काउन्टर अघिको अग्लो स्टुलमा खुट्टामाथि खुट्टा खप्टिएर बसेकी सुन्दर केटीको आधा तिघ्रादेखि उँधो कपडा छैन, छेपारीसम्म तुना बाँध्ने रेड लेस अप ब्लेक सेन्डल लगाएको बाहेक। रेड बडीकन अपर ड्रेसले न त नाइटो न घाँटीको तल्लो भाग अरूको आँखाबाट सुरक्षित राख्ने गरी छोपेको छ। ओठमा पनि रेड लिपिस्टिक लगाएकी अनि अनुहारमा मेकअप त कति हो कति। यही सुन्दर रूपको चुम्बकीय शक्तिमा पहिलोचोटि साथी राजीवसँग बार आएका दिनेश आकर्षित भएर हेरिरहन्छन्।
शहर पसेको दश वर्षपछि आज पहिलोचोटि उसको साथी राजीवले ढिपी गर्दा बार आएका हुन् दिनेश। भर्खरै एक महिनाअघि नयाँ कम्पनीमा उनले ज्वाइन गरेका थिए। राजीवसँग उनको मित्रता भएको पनि एकै महिना मात्र हुँदै छ। राजीव यही शहरका मूल वासिन्दा हुन्। बार जाने उनका लागि कुनै नयाँ कुरा होइन। ऊ प्राय बार, रेस्टुरेन्ट गइरहन्छन्। आज पनि राजीवले ‘जीवनमा सबै थोकको अनुभव गर्नु पर्छ’ भन्दै ढिपी गरेपछि दिनेश जान तयार भएका थिए। दिनेशले दष वर्ष शहरमा बिताइसक्दा पनि हाँसीमजाक, मनोरञ्जन, मोजमस्ती, घुम्नेफिर्ने कुराहरूको उनको मनले सोच्ने समय नै पाएनन्। सोह्र वर्षे उमेरमा दिनेश शहर पस्दा ऊसँग सपनाको थैलोबाहेक अरू साथमा केही थिएन। सपना पूर्तिका लागि दिनरात मिहिनत गर्ने बाटोमा यी सबै मनोरञ्जनका वस्तु ऊबाट कोसौँ टाढा थिए। मनोरञ्जनका वस्तुले न उनलाई मन पराए, न उनले छेउ गएर अँगाल्ने नै प्रयास गरे। मायाको मौसमले आजसम्म उनको जीवनमा पदार्पण नै गरेको छैन।
रातो कपडा लगाएकी केटीको आकर्षणको वाणबाट घायल मृगझैँ दिनेशका नयन छट्पटाइ रहेछन्। नयनले तृष्णा मेटिरहेका छन् भने मनमा उत्कण्ठा उफ्रिँदै छन्। उनी आफैसँग वार्तालाप गर्न लाग्छन्- ‘मेरो स्कुले अनि कलेजको समयमा, चार वर्षको जभ लाइफमा कुनै पनि केटीलाई हेर्दा यो मन केहिल्यै यसरी आकर्षित भएको थिएन। जीवनको लक्ष्य पाउने बाटोमा प्रेम बाधा हो भनी यस्ता विचारलाई टाढा राखेँ। यौवनको मध्य धारमा पुग्दा पनि लक्ष्यलाई नै यो मनले सधैँ प्राथमिकता दियो। छेउछाउमा कत्ति रूपवती केटी हुँदा पनि यो मनले आदर्शलाई बिर्सिएन। आज यो केटीलाई देखिसक्दा यति उत्तेजना अनि उसको आकर्षणले यो मन किन विचतिल भएको?’
‘तर के यो बारमा आएकी केटी सुशील होली?’ ‘बार’ शब्द मनमा आइसक्दा उनको मन झसङ्ग भयो।
‘यो बारमा, ड्रिङ्क्स गर्ने, डिस्को गर्नेहरू मात्र त आउँछन्। हेर त यसको कपडा लगाइ ! के यस्ती केटीलाई मैले हेर्न शोभा दिन्छ ? हेर त उसको हेराइ ! न उसको अनुहारमा लाज छ ! न छोरीमान्छेको लक्षण ! न इज्जतप्रति चिन्ता !…इज्जतको चिन्ता ? उसले बुझेर नै अङ्ग प्रदर्शन गरेकी हो। यस्ती चरित्रहीन केटीलाई मजस्तो आदर्शवादी केटाले यसरी लोभी भएर हेर्नु अशाेभनीय हो। मैले यसरी मायालु नजरले यसलाई हेर्नु मेरो आत्मसम्मानप्रति आघात गर्नु हो। यस्तो डिस्को बारमा अङ्ग प्रदर्शन गर्ने केटीहरू मेरो चोखो मायाको योग्य कदापि हुन सक्दैनन्।’
‘यो पनि तैँले सोच्नु पर्ने हो- तँ कुनै मन्दिरमा आएर माला जप्तै यो केटीलाई हेरेको हैनस्। बारमा आएर नै यो केटीतिर आफैँ आकर्षित भएको। तँ पनि केटी समान कसैका लागि घृणाको पात्र हुन सक्छस्। अनि यो केटीले तँलाई मप्रति आकर्षित हुनु भनेकी छैन। यहाँ आउने उसले तँलाई निम्तो दिएकी पनि त होइन। ऊ त आफ्नो स्वेच्छाले आएकी होली !’
‘स्वेच्छा ? हुन सक्छ बाध्यताले यहाँ आएकी होली ! सुनिन्छ त, कति छोरी मान्छे गरिबीको बाध्यताले, अपराधीले फँसाएर यस्तो काम गर्न बाध्य बनाउँछन्। सायद यो पनि त्यस्तै बाध्यताले आएकी होली। बिचरी ! सायद परिवारमा केही सङ्कट आएर यहाँ आउन बाध्य भई होली ! ड्युटीअनुसार यस्ता वस्त्र लगाएर ग्राहक बटुल्ने उसको जिम्मा होला। यसमा उसको के दोष र ? मन पो सफा हुनु पर्छ। केटीको अङ्ग हेरेर लोभिनु त हेर्नेको आँखा नै दोषी हो।’
‘परिवारको सङ्कट हुन्थ्यो भने यसरी हातमा एपलको लेटेस्ट मोबाइल, घाँटीमा डायमण्डको हार, हातको औँलाले चेपेको सिगरेट कसरी ? यो सब हेर्दा त पक्कै पनि यो गरिब परिवारबाट होइन ! परिवारमा सङ्कट परेर यहाँ आएकी होइन ! अमिर घरानाकी बिग्रेकी छोरी !’
‘तर जस्तो परिवारबाट भए पनि किन यस्तो गरेकी होली। यति राम्री केटी सभ्य हुनु नि।’
‘हेर्दा लोभ लाग्ने छे तर यसको मनोवृत्ति र रवैयाचाहिँ….छि ! छि ! नसुहाउने यस्ती राम्री केटीलाई भन्न पनि।’
‘बारमा त, तँ पनि आएको छस्। त्यसो भने तँ पनि त्यही हो त?’
‘म यस्तो कहाँ हो र ? म त यसो हेर्न जान्न पो आएको हुँ। म त्यस्तो हुने सोच्न पनि सक्दिनँ।’
‘पक्का पनि हुन सक्छ। यो केटी पनि तँ जसरी आएकी होली। जान्न, बुझ्न ? बार आउने सबै चरित्रहीन कहाँ हुन्छन् र ?’
‘तर उसको वाहियात वस्त्र, सिगरेट चाहिँ ?’
‘के वस्त्रले केटीको राम्रोनराम्रो चरित्र चित्रण गर्छ ? मन पवित्र हुने हो कि वस्त्र ? हुन सक्छ यो केटीले वस्त्र यस्तो लगाए पनि उसको मन पवित्र होला ! जस्तो भए पनि केटी कति राम्री। मनै लोभिने।’
दिनेश आफ्नै काल्पनिक कुराले उकुसमुकुस भए। उनका आँखा भने केटीबाट हटेकै छैनन्।
चिली पोटेटो, रोस्टेट चिकन अनि दुइटा चिल्ड बियरका बोतल टेबलमा राजीवले ट्याक्क राखे। अघिबाट राजीवले विचार गरेका रहेछन् दिनेशका नजरलाई। झस्काउँदै सोध्छन्- ‘के हो साथी पहिलो दिनमै छक्का हान्न आँट्यौ क्याहो ? मन पर्यो भने भन, कुरा गरौँला।’
दिनेश झसङ्ग हुन्छन्। यसरी उसलाई कसैले आजसम्म जिस्कियाएका थिएनन्। कसले पो जिस्काउनु र ? कहिल्यै यस्तो ठाउँमा न आए, न प्रेमस्रेम गर्नतिर ध्यान दिए। उनी सरमले रातो न पिरो हुन्छन्।
‘राजीव मैले बियर लिने गरेको छैन।’
‘लू ! के कुरा गरेका तिमीले ? यो उमेरमा पनि बियर पिउन डराएका। सरम हुन्छ है साथी अब त ! यस्ता बियर त आजकलका केटीले एक्लै एक कार्टुन खाइदिन्छन्। हेर तिमीले हेर्दैगरेकी केटीले हातमा सिगरेट लिएर कति मज्जाले उडाउँदै छे। एकछिनमा बियर पनि तान्छे। एकचोटि पिएर फेरि त्यो केटीलाई हेर अघिकोभन्दा हेर्ने आनन्द अर्कै हुन्छ।’
दिनेशले केही उत्तर दिएनन्। मुसुक्क हाँसेर पहिलोचोटि बियर खाने सहमतिको सङ्केत दिए।
केही क्षणमा उनले काउन्टरतिर हेरे। स्टुल ठिङ्ग खाली उभिरहेको रहेछ। केटी थिइन। दिनेश विचलित भए। ‘कता गइछे? फेरि आउँछे कि आउँदिन होला ? आइन भने कसरी उसकोबारे सोध्नु ?’ मनै मन आफैँलाई प्रश्न गरे।
साथीसँग बोलिरहे पनि उनको मनमा प्रश्नै प्रश्नहरू उठिरहे। केटी गएकाले प्रफुल्लित भएको मनमा ग्रहण लाग्यो। साथीसँग कुरा भनूँ भने उनलाई अप्ठ्यारो लाग्छ। यस्ता कुरा गर्ने उनको कहिल्यै बानी रहेको छैन। त्यो केटीको खोजी गर्ने उपाय सोच्न लागे।
राजीव ट्वाइलेटतिर जान्छन्। साथी नभएको मौका छोपेर कसैसँग केटीबारे सोध्न यताउता पलयाक्पुलुक् हेर्छन्। न कोही चिनेको न जानेको तर मनमा उत्सुकता यति प्रबल हुँदै छ कि उपायका विकल्पहरू मनमा स्वतः आइरहेका छन्। उनी छेउको वेटरलाई बोलाउँछन्।
‘अघि त्यो स्टुलमा बसेकी केटीलाई चिन्दछौ ?’
‘व्यक्तिगत रूपमा त चिन्दिनँ तर प्रायः यहाँ आउने गर्छे।’
‘ऊसँग सम्पर्क गर्ने मोबाइल नम्बर या सोसियल मिडियाको आई.डी. थाहा छ भने भन न प्लिज।’
‘सरी सर। हामीलाई यस्तो जानकारी दिने अनुमति छैन। हामीले दिन मिल्दैन। केटी मन पर्यो भने पहिलो मञ्जिलमा गएर म्यानेजरसँग कुरा गर्नु न।’
वेटरले दिने चासो देखाएन। दिनेशले पनि बुझे वेटरबाट दाल गल्ने रहेनछ भनेर। खल्तीबाट पाँच सयको नोट निकालेर वेटरको खल्तीमा हालिदिए। वेटर मुसुक्क हाँसो अनि कानको छेउमा आएर भन्छ- ‘केटीको नाम रिया हो। फेसबुकमा रिया एन्जेल भनेर नाम छ।
…
बारबाट आएर बिस्तरामा पल्टिसक्दा फोनबाट फेसबुक खोले। सर्च अप्सनमा गएर ‘रिया एन्जल’ सर्च गरे। अप्सनमा निकै रिया नामका आई.डी. आए। पालै पालो गरेर फोटो हेरे। अप्सनको अन्तिम तालिकामा रिया एन्जल आई.डी. भेट्छन्। चिनिहाले। चित्त प्रसन्न भयो। सबै फोटो जुम गरीगरी हेरे। दिनेशलाई अचम्म लाग्यो अघि बारमा उसको पहिरन र फेसबुकमा भएका फोटोमा भुइँआकाशको अन्तर थियो। न कोई अङ्ग प्रदर्शन गरेका फोटा थिए न अशिष्ट शैलीमा। सुशील अनि व्यावहारिक फोटा मात्र राखेकी रहिछन्। साथीसँग, परिवारसँग चाडबाडमा खिचेर अपलोड गरेका सुन्दर फोटा हेरेर दिनेश मक्ख परे। उसको सभ्य रूप देखेर पूर्णिमाको रातमा शीतल तापेसमान आनन्दित भए। अघि बारको दृष्य सपना अनि अहिले यथार्थको आशाले मनवृक्षमा तना पलाएजस्तो आभास भयो। फेसबुकका सबै फोटा हेरिसकेर अन्तमा रिक्वेस्ट सेन्ड गरे।
…
भोलिपल्ट आफिसमा दिनभरी पटक पटक फेसबुक हेरे कतै रियाले रिक्वेस्ट स्वीकृत गरी कि भनेर, तर भएको हुँदैन। एक दिन, दुई दिन गर्दै तीन दिन बितेर जाँदा पनि केही प्रतिक्रिया उताबाट आउँदैन। चौथो दिनमा राजीवले फेरि बार जाने कुरा गरे। आज दिनेश जान तुरन्तै राजी भए रियालाई भेट्ने आशामा।
दुवै आफिसपछि बार गए। अस्ति बसेको ठाउँकै टेबलमा बसे। दिनेशको नजर त्यही स्टुलतिर गयो। स्टुलमा केटी बसेकी थिई तर त्यो रिया थिइन। मन खिन्न भयो। राजीव अर्डर दिन गए। अस्तिको वेटर मौकैमा फेला पर्यो। केही नबोली दिनेशले वेटरको खल्तीमा पाँच सय हालिदिए।
‘रिया आएकी छैन आज ? फेसबुकमा अनुरोध स्वीकार गरिन त ?’
‘तीन दिनपछि आज आएकी थिई तर आउने बित्तिकै कसैसँग गई।’
‘कोसँग गई ?’
‘मलाई जानकारी छैन सर। आफैँ थाहा गर्नुहोला।’
‘उसको फोन नम्बर छ भने देऊ न?’
‘छैन सर। हामीले राख्दैनौँ पनि।’ भनेर वेटर आफ्नो कामतिर लाग्यो।
अबेर समयसम्म बारमा दुवैजना बसिरहे तर रिया आइन।
…
दिनेशले दिनै फेसबुक चेक गरिरहे तर उनले चाहेको कुरा भएन। कतिचोटि रिक्वेस्ट डिलेट गर्दै पुनः फ्रेन्ड्स रिक्वेस्ट सेन्ड गरे तर सफलता हात लागेन। गाउँदेखि यहाँसम्म मिहिनत गरेर आउँदा रत्ति पनि हतार लागेको थिएन तर अहिले एक हप्ताअघि एउटी बारमा भेटेकी केटीलाई भेट्न यति हतार लागेको छ जसको आकलन उनले पनि गर्न सकेका छैनन्। राजीव केही कामको क्रममा अर्को शहर हप्ता दिनका लागि जान्छन्। यो विकएण्डमा एक्लै बार जाने निर्णय गर्छन्। जान डर पनि लाग्छ अनि मनको आदेशमा ऊसँग भेट्ने कर पनि। बार पस्नेबित्तिकै रियालाई हेर्न लाग्छन् तर उसको अत्तोपत्तो लाग्दैन। केही बेरमा आउँछे भन्ने आशामा कुर्न एउटा बियर अनि खाने कुरा अर्डर दिन्छन्। वेटरले पनि चिनेछ दिनेशलाई क्यार। आइसक्दा मुसुक्क हाँसेर दिनेशको छेउमा आइहाल्यो। दिनेशलाई पनि ऊ नै चाहिएको। दुवैलाई आफ्नोआफ्नो स्वार्थ पूरा गर्नु छ।
‘रिया आएकी छैन ?’
‘दश मिनटअघि त यहीँ देखेको थिएँ। कोहीसँग गइहोली।’
‘यहीँ छ भने उसलाई भनिदेऊ न कि म ऊसँग भेट्न चाहन्छु ?’
‘सर ! यति कष्ट किन गर्नुभएको ? प्रथम मञ्जिलमा जानू न। म्यानेजरले ऊसँग भेट्ने चाँजो मिलाइदिहाल्छ नि।’
‘हैन म आफैँ कुरा गर्न चाहन्छु।’
‘सर, माया बसेजस्तो छ नि रियासँग !’
‘अर्ति दिनुभन्दा उसलाई खोजेर मेरो सन्देश देऊ न।’
‘मैले कसरी दिने सर ? मिल्दैन।’
दिनेशले खल्तीबाट सानो पेपरको चिट निकालेर दिन्छन् वेटरलाई।
‘ऊ आएपछि यो चिट दिनू ल नबिर्सिकन।’
‘हुन्छ। तर हजुरको के नाम भन्दिनू उसलाई ?
‘दिनेश।’
आजको दिन पनि केटीसँग भेट भएन। नैराश्य लिएर दिनेशले घर फर्किनु पर्यो। चिट पढेर केही प्रतिक्रिया दिन्छे कि भन्ने मात्र आशा शेष रह्यो।
दुई दिन बित्दा पनि केटीबाट केही प्रतिक्रिया आएन। दिनमा पटकपटक फोन हेरिरहे तर फोनले ओठमा हाँसो दिने कुनै खबर दिएन। हप्तादिनमा राजीव पनि आए। राजीवसँग केटीबारे सोध्ने विचार गरे तर आँट पटक्कै आएन।
…
अफिसमा दिनेश र राजीव साथमा लन्च गर्दै हुन्छन्। दिनेशको फोनमा ट्याङ् गरेर घण्टी बज्छ। दिनेश फोन हेर्छन्। रिया एन्जेलले फ्रेण्ड रिक्वेस्ट स्वीकृत गरेको नोटिफिकेशन आएको रहेछ। दिनेशको अनुहार स्वतः उज्यालो भयो। मुसुक्क गरी ओठ प्रकाशमय भएर हाँस्यो। छेउमा बसेका राजीवले विचार गरिरहेका रहेछन्। हत्त न पत्त लम्केर हेरे। दिनेशले रियाको प्रोफाइल खोलेको हुँदा रियाको फोटो देखेर चिनिहाले। राजीव दिनेशलाई जिस्क्याउन लाग्छन्।
‘अरे वाह ! तिमीले फेसबुक आई.डी. सम्म माग्याै उसको। निकै फास्ट रहेछौ दिनेश।’
‘साँच्चै ! म यसबारे तिमीसँग कुरा गर्छु भन्दै थिएँ। तिमीले नै सुरु गर्यौ, राम्रो भयो। मैले ऊसँग आई.डी. मागेको होइन। अझैसम्म ऊसँग कुरा त भएको छैन।’
रियाले फ्रेन्ड रिक्वेस्ट स्वीकृत गर्ने भएर पनि रियाबारे सोध्न दिनेशलाई निकै हिम्मत आयो। मायामा हिम्मत आफैँ आउँछ भन्छन् नि ? त्यही हिम्मत दिनेशमा आएको हो कि ?
‘यो केटी यति मन परेको थियो भने पहिलोचोटि गएको बेला भनेको भए हुन्थ्यो नि म मिलाइदिन्थेँ त ?’
‘नचिनी नजानी पहिलोचोटि कसरी मिलाइदिन्थ्यौ र राजीव ?’
‘दिनेश तिमी सोझा छौ। सबै बारहरू बाहिरबाट जस्तो देखिन्छन् त्यस्तो भित्रबाट हुँदैनन्। त्यहाँ केटीहरू राम्री भएर उभिएका कस्टमरलाई आकर्षण गर्नका लागि हुन्। यो रियालाई देखाउँदै छौ नि यो केटीलाई मैले…।’ राजीव अगाडि भन्न चाहँदैनन्। दिनेशलाई चासो लाग्छ। बुझ्न मन अतालिन्छ।
‘केटीलाई मैले के र राजीव ?’
‘केही होइन दिनेश। यो छोड, आउने विकेन्डमा जाँदा म सेटिङ्ग गर्दिन्छु।’
‘राजीव पहिले मलाई भन। मलाई जान्न मन लाग्यो।’
‘म उसको कस्टमर हुँ। ऊसँग म दुईचोटि सुतेको छु। जति राम्री छे त्यति…।’
दिनेशको अनुहार मलिन भएको देखेर राजीव अगाडि भन्न छाडेर प्रश्न गर्छन्- ‘के भयो दिनेश ? किन यसरी आत्तिएका ? के रिया मन पर्छ तिमीलाई ?’
‘केही होइन राजीव। यतिकै ! लन्च भयो अब जाऔँ केबिनतिर।’
दिनेशको मन छताछुल्ल हुन्छ। धेरै वर्ष माया गर्ने प्रेमीको विछोड हुँदा मन पीडित भएसरी उनको मन चस्स गरी दुख्छ। उसले माया त के ! दोहोरो कुरा पनि गरेका छैनन्।
केबिनमा आएर बस्छन्। तर उसको मन बस्न मान्दैन। राजीवको कुराले उसको सपनालाई, चाहनालाई ढुङ्गा टिपेर खोला पारी हानेजस्तो लाग्छ। कति सजिलै राजीवले ‘दुई दिन ऊसँग सुतेको’ भने। दिनेशलाई विश्वास गर्न गाह्रो पर्छ। मनमा थरीथरीका कुरा खेल्न लाग्छन्। ‘आखिर ऊ डिस्को गर्ल…! राजीवले भनेको सही नै हो। ऊ त्यस्तै चरित्रकी केटी रहिछे। यो मन कस्ती केटीतिर लोभिएछ, माया गर्नतिर लागेछ !’
‘हुन त अस्ति पहिलोचोटि देखेको बेला नै उसको पोसाक हेर्दा आफैँ अनुमान लगाएको थिएँ- केटी वेश्या नै हो भनेर!’
‘हैट ! वेश्या त भन्दिनँ। त्यही दिनमा यी कुराको कल्पना गरेर पनि उसको सपना हेरिरहेँ। उसलाई भेट्न यो मन अझै अत्ताल्लिरहेको छ। आखिर किन होला? के मायाले रङ्गरूप नहेरेजस्तो चरित्र पनि हैर्देन ? उसले यस्तो गर्ने बाध्यताचाहिँ के होला ?’
दिनेश अइँअइँ हुन्छन्।
राजीवबाट यो सब यथार्थ जान्दा पनि दिनेशका मनमा रियाप्रति स्नेह बतासको बिचमा दीप धिपधिप् जलेसमान जलिरह्यो। उसको चरित्रलाई जोगाउन उसको मन ऊसँग नै तर्कवितर्क गरिरह्यो। यो द्वन्द्वमा कहिले एउटा मनले जित्छ त कहिले अर्को मनले। यही द्वन्द्व युद्धको परिवेशमा दिनेशको फोनमा म्यासेजको घण्टी बज्छ। वाट्सएपमा म्यासेज आएको रहेछ। अन्नोन् नम्बरबाट। चेट ओपन गर्छन्। वेटरको हातबाट दिएको चिट वाट्सएपमा आएको रहेछ। खोलेर आफैँ पढेँ।
‘रिया एन्जेल, तिमीसँग एकचोटि कुरा गर्न मन छ। फेसबुकमा पनि रिक्वेस्ट सेन्ड गरेको थिएँ। दुई-तीनचोटि तिमीलाई नै भेट्न भनेर बार आएँ तर भेटिनँ। यो चिट पाएपछि प्लिज कल या म्यासेज गर्नू ल। …दिनेश’
यो पढी नसक्दा नै उताबाट म्यासेज आयो। ‘हलो’। ढुकढुक भए दिनेश। रिप्लाई गर्नुअघि प्रोफाइल फोटो हेरे, उसैको रहेछ। सही ठाउँमा चिट पुगेको पुष्टि भएर ढुक्क भए।
‘हलो’ दिनेशले रिप्लाई गरे।
अघिको मलिन भएको अनुहारमा अर्कै चमक आयो। यो क्षणमा राजीवले भनेका अघिका कुरा सबै बिर्से।
उताबाट लामो म्यासेज आयो।
‘मलाई थाहा छैन हजुरले किन मसँग कुरा गर्न मन गर्नुभएको हो। पहिलोचोटि हजुरले मलाई स्टुलमा बसेको बेला हेर्नुभएको थियो। हजुरको त्यो निश्छल हेराइले मेरो मुटुमा कम्पन गराएको थियो। यो बारमा प्रायः केटीलाई हेर्ने मान्छेका नजरमा कामुकता अनि यौनप्यास मात्र हुन्छ। कलिलो अबोध बालकको समान हजुरको माया लाग्दो हेराइले मलाई गलत बाटोमा हिँड्दा काँडो बिज्दाको दुखाइको आभास गराएको थियो। यो कुरुप मनमा लज्जाको भान भयो। मैले हजुरलाई हेर्न पनि सकिनँ। हजुरले वेटरलाई मेरोबारे सोधेको पनि वेटरबाट थाहा पाएकी थिएँ। मैले नै उसलाई मेरोबारे केही जानकारी नदिनु भनेकी थिएँ। दोस्रोपटक हजुर आउँदा त्यो हलबाट गइहालेँ। तोस्रोचोटि एक्लै आउनुभयो, त्यो दिन पनि म जानीजानी हजुरको नजरमा आइनँ। वेटरलाई मेरोबारेमा सोध्दा, लाग्यो मलाई नै भेट्न आउनुभएको होला। फेरि हजुरको चिट पाएपछि मेरो मन पघ्लिएर आयो। यत्रो दिनसम्म रोक्न सकेँ तर आज हिम्मत जुटाएर म्यासेज गरेकी हुँ। मलाई भेट्न कुन उद्देश्यले आउनुभएको हो, त्योचाहिँ हजुरलाई बोध होला। यहाँ प्रायः आउने तनका भोका नै हुन्छन्। हजुरको अनुहारमा मैले त्यस्तो केही लक्षण देखिनँ। पक्कै पनि हजुर असल मान्छे हुनुहुन्छ। म सही केटी होइन अगर हजुर मेरोप्रति मनमा माया पाल्नुहुँदैछ भने। म बाटो बिर्सिएकी चरित्रहीन केटी हुँ- डिस्को गर्ल।’
दिनेशले म्यासेज पढिसकेपछि लामो सास फेर्छन्। उसका निश्छल अनि इमानदार शब्दहरू दिनेशको मनमा स्पर्श गरेर निस्किन्छन्। उत्तरमा लेख्ने मनमा धेरै कुराहरू आए तर लेख्न धाक लागेन।
यही बेला राजीव उनको केबिनमा एकाएक प्रवेश गर्छन्।
‘हेर दिनेश, मलाई लाग्दै छ तिमी त्यो डिस्को गर्लका लागि मनमा माया साँच्दैछौ। यो सही होइन। तिमी धेरै असल मान्छे छौ। तिमी कुनै सुशील केटीसँग बिहे गर्ने योग्य केटा हौ।’
दिनेश राजीवको अनुहारमा एकटक हेरी सुनिरहन्छन्।
राजीव अगाडि भन्छन्- ‘थाहा छ ? यी केटीहरू अरू राज्यबाट पढ्न आएका छात्रा हुन्। साधरण परिवारका छात्रा यहाँ ठुलाठाला परिवारका विद्यार्थीसँग साथी हुने भएर उनीहरूको जस्तो लगाउने, खाने, घुम्ने, पार्टी गर्ने गर्छन्। अभिभावकहरूले यत्रो खर्च कसरी पठाउन सक्छन् ? प्रश्न नै उठ्दैन। यस्तै चाहना पूर्तिका लागि कलेज छुट्टीका दिन यस्ता रेस्टुरेन्टमा आएर नाच्ने अनि कोहीसँग रात बिताएर खर्च कमाउने गर्छन्। देख्यौ होला नि उनीहरूको लगाइ, हातमा मोबाइल, घाँटीमा डायमण्डको हार। कुनै रइस खानदानको भन्दा कम छैनन्।’
दिनेश ट्वाल्ल परेर सुनिरहन्छन्। केही प्रतिक्रिया दिने ऊसँग हिम्मत आउँदैन। आफ्नो अनुहारमा आएको चिटचिट पसिना दुवै हातले पुछ्दै भन्छन्- ‘राजीव के तिमीले त्यसो गरेको चाहिँ सही हो ? ऊ र हामीमा के नै फरक छ र ? मलाई स्पष्ट गर्देऊ त ?’
राजीव निरूत्तर। केही भन्ने बाटो पाउँदैनन्।
‘तर पनि दिनेश…।’
उसको वाक्य अपूर्ण हुँदै दिनेश भन्छन्- ‘सबैले सही बाटोमा जाने मौका एकचोटि अवश्य पाउनु पर्छ।’
केबिन एकछिन् चकमन्न हुन्छ। राजीव पनि अलमल्ल पर्छन्। केही क्षणमा आफ्नो केबिनतिर जान्छन्। दिनेश टेबलमा राखेको प्यालाको पानी पिएर रियाको चेट खोलेर रिप्लाई गर्छन्।
‘चिट पढेर मलाई म्यासेज गरेकोमा धन्यवाद। मलाई तिमीसँग माया बसेको थाहा नै पाइनँ। के हामी भोलि भेट्न सक्छौँ ?’
दश मिनटपछि रियाको रिप्लाई आउँछ- ‘हुन्छ।’
(हर्कबहादुर लामगादे ‘रोहित’काे ‘रेडियोरिता’ कथासङ्ग्रहबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।