उनीहरूको क्रियाकलाप सर्वङ्ग र निर्वस्त्र हुँदै थियो- कोठामा । ती दुवै मानवीय शिष्टताबाट ओर्लंदै थिए झन्-झन् तल-तल । उनीहरूको जीवनमूल्य दुःखद, विकृति र विस्थापित तरङ्गमा छुत्ती खेल्दै थियो र कोठा रूपान्तरित भएको थियो कहालिलाग्दो स्थितिमा । घडी हेरेँ- रातको बाह्र बजेको रहेछ । लाग्यो घडी स्वयम् पनि लाजले झुकिरहेछ र रातको मौन शालीनतामाथि निर्मम प्रहार भइरहेछ ।
मनमा लाजका पदचापहरू यतिबिघ्न बज्न थाले कि मलाई के गरूँ र कसो गरूँजस्तो भयो । लाग्यो निद्रा पनि अन्तर्ग्लानिले छट्पटाइरहेछ ।
पल्लो कोठामा क्यासेटको आवाज फुल भोल्युममा घन्किरहेको थियो निर्लज्जतासँग । त्यो रातको निस्तब्धतामा कसैको हातको इसारामा बज्ने क्यासेटलाई पनि त्यसरी भित्तै छेडिएला झैँ गरेर बज्ने इच्छा थिएन होला नि ।
क्यासेटको गीतसँगै श्रीमान र उनको नयाँ साथी अनिलको धोद्रे स्वर पनि निस्किरहेको थियो । मानौँ कतै पर्खाल गर्लम्म भत्किरहेछ । बेला-बेला कोठाको भुइँ थर्कन्थ्यो । लाग्थ्यो- कतै वीभत्स ताण्डव्य नृत्य भइरहेछ ।
चकमन्न रातमा एउटा कोठामा दुई जना व्यक्तिको मर्यादाहीन करामतले सिमानाका किल्लाहरू उखेल्दै थिए । जसका कारण मलाई असह्य हुँदै थियो । म पाक्दै थिएँ । तात्दै थिएँ । डरले एक ढिका भएकी थिएँ ।
सोचेँ- मनोरञ्जनको नाउँमा यो कस्तो किसिमको अशिष्ट र अभद्र प्रदर्शन हो ? सोचेँ कस्ता जँड्याहा साथीसँग सङ्गतमा परेछन् हरे ! लाग्यो- पानीले आफ्नो सतह आफैँ मिलाएझैँ मानिस पनि आखिर आफ्नै अनुकूलको साथी खोज्दोरहेछ ।
आफूलाई संयमको कृत्रिम जालामा अल्झाउन सकिनँ । उनीहरू बसेको कोठामा प्रवेश गरेँ ।
मात लागिसकेको थियो कोठालाई पनि ।
कोठामा रक्सीका बोतलहरू लडिरहेका थिए युद्धमा मरेका सिपाहीहरूझैँ ।
दुवैलाई रक्सीको अनुशासनहीन डोरीले बाँधिसकेको थियो ।
“अलि कम गर्नुस् न क्यासेटको आवाज, घरबेटी र अरू छिमेकीहरूले पनि के भन्लान् ? फेरि डेरा सर्नु छ र ?”
ऊहापोह पोखियो मभित्रको ।
“ड्याम केयर । यस्ता घरबेटीसँग डराएर बस्छन् र ? पैसा तिरेर बसेका छौँ यहाँ । सित्तैमा बसेका छैनौँ हामी,” रक्सीले मात्तिएको स्वर बरालियो श्रीमानको ।
अनायास आक्रोश बल्दै निस्कियो मेरो, “हजारवटा घरबेटी चहार्दै हिँड्नु छ र ?”
“भाभी ! नरिसाउनुस् । कहिलेकाहीँ निस्फिक्री रमाइलो गर्नुपर्छ । यस्तै त हो नि जीवन । मलाई अन्यथा नसम्झनुस् । हामी त एउटै आमाले जन्म दिएका दाजुभाइ जस्ता हौँ । सधैँ साथ-साथ रहनेछौँ । हाम्रा कति योजनाहरू छन् भविष्यमा ।”
ह्याँ ह्याँ… हाँस्दै अनिलले उछिट्टिएका दाँतहरू देखाए । उनको खुइलिएको र टल्केको तालुमा आँखा घुम्यो— लाग्यो उनको त्यो तालुमा टल्केको उनको अन्तर्मनको सत्य प्रतिविम्बित भइरहेछ र मानौँ भनिरहेछ । जो व्यक्ति बोलिरहेछन् म बोलेको होइन । मलाई त उनले बाह्य प्रकाशमा ल्याएकै छैनन् ।
त्यो अँध्याराको राज्यमा आफूलाई समाहित गर्न मन लागेन । फरक्क फर्कें म । लाग्यो म त्यो अभद्र शृङ्खलामा बेरिँदै आइरहेछु । एउटा अनास्थाको बीउ मभित्र आरोपित भएको महसुस गरेँ मैले ।
अनिललाई यहाँ खान नबोलाउँदासम्म श्रीमानले उनको बारेमा मेरो अगाडि फूल बर्साउँदै भनेका थिए गर्वसँग, “एक जना पत्रकार विद्वान साथी पाएको छु । पत्रकारितामा अनुभव प्रशस्त रहेछ । अङ्ग्रेजी पनि राम्रो रहेछ । हामी दुवै जना मिलेर अङ्ग्रेजी पत्रिका ‘लाइट’ निकाल्दै छौँ । कुराकानी भइरहेछ ।”
उफ् ! कस्तो विद्वान साथी ! एक प्रकारको लज्जाबोध भयो मलाई । लाग्यो म पात-पात भएर रूखको हाँगाहरूबाट झरिरहेछु । कुनै भद्रता र गम्भीरताको चिह्न नभएको अनिलको त्यो भ्वाङप्वाल परेको व्यक्तित्वप्रति पटक्कै प्रभावित हुन सकिनँ म । बरु उसको त्यो निर्लज्जपनाले मभित्रको विश्वासको पाइलाले टेक्न छोडिसकेको थियो । सोचेँ- के श्रीमान अनिलकै डोरीमा बाँधिने त होइनन् ? एउटा बौद्धिक व्यक्तित्वमा यस प्रकारको लापरवाही, अस्वाभाविक, अव्यवस्थित रूप हुनु पतनको सङ्केत होइन र ? एउटा शङ्का र डर गुजुल्टिएर बस्यो मभित्र ।
पहिले त श्रीमानले प्रशंसा गरेको सुन्दा अनिलसँग परिचय गर्ने उत्कण्ठाले खहरेको रूप लिएको थियो । उनलाई खाना खान बोलाउने भन्दा कति जाँगर र मेहनतले खाना बनाएकी थिएँ मैले ।
अनिल पहिलो परिचयमै यस्तरी नाङ्गिए कि सोचेँ अझ कति-कति नाङ्गिदै जालान् समयका पत्रहरमा ? किनभने कुनै पनि सुखद सम्भावनाको उज्यालो उनमा देखिनँ मैले । कुनै पनि आन्तरिक ऊर्जा र सम्पदा भेट्टाइनँ उनको व्यवहारमा र बोलिमा । शङ्का लाग्यो- मेरो श्रीमानलाई रक्सीको बोतलझैँ रित्याएर फाल्ने पो हुन् कि कुनै दिन ?
कुन बेला निदाएछु अनेकौँ सोचाइको लहरा समात्दै थाहै पाइनँ । भोलिपल्ट कोठामा जाँदा त अनिलले वान्ता गरेको फोहर सफा गर्दै थिए श्रीमान । अनिल पलङको छेउमै वान्तामै लतपतिएर सुतेका थिए । त्यो दृश्यलाई हेर्न सकिनँ मैले- आफैँलाई वान्ता आउलाजस्तै भयो । क्राेधको लप्कामा लपेटिँदै अर्को कोठामा आएँ । मनमा घृणा टम्म भरिइसकेको थियो ।
श्रीमानले कोठामा आएर भने, “रक्सी बढ्ता हुँदा सबैलाई यस्तै हुन्छ । जे भए पनि अनिलमा मैले गुण देखेको छु । प्रतिभा परख गरेको छु । उनी त हिलामा फुलेको कमलको फूल हुन्, जसलाई टिपेर मैले टेबलमा सजाउन खोजेको छु । कसो सफल नभइएला र ?”
मेरो वाणी पनि दुर्गन्धमय भइदियो मानौँ म पनि घृणा वान्ता गरिरहेछु । चेतावनीको धारा निस्कियो ।
“मलाई लाग्छ तपाईंको साथी कमलको फूल होइन विकृतिको फूल हुन् । तपाईंले जे भन्नुस्- मभित्रको विश्वास मरिसकेको छ । सावधान भएर काम गर्नुस् । कतै तपाईंलाई खाडलमा खसाइदेलान् ।”
उनी नजाँदासम्म म ढोका लगाएर बसेँ ।
एकदिन श्रीमानले भने, “हामीले पत्रिका निकाल्नको लागि अफिस खोल्दैछौँ । पैसा अलिकति पुगेन । तिम्रा सुनका चुराहरू देऊ । बैङ्कमा राखेर पैसा निकाल्छु । पत्रिकाको विज्ञापन प्रशस्त छ । त्यही विज्ञापनको पैसा उठाएर तिम्रो चुरा निकालिदिउँला ।”
पहिले त दिनै मन लागेन । सोचेँ- श्रीमानले थालनी गरेको कार्यमा सहयोग गर्नै पर्यो जेसुकै गरून् ।
चुराहरू दिएँ । यत्ति भनेँ, “मेरा चुराहरूलाई बैङ्ककै दराजमा रुन नपरोस् ।”
अफिस खोलेको पन्ध्रबीस दिनपछि अफिस हेर्न गएँ । चारतले घरको दोस्रो तलामा अफिस बनाएका रहेछन् । “लाइट” भनेर लेखिएको साइनबोर्ड बाहिरै टाङ्गिएको थियो । अफिसको मूलढोका बन्द थियो । ढकढक्याएँ । ढोका पिउनले खोल्यो । पिउन त होला- मनमनै अड्कल गरेँ । भित्र कोठा ठूलो रहेछ । तीनवटा टेबलमा तीन जना कर्मचारीहरू काम गर्दै थिए- कर्मचारीहरू होलान् । एउटी राम्री युवतीले टाइप गर्दै थिई । यताउता हेरेँ । व्यवस्था राम्रै लाग्यो । तर किन-किन मनको भित्री तह खुल्न सकेन उन्मुक्त भएर ।
“खै त अनिलजीहरू ?”
“अर्को कोठामा हुनुहुन्छ दुवै सरहरू ।”
एउटा भाइले भन्यो, “बाेलाइदिऊँ ?”
पर्दैन । म आफैँ जान्छु नि ।” मुखामुख गरे उनीहरू सबैले किन होला ? मनमा प्रश्न उठ्यो ।
उठेँ- त्यो भाइको पछि लागेँ । ढोका बन्द रहेछ । त्यो भाइले बिस्तारै ढोकामा नक गर्यो । ढोका खोलियो । ढोका खोल्दा अनिलको मुखबाट रक्सीको गन्ध बेतोडले पोखियो । लाग्यो पहाडै ममाथि खसिरहेछ । म मरणासन्न अवस्थामा पुगेकी छु । दुवै दिउँसो रक्सी पिइरहेका थिए- झ्यालभरि रक्सीका रित्ता बोतलाहरू ठडिएका थिए टनाटन ।
कम्पन छुट्यो । बाढी आयो, हुरी आयो । रुँला-रुँला जस्तो भयो मन । म डेरा फर्किएँ कहालिलाग्दो मनस्थिति बोकेर । सोचेँ तिनीहरू दुवै जना बोतल भइसकेका थिए । आफैँले आफैँलाई पिइरहेका थिए । मनमा दुर्दमनीय ज्वारभाटा उठिरह्यो-उठिरह्यो ।
सोचेँ, सोच्दै गएँ । के देखिरहेछु ? के अनुभव गरिरहेछु ? उनीहरूको स्थिति र विवेकमा के देखिरहेछु ?
उन्नति देखिरहेछु कि अवनति ?
पशुत्व देखिरहेछु कि मनुष्यत्व ?
सिर्जना कि विध्वंस ?
उत्थान कि पतन ?
स्वर्ग कि नरक ?
जित कि हार ?
शुष्क मरूस्थल कि हरियाली ?
संहार कि निर्माण ?
ऊर्जायुक्त सङ्कल्प कि निरीह कमजोरी ?
आशीर्वाद कि श्राप ?
कायरता कि बहादुरी ?
स्वयम्भू आत्मा कि विकारग्रस्त आत्मा ?
अँध्यारो कि उज्यालो ?
लाग्यो आन्तरिक आत्मा र सामर्थ्य नभएका व्यक्तिले जसको मनलाई सूर्यको एउटा किरणले पनि आच्छादित गर्न सकेको छैन । त्यस्ता व्यक्तिले कसरी उज्यालो ल्याउन सक्छन् । क्षणभङ्गुर हुन्, भ्रम मात्र हुन् । निरन्तरता हुन सक्तैन । मनले ठम्याएँ- लख काटेँ । सहस्र धारा छुट्यो आँखाबाट ।
सम्भावित भयपूर्ण दुःखद भविष्यको पर्दा उघारियो मेरो आँखाको सामुन्ने ।
एक हप्ता जतिपछि श्रीमानले मेरो अगाडि नयाँ पत्रिका फाल्दै भने, “हामीले रक्सी खाएको मात्र देख्छ्यौ तिमीले लौ हेर पत्रिका । अब त शङ्का निवारण होला नि ।”
पत्रिका उठाएर हेर्न पनि मन लागेन । जुन खुसीको पछ्यौरा मभित्र फैलनु पर्ने थियो । पटक्कै फैलिन सकेन । खुम्चिएर एक डल्लो भयो मेरो खुसीको पछ्यौरा । उनीहरूको असामान्य क्रियाकलापले मेरो आस्थाको कक्ष ढलिसकेको थियो ।
करिब दशबाह्र दिनपछि समयले अर्को प्रलय खन्यायो मभित्र । लाग्यो विश्वास समयको पोखरीबाट बाहिर पोखिएको छ छताछुल्ल भएर ।
मलाई शङ्का थियो तर पहिले नै पोखरीमा प्वाल परेको छ । तर सजगता कमजोर भइदियो ।
अफिसको त्यही भाइ दशबाह्र दिनपछि मकहाँ दौडँदै आइपुग्यो । उसको अनुहारको भावबाट थाहा हुन्थ्यो । कुनै अप्रिय घटना घटेको छ ।
त्रासको एक पत्र उघ्रियो मभित्र, “के भयो ? किन आत्तिएको ?”
“दिदी ! बर्बाद भयो साह्रै बर्बाद भयो । छिटाे जानु पर्यो, अफिसमा सरलाई दुकानदारहरूले घेरेका छन् । थुप्रै उधारो रक्सी खाएका रहेछन् । पैसा उठाएर अनिल सर अफिस नआएको दुईतिन दिन भइसक्यो । त्यही विज्ञापनको पैसाको आशा थियो । घरमा पनि हुनुहुन्न । यताउता बुझ्दा त यस्तै ठगी काममा कतिपल्ट थुनुवामा पनि परेका रहेछन् अनिल सर । बरुण सरले पनि साह्रै विश्वास गर्नुभयो । हामीले पनि तलब पाएका छैनौँ । बडो नीच तरिकाले धोखा दिए अनिल सरले ।”
त्यो भाइको कुरा सुनेर लाग्यो मेरो बाह्य भाग मात्र होइन भित्री भाग पनि टुक्रिँदै खसिरहेछ ।
पत्रिका सम्झेँ, सोचेँ- अक्षरब्रह्मप्रति यो खेलबाड होइन त ? एउटा घटिया किसिमले अक्षरब्रह्मको बेइज्जती गरेका त होइन ?
मेरा सुनका चुराहरू आँखाभरि बज्न थाले- मनमा लाग्यो बरु मेरा सुनका चुराहरूले बैङ्कको सेफभित्र सास फेर्दै होलान्- म सास फेर्ने बाध्यता लिएर जन्मेकालाई पनि सास फेर्न गाह्रो भइरहेछ । निस्सासिरहेछु । पीडाले तप्त भइरहेछु । भाँच्चिरहेछु ।
बिस्तारै पाइला बढाउँछु त्यो भाइको पैतालासँग ।
(भागीरथी श्रेष्ठको रातो गुलाफ कथासङ्ग्रहबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।