काम गर्दागर्दै तस्वीर खिच्ने कुराले फेरि एकपल्ट बावुलाई झस्कायो। त्यो गल्ती उनी दोहोर्याउन चाहँदैनन् । त्यो फन्दामा उनी पर्नै चाहँदैनन् ।

वर्षको एकपल्ट कार्यस्थलमा काम गर्दागर्दैको फोटो खिच्नु त्यहाँको नियमितता हो। कम्पनीको वेबसाइट आवश्यकता हेरेर समय समयमा अद्यावधिक गरिए पनि तस्वीरहरु चाहिँ लगभग वर्षमा एकपटक फेरिन्छन्। कामदारहरु काम गर्दागर्दैका तस्वीर खिचाउन व्यवस्थापकले वर्षको एकपटक भाडामा सिपालु फोटोग्राफर नै बोलाउँछन्। उसैले कोण मिलाई-मिलाई चहकिला फोटा खिचिदिन्छ। कम्पनीले तिनै फोटा वेबसाइटका पेजमा सजाउँछ।

दुई वर्ष पहिला कम्पनीले वेबसाइटमा सजाएको एउटा फोटोले बावुको प्रतिष्ठा धमिल्याइदिएको थियो। प्रवासकै कोही एक साथीलाई उनी कार्यरत क्यान्टिन चलाउने कम्पनीको वेबसाइट खोलेर काममा आवेदन दिन सुझाव दिँदा सोही साथी मार्फत वेबसाइटमा छापिएको उनको तस्वीर एकबाट दुई, दुईबाट चार र चारबाट चौधको रफ्तारमा फैलिएको थियो। त्यो फैलावट प्रवासमा सीमित नरहेर स्वदेशका साथीसङ्गी र आफन्त सम्म पुगेको थियो, जबकि प्रवासमा आफूले गरेको दुखजिलो त्यसमाथि उता हेयको दृष्टिले हेरिने पेसा भएकोले स्वदेशमा उनी कसैलाई त्यो सुइँको दिनै चाहँदैनथे। यता उनले नचाहेको कुरा उता चाहिँ यसरी फैलियो कि, कान्तिपुर र अन्नपूर्ण पोष्टहरुले पनि उनका कथा-व्यथालाई मसला थपी थपी भकभक् उमालिदिए। उनकै रङ्गिन फोटोलाई बिचमा पारेर छापिएका एङ्कर न्युजका हेडलाइन राखिए- ‘नेपालको प्रसिद्ध स्कुलका प्रिन्सिपल बाबुराम युरोपमा भाँडा माझ्दै !’ यसले उनलाई भतभती पोल्यो, तर खुच्चिङवालाहरुलाई भने स्वादिलो परिकार भो।

यो घटनाले विदामा नेपाल जाने उनको योजना बदलियो। बुकिङ भइसकेको एयरलाइन्सको टिकट रद्द गराउँदा त्यतै घाटा खानुपर्यो। घरतिर, ससुरालीतिर आफन्तहरूसित कुरा गर्दाको रवाफ सेलायो। ‘युरोपमा मलाई मस्ती छ’ भन्ने ढाँट सर्लक्कै नाङ्गिएपछि त बोल्ने कुरा पनि स्वाट्टै घट्दा रहेछन् ! आफन्तका फोन उठाउन नभ्याउँदा वा मेसेजका जवाफ समयमा फर्काउन नसक्दा ‘अफिस’मा व्यस्त थिएँ भन्ने बहाना पनि उदाङ्गियो। कम्ता अप्ठ्यारो भो त ! तैपनि, फेसबुकमा स्टाटस लेखेरै भएपनि झूठलाई अर्को झूठले छोप्ने प्रपञ्च भने नगरेका होइनन्- त्यो पुरानो सङ्घर्षका दिनको कथा थियो, अहिले त कम्पनीको ‘अफिसर’ भैसकेँ। कतिले पत्याए कतिले पत्याएनन् आफ्नै ठाउँमा होला । फेसबुकको त्यही स्टाटसको लगौंटीलाई जोगाउन यो कस्तो टिठलाग्दो लुकाछिपी, हरे !

फोटोग्राफरले क्यामरा मिलाउँदा मिलाउँदै उनी फुत्त कार्यस्थलबाट बाहिरिए। एप्रोनमा चिसा हात पुछपाछ पार्दै शौचालय भित्र छिरे। आउँदै नआएको शौच बिसाउने कुरा भएन। गोजीको मोबाइल निकालेर फेसबुक खोले। हिजो फेरेको प्रोफाइल पिक्चरमा आएका ‘वाउ’ रियाक्ट हेरेर दङ्ग परे। ‘सुन्दर तस्वीर’, ‘मोज गर्नोस्’, ‘हेण्डसम् सर’… यस्तै यस्तै कमेन्टहरूमा लाइक र लव रियाक्ट गरे। फोटो एकपटक जुम गरेर पनि हेरे। अर्थपूर्ण त्यो हेराइमा प्रश्न थियो- सोचेजस्तो फटाफट प्रतिक्रिया अझै आएन, किन होला ?

सामान्य शौच अवधिभन्दा केहीबेर ढिलो गरी काम गर्ने ठाउँमा फर्कँदा त्यहाँ उनलाई पर्खिरहेका एक लस्कर जुठा भाँडा बाहेक कोही थिएनन्। अघिल्लो वर्ष कोरोनाबिरुद्धको मास्कलाई नाकको फेदैसम्म तन्काएर अनुहार नचिनिने बनाउन सफल भएको याद गर्दै आफ्नै मनसँग भने- यसपटक पनि उम्किएँ, लौ जा !

अरुको तस्वीर तर बावुको पिरलो आफूसँगै लिएर फोटोग्राफर गयो। क्यान्टिनमा अस्तव्यस्त भाँडाहरुको थुप्रो अगाडि निरीह उभिएको बावुको फोटो कम्पनीको वेबसाइटमा नचढ्ने पक्का भयो। उनी एकपल्ट आफैंसँग मुस्कुराए।

अफ्रिकन राष्ट्र घानाको नागरिक, उनको सहकर्मी क्वामेले छेवैमा आएर सोध्यो- “अघि कहाँ गएको, फोटोमा छुटेऊ त !”

बावुले जवाफमा मुस्कान मात्र फ्याँक्न खोजे तर क्वामेको एकोहोरो हेराइले उनको मुखबाट खास जवाफ ताकिरहेको बुझेपछि बोलिदिए- “छुटोस्, पछुतो छैन !”

क्वामे आफ्नो काममा लाग्यो। बावु पनि आफ्नो काममा लागे। काममा छुट्टी भएपछि लुगा फेर्ने कोठामा दुबैजना‌को फेरि भेट भो।

क्वामेले सोध्यो- “बाहिर मौसम खुलेको छ, साँझ घमाइलो छ, समुद्र किनारमा सँगै बसेर एकदुइटा बियर पिऊँ न, हुन्न ?”

काम गर्ने ठाउँबाट समुद्र किनारसम्मको दूरी नजिक हुनुको फाइदा उठाउन बावु पनि तयार भइहाले- “अँ, राम्रो विचार ! हुन्छ, हुन्छ।”

क्वामेको दायाँतिर बावु एउटै पदचापमा अगाडि बढे। बाटो पारिपट्टिको पसलमा पसेर बियर किने। छालरहित शान्त निलो समुद्र परैबाट घाममा मनमोहक देखियो। किनारमा पुग्नासाथ क्वामेले झोलाबाट बियरको बोतल निकाल्यो। लगभग उही समयमा बावुले गोजीबाट मोबाइल निकाले।

क्वामेले बोतल खोल्नुअघि बावुले आफ्नो एन्ड्रोइड फोन ऊतिर तेर्स्याएर प्रस्ताव गरे- “यो समुद्रको निलो पृष्ठभूमिमा एउटा फोटो खिचिदेऊ न !”

समातेको बोतल झोलामै फिर्ता राखिदिएर बावुको फोनबाट क्यामराको कोण मिलाउँदै क्वामेले सोध्यो- “आधा आउने गरी खिचिदिउँ कि पूरा ?”

बावुको जवाफ थियो- “एउटा आधा, एउटा पूरा।”

समुद्रको रङसँग लगभग मिल्दोजुल्दो रङको चस्मामा बावुको लोभलाग्दो फोटो आयो। क्वामेले त आफूले साथीहरुका अहिलेसम्म खिचिदिएका मध्ये उत्कृष्ट फोटो भन्दै आफ्नै प्रशंसा समेत गर्न भ्यायो। बावुले क्वामेलाई धन्यवाद दिँदादिँदै त्यही फोटो तानेर फेसबुकमा प्रोफाइल पिक्चर फेरिहाले।

दुईले बियरका एक-एक बोतल ठोक्काए- चियर्स ! क्वामे घामको सितनसँग बियर पिउन थाल्यो। बावुलाई चाहिँ नयाँ प्रोफाइल पिक्चरका प्रतिक्रिया नै बियरलाई ट्वाक्क सितन भए।