसलाई बदमासका कथाहरू सुनाउने गर्दथ्यो । ऊ विभिन्न नाउँ लिएर मान्छेका एकसेएक बदमासी बयान गर्दथ्यो । त्यसले गर्दा उसको मित्र उसलाई राम्रो मित्र ठान्दथ्यो । मित्र असल थियो । असल देखिन्थ्यो । एक पटक उसले के गर्यो भने आफ्नो मित्रलाई नीच साबित गरेर जीवन व्यतीत गर्ने निर्णय गर्यो । त्यसले गर्दा उसको दिनचर्यामा अन्तर आयो । उसले आफ्नो कार्यक्रमहरू फेर्यो र उसको मित्र जसलाई बदमास मान्दथ्यो, तिनीहरूसितै सामेल भयो । त्यसपछि उसको जीवन त राम्ररी चल्न थाल्यो । तर उसको मित्र उद्वेलित भयो । कारण, मित्र बदमास थिएन । बदमास नभएको मित्रलाई बदमास साबित गर्दै जीवन बिताउन थाल्यो । अन्त्यमा के भयो भने जीवन उसको पनि बिग्रियो र मित्रको पनि बिग्रियो ।

अन्त्यमा थाहा भयो, उसलाई केही बदमासहरूले किनेका रहेछन्, मित्रले फेरि बदमासको कथा नहालोस् भनेर ।

***

मृग

एउटाले भन्यो- “मलाई वनजङ्गल, हरिया कुराहरू मन पर्दछन् ।”

उसले सोध्यो- “पुस्तकमा कि वास्तविकतामा ?”

अर्कोले भन्यो- “मलाई मान्छेहरू मन पर्दछन् ।”

उसले सोध्यो- “प्राचिन युगका कि अहिलेका ?”

तेस्रोले भन्यो- “मलाई सपना मन पर्दछ ।”

उसले सोध्यो- “देखिने कि नदेखिने ?”

चौथोले भन्यो- “मलाई माया मन पर्छ ।”

उसले सोध्यो- “सांसारिक माया कि कुनै माया भन्ने केटी ?”

पाँचौँले भन्यो- “मलाई सर्पसँग घीन लाग्छ, बाघसँग डर लाग्छ । जनावरहरूमा मलाई सबभन्दा बढी मृग मन पर्छ ।”

उसले सोध्यो- “रक्सीसित कि भातसित ?”

***

तिर्खा

पानी कसरी खाने ? त्यो उसलाई थाहा भएन । जीवनमा पानी नपाउनु एउटा सजिलो कुरा भएको थियो । पानी कि त सपनामा स्वच्छ पाइन्थ्यो, कि विदेशमा कि ठूलाठूला होटेलमा । विदेश जानु कठिन थियो । त्यस कारण एक दिन ऊ एउटा ठूलो होटेलमा पसिदियो ।

उसले भन्यो- “म तिर्खाएको छु ।”

होटेलवालाले सोध्यो- “कुन प्रकारले तिर्खाउनुभएको छ ?”

उसले भन्यो- “तिर्खा एकै प्रकारको हुन्छ, त्यसैअन्तर्गत तिर्खाएको छु । मलाई पानी चाहियो ।”

होटेलवालाले भन्यो- “पानी त्यसै पाइन्न ।”

उसले सोध्यो- “त्यसै पाइने के छ त ?”

त्यसले भन्यो- “आतिथ्य ।”

उसले सोध्यो- “आतिथ्यमा पानी पर्दैन ?”

होटेलवालाले भन्यो- “पानीबाहेक अरू जे पनि पर्न सक्छ ।”

उसले भन्यो- “आतिथ्य भनेको जे हो, त्यही देऊ ।”

त्यसपछि होटेलवालाले उसलाई एउटा बिल दियो ।

बिलमा लेखिएको थियो- “पानी मागेको चार्ज रु. ५०।”

ऊ बिल तिरेर पुनः पानीको खोजीमा हिँड्यो ।

***

छाड्नु

रात बितेकोले उसलाई निद्रा लागेन । निद्रा नलागेकोले रात बितेको थियो । रातभरि ऊ आफ्नी प्रेमिका र उसलाई कसरी धोका दिएर भाग्ने, यही कार्यक्रम बनाइरह्यो । कारण, ऊ प्रेमिका फेर्दै जीवनको सार्थकताको बोध गर्नमा खप्पिस थियो । यस पटक प्रेम अलिक बढी लम्बिएको थियो । यो प्रेमिका बढी राम्री भएकीले अझ त्योभन्दा पनि छाड्दै नछाड्ने प्रकारकी भएकीले त्यस्तो भएको थियो ।

रातभरि नसुतेर सोच्दा उसलाई लाग्यो, एक त तिनीहरू भागेरै त्यहाँ पुगेका थिए । त्यसमाथि अब फेरि भाग्ने योजना ऊ बनाउँदै थियो । यसपटक प्रेमिकाबाट भाग्ने ।

राति जुरुक्क उठेर ऊ बाहिर निस्क्यो । हिँडेर अर्को बस्तीमा पुग्यो । एउटा सानो कटेरामा बास माग्यो । सुत्ने बेलामा उसले अचम्मसित देख्यो, उसकी प्रेमिका पनि त्यहीँ बास मागिरहेकी थिई । दुवै एकअर्कालाई देखेर हाँस्न थाले । बास दिनेलाई सजिलो भयो । तिनीहरू एकै कोठामा सुते ।

सुत्ने बेलामा उसले सोध्यो-  “तिमी यहाँ कसरी आइपुग्यौ ?”

प्रेमिकाले हाँस्दै भनी- “म पनि तिमीलाई छाड्न चाहन्थेँ ।”

उसले भन्यो- “त्यसो भए अब यो बुझ्नुपर्ने बेला आएछ, छाड्नु पनि निरर्थक हुँदो रहेछ ।”

***

श्रीमती

ऊ आउन ढिलो भयो । उसकी श्रीमती चिन्तित भई, कतै उसको दुर्घटना त भएन ? तिनीहरूलाई कतै कुनै निमन्त्रणामा जानु थियो । उसले आफ्नी श्रीमतीलाई एक ठाउँमा उभिन भनेको थियो । श्रीमती चिन्तित थिई र उसले भनेको ठाउँमा उभिन भनेर हिँडी । ऊ त्यो ठाउँमा गयो । त्यहाँ थाहा भयो, उसकी श्रीमती, श्रीमानको दुर्घटनाका लागि चिन्तित श्रीमती, फेला परिन । त्यसपछि ऊ आफ्नी श्रीमती खोज्न हिँड्यो । भनिन्छ, उसले आजसम्म आफ्नी श्रीमती फेला पार्न सकेको छैन ।

***

वर्ष

ऊ आफूलाई धेरै दिनदेखि तन्मन हरिटाट ठानेर घरबाहिर निस्किन सकिरहेको थिएन । घरबाहिर पाइलो टेक्नासाथ पैसा आवश्यक पर्दथ्यो । भोक बढ्दथ्यो, प्यासमा वृद्धि हुन्थ्यो । घरभित्र जति भोको बसे पनि एक्लो हुनाले साक्षीप्रमाण हुँदैनथ्यो । भोको नभएको प्रमाणित नहुनु पनि उसलाई देशको एउटा महान् इन्तिजाम लाग्दथ्यो । एक दिन उसले कुनै धर्मग्रन्थ पढेर आत्मालाई शान्त पार्न खोज्यो । आत्मा शान्त भएन, त्यस कारण ऊ ग्रन्थका पानाहरू छिटोछिटो पल्टाउन थाल्यो । उसले सुनिराखेको थियो, धर्मग्रन्थमा आत्मालाई शान्त तुल्याउने अद्भुत शक्ति हुन्छ । त्यस कारण ऊ त्यस्तो शक्तिशाली स्थल ग्रन्थभित्र खोज्न थाल्यो । एक्कासि ग्रन्थको बिचमा, एउटा १००० रुपियाँको नोट उसले देख्यो । उसलाई तत्काल स्मरण भयो, त्यो नोट उसले आफ्नी स्वास्नीसँग लुकाउनलाई ३३ वर्षअघि त्यहाँ राखेको थियो । ऊ अत्यन्त प्रसन्न भयो । थकथक पनि मान्यो, आज ३३ वर्षदेखि ऊ यो नोटको धनी थियो । यसले उसको सङ्घर्षमा कमी पनि गराउने थियो । ऊ भने आफू ३३ वर्षदेखि त्यो नोटभन्दा अत्यन्त हीन हैसियत भएको मानिस बनेर सङ्कटग्रस्त भएर बसिरह्यो । नोट लिएर तत्काल बाहिर निस्क्यो । त्यसपछि उसले मान्यो, धर्मग्रन्थमा आत्मालाई शान्ति दिने शक्ति हुँदो रहेछ ।

***

हाकिम

ऊ ऋण लिन हाकिमकहाँ गयो ।

हाकिमले सोध्यो- “अस्ति भर्खर तिमीले तलब बुझेका थियौ, यति चाँडो ऋण किन चाहियो ?”

उसले भन्यो- “तलबको पैसाले चामल किने सर ।”

हाकिमले सोध्यो- “केवल चामल किन्यौँ ?”

– “तलबको पैसा काटेर आउँछ सर ।”

– “किन काटिन्छ ?” हाकिमले सोध्यो ।

उसले जवाफ दियो- “ऋण लिएकोले ।”

– “अब ऋण किन लिएको भन्दा फेरि भन्ने होला, चामल किन्नलाई, होइन ?”

– “होइन सर, त्यो ऋण मैले साथीको पुरानो ऋण चुक्ता गर्नलाई लिएको थिए ।”

– “यो ऋण नि ?” हाकिमले सोध्यो ।

उसले भन्यो- “यो ऋण लिन लागेको हुँ, एउटा अर्को साथीलाई ऋण दिनलाई ,”

– ” तिम्रो कसरी चल्छ त ?” हाकिमले सोध्यो ।

उसले जवाफ दियो- “हाम्रो यसै गरी चल्छ सर ।”

त्यसपछि हाकिमले ऋण दिने तोक लगाइदियो ।

***

सुपुत्र

उसले गाडीमा ब्रेक लगाइरहेको मानिसलाई देखाउँदै सँगै हिँड्ने मानिसलाई सोध्यो- “के हो त्यो ? “

मानिसले भन्यो- “रेडियो-टेलिभिजनमा आइरहने मानिस हो ।”

– “अरू परिचय ?”

– “देशको सुपुत्र हो ।”

– “सुपुत्र कसरी, प्रजातन्त्रले गर्दा ?”

– “प्रजातन्त्रको रोमान्टिक भोगले गर्दा ।”

– “मान्छे, विद्रोहीजस्तो छ नि त ?”

– “हो”, हिँड्नेले भन्यो- “देशमा दुई प्रकारका नमुना प्राप्त छन् । एक थरी भोटद्वारा भ्रष्ट हुने, अर्का थरी त्यो भ्रष्टसँग कुममा कुम मिलाएर हिँड्न खोज्ने । कुम मिलाउन नपाउनेहरू विद्रोही बन्छन् ।”

उसले सोध्यो- “त्यसो भए, तिनमा अन्तर के छ ?”

मानिसले भन्यो- “अन्तर छ । एउटा देश र जनता भन्छ, अर्को जनता र देश भन्छ ।”

उसले आफूलाई छामेर हेर्यो । ऊ भविष्यमा कुन नमुनाको प्रजाति बन्ला ?

***

कवि

त्यहाँ कुनै बखत बगैँचा हुदो हो । अब ढुङ्गा-रोडा ओछ्याएर त्यसलाई अत्यन्त रमणीय र मनुष्यले सङ्गत गर्ने लायक बनाइएको थियो । बगैँचाको जमानाका बेन्चहरू थिए । त्यसैमा बसेर एउटा कवि कविता लेखिरहेको थियो । ऊ केवल आकाशतर्फ हेर्दथ्यो, जहाँ बादलसमेत थिएन । त्यसपछि कविता कोर्दथ्यो । त्यतिकैमा केही मानिस आएर केटीलाई निर्वस्त्र तुल्याए, बलात्कार गरेर हिँडिदिए । त्यस बखत शारदीय घामले गर्दा वस्त्रविहीन भए पनि केटीलाई न्यानोपनको अनुभव भइरह्यो । तैपनि त्यसले रुँदैरुँदै आफ्नो तनलाई वस्त्रले ढाकी । कवि त्यो दृश्य हेरिरहेको थियो । त्यो काव्यसाधनामा तल्लीन नै रह्यो ।

उसले सोध्यो- “त्यो मानिस त्यस्तो दृश्यमा किन त्यसरी बसिरह्यो ?”

जवाफ दिनेले भन्यो- “त्यो मानिस कवि हो । बलात्कृत केटी त्यसकी बहिनी हो । तर यो कविसँग भोक, प्यास, निद्रा, प्रेमिका केही पनि छैन । त्यस कारण त्यो जे देख्छ, अनुभव गर्दैन, जे अनुभव गर्दछ, त्यो देख्दैन ।”

-“त्यसो भए कविता किन लेख्दछ ?” उसले सोध्यो ।

जवाफ दिनेले भन्यो- “जीवनमा सरसता आउने आशाले ।”

***

समाधान

कथा कसरी समाप्त पार्ने उसको समस्या थियो । ऊ एउटा कथा लेखिरहेको थियो, जसमा उसकी प्रेमिका र उसकी पत्नीबिचको द्वन्द्व थियो । एउटा समाधान झिक्नु थियो । अन्त्यमा उसले समाधान कसरी झिक्यो भने उसले आफ्नो त्यो कथालाई च्यातेर फ्याँकिदियो ।

(ध्रुवचन्द्र गाैतमकाे सूत्र उपन्यास ‘फूलकाे आतङ्क’बाट)