रुद्रकुमार ‘प्यासी’ का एक हितैषी मित्र हुन् शरद धनकुटे । रुद्रलाई ‘प्यासी’ उपनाम उनै धनकुटेले राखिदिएका थिए । त्यो किन रे भने, त्यस्तो उपनामधारी युवकलाई युवतीले अत्ति नै मन पराउँछिन् । समकक्षीको कुरा सुन्दा नै रुद्रकुमारको आङमा काउकुती लागेको थियो त्यतिखेर ।

एकदिन धनकुटेले प्यासीलाई शिशिर सरसँग भेट गराइदिए । शिशिर सरको सम्पादनमा ‘निर्मल साहित्यिक पत्रिका’ प्रकाशन हुँदै आएको थियो, जुन त्रैमासिक थियो । उनले उक्त पत्रिकाको कार्यालय कर्मचारी युनियनको एक कोठामा राखेका थिए ।

धनकुटे र प्यासी पुग्दा शिशिर सर निर्मल त्रैमासिकको कार्यकक्षमा थिए र एक युवतीसँग कफी गफमा मस्त थिए । तिनी थिइन्, कवयत्री मञ्जिला ‘परी’ । तिनी पनि कतै जागीरे थिइन् ।

शिशिर सरभित्र भावनाका छालहरू उत्पातसँग उर्लिरहेका थिए । अटेसमटेस किसिमले प्रश्नका पर्राहरू छुटिरहेका थिए

– ‘अँ त ‘परी’ जी, मेरा कृतिहरूमा पनि दृष्टि लगाउनु भएकै होला । मन विचरण गराउनु नै भएको होला । कस्तो लाग्यो मेरो नयाँ कृति ?’

– ‘मैले शिशिर सरका सबैजसो कृतिहरू पढेकी छु । बहुतै सरसिला छन् । अहिलेको किताब त झनै राम्रो लाग्यो । ठूलै पुरस्कार हात पर्लाजस्तो छ सर !’

– ‘साँ..साँच्चै हो र भन्या ?’

सरको आशक्तिको बिरुवा झन्झन् हलक्कियो ! कवयत्री परीको शान पनि कमको थिएन । तिनी सुनाइरहेकी थिइन् ।

– ‘सम्पादकहरूले मसँग गजल, कविताहरू मागेर हैरान पार्छन् । अब सबै कविताहरू कलेक्सन गरेर एउटा पुस्तक प्रकाशन गर्ने ठूलो धोको छ तर…।’

– ‘म भएसम्म किन चिन्ता गर्छ्याै तिमी ?’

शिशिर सरले फुर्क्याइदिए । उनको अध्यक्षतामा ‘निर्मल वाङ्गमय प्रतिष्ठान’ नामको एक साहित्यिक संस्था स्थापित थियो । सोही संस्थाबाट शिशिर सरका पुस्तकहरू प्रकाशन हुँदै आएका थिए । त्यही संस्थाबाट परीको पहिलो कवितासङ्ग्रह पनि छापिदिने आश्वासन दिए ।

कवयत्रीको खुट्टा भुइँमै थिएन । तपसिलका कुराहरू गरिरहने वातावरण थिएन त्यहाँ । त्यही भएर तिनी नमस्कार गरेर बाहिरिइन् । धनकुटेचाहिँ प्यासीको काखीमा औँलाले कोट्याउँदै थिए । त्यसको मतलब थियो, ‘परीसँग सङ्गत गर्नू ।’

बल्ल शिशिर सरको ध्यान दुई कर्मचारी भाइहरूतिर सोझियो । दुवैले नमस्कार गरे । शिशिर सरले हात मिलाए । यद्यपि मन सुकिलो थिएन । प्यासीले आफ्नो छोटो परिचय दिए र विश्वस्त पार्ने कोसिस गरे— ‘हजुरले मलाई पनि कामको जिम्मा दिनुहुन्छ भने म सहयोग गर्नेछु । मलाई थाहा छ, साहित्यिक पत्रिका बिक्तैन । तर यहाँले धन्दै मान्न पर्दैन । सम्झिनोस् कि पत्रिकाका लागि विज्ञापन पनि आयो र आजीवन सदस्य सङ्ख्या पनि पाँच हजार पुग्नेछन् सम्पादक महोदय ।’

बल्ल शिशिर सरको अनुहारमा घाम लाग्यो । उनले छोटकरीमा प्रकाश पारे— ‘भाइहरूजस्तै अन्य मित्रहरूको सहयोग र प्रेरणाबाट हौसिएर मैले ‘निर्मल वाङ्गमय प्रतिष्ठान’ स्थापना गरेको छु । मेरो होस्टेमा हैँसे गरिदिनुभयो भने तपाईंजस्ता नव प्रतिभाहरूको पनि साहित्यमा ठूलो प्रगति हुनेछ ।’

नभन्दै शिशिर सरले ‘निर्मल’ को अर्को अङ्कमा प्यासीको एक कविता छापिदिइहाले । सोही अङ्कमा कवयत्री परीको गजललाई पनि स्थान दिएका थिए । त्यसो त निर्मलको हरेक अङ्कमा परीको एउटा रचना त छापिएकै हुन्थ्यो ।

शनिबार दिउँसोतिर प्यासी निर्मल वाङ्गमय प्रतिष्ठान पुगे । त्यतिखेर शिशिर सर चारजना नारीरत्नहरूको बीचमा आफ्ना कर्मठ बाहुहरू फैलाएर बसिरहेका थिए । यस्तो लाग्थ्यो, कुनै मलेवा पँखेटा फिजाएर सूर्यस्नान गरिरहेको होस् ।

एउटी त कवयत्री परी भैहालिन् । अरू तीनजना पनि नवोदित नारी साहित्यकारहरू नै थिए । प्यासीका लागि परी परिचित थिइन् । त्यो दिनको देखादेखपछि केही पटक प्रज्ञा भवनतिर भेटघाट भैसकेको थियो र मोबाइल नम्बर पनि आदान—प्रदान भएका थिए । त्यसैगरी केही पटक सँगै खाजासाजा खाने कर्महरू पनि सम्पन्न भैसकेका थिए ।

प्यासीलाई देख्नासाथ शिशिर सर सम्हालिए अनि घुम्ने मेचतिर सरे । प्यासीले आफ्ना कृतिहरू सरको टेबुलमा राखिदिए । उनले एउटा कृति उठाएर हेरेजस्तो मात्र गरे ।

अध्यक्षको कुरा सुन्दा यस्तो भान हुन्थ्यो, प्यासीको आगमनले प्रतिष्ठानको काममा ठूलै वाधा पुगेको छ । प्यासीले उसै दिन शिशिर सरको मनोविज्ञानलाई आफ्नो मनको तराजुमा तौलिसकेका थिए । अध्यक्ष एकदमै महत्त्वाकाङ्क्षी छन् । लोभी त हुने नै भए ।

प्यासी सुनाउँछन्— ‘यो वाङ्गमय प्रतिष्ठानका लागि मैले एक ठाउँमा उपयुक्त जग्गा हेरर आएको छु अध्यक्ष महोदय । यदि यहाँले आफ्नो विभागीय मन्त्रीजीसँग एक पटक मात्र भलाकुसारी गर्नुभयो भने उक्त जग्गामा निर्मल वाङ्गमय प्रतिष्ठानको भवन निर्माण हुन सक्छ ।’

– ‘आहा ! यो त बहुतै सुन्दर समाचार आयो सर !’

अध्यक्षलाई पछाडि पार्दै परी आल्हादमय स्वरमा बोलिहालिन्, ‘सरकारले जग्गा दियो भने त हाम्रो वाङ्गमय प्रतिष्ठानको घर चाँडै नै बन्छ नि सर । हाम्रो आफ्नै घर भयो भने त शटर भाडामा लगाएर पनि आम्दानी गर्न सकिन्छ र त्यसपछि त…!’

– ‘भो ! अहिल्यै यस्तरी हौसिहाल्न चाहिँ छोडौँ होला कवयत्रीज्यू !’

प्यासीले वास्तविकताको विश्लेषण गर्न थाले— ‘प्रतिष्ठानको भवन बनाउन त्यत्तिको सजिलो चाहिँ छैन है । भुइँचालोको राहत रकमले टहरो निर्माण गरेजस्तो हो र । परीजीको अभिव्यक्ति सुन्दा कस्तो लाग्यो भने नि— कविता कोर्न पाएको छैन, पुस्तक छपाउन हतार गरेजस्तो पो भो !’

कवयत्री परी चुप लागिन् । अरू नारीहरू केही बोलिरहेका छैनन् । प्यासीजीका एक एक वाक्यहरूलाई ध्यानपूर्वक सुनिरहे । शिशिर सरको अनुहारमा एकाएक चमक देखापर्यो । उनले मेचलाई फननन्न घुमाए । प्यासीले निर्मललाई त्रैमासिकबाट मासिक बनाउन सक्ने उपाय पनि बताए । त्यसका लागि उनीसँग गतिलो कार्य—योजना थियो ।
नभन्दै एकै वर्षमा निर्मल साहित्यिक पत्रिका मासिक बन्यो र नाफामा प्रकाशन हुन थाल्यो । त्यसका लागि प्यासीको सबैभन्दा बढी अथक प्रयास थियो । प्यासीकै जोडबलमा पत्रिकाको अफिस निवाप्रकै डेरामा सारिएको थियो ।

त्यस कार्यमा प्यासीलाई परीले साथ दिएकी थिइन् । त्यही साथलाई प्यासीले ‘प्रेम बसेको’ मान्न थालेका थिए तैपनि परीले प्रेमबारे केही कुरा बताउन सकेकी थिइनन् । तिनी त आफ्नो पुस्तक प्रकाशन गर्ने धूनमा लागेकी थिइन् ।

एक दिन अफिसको चमेनागृहमा प्यासी र धनकुटेबीच मीठो भलाकुसारी भयो । कवयत्री परीसँग आफ्नो हिमचिम बढ्नाको श्रेय धनकुटेलाई नै दिए, कवि प्यासीले । त्यसको सुखद् उपलक्ष्यमा एक महिनाको खाजाको उधारो रकम आफैले भुक्तानी गरे ।

तर त्यही बीचमा एक दिन अफिस पुगेर कुर्सीमा बस्न नपाउँदै कवि प्यासीले नमिठो कुरा सुन्नुपरेको थियो । उक्त खबरका सूत्रधार थिए, लेखापाल अखिलेश दरै । उनी बाहिरी जिल्लाबाट सरूवा भएर आएको केही हप्ता मात्र भएको थियो ।

दरै सर सुनाउँदै हुन्छन्, ‘मेरो कुरा बुझ्नुभयो हैन कविजी ? मेरो कुरा मान्नुहुन्छ भने आजैदेखि निर्मलको कामबाट हात झिकिदिनोस् । नत्र पछि तपाईं पनि जेल पर्नु होला । शिशिर सर बाहिरबाट हेर्दा मात्र भलादमी देखिन्छन् । तर विचार त खत्तम छ नि तिनको !’

– ‘खै सर । मलाई त त्यस्तो लाग्दैन ।’

प्यासीले अपत्यार गर्दै विवेचना गरे, ‘एक त हाम्रा हाकिम । त्यसमाथि पत्रकार, प्रकाशक, प्रधान सम्पादक । अझ सबैभन्दा ठूलो कुरो त वरिष्ठ साहित्यकार एवं प्रतिष्ठित वाङ्गमय प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनले पाएका सम्मान र पुरस्कारको कुरा त बेग्लै छ दरै सर !’

दरै सरले आफूले पाएको भुक्तमानबारे सङ्क्षिप्त चर्चा गरिदिए, ‘मैले पनि एक समयमा शिशिर सरसँग बाक्लै सङ्गत गरेको हुँ कविजी । एक प्रकारले भन्ने हो भने म पनि लेखक हुँ । मेरा थुप्रै निबन्धहरू राष्ट्रिय पत्र—पत्रिकाहरूमा समेत प्रकाशित छन् ।’

– ‘अँ, अनि ?’

प्यासीको मनमा बेग्लै प्रकारको जगुप्सा उब्जियो । लेखक अखिलेशले खास कुरा बताए, ‘मैले शिशिर सरको पीरमर्का बुझेको थिएँ । पत्रिका घाटामा चलिरहेको थियो । मैले पनि गोजीको पैसा हालेर निर्मललाई निरन्तरता दिन ठूलो सहयोग पुर्याएको थिएँ । तर अफसोस…!’

निबन्धकार अखिलेशले नेपाली साहित्यको उन्नयनका खातिर निकै दौडधूप गरेका थिए । सबैभन्दा ठूलो कुरो त निर्मल वाङ्गमय प्रतिष्ठानको योजनाकार नै अखिलेश थिए ।

कुरा सुन्दै जाँदा प्यासीको आश्चर्यभावले पराकाष्ठा पार गर्यो ! उनी बसेकै कुर्सीमा लगलग काँप्न थाले । यत्ति राम्रा मान्छेलाई किन जिल्ला सरूवा गर्न लगाए त शिशिर सरले ?

एक त शिशिर सरले सरकारी कार्यालयलाई ‘प्रकाशन गृह’ को रूपमा उपभोग गर्दै आएका थिए । त्यसमा अखिलेशको आपत्ति थियो । दोस्रो, कर्मचारी युनियनलाई आफू र आफ्ना झोलेहरूको पदोन्नतिको सिँढी बनाएका थिए । त्यसको विरुद्धमा त अखिलेशले विभागीय प्रमुखलाई नै गुहारेका थिए ।

त्यसरी नियम र कानुनको पक्षमा वकालत गरेकै निहुँमा अखिलेश र शिशिर सरको सम्बन्धमा दरार पैदा भयो । कर्मचारी युनियनका प्रभावशाली नेतालाई कसले छुन सक्थ्यो र । उल्टै अखिलेशलाई नौ डाँडापारिको जिल्लातिर सरूवा गराइदिए ।

करिब चार वर्षको अथक प्रयासपछि निर्मल वाङ्गमय प्रतिष्ठानका लागि घर किनियो । त्यो पनि अनुदान र चन्दाकै भरमा । शिशिर सरको नाक ‘टिप्न बिर्सिएको लौका’ जत्रो भएको थियो । नहोस् पनि किन, जब करोडौँको सम्पत्ति आफ्नो हातमा परेको थियो । निवाप्र त हात्तीका दाँत न हुन् !

संरक्षक आफ्नै स्वर्गीय माता—पिता । सञ्चालक समितिका पदाधिकारीहरू पनि आफ्नै नातेदारहरू । शिशिर सरको भित्री चरित्रबारे बुझेपछि प्यासीका पाइलाहरू निवाप्रको बाटोतिर सर्दै सरेनन् । हप्तौँसम्म जाँदै गएनन् ।

एक दिन शिशिर सरले फोनबाट भने, ‘धनकुटे भाइ ! अचेल के भैराखेको छ प्यासीलाई ? कतै दरैले त भड्काएन ? सम्झाइदेऊ न ।’

धनकुटेले कविजीलाई सम्झाए । कागको पछि दगुर्नुभन्दा पहिले आफ्नो कान छाम्नुपर्ने अभिव्यक्ति दिए । आफ्नो घनिष्ठ मित्रले भनेपछि छिनको छिनैमा कविजीको मन परिवर्तन भैहाल्यो ।

अन्ततः निर्मल वाङ्गमय प्रतिष्ठानको भवन भएको जग्गामा अर्को एक रोपनी जग्गा पनि गाभियो । उक्त पर्ती जग्गा सम्बन्धित नगरपालिकाले अनुदानस्वरूप प्रदान गरेको हो । करिब तीन रोपनी क्षेत्रफल ओगटेको जग्गाभित्र सुन्दर बगैँचा पनि छ ।

शिशिर सरले जागीरबाट अवकास लिए । अरूले देख्दा ‘नेपाली वाङ्गमयको सेवाका खातिर जागीर छाडिदिए’ भन्ने भयो तर वास्तविकताचाहिँ ‘सुत्केरीको नाउँ गरी टाउको मैले खाएँ’ भन्ने उखान सावित भइरहेको थियो ।

वर्षमा शिशिर सरको भागमा कम्तीमा पनि चार—पाँचओटा सम्मान र पुरस्कारहरू पर्दै आएका थिए । कुनै संस्थाले पत्रिकालाई पुरस्कृत गरिदिन्थे त कुनैले प्रतिष्ठानलाई । तथापि, शिशिर सर सङ्कुचित मानसिकता पालेर बसेका थिए ।
अति भएपछि प्यासीले कड्केर सोधे, “सम्पादकज्यूले ‘ढलेको श्रीपेच’ शीर्षकको मेरो कवितासङ्ग्रह किन छाप्नु भएन भन्नोस् त ? अझै पनि सामन्तहरूलाई खुसी पार्न चाहनुहुन्छ तपाईं ?”

– ‘जाबो एउटा, दुइटा कृतिको मालिक भइटोपल्दैमा सबै कुरामा निर्पूण छु भन्ने घमण्ड नगर्नोस् न प्यासी भाइ !’

सम्पादकले आफ्नो प्रभुत्व देखाइदिए, ‘निवाप्रमा आएजति सबै पुस्तक छाप्नैपर्छ भन्ने वाध्यता छैन नि प्यासीजी । उपयुक्त र राम्रा भए छापिन्छन् । नभए..।’

प्यासीले लेखेका एक कविता पनि छापिएन, निर्मल मासिकमा । शिशिर सरले के खोट देखेछन् र स्वतन्त्रताको काफलगेडी खानबाट वञ्चित गर्न थाले ?

कविजी स्पष्टीकरण दिँदै भन्छन्— “बुझ्नुभयो सम्पादक महोदय ? मेरो त्यो ‘मलाई पनि महाराज भनाउन मन लाग्यो’ शीर्षकको कविताको मुख्य भाव के थियो भने, यदि हामी सबैले आफूलाई राजा घोषणा गरिदिने हो भने कसै—कसैकोे भ्रम टुट्नेछ र आफ्नो औकातमा बस्नेछन् ।”

बोल्ने क्रममा प्यासी झनै रन्किए, ‘तर हजुरजस्ता पत्रकारको नाजायज चाकरीले गर्दा देशको चौथो अङ्गको धज्जी उडिरहेको छ शिशिर सर ! अहिले त लोकगणतान्त्रिक सङ्घीय शासन छ नि हैन र सम्पादक महोदय ?’

– ‘तिमी निकै जान्ने भएछौ प्यासी भाइ !’

शिशिर सर कुतर्क गर्न थाले, ‘यहाँ न नेता चोखा छन् । न त छन् कुनै दल नै । न त प्रशासक इमान्दार छन् । न त साहित्यकार, प्राज्ञ वा प्राध्यापकहरू नै चोखा छन् । कोही विदेशीका चाकरदार छन् त कोही स्वदेशीका ।’

प्यासीलाई शिशिर सरको सङ्गत भारी भएको महसुस हुन थाल्यो । उनी एकजना पत्रकारको कार्यालयमा पुगे । उनी हुन्, सज्जनकुमार रम्तेल । उनको आफ्नै प्रेस छ । साहित्यिक मासिक ‘ममता’ का प्रकाशक एवं प्रबन्ध निर्देशक पनि हुन् उनी ।

प्यासीले शिशिर सरलाई अदालतको कठघरामा उभ्याउने कसम खाएका थिए । त्यही भएर केही प्रमाणहरू लिएर गएका थिए तर ती बेकामका ठहरिए ।

रम्तेल सर भन्छन्, ‘के फरक पर्छ यस्ता कुराले ? जमाना अहिले चोर, फटाहाहरूकै त छ प्यासीजी । बरु तपाईं पनि शिशिर सरलाई रिझाउनोस् र एउटा कृति छपाइहाल्नोस् । निवाप्र तपाईंको पनि हो क्यारे । आफ्नै हात, जगन्नाथ ! हाहाहा…।’

एक्कासि प्यासीको कम्पारो तातिहाल्यो । उनी उत्तेजितिँदै बोले— ‘तपाईंले वर्गीय स्वार्थ हेर्ने कि विकृतिविहीन वर्ग निर्माण गर्ने रम्तेल सर ? शिशिरजस्तो कलङ्कलाई राष्ट्रको चौथो अङ्गभित्र सुरक्षा दिएर राख्न हुन्छ र ?’

अहँ, रम्तेल सरले स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता देखेनन् । प्यासी एकदमै निराश भए र उक्त कार्यालयबाट रित्तो हात लिएर फर्किए । उनले परीबाट पनि साथ पाएनन् बरु उल्टै तिनीसँगको सङ्गत नै छुट्न पुग्यो ।

साहित्यकार शिशिरले पछिल्लो पटक ‘गणतन्त्र कि गाँणतन्त्र’ शीर्षकको एक कृति लेखेका थिए । सधैँ झैँ त्यो पुस्तक पनि निवाप्रबाटै प्रकाशन गरे । बजारमा हल्ला चल्न थाल्योे, ‘गणतन्त्र कि गाँणतन्त्र’ पुस्तकले यो वर्षको ‘सौगात वाङ्गमय’ पुरस्कार प्राप्त गर्नेछ भनेर ।

समाचार र समीक्षाहरू पढेर प्यासीले धनकुटेसँग गुनासो गरे, ‘हेर त मित्र ! जुन पुस्तक दशजना अग्रज लेखकहरूका संयुक्त कृतिबाट मुख्य मुख्य अंशहरू चोरेर लेखिएको हो, सोही पुस्तकले प्रख्यात पुरस्कार पाउने भएपछि मजस्ता नवोदित कविहरूले बाँच्ने ठाउँ छ त ?’

मित्र कविको भनाइ सुनेर धनकुटेलाई हाँसो पो लाग्यो ! उनलाई पनि लाग्दो हो— चोरहरूको भीडमा अर्को चोर थपियो त के अनौठो घटना ठान्नु ?

अन्ततः त्यो क्षण पनि आइपुग्यो । निर्मल वाङ्गमय प्रतिष्ठानको प्राङ्गण राष्ट्रका मूर्धन्य कवि, साहित्यकारहरूको जमघटले भरियो । त्यहाँ सौगात वाङ्गमय प्रतिष्ठान र निर्मल वाङ्गमय प्रतिष्ठानद्वारा संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको उद्घोषक थिइन् कवयत्री परी ।

प्यासीले छक्क पर्दै सोधे, ‘रम्तेल सर ! हजुर पनि यहाँ ? एहे ! दरै सर पनि ! तपाईंलाई पनि निम्तो पुगेको थियो र भन्या ?’
रम्तेल सर हाँसे । त्यसैगरी दरै पनि हाँसे । प्यासीले देख्दादेख्दै रम्तेल सर पनि मञ्चको सोफामा आसन ग्रहणका लागि बोलाइए । ‘गणतन्त्र कि गाँणतन्त्र’ पुस्तकलाई ‘सौगात वाङ्गमय’ पुरस्कार प्रदान गरियो । त्यति मात्र हैन । ‘निर्मल वाङ्गमय कृति पुरस्कार’ पनि सोही पुस्तकले पायो ।

शिशिर सरका खुट्टा भुइँमै थिएनन् र मुख हतपति बन्द होलाजस्तो पनि देखिएन । कवयत्री एवं उद्घोषक परीको पनि अनुहार धपक्कै बलेको थियो । नबलोस् पनि किन, जब उनको कवितासङ्ग्रह ‘पानीको प्यास’को लोकार्पण पनि गरियो ।
पछि खाजा खाने बेलामा प्यासीले मुखको तीतो पोखिहाले, ‘किन मदेखि परपर भएकी भनेको त पुस्तक नै छापिइसकेको रहेछ र पो ! शिशिर सरजस्तो फटाहा र चारसय बीस चोरको सङ्गतमा परेर मेरो पवित्र प्रेमको हत्या गरिदियौ होइन ?’

– ‘रुद्र ! बढ्ता मुख नचलाऊ तिमी ।’

परीले कडा अभिव्यक्ति दिइन्, ‘शिशिर सरजस्तो महान् व्यक्तित्त्वको अपमान गर्ने तिमी को हौ ? मलाई तिमी र तिम्रो विचार मन परेन अनि प्रेम पनि गरिनँ । अब पनि केही भन्नु छ र ?’

तिनीले जानकारी दिइन्, तिनीलाई शिशिर सरले चाँडै नै निवाप्रको सदस्य—सचिव पदमा बढुवा गर्दै थिए । शिशिर सरको पछि लाग्दालाग्दै परी उनको ठूलो ‘फ्यान’ भइसकेकी थिइन् ।

अन्ततः प्यासीले निर्मलबाट आफूलाई अलग गराए । हुन नसकेकी प्रेमिकाकै अघिल्तिर आफ्नो पाण्डुलिपि च्यातेर हिँडे । उनी ओझेल परिसकेपछि नव नियुक्त सदस्य—सचिव परीले च्यातिएका सबै टुक्राहरू बटुलिन् र टेबलमा फिजाउँदै मुसुक्क मुस्कुराइन् ।