कान्छा दाइको लोकप्रिय चिया पसल । केटाहरूको जमात नै हुने गर्दथ्यो मिठो चियाको लागि भन्दा पनि पसल अगाडिकै घरमा रहेकी सुन्दर केटीलाई हेर्ने बहाना ।

झरनाजस्तो सलल बगेको केस, ठूला ठूला मृगनयन, मिलेको नाक, पातलो ओठ, छिनेको कम्मर, मोहित पार्ने त्यो मुस्कान । चियाको चुस्की लिँदै उनको सुन्दरताको बयान गर्दै थिए केटाहरू ।

“सूर्यमुखी फूललाई टिप्न नपाए पनि हेर्न पाइन्छ कि भनेर आएको, खै केटा हो आज फूल फुल्छ जस्तो लागेन, आएको पनि व्यर्थै हुने भयो ।” व्यङ्ग्य गर्दै भन्छ अर्को केटो ।

“ए केटा हो हाम्रो गाउँकी केटीमाथि आँखा नगाढ है, कसको भाग्यमा लेखेका छ के थाहा । तिमीहरू हेरेर चित्त बुझाउने मात्रै त हो” जिस्किँदै भन्छन् कान्छा दाइ ।

साथीको बिहेमा जानलाई सजिसजाउ भएर निस्किन्छिन्, विनाश्रृङ्गारमा त उनको सुन्दरताको प्रशंसा गर्न नछाड्नेहरू आज श्रृङ्गारमा सजिएको देख्दा हेरेको हेरै हुन्छन् ।

उनी पनि मस्किँदै बिहे घरतिर लम्किन्छिन् । दुलहासँगै बसेको पुरुषले निकै घोरिएर हेरिरहेको हुन्छ । ऊ सरासर आउँछ र कुर्सी तान्दै मोहिनीको छेउमा बस्छ ।

उनी अप्ठ्यारो मान्दै उठ्छिन् ।

म तपाईंलाई देखेर आउने, तपाईं मलाई देखेर भाग्ने । जन्तीलाई  यहाँ यसरी नै सत्कार गरिन्छ ? ठट्टा गर्दै भन्छ युवक ।

उनी बस्न बाध्य हुन्छिन् ।

मैले तपाईंलाई न चिनेको छु, न जानेको, अनि म किन बस्नु ? निधार खुम्च्याउँदै भन्छिन् उनी ।

उम, कुरो त ठिकै हो । मैले पनि चिनेको त छैन तर पराई जस्तो पनि लाग्दैन खै किन हो । अब चिनजान गरौँ न त । हजुरको शुभ नाम ? टाउको हल्लाउँदै सोध्छ ऊ ।

म मोहिनी, छोटो जवाफ दिन्छिन् उनी । आफूलाई असहज महसुस गर्दै दुलही भए नजिक पुग्छिन् ।
दुलही उनको अति नै मिल्ने साथी उषा ।

तपाईं जति भाग्नु हुन्छ म त्यति नै पछ्याउँदै आउँछु । सबैले मलाई ह्याण्डसम भन्छन्, तपाईं भने मलाई देखेर भाग्दै हुनुहुन्छ । किन म डर लाग्दो छु र ? जिस्किँदै भन्छ ऊ । आज खासै कुरा गर्न मिल्ने नदेखेर फेरि भेट्ने आशा राख्दै बिदा हुने अनुमति माग्छ ऊ ।

मोहिनी पनि आफ्नो घरतिर लाग्छिन् ।

===

दुलहाको साथी भएकाले मोहिनीका बारेमा थाहा पाउन उसका लागि कुनै ठूलो कुरा थिएन । फोनको घण्टी बज्छ । फोन उठाउँदै हलो भन्छिन् मोहिनी ।

“म विश्वास, चिन्नुभयो ?”

“को विश्वास ?” उनी सोध्छिन् ।

“बिहेमा तपाईंलाई पछ्याउने, जिस्क्याउने उही ह्याण्डसम ठिटो ।”

“ए ए, चिने हजुर । कसरी पाउनु भयो मेरो नम्बर ?” आश्चर्य मान्दै प्रश्न गर्छिन् मोहिनी ।

“दिलमा बसेको मान्छे, आफूले मन पराएको मान्छे, जाबो एउटा फोन नम्बर पत्ता लगाउन कति गाह्रो कुरा हो र,” ऊ भन्छ ।

“यति चाँडै हजुरको दिल ओगट्न पुगेछु त ?” हाँस्दै भन्छिन् उनी ।

“दिलमा बस्नका लागि एकपल नै काफी हुन्छ ।”

उषा र मोहिनी नजिकका साथी भएकाले पञ्चरातमा उनी आउँछिन् भन्ने कुरामा ऊ ढुक्क हुन्छ विश्वास ।

“भोलि त हाम्रो भेट हुने नै छ” ऊ भन्छ ।

“ए हजुर पनि आउनुहुन्छ ?” मोहिनी सोध्छिन् ।

“विशेष हजुरलाई भेट्नका लागि,” ऊ भन्छ ।

“म आउँछु तर मख्ख नपर्नु होला । तपाईंका लागि होइन नि मेरो साथी उषाका लागि ।” उनी पनि के कम, जिस्किँदै भन्छिन् ।

===

मोहिनी भन्दा पनि विश्वास आतुर छ उनलाई भेट्न । पाहुनाहरूको हुलमा चारैतिर नजर घुमाउँछ, मोहिनीलाई नदेख्दा मन खिन्न बनाउँछ । मलाई आउँछु भनेर झुक्याएकी पो हो कि । मनमा यस्तै कुरा खेल्छ विश्वासको ।

किन उदास ? मोहिनीलाई नदेखेर हो ? हतार नगर्न, आउँदै होली, जिस्क्याउँदै कानमा सुटुक्क भन्दै थियो दुलाहाले ।

मोहिनी पनि आइपुग्छिन् ।

“उता हेर त ।” विश्वासलाई कोट्याउँदै इशारा गर्छ दुलाहा ।

मोहिनी र विश्वासको नजर ठोकिन्छ । मुसुक्क हाँस्दै शिर निहुराउँछिन् र उषाको कोठामा पस्छिन् । उषालाई देख्ना साथै खुशी हुँदै अँगालो हाल्छिन् ।

“विश्वासले तेरो फोन नम्बर मागेको थियो । के हो चक्कर चलेजस्तो छ नि” जिस्क्याउँदै भन्छे उषा ।

“धत् मोरी जे पनि बोल्छे” मोहिनी मुस्कुराउँदै भन्छे ।

“केटा ह्याण्डसम छ । तँ भनेपछि मरिहत्ते गरेको छ । तैँले माया गर्ने भन्दा पनि तलाईं माया गर्ने हुनुपर्छ । त्यो चाहिँ मैले उसमा देखेकी छु” उषा मोहिनीको हात समाउँदै भन्छिन् ।

राती भइसकेकोले बिदा माग्दै बाहिर निस्किन्छिन् मोहिनी । उनलाई देखेपछि विश्वास पनि निस्कन्छ ।

रातको समय भएकाले मोहिनीलाई एक्लै पठाउन ऊ चाहँदैन थियो । त्यसैले दुवैजान सँगै निस्किन्छन् । विश्वासले पनि यही चाहेको थियो । गाउँको त्यो सुनसान बाटो, जुनेली रात, भ्यागुताको टर्रटर्र, झ्याउकिरीको किर्रर किर्रर कानमा गुञ्जिरहेको थियो । पिलिक पिलिक बत्ती बाल्दै जुनकिरी वरिपरि नाचिरहेका थिए । त्यो वातावरणले दुवैलाई मुग्ध बनाइरहेको थियो । घरिघरि त दुवैको कुम एक आपसमा ठोकिन्थ्यो । लजाउँदै मुस्कुराउँदै फेरि कुरा अघि बढाउँथे दुवै । यो रात, यी खाल्डाखुल्डी बाटाहरू कति प्रिय लागिरहेको छ, शायद तिम्रो साथले होला विश्वास भन्दै थियो ।

पहिलो नजरमा नै विश्वासको मनमुटुमा बस्न पुगेकी मोहिनी ।

उनको हात समाउँदै प्रश्न गर्छ, “साँच्चै तिम्रो दिलमा म अटाएको त छु नि ? भन न मोहिनी ।”

“मनसँग मन जोडिइसकेको छ, अब अटाउनुको के कुरा” मुसुक्क हाँस्दै भन्छिन् उनी ।

“कहिल्यै नटुङ्गियोस यो बाटो, नढल्कियोस यो रात, अनि नछुटोस् यो साथ ।” उनी भन्दै थिइन् ।

तर घर आइपुग्छ । नचाहँदा नचाहँदै उनीहरू विदा हुन्छन् ।

===

आफ्नै गाडी भएकाले आउन जान कुनै समस्या थिएन विश्वासलाई । मात्र एक घण्टाको बाटो थियो मोहिनीको घरसम्म पुग्न । समय बित्दै जाँदा उनीहरूको माया पनि चुलिँदै गयो । एक अर्का बीच टाढा रहेर बस्नु नै आफैँलाई सजाय दिनु जत्तिकै भइसकेको थियो । यसै बीच विश्वासले मोहिनीलाई बिहेको प्रस्ताव राखिसकेको थियो ।

घरका परिवारले पनि उनीहरूको मायाप्रेमका बारेमा नसुनेका कहाँ हुन् र । तर मोहिनीकै मुखबाट सुन्न चाहन्थे । विश्वासले पनि मोहिनीलाई घरमा बिहेको कुरा राख्न दबाव दिइरहेको थियो । तर उनले घरमा कुरा राख्ने आँट गर्न सकिरहेकी थिइनन् । बलियो मन बनाएर उनी बुबा आमाको सामु उभिइन् र विश्वासको बारेमा सबै कुरा भनिन् । एक अर्काबिना अलग रहेर बस्न नसक्ने कुरा प्रष्ट पारिन् । छोरीको खुसी नै आफ्नो खुसी ठानी नचाहेर पनि मोहिनीको प्रस्तावलाई स्वीकार्छन् ।

“ठिकै छ केटालाई बोलाऊ, हामी उसैसँग कुरा गर्छौं । “मोहिनीको बुवाको आदेशात्मक स्वर गुन्जन्छ ।

===

६ फुट अग्लो, गहुँगोरो मिलेको अनुहार चिटिक्क परेको जिउडाल खाइलाग्दो केटा कारबाट ओर्लिन्छ । मोहिनी ढोका खोल्छिन्, मुसुक्क हाँस्दै भित्र प्रवेश गर्छ विश्वास । केटालाई देखेपछि दङ्ग पर्छन् बुबा आमा । दुई हात जोडी नमस्ते गर्छ विश्वास । आफ्नो बारेमा सबै कुरा बताउँछ ऊ । मेरो आमा म सानै हुँदा बित्नुभयो । बुबा अर्कै बिहे गरेर बस्नु भएको छ । आज आफ्नै मेहनतले सबै जोडेको छु । म आफै सम्पन्न छु । मलाई अरू केही चाहिँदैन मात्र मोहिनी दिनुहोस् । एक छिनको कुराकानी पछि ऊ बिदा हुन्छ ।

उसको प्रस्तावलाई अस्वीकार गर्न पनि सक्दैनन् आमा बुवा । मन्दिरमा लगेर समान्य तरिकाले बिहे गरिदिन्छन् मोहिनीको विश्वाससँग ।

आज निकै खुसी छिन् मोहिनी । खुसी पनि किन नहुन्, आफूले माया गरेको व्यक्ति यति सजिलै यति चाँडै पाउँदा साँच्चै नै ठूलो युद्ध जिते जस्तै हुन्छ उनलाई । न सासु ससुरा, न नन्द आमाजु, न देवर जेठाजु । घरको सदस्य कोही नहुँदा मन खिन्न नभएको त होइन तर उनको स्वागतमा कुनै कमी थिएन । विश्वासका साथी संगिनीहरूले निकै सजाएका थिए घर । नाचगानका साथै रमाइलो माहोल थियो ।

उनी घरमा प्रवेश गर्छिन् ।

सूर्य पनि अस्ताउँदै जान्छ, क्रमशः रात गहिरिँदै जान्छ ।

“आजको दिन डिस्टर्व नगरौँ छोडिदिऊँ यसलाई । भाउजू कुरिरहेकी होलिन् ।” यसो भन्दै जिस्क्याउँदै बाहिरिन्छन साथीहरू ।

कोठामा पस्छ, उनलाई हेर्दै चुकुल लगाउँछ । मुटु ढुक्क फुलेजस्तै हुन्छ मोहिनीको । विस्तारै उनीतिर लम्किन्छ विश्वास । यो साँझ त्यो रात बेलुन र फूलले सजिएको कोठा, मधुरो प्रकाशमा देखिएको उनको चम्किलो अनुहार सँगसँगै जिन्दगीको पहिलो सुरुवात, एक अर्काको अँगालोमा हराउन चाहन्छन् दुवै ।

“तिमीलाई पाएर आज म धेरै खुसी छु ।” उनको लामो केशलाई पन्छाउँदै भन्छ ऊ ।

अनायासै उनको ढुकढुकी बढ्दै जान्छ । उनी मदहोस भई विश्वासको मायामा डुब्न चाहन्छिन् । प्रियतमको अँगालोमा बाँधिएर उसको मन मुटुमा लुक्न चाहन्छिन् ।

“यो शरीर मेरो नभएर मात्र तिम्रो हो । अब यसमा केवल तिम्रै अधिकार छ” भन्दै विश्वासको छातीमा लुटपुटिन्छिन् मोहिनी ।

बिस्तारै उनको निधारदेखि प्रत्येक अङ्गअङ्गमा चुम्दै सलबलाएका हातहरूले उनको कोमल शरीर सुम्सुम्याउँदा उनी पनि रोमाञ्चित बन्न पुग्छिन् । मेरो प्रिय, तिमी त मेरो नशा हो, मलाई पिउन देऊ, आजको दिन मदहोस भई मात्तिन चाहन्छु । तिम्रो अँगालोमा उन्मुक्त भएर पोखिन चाहन्छु । रित्तिएको यो सिङ्गो बोतलमा तिमी भरिँदै जाऊ, म पोखिँदै जानेछु पोखिँदै जानेछु । धोको फेरिन्जेल मलाई हेरिराख, तिम्रो अँगालोमा समेटी राख जबसम्म म तृप्त हुँदिन तबसम्म । रसिला पोटिला सुन्तला देख्दा कतिखेर खाउँझैँ हुन्छ उसलाई । मात्तिएका छट्पटिएका ती कोमल हातले च्याप्प समाउँछ । उनी लाजले पानीपानी हुन्छिन् । बिस्तारै पग्लिँदै जान्छिन् उनी मैन पग्लेझैँ । धैर्यको बाँध टुट्दै जान्छ दुवैको, न्यानो स्पर्शसँगै सागरको छालमा पोखिँदै अँगालोमा कस्दै समर्पित हुन्छन् एकआपसमा । सजिएको बेलुन प्याट्ट फुट्छ । हराएको चीज पूर्णरूपमा पाए जस्तै हुन्छ उसलाई, प्यासले छट्पटाइरहेको बेला एक बोतल पानी घट्घटी खाएर प्यास मेटेजस्तै हुन्छ विश्वासलाई । दुवैजना मिठो सपनामा लुप्त हुन्छन् ।

===

भालेको डाकले ब्युँझिन पुग्छिन् मोहिनी । भिजेको लामो केश फिजार्दै, हातमा लिएको चियाको कप टेबुलमा राख्दै, विश्वासको निधारमा चुमेर निद्रा बाट जगाउँछिन् ।

“निदाएको कहाँ थिएँ र । तिम्रो मिठो चुम्बन पाउनको लागि निदाएको बहाना थियो ।” अँगालोमा कस्तै भन्छ विश्वास ।

“बिहे भएको पनि एक हप्ता भइसक्यो । ल भन, हामी हनिमुन मनाउन कहाँ जाने ?” ऊ सोध्छ ।

“तिम्रो इच्छा नै मेरो खुसी, तिमी जहाँ भन्छौ म त्यही जान्छु ।” साडी पट्याउँदै भन्छिन् उनी ।

विश्वासको व्यवसाय इन्डियामै भएकाले र आफ्ना साथीभाइहरू उतै भएकाले मुम्बइ जाने निर्णय गर्छ । सुनौलीको बोर्डर पार गरेपछि नौतुनवाबाट रेलको यात्रा गर्दै खोरखपुर हुँदै मुम्बई पुग्छन् दुवै ।

दुई दिनको लामो यात्राबाट थकित भएको शरीर कतिखेर होटल पुगेर थकाइ बिसाउजस्तै हुन्छ मोहिनीलाई । केही बेरमा होटल पुग्छन् । त्यहाँका स्टाफहरूसँग विश्वासको राम्रो सम्बन्ध रहेकाले उसलाई देख्नासाथै खुसी हुँदै हात मिलाउँछन् । धनाढ्य व्यापारीहरूको आउजाउ रहेको फाइभस्टार होटल निकै आकर्षक देखिन्थ्यो । स्टाफसँग साँचो लिन्छन् र कोठा नम्बर १०३ मा पस्छन् । बाहिर ४५ डिग्रीको गर्मी भए पनि कोठा वातानुकूलित भएकाले गर्मीको महसुस भएन, उनी बेडमा थचक्क बस्छिन् ।

“तिमीलाई केही चाहियो भने छेउमा रहेको फोनबाट त्यहाँ लेखेको नम्बरमा डायल गर्नु,तल स्टाफहरूले उठाउनेछन् । यहीँ कोठामा नै ल्याइदिन्छन् ।” भन्दै विश्वास फोन थिचेर देखाउँछ ।

“म एकछिन स्टाफ भाइहरूलाई भेटेर आउँछु, गर्मी छ, चिसो कोक पठाइदिन्छु तिमी पिउँदै गर । म तु गए तु आएँ । तिमी बस्दै गर है डार्लिङ ।” निधारमा चुम्दै भन्छ ।

“छिटो आऊ है मलाई एक्लै बोर लाग्छ” थाकेको स्वरमा भन्छिन् उनी ।

सूर्य अस्ताउँदै जान्छ उनी झ्यालबाट समुद्रमा छल्किरहेको छाललाई हेरिरहन्छिन् ।

ढोका ढक, ढक गरेको आवाज आउँछ । मोहिनी ढोका खोल्छिन् ।

“म्याम ! कोक” स्टाफ भन्छ ।

“टेबुलमा राखिदिनुहोस्, अनि विश्वास सर कहाँ हुनुहुन्छ ?” प्रश्न गर्छिन् उनी ।

“ए ! विश्वास सर एकछिन बाहिर जानु भएको छ ।” चिसो कोक हातमा लिँदै पिउँछिन् उनी ।

===

मोबाइलमा घण्टी बज्छ, निद्रामा फोन उठाउँछ ऊ ।

“सर हजुरलाई दिएको सेवामा सन्तुष्ट त हुनुहुन्छ नि ?” कुनै अपरिचित व्यक्तिको प्रश्न थियो ।

“यतिका दिनसम्म भोकाएको थिएँ, यस्तो स्वादिष्ट भोजन त आजसम्म खाएकै थिएन, टन्न अघाएँ, मज्जा आयो ।” झूठ नै सही ऊ दङ्ग पर्दै जवाफ दिन्छ । मोबाइल अफ गरेर सिरानीमुनि राख्छ र कोल्टे परेर सुत्छ ।

बिहानीपख भर्खर उदाउँदै गरेको त्यो रातो झुल्के घाम झ्यालको सिसा छिचोल्दै उनको आँखामा ठोकिन पुग्छ । बिस्तारै आँखा खोल्छिन्, टाउको भारी भए जस्तो, चक्कर लागेजस्तो हुन्छ उनीलाई । हैन के भएको आज मलाई, यस्तो त कहिल्यै भएको थिएन, टाउको समाउँदै मनमनै भन्छिन् ।

“ए मेरो हजुर, यता फर्कन कति सुतिरहेको ?” उसको कुममा टाउको राख्दै भन्छिन ।

जब ऊ फर्किन्छ, उनी तर्सिन्छिन, चिच्याउछिन्, कराउँछिन्, भुँइचालो आएर यो होटल नै हल्लिए जस्तो हुन्छ उनलाई ।

“को हो तपाईं ? मेरो कोठामा एउटै बेडमा सुत्ने साहस कसरी गर्नुभयो ? मेरो श्रीमान् खोई ?” आक्रोश पोख्छिन् ।

“तिम्रो श्रीमान् ? कुन दुनियाँमा छौ ? यहाँ आउनेहरूको न श्रीमान् हुन्छ न त श्रीमती ।” बेडबाट जुरुक्क उठ्दै भन्छ ऊ ।

उनी आफ्नो टाउको समाउँदै थचक्क भुइँमा बसेर रुन थाल्छिन् ।

“तपाईं के भन्दै हुनुहुन्छ ? जे सोच्नु भएको छ म त्यो होइन, अग्नीलाई साक्षी राखेर, सात फेरो घुमेर, लगन गाँठो कसेर बिहे गरेकी श्रीमती हुँ । यो सिन्दुर देख्नु भएको छ ? यो घाँटीको मंगलसूत्र देख्नु भएको छ ? यो सिन्दूर, मंगलशुत्र देख्दा देख्दै पनि मेरो बेडसम्म आउने साहस कसरी गर्नु भयो ?” झर्किंदै भन्छिन् ।

“तिमी कोसँग आयौ, कसले ल्यायो, ऊ को थियो, मलाई केही थाहा छैन । मेरो मतलबको कुरा पनि होइन, तर जसले तिमीलाई ल्यायो ऊ राम्रो मान्छे पक्कै पनि होइन ।” दुई ओठको बिचमा चुरोटको खिल्ली च्याप्दै भन्छ ऊ ।

“मलाई अझै पनि विश्वास छैन, तपाईं झुठो बोल्दै हुनुहुन्छ” आँसु पुछ्दै भन्छिन् मोहिनी ।

“यो झुठो हुन्थ्यो भने धेरै राम्रो हुन्थ्यो, तर यो सत्य हो । सत्यलाई त तिमीले स्वीकार्नै पर्छ, चाहे त्यो जतिसुकै घिनलाग्दो किन नहोस् ।” चुरोटको धुवाँ उडाउँदै भन्छ ।

“हिजो नै तिमीलाई यो कोठामा छोडेर ऊ टाप कसिसक्यो । म रातभरि तिमीसँगै छु यो बन्द कोठामा तिमी र मबाहेक अरू कोही छैन । मैले तिमीलाई जे पनि गर्न सक्थेँ । म पनि भरखरको जवान युवक हुँ । तिमी मस्त निद्रामा थियौ, तिम्रो अनुहारलाई नियालेर हेरिरहेँ । तिम्रो माया लाग्दो अनुहार, सिउँदोको सिन्दुर अनि घाँटीको मंगलसूत्रले मेरो मन ठप्प रोकियो । मैले त्यो सिमा नाघ्न सकिनँ । तिमीप्रति हेर्ने नजर नै फरक भयो । तिमी पक्कै पनि त्यो किसिमको केटी होइनौ जस्तो लाग्यो । तिमीप्रति सहानुभूति पलायो । तिमी मसँग सुरक्षित छौ ।” उसले भन्यो ।

“जब मैले कोक पिएँ त्यसपछि केही थाहा भएन, अब मैले अनुमान गरेँ शायद त्यो कोकमा केही मिसाइएको थियो ।” मोहिनी भन्छिन् ।

“हुन सक्छ, यो मुम्बइ सहर हो, यहाँ पाइला पाइलामा जोगिनुपर्छ ।” ऊ ढोकाको चुकुल खोल्दै भन्छ ।

“तपाईं पनि मलाई छोडेर जान लाग्नु भयो होइन ?” आँखाभरि आँसु लिँदै भक्कानिएको स्वरमा भन्छिन् ।

उनको यो शब्दले ऊ स्तब्ध हुन्छ । ढोकामा पुगेर टक्क अडिन्छ । उनको करुणादायी शब्दले उसको मन छुन्छ । उनीप्रति अथाह मायाको सागर छल्केर आउँछ, फर्केर उनलाई हेर्छ ।

“सबै पुरुष तिम्रो श्रीमान् जस्तो निर्दयी हुँदैनन् र सबै ग्राहक मजस्तो दयालु पनि हुँदैनन् । चिन्ता नगर म एकछिनमा आइपुग्छु ।” चुकुल लगाएर बस्नु यति भन्दै ऊ निस्किन्छ ।

बाटो हेर्दा हेर्दै आँखा लोलाइसके । निकैबेर भैसक्दा पनि ऊ नआउँदा मन अत्तिन पुग्छ । कहाँ जाऊँ म यो बिरानो सहरमा । न चिनेको छ न जानेका, कसरी अलपत्र पार्यौ । यति ठूलो घात गर्यौ मलाई ए निष्ठुरी । माया गरेको मान्छे, सराप्न पनि सक्तिनँ तिमीलाई । आँखाबाट बगेका अविरल ती आँशुका वर्षा खाटमा घोप्टो पर्दै बगाउँछिन् उनी ।

ढक ढक ढोका हान्छ कसैले । उनी आँसु पुछ्दै ढोका खोल्छिन् ।

रुँदा रुँदा थाकेका उनका आँखाहरू हेर्नासाथै प्रस्ट बुझिन्थ्यो ।

“मलाई माफ गर, यो तिम्रो लुगा खोज्दा ढिलो भयो । यो लगाएर तिमी यहाँबाट निस्क ।” उनको हातमा बुर्का दिँदै भन्छ ऊ, “तिम्रो नाम ?”

“म मोहिनी ।” छोटो जवाफ दिन्छिन् ।

“मेरो एक जना चिनेको दिदी हुनुहुन्छ, उहाँसँग मेरो कुरा भइसकेको छ । यो ठेगानामा ट्याक्सी लिएर जाऊ र उदयले पठाएको भन्नु । मेरो नाम उदय हो । आज तिमी यहाँबाट निस्किनौ भने यो दलदलबाट कहिल्यै निस्कन पाउनेछैनौ । म पछि आउनेछु ।”ठेगाना लेखेको कागज दिँदै भन्छ ऊ ।

त्यो अपरिचित नौलो बिरानो सहरमा एउटा अबोध नारी ट्याक्सीमा बसेर कालो बुर्काभित्र आफ्नो अनुहार लुकाउँदै गैरहेकी छ । झ्यालबाट त्यो व्यस्त सडकमा उनको आँखाले कसैलाई खोजिरहेको थियो । कता कता डर त्रासले मुटु हल्लिरहेको थियो । मनमा अनेक कुराले सताउँछ, मायाले विश्वासले गढेका दरिला खम्बाहरू आज हेर्दा हेर्दै ढल्न पुगे ।

“भित्रभित्रै धमिराले खाएका दलिनहरू आफ्नै थाप्लोमा खस्न पुग्दा घाइते भएर लडेँ, मुर्छा परेँ, पछारिएँ नराम्रोसँग । हनिमुनको रङ्गीन सपना देखेकी म, थाहै नपाई मेरो अस्तित्व बेचिन पुगेछ । त्यो पनि प्रिय मान्छे, म आफूलाई भन्दा पनि बढी विश्वास गरेको मान्छे, आफ्नै श्रीमानबाट । उफ् कति ठूलो छल भएछ ममाथि । के यही थियो मेरो पवित्र सिन्दूर, अनि उसको नामको मंगलसूत्र ? आज मेरा रगतसरि बगेका आँसुबाट पखालिँदै छ मैलिएको सिन्दूर अनि टुक्रा टुक्रा भई भुइँभरि छरिएका छन् बनावटी मंगलसूत्रका क्रिस्टल दानाहरू । अब त को आफ्नो को पराई चिन्न पनि गह्रो भयो ।” आँखाबाट बर्ररर आँशु बगाउँछिन् मोहिनी ।

===

यतिकैमा ट्याक्सी रोकिन्छ र तपाईंकाे ठेगानामा भएको घर यही हो, चालकले भन्छ ।

उनी ट्याक्सीबाट ओर्लिन्छिन् र गेटको छेउमा भएको घण्टी दबाउँछिन् ।

अधवैँशे महिला आएर ढोका खोल्छिन् ।

“उदयजीले पठाउनु भएको ।” उनी भन्छिन् ।

“तपाईं मोहिनी हो ?” महिला सोध्छिन् ।

मात्र टाउको हल्लाउँछिन् मोहिनी ।

“उदयले सबै कुरा भनेको थियो, त्यस्तो मान्छेको जालमा कसरी पर्यौ ! अपराधी नै रहेछ । झण्डै नराम्रो मान्छेको हातमा परिनछ्यौ यति राम्रो मान्छे।” ती महिला भन्दै थिइन् ।

“म आफैँलाई बुझ्न नसकेको बेला ऊ मेरो जिन्दगीमा आउँछ । म उसको प्रेममा यसरी डुब्न पुगे कि ऊ मेरो लागि नशा बनिसकेको थियो । साँच्चै प्रेम अन्धो हुँदो रहेछ, आज त्यसको परिणाम भोगिरहेकी छु । अविरल आँशुका वर्षाले ढाकेको आँखाको नानीबाट आफ्नो मान्छे चिन्नै सकिनँ । त्यसैले हजारौँको भिडमा उसलाई खोज्दै जाँदा आफू हराएको पत्तै पाइनँ, जब आँखा खोलेँ तब मेरो जिन्दगीको पाना पल्टिसकेको थियो । म कसैको विस्तर बनिसकेकी थिएँ । जब कोठा नम्बर १०३ मा पुगे मेरा सारा सपनाहरू शिशाझैँ चकनाचुर भए । सिंगमर्मरले बनेको त्यो हाम्रो सपनाको सुन्दर ताजमहल यति कमजोर भएर ढल्ला भन्ने कल्पना पनि गरेकी थिइन । ऊसँगको सुखद अनुभूति आज मेरो जीवनमा कालो ग्रहण बनेर उकुसमुकुस बनाउँला भन्ने सोचेकी थिइनँ । अब त जीवन जिउन आफैँलाई गाह्रो लाग्न थाल्यो । खुसीका ढोकाहरू पनि सबै बन्द भएझैँ लाग्न थाल्यो । मेरो जिउने रहर मरिसक्यो, अब मलाई बाँच्नु छैन । मेरो बुबा आमा साथी भाइको सामु म के भनेर जाऊँ ?” दुई हातले आफ्नो अनुहार छोप्दै घुँक्क घुँक्क गर्दै रुन्छिन् उनी ।

उदय पनि आइपुग्छ ।

“तिमी मर्दैमा समस्या समाधान हुँदैन, झन् जटिल हुनेछ । तिम्रो आलोचना मात्र होइन बदनाम पनि उत्तिकै हुनेछ । मरेपछि तिमीलाई झन् नङ्ग्याउनेछन् । तिमी आजकी नारी हौ प्रतिकार गर्न सिक, आफूलाई मजबुत बनाऊ, नारी कमजोर हुनु भनेको पुरुषलाई मजबुत बनाउनु हो । तिमी चिन्ता नगर तिम्रो घरसम्म पुर्याउने जिम्मा मेरो ।” हौसला दिँदै भन्छ उदय ।

“भगवानप्रति विश्वास डगमगाएको थियो तर आज लाग्यो भगवान् साँच्चै नै रहेछन् ।”उदयको खुट्टा समाउँदै रुन्छिन् उनी ।

दुई हातले मोहिनीको पाखुरामा समाउँदै उठाउँछ, उदयको शब्द उनको लागि हौसला, प्रेरणा बन्न पुग्छ । आँसु पुछ्दै झ्यालमा टक्क अडिन्छिन् र बाहिरी दुनियाँ नियाल्छिन् । आफ्नो मनले आफैँलाई सम्झाउँछ । म एक्लिएकी छु, रित्तिएकी छैन, लुटिएकी छैन । मैले आफूलाई जतन गरेकी छु बर्बाद भएकी छैन । म आजकी नारी हुँ, कमजोर छैन, हिम्मत हारेकी छैन । साहस बटुलेकी छु । विस्तारै घाउहरू पुरिँदै जानेछन् । केही बनेर देखाउनु छ, पछि फर्केर अब हेर्नु छैन ।

===

वैशाखिको सहारा लिएर बसस्टपमा उभिरहेको पुरानो मित्रलाई देख्छ । ऊ गाडी रोक्छ । खुसीले गदगद हुन्छन् । दुवै जना अंकमाल गर्छन् । यति सजिलै उम्कन कहाँ दिन्थ्यो र उदयले । दुवैजना घरतिर लाग्छन् । गाडीको हर्न सुनेर काम गर्नेले गेट खोल्छे ।

“दिदी खोइ ?” उदय सोध्छ ।

“पसल जानु भएको छ ।” छोटो जवाफ दिन्छे ।

सोफामा गएर थचक्क बस्छ । बंगला निकै सुन्दर देखिन्थ्यो । विदेशबाट मगाएका बहुमूल्य सामानले सजिएको थियो बैठक कोठा, कुनै म्यूजियम भन्दा कम थिएन ।

“धेरै खुसी लाग्यो आज तेरो उन्नति प्रगति देखेर ।” ऊ भन्छ ।

“यो सबै मेरो श्रीमतीको देन हो, उनको मेहनतको फल हो । एउटा पुरुषलाई सफल बनाउन महिलाको ठुलो हात हुन्छ । उनी हस्तकलामा तल्लीन भएर लागिन् । उनले बनाएका सामानहरू देशविदेशसम्म पुगेका छन् । आज हाम्रो हस्तकला ठाउँठाउँमा छ । उनी असल गृहिणी मात्र नभएर सफल उद्यमी महिलामा गनिन्छिन् । शायद मैले पुण्य कमाएको हुनुपर्छ त्यसैले उनीजस्तो श्रीमती पाएको छु । आज म भाग्यमानी पुरुषमा पर्दछु । तेरो कारमा चढेर हामी कहाँ कहाँ पुग्थ्यौँ अझै पनि सम्झिन पुग्छु ती दिनहरू । अनि अहिलेसम्म त बिहे गरिस् होला ।” उदय सोध्छ ।

“बिहेको बारेमा पछि सोचौँला,” ऊ भन्छ ।

“ए ! त्यसो भए बिहे गरेको छैनस् ?” उदय भन्छ ।

“जब मेरो एक्सिडेन्ट भयो त्यसपछि म करोड पतिबाट रोडमा झरें । मेरो सुख शान्ति सबै हरायो । आज पनि म वैशाखीको सहारामा हिँडिरहेको छु । शायद कसैको आँसु लाग्यो, श्राप लाग्यो मलाई । आज उनको तलासमा भड्किरहेको छु । उनलाई भेटेर माफ माग्न पाए अरू केही चाहिन्नथ्यो । त्यो नै मेरो प्रायश्चित हुने थियो । उनी सुखमा छिन् या दुखमा, जीवित छिन् या छैनन्, त्यो पनि थाहा छैन ।” उसको प्रत्येक शब्द शब्दमा मनभित्रका पीडा बिस्फोट भैरहेको थियो ।

===

ढोका खोल्दै भित्र पस्छिन् उनी । उनलाई देख्ना साथै जुरुक्क उठ्छ ऊ ।

“यिनै हुन् मेरी गृहलक्ष्मी मोहिनी । ऊ मेरो पुरानो साथी विश्वास जसलाई म विसु भनेर बोलाउने गर्थे । आज धेरै वर्षपछि भेट भएको छ । केही दिन ऊ यही बस्छ । यति चाँडै बिदा गर्नेवाला म छैन ।” मोहिनीको काँधमा हात राख्दै भन्छ उदय ।

दुवैजना हेराहेर गर्छन् । आँखामा छचल्किएकाका आँसु लुकाउँदै दुई हात जोडी फिस्स हाँस्छ विश्वास । चाहेको त थियो उनको खुट्टा समाएर आलापविलाप गरेर दुई हात जोडेर माफी माग्न, तर लाचार छ विवश छ, चाहेर पनि त्यसो गर्न सक्दैन । पीडाले भित्रभित्रै छट्पटिन्छ ऊ ।

उदयको अर्जेन्ट फोन आएकाले एकछिनमा आइपुग्ने बाचा गर्दै बाहिर निस्कन्छ ।

“मलाई माफ गर मोहिनी । मैले गरेको गल्तीको सजाय आज भोगिरहेको छु ।” भक्कानिएको स्वरमा भन्छ विश्वास ।

“म ती विगतबाट धेरै टाढा आइसकेकी छु । जुन दिन मेरो पवित्र सिन्दूर मैलायौ, त्यस दिनदेखि मेरो जिन्दगीले पनि नयाँ मोड लियो, त्यो कालो दिन सम्झन चाहन्न । बरु यसो सोच, जो श्रीमान् जसले मोहिनीलाई बेचेको थियो त्यो अरू कोही नभएर तिमी नै थियौ भन्ने कुरा उदयले थाहा पाउँदा उसको नजरमा तिम्रो स्थान के रहला ?” उनी बर्ररर आँसु खसाल्दै किचनतिर लाग्छिन् ।

चियाको कप हातमा लिँदै यताउति हेर्छिन्, तर विश्वासलाई कतै देख्दिनन् र ढोका बाहिरसम्म आउँछिन् ।

कम्पाउण्ड बाहिर पर बैसाखीको खटखट आवाज उनको कानमा गुञ्जिरहन्छ ।