
सहरका सबै केटाकेटी किताब च्यापेर स्कुल गएको देखेपछि हाम्रो घर अगाडिको साहुनी कान्छीलाई पनि छोरी पढाउन रहर लाग्यो, स्कुल पठाइन् । साहुजीले किनिदिएको बुट्टे दरेशको फ्रक लाएकी राधाकुमारी स्लेट च्यापेर दिनदिनै स्कुल जान थाली । साहुनी कान्छी गदगद हुँदै छोरी स्कुल गएको सधैँ झ्यालबाट हेरिरहन्थिन् ।
सात वर्ष बित्यो ।
राधा पन्ध्र पुगेर सोह्र वर्ष लागी । ऊ एकदिन सधैँ लाउने गरेको सलवार र कुर्ता फ्याँकेर मलमल सारी र ब्लाउज पहिरेर स्कुल गई । लाज र असजिलोले बाटोमा सधैँ भन्दा छिटोछिटो हिँड्दै स्कुल पुगी । स्कुलको ढोकाबाट भित्र पस्तेबित्तिकै उसका नयाँ पहिरन देखेर उसका साथीहरू एकै पटक ‘खिलिल्ल’ हाँसे । राधाको मुख रातो भयो ।
एकैछिनपछि साहसलाई बटुलेर राधाले साथीहरूपट्टि टेढो आँखाले हेरी । अनि भुत्भुत्याई, “ई के अन्वार पर्या मान्छे होलान्, कसैलाई नपर्या हाँस्न तिमीहरूलाई पर्या छ ।”
साथीहरू सबै चुप लागे । माष्टरसाहेब क्लासभित्र पसे ।
बेलुका स्कुल छुटेर घर फर्कने बेलामा प्रभाले राधाको हात समातेर तानी, “ए राधा अस्ति भनेको ‘भानुभक्त’को किताब चाहिने भए हाम्रो घर जाऊँ हिँड् । दिएर पठाऊँला । जान्छेस् ?”
“नाइँ जान्नँ । बाले थाहा पाउनुभयो भने मार्नुहुन्छ ।”
“अँ मार्नुहुन्छ, भुतुक्कै पार्नुहुन्छ । किताब लिन जाँदा पनि केको मार्नुहुन्छ नि !”
“ओहो आमाले चार बज्नेबित्तिकै घर नआएर कतै त जा, बालाई कुरा लाएर तेरो च्यान पार्छु भन्नु भा’को छ ।”
“भैगो न आउने भए केको कर ।” प्रभाले ठसक्क परेर घोक्रो पसारी ।
“भोलि स्कुल आउँदा ल्याइदेन त्यति ।”
“लागिरहेछ, आफू चाहिँ त्यति पनि जान नहुने रे ।”
“हो आमाले गाली नगर्ने भए जान्थे के…।”
“दुई मिनेटको बाटो जानलाई बाह्र सत्ताइस कुरा । आज सारी लाकी भएर ठूली मान्छे भा’की होली नि ।”
राधाले आँखा तरी । अनि मुन्टो परक्क बटारी ।
“हिँड्न त जाऊँ त्यति ।” प्रभा हाँसी । “माथि नउक्लनु ल भयो अब त ? म किताब तलै ल्याइदिऊँला ।”
यतिञ्जेल दुवैको घर जानलाई छुटिने दोबाटो आइसकेको थियो । प्रभाले राधाको हात समातेर आफ्नो बाटोतिर तानी – “आइज ।” राधा अन्कनाई अन्कनाई पछि लागी ।
राधा घर आइपुग्दा स्कुलबाट सधैँ घर फर्कने बेलाभन्दा पन्ध्र मिनेट ढिलो भएछ । भित्र पस्नेबित्तिकै साहुनीले ठूलठूला आँखा पल्टाएर झम्टिहालिन्, “क्या हो नि आज त डुलेर आइयो कि कसो हो ?”
राधा चुप लागी । उसको मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो । “पानी सिस्नो लाउनु पर्यो कि कसो हो ?” साहुनी झन् अघि सरिन् ।
आमाको त्यस बेलाको अवतार देखेर राधा साँचो कुरा भन्न सकिन, यद्यपि पहिलो उसले यथार्थ कुरा भन्ने निधो गरेकी थिई । एकछिन उसको मनमा बनावटी र यथार्थ कुराको खुब द्वन्द्व भयो । मुटुको ढुकढुकले उसको छाती थर्केको आमा चाहिँले पनि प्रस्टै देख्न सक्तथिन् । अधीर भए जस्तो गरी उनी फेरि झोक्किइन्, “क्या हो किन बोल्दिनस् हँ ?”
अन्त्यमा राधाले झूटलाई नै अँगाली । आँखा पिलपिल पार्दै उसले भनी, “स्कुलबाट सरासर आउँदै छु, हो त्यस्सै पनि ।”
“किन अबेला भयो त ?” साहुनीले ठुग्रेकै स्वरमा भनिन् ।
“मास्टरले छोडेकै भर्खर, कहाँ गएँ र म ?”
“भैगो जा किताब राखेर आइज । तेरै निम्ति भनेको बाबै के गर्छेस् ।”
साहुनी आवाजलाई घटाएर पुरान सुनाउन लागिन् – “सानी छैनस् । तरुनी छोरीबेटीले बाँचेर हिँड्न धेरै गाह्रो हुन्छ । ठाउँ ठाउँबाट माग्न आइसके । बा चाहिँ ‘म्याटरी’ पास नगरी छोरीको बिहा गर्दिन भन्नुहुन्छ । तैँ बराल्लेलिस् भनेर गाली गरेको त हो नि ।”
राधाले लुगा फेरुञ्जेल मनमनै विचार गरी । कसो प्रभाको घर गएको प्वाक्क भनिनँ, मार्नुहुन्थ्यो आमाले । अझ प्रभाको दाजु ज्ञानेसित बोलेको कुरा थाहा पाए त… मेरा बाबै… राधाको आङमा काँडा उम्रे ।
भोलिपल्ट स्कुल जाँदा बाटामा राधाले रामचालाई पनि स्कुल जान लागेको भेटी । रामचा मोरो उत्ताउलो हाँसेर आँखा झिम्काउँदै बोल्यो – “क्या हो नि राधा दिदी हिजो त ज्ञानेसँग निकै गफ गर्नुभयो होइन ?”
“मोरो रामचा बर्ता भएको हेर् न । कल्ले भन्यो तँलाई ? गाला च्यातिदिन्छु मोराको अनि ।” राधाले हात लम्काई ।
“गाला त तपाईंकै च्यात्छ नि अबा ज्ञानेले ।” यति भनेर हाँस्दै “तँलाई नमारी पखन कहाँ जालास् तेरीमा चोथाले…” दौडेर लखेट्न खोजे जस्तो गरी राधाले, ऊ दौडेर पर पुगेर उभियो अनि भन्यौ “लौ त ।”
एकदिन बेलुका भात खान लागेको बेलामा राधाले आमासँग सिनेमा हेर्न जाने कुरा झिकी, “साथीहरू सबै जना सिनेमा हेर्न जाने रे, अहिलेको फिलिम त राम्रो छ रे, आइमाईले हेर्नुपर्ने खालको रे, गीत सीत पनि उस्तो छैन रे…आदि आदि ।”
“भो भो नकरा पर्दैन सिनेमा हेर्न” साहुनी झर्किन् ।
“घरैमा बसेर पढ्न छाडेर ।”
“कहिल्यै एक फेर पनि केही पनि हेर्न दिने होइन ।” भातको थालमा राधाले तपतप दुई थोपा आँसु खसाली ।
“भागमा आँसु खसालेकी हेर न अलच्छिनी कहाँकी ।”
राधाले गालामा आँसु पुछी ।
“कोसित जान्छेस् र ? पख् न त बालाई भनुँला अनि तँ, म र बा हेर्न जाउँला ।”
“अँ जानुहुन्छ अब बा । बा जाने कहिले कहिले, साथीहरू सबै भोलि जान्छन् ।”
“को साथी जान्छन् भोलि ?”
“श्याम, रमा, कान्ता, प्रभा सबै जान्छन् । को अब ।” राधा पनि झर्की ।
“कहाँको हलमा हेर्न जाने नि ?”
“त्यही वालिफलमा त हो नि, टाढा हो र ।”
भोलिपल्ट स्कुल जाने बेलामा साहुनी कान्छीले छोरीलाई दुई रुपियाँ दाम दिँदै भनिन्, “चाँडै आइज नि फेरि ।”
“आइहाल्छु नि । साढे दुई बजेको शो हेर्ने त हो नि पाँच बजे सिद्धिई सक्छ के ।” यति भनेर खुसीले उफ्रँदै राधा स्कुल पुगी ।
स्कुलमा प्रभाले पाँचओटा फस्ट क्लासको टिकट ल्याइसकेकी रहिछ । प्रभाको दाजु ज्ञाने त सिनेमा हलको कीरो न हो, खुसामद गरेर बिहानै टिकट उधारो ल्याइदिएछ ।
प्रभाले स्कुलमा सबैसित पैसा जम्मा गरी । कान्ताले चाहिँ पैसा ल्याएकी रहिनछ । उसको घर बाटैमा पर्ने हुनाले किताब राख्न जाँदा पैसा ल्याउँला भन्ने जवाफ दिई ।
दुई बजे पछि पाँचै जनाले माष्टरसँग बिदा मागेर गए । दोबाटो पुगेपछि “तिमीलाई जाँदै गर म आउँछु ।” भनी कान्ता उसको घर लागी । सिनेमा हलको खेल सुरु हुने आखिरी घण्टी बज्यो । सबै आ-आफ्नो ठाउँमा बसे । तर कान्ताको सिट खाली नै रह्यो । खेल सुरु भएको आधा घण्टापछि ज्ञाने कान्ताको सिटमा बस्न आयो । त्यसैसँगै जोडिएको सिटमा राधाकुमारी बसेकी थिई । “कान्ताको बाबुलाई शूल भयो रे भनेर उसको भाइले टिकट फिर्ता दिन ल्यायो । म घरैमा थिएँ, टिकट खेर फ्याँक्नु भन्दा त आफै हेर्न जानु ठीक होला भनेर म हेर्न आएको ।” ज्ञानेले प्रभा र उसका साथीहरूलाई सुनाएर भन्यो । राधालाई अप्ठ्यारो पर्यो । ठाउँ साटेर बस्न खोजी । तर सबैको ध्यान पर्दाको खेलतिर भएकोले उसको कुरालाई कसैले वास्ता गरेन । ‘इन्टरभल’ भयो, वरिपरिका ढोका खुले । भित्र उज्यालो भयो । अघिल्तिर लाइनमा बसेको एउटा ठिटो पछिल्तिर फर्केर हेर्दै ङिच्च हाँसिरहेको थियो । राधाले देखी उही रामचा ।
राधाको टाउको ‘भनन्न’ रिङायो । यो कुरौटे मोराले के विघ्न पार्ने हो भनेर थर्कमान भई । यसपछि राधाले आफ्नो ठाउँमा प्रभालाई राखेर उसको ठाउँमा बस्न गई ।
सिनेमा हेरिसकेपछि मनमा अनेक कुरा गुन्दै डरले सशङ्कित हुँदै घरतिर लागी । सिनेमा हेरुञ्जेल पनि उसको मनमा खैलाबैला भइरह्यो । व्यर्थै हेर्न आएछु जस्तो लाग्यो । कान्ता राँडी किन नआएकी होलाी भनेर उसलाई सरापी । रामचालाई सरापी । प्रभाको दाजु ज्ञानेलाई सरापी । राधा उसको घरको चोकमा पुग्दा रामचा भित्रबाट फुत्त निस्क्यो अनि राधातिर हेरेर हाँस्दै दौडियो । बिचरी राधाको सातोपुत्लो उड्यो । रामचाले अवश्य पनि कुरा लायो भन्ने ठानी । ऊ डराई डराई भित्र पसी । रामचाले झोसेको आगोले जलेर तातिसकेकी साहुनी आमा राधालाई देख्नेबित्तिकै रातोपिरो अनुहार लिएर उसमाथि झम्टिन थालिन् – “धिक्कार होस तँ राँडीको बुद्धिलाई । कुलैमा कलङ्क लाइदि बेस्से फुँडीले ।”
उनी कराएको सुनेर चोकको अरू मान्छे पनि झ्याल झ्यालमा आएर कान थाप्न थाले । उनी चाहिँ फलाक्दै थिइन् – “के बुद्धि आएर मैले यो फुँडीलाई पढाएछु, धिक्कार होस् । हामीले एक अक्षर नपढे पनि यत्रो व्यवहार थामेर आयौँ । तँ फुँडीले जस्तो गरी इज्जत फ्याँकेनौँ…।”
उनी कराउँदै थिइन्, पारी पट्टिको झ्यालमा आएर पाकचा नामको सानो ठिटोले अर्को ठिटो अक्कलचासँग सोध्यो, “ए हँ छु ?” (ए के हो ?)
अक्कलचाले जवाफ दियो – “राधा दिदी ज्ञानेचा लिसे याट हँ ।” (राधा दिदी ज्ञानेसँग गाँसी रे ।)
यो सबै देखेर राधा जिल्ल परी ।
(‘डोरबहादुर विष्टका कथाहरू’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

