एकादेशमा एउटा सेते र अर्को खैरे खरायोहरू थिए । सेतेको नाम बफी र खैरेको नाउँ फे रहेछ । उनीहरू ज्यादै मिल्ने साथी रहेछन् । एक दिन उनीहरू खेल्दाखेल्दै अलि परको छिमेककहाँ पुगेछन् । बफीले छिमेकीको बारीमा हेर्दै रहरलाग्दा बन्दाकोबीको खेती देखेछ । गएर एउटा बन्दाकोबी टिपिहालूँ लागेछ र बफीले फेलाई भनेछ, ओहो, कस्तो हेर्दैको रहरलाग्दो कोबी रहेछ । खानका लागि टिपेर ल्याउनु पर्यो ।

फेले उसको बाटो रोक्दै भन्यो, अँहँ, हुन्न । त्यो त छिमेकी खसी बाको बारी हो । उहाँले दुःख गरी हुर्काउनु भएको बन्दा हामीले चोर्न हुन्न । त्यसमाथि बन्दा पूर्ण रूपमा फक्रेको पनि छैन । बरू खुसुक्क बन्दा लिएर टाप कस्नु भन्दा खसी बालाई यो तरकारी हुर्काउन सघाऊँ न ! सघाएबापत खसी बाले हामीलाई केही उपहार पनि दिनु होला ।
केहीबेरमा बारीमा काम गर्दै गरेका खसी बा पनि देखापरे । फे र बफी खसीबा भएका तिर लागे ।
के कामले यता आयौ केटा हो ? खसी बाले सोधे ।
बफीले भन्यो, खसी बा, हामीलाई यो बन्दाकोबी कस्तो हेर्दैको राम्रो रहेछ । तपाईंले खूब मिहिनेत गरेको देख्यौँ । हामी पनि सघाउन भनेर आएका ।
ल राम्रो सोचेछौ, खसी बा दङ्ग परे, यसपाला राम्रै उब्जनी होलाजस्तो छ । मलाई सघायौ र राम्रो उब्जनी भएछ भने तिमीहरूलाई पनि म एक गाडा भाग लगाइदिउँला ।
केहीबेर सोचेर खसी बाले भने, बरू तिमीहरू काम सघाउन नै चाहन्छौ भने अर्को साताबाट आउनू । म मेसो मिलाउँला ।
बफी र फे एक सातापछि खुसी हुँदै खसी बालाई सघाउन पुगे । तीन जना मिलेर बिहानदेखि राति अबेरसम्म काम गरे । केही महिनापछि हेर्दै रहरलाग्दा बन्दाकोबी उब्जनी भए । तिनलाई उखेलिसक्दा २० गाडा जति बन्दा भयो । खसी बाले भनेझैँ उनीहरूका लागि एक-एक गाडा बन्दाकोबी भाग लगाइदिए ।
ओहो, खसी बा, धेरैधेरै धन्यवाद, खुसीले उफ्रँदै बफीले आफ्नो भागको बन्दाकोबी गाडामा थन्कायो, यो गाडा घरमा पुर्याएर म आइहालेँ ।
फे र खसी बा बफीले कुन बेला गाडा ल्याउला भनेर कुरी बसे । यही बसिबियाँलोमा खसी बाले फेलाई बन्दाकोबी कसरी उब्जाउने, कसरी रोप्ने, कसरी हेरचाह गर्ने भनी सुनाए । पूरै जंगलमा बन्दाकोबीलाई कसैले पनि खानयोग्य सामग्री नठानेका बेला खसी बाले कसरी आफ्नै सुरमा यसको खेती गरे र अहिले सबैजसो जनावरको प्रिय खाद्य कसरी बन्न पुग्यो भन्ने संघर्षको कथा पनि सुनाए ।
यसबाट ज्यादै प्रभावित भएको फेले खसी बालाई भन्यो, खसी बा, मलाई एक गाडा बन्दाकोबी भन्दा यसको बिऊ दिनु न । मलाई बन्दामा भन्दा यसको बिऊमा पो रूचि जाग्यो त । यत्रो एक गाडा बन्दाकोबी घरभरि थुपार्नु भन्दा त मलाई साना बिऊ लैजानु ठीक लाग्यो ।
खसी बा फेको कुरा सुनेर ज्यादै खुसी भए । उनले फेलाई बन्दाकोबीका ससाना दाना बिऊको एउटा सानो प्याकेट दिएर पठाए । प्याकेट लिएर जानै लाग्दा फेलाई खसी बाले रोके र भने, ल यो दुई वटा बन्दा पनि लिएर जाऊ, बाटामा खाजा खाँदै जान हुन्छ ।
फे ज्यादै खुसी भयो र खसी बालाई धन्यवाद दिँदै घरतिर लाग्यो ।
घर पुगेर खसी बाले सिकाएजसरी नै बारीका सर्दाम ठीक पार्यो । आफ्नो वरिपरिको माटोलाई खसी बाको बारीझैँ मलिलो बनाउन कुटो लगायो । मलिलो माटोमा उसले तिनै बन्दाका बिऊ छर्यो ।
त्यस दिनदेखि ऊ आफ्नै बारीमा व्यस्त हुन थाल्यो । बारी गोडमेल गर्न थाल्यो । पानी पटाउन थाल्यो । अरूले छुन घिन मान्ने गोबर हाल्न थाल्यो । हेर्दाहेर्दै एक महिनाभित्रै बन्दाकोबी लहलहाउँदो बन्न थाल्यो ।
उता बफीको साथी फे चाहिँ टन्न लगेको बन्दाकोबी खाँदै खेल्दै, सुत्दै गरेर दिन बिताउन थाल्यो । उसलाई भोक लागेको बेला खाने बन्दा छँदै थियो । खोज्नका लागि कतै समय खर्चनु पर्ने थिएन ।
एक दिन त उसको बन्दाकोबी पनि सकिएछ । घुम्दै ऊ खसी बाको घरमा बन्दा माग्न पुग्यो ।
ऊ खसी बाको घरमा कसरी बन्दा माग्ने होला भन्ने सोच्दै गर्दा उसको साथी बफी एक गाडा बन्दा तान्दै आएको देखेर छक्क पर्यो ।
फेले गाडा खसी बाको आँगन छेउ लगायो र भन्यो, खसी बा, तपाईंलाई ल्याइदिएको !
बफीले छक्क पर्दै भन्यो, ओई फे, यत्रो विधि बन्दाकोबी तैँले कहाँ फेला पारिस्, हँ ?
फेले भन्यो, म आफैँले उब्जाएको । आफैँले उब्जायो भने आफूलाई टन्न पुग्ने मात्र होइन, अरूलाई दिन पनि पुग्छ, थाहा छ तँलाई ?
बफीले भन्यो, तैँले मलाई पाठ पढाइस् साथी । त्यसका लागि तँलाई धन्यवाद दिनै पर्छ ।
धन्यवादको साटो म तँलाई केही बन्दा र त्यसको बिऊ पनि दिन्छु । आखिर तँ त मेरो नजिकको साथी होस् नि त !
त्यसपछि दुवै साथी अँगालो हालेर फेको घरतिर लागे ।