देबेनले आफ्नो उमेरको बीसौं वसन्त पार गर्दै गर्दा आफ्नो जीवन साथी भेटे। ऊ आफ्नो काँधमा आफ्ना अन्य परिवारको बोझ पनि लिएर अघि बढिरहेको युवक। सम्पन्नताको घेराबाट वञ्चित सङ्घर्ष र परिश्रमको जीवन बाँचिरहेको थियो देवेन। जसरी तसरी जीवन गुजारा चलिरहेको थियो। हुलाकको जागिर स्थायी नै थियो। सीमित रकम आए पनि उनीहरुले आफ्नो जीवन सन्तोषले निर्वाह गरिरहेका थिए | यता आफ्नो जीवन बाहेक अन्य सन्तानको पनि भार सम्हाल्नु परिरहेको उसको बाध्यता। सीमित आम्दानीको बाटो। भने जस्तो खान लाउन पनि धौधौ तर पनि चलिरहेको थियो उसको जीवन चर्खा।

आजभोलि भन्दाभन्दै उसका पनि सन्तानहरु भए । एक छोरा, एक छोरी। यता आफ्नो पनि दुई भाइ,बहिनी अनि आमा। देबेनलाई आर्थिक सकस त थियो नै तर पनि खोले फाँडो खाएरै भए पनि परिवारको बोझ धानिरहेको थियो ऊ ।

आजभोलि भन्दाभन्दै आमा पनि बृद्ध अवस्थामा पुगिसकेकी थिइन्। उसलाई आफ्नो परिवारको जिम्मेवारी मात्र होइन बुढी आमा र भाइ, बहिनीको पनि चिन्ता थियो।

सुख र सुन्दर जीवनको कल्पना गरेर आफ्नो जीवन समर्पित गरेर आएकी उसकी श्रीमती पनि आफ्नो जीवनको आरोह अवरोहबाट निराशजस्तै थिइन् किनकि हर नारीले आफ्नो नयाँ जीवन सुख र शान्तिले आफ्नो जीवन साथीसँग बिताऊँ भनेरै होम्मिएका हुन्छन् तर सबैको सपना पुरा कहाँ हुन्छ र ? देबेनको त आफ्नो जीवन मात्र नभएर अन्य सन्तानको पनि जिम्मेवारी थियो।

समयको बद्लावसँगै परिवर्तनको रेखा पनि कोरिँदै गए। उसकी आमाको देहावसान भयो। उसलाई मनभरि पश्चात्ताप पनि थियो कि मैले आफ्नी आमालाई भनेजस्तो कर्तव्य, स्याहार, सुसार पुर्याउन सकिनँ भनेर। तर त्यो उसको दोष थिएन समय र परिस्थितिको कमजोरीपन थियो ।

ऊ नानाथरि मनमा कुरा लिएर बाँचिरहेको थियो ।

कहिलेकाहीँ श्रीमतीको गुनासो पनि सुन्नु पर्थ्यो, “मेरो त किस्मत पनि कस्तो ? विवाह गरेर पनि सुख र शान्ति भएन। जहिल्यै अभाव र दुखमा बिताउनु पर्यो जीवन ।”

दबेनले सोच्ने गर्थ्यो। श्रीमतीको भनाइ पनि ठिकै हो। हुन पनि त हो। उसले आफ्नी श्रीमतीलाई भने जस्तो लाउन, खान दिन कहाँ सकेको थियो र ? यस्तै अवस्थामा आफ्ना पनि सन्तानहरु थपिँदै गए । झन् आर्थिक भार बढ्दै गयो ।

तर पनि उसकी श्रीमती मात्र गुनासो गर्थिन् तर आफैँ चित्त पनि बुझाउँथिन्, “जे भए पनि अभाव, दुख खप्न परे पनि मेरो श्रीमान् एक कर्तव्य परायण र जिम्मेवार पुरुष छन्। मलाई मानसिक पीडा दिएका छैनन् यत्ति मात्र हुनु पनि महिलाको निम्ति सौभाग्य हो ।”

जे होस् ती दुईको वैवाहिक बन्धन एकार्काको सुखद सम्झौतामै बितिरहेको थियो ।

समयले नेटो काट्दै गयो बहिनीले पनि आफैँ बिहे गरी । भाइ पनि सानोतिनो जागिर पाएर पश्चिमतिर लाग्यो। अब भने देबेनको आफ्नो परिवार मात्र बाँकी रह्यो तर पनि उनीहरुलाई पुगिसरि हुँदैनथ्यो । किनकि आफ्ना छोराछोरीलाई पनि बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिएको थियो। आजभोलि भन्दाभन्दै उसको पनि जागिरबाट रिटायर्ड हुने दिन आयो। उसले जीवनमा कहिले पनि आफ्नो जागिरको सोझो बाहेक अन्य काम धन्दा नगरेकाले उसलाई रिट्यार्डपश्चात् के गर्ने ? भन्ने दिमागमा नयाँ काम सुझेन।

देबेन थियो नै इमान्दार र आफ्नो सोझो मात्र गरी खाने। उसलाई नेपालमा बसेर गरी खाने कुनै अन्य बाटो सुझेन र जे भए पनि एक पल्ट बाहिर गएर केही पैसा कमाउँछु भनेर ऊ मरुभूमिको देशमै भए पनि जान तयार भयो किनकि उसलाई पनि त आफ्नो परिवारलाई अभावहीन बनाएर राख्ने इच्छा थियो। र ऊ लाग्यो परदेशतिर।

===

मान्छेले सोचे जस्तो कहाँ हुन्छ र ? देबेनले आफूले भने जस्तो काम पाएन । जे भए पनि हुलाकको जागिरमा उसले टेबल वर्क गरेको थियो। उसको शिक्षा पनि ब्याचलर पास थियो। तर त्यहाँ गह्रौँ गह्रौँ सामानहरु उठाउनु पर्ने भयो । शरीर पनि रोगी नै थियो उसको अनि उमेरले पनि ५० पुगिसकेको थियो । उसले त्यो काम गर्न सकेन र ऊ फर्क्यो आफ्नै देश। रिटायर्डबाट आएको केही रकमबाट लगभग दुई लाख उसको डुब्यो । नहुनेलाई जहाँ पनि उस्तै भनेझैं उसलाई पनि त्यही हुन गयो ।

विदेशबाट फर्केपछि ऊलगायत श्रीमती पनि झनै शोकमा परे। भए नभएको पैसा पनि अनाहकमा डुब्यो। जति नै पिर भए पनि जीवन चलाउनै पर्यो, चलि नै रहेको थियो उनीहरुको जीवनचर्या । बिस्तारै बिस्तारै श्रीमतीलाई रोगले च्याप्यो। रोग पत्तो लाग्नै सकेन। उनी थलिँदै गइन्। उनीहरुको जीवनमा अझ ठुलो सङ्कट आइपर्यो। अलिअलि भएको पैसा पनि श्रीमतीको उपचारमा खर्च हुन थाल्यो। श्रीमतीलाई अनेकौं कोशिस र पैसा खर्च गर्दा पनि बचाउन सकेन देबेनले ।अन्त्यमा श्रीमतीले पनि छाडेर गइन्।

छोराछोरीहरु बिस्तारै उमेर पुग्दै गए। एउटा छोरा विदेशतिरै लाग्यो पढाइ सकेर। साथमा छोरी थिई उसकाे पनि बिहे भयो। अब देबेनको जीवनमा केवल एक्लोपन रह्यो। उसलाई निक्कै गाह्रो भयो एक्लो जीवन काट्न। दिन दिनै उमेरले पनि उकालो चढ्दै गयो। बिरामी हुँदा पानीसम्म खान दिने मान्छे भएन। गाउँघरका छिमेकीहरु पनि उसकाे एक्लो जीवन देखेर हैरान भए।

कहिलेसम्म अरुले साथ दिन सक्ला र ? देबेनको दुरावस्था देखेर छिमेकीहरुले उसलाई एउटी दुख पाकी भए पनि आफूलाई साथ दिने जीवन साथी खोज्न अनुरोध गरे। देबेनले सहजै स्वीकार गरेन इष्टमित्रहरुको सुझावलाई। अन्त्यमा उसकै एक पुराना मित्रले आफ्नो गाउँकी अधबैंसे महिला जो दुख पाएकी थिई,गरइदिए।

===

देबेनको चुल्हो बिहान बेलुका बल्न थाल्यो। त्यो समय आई पुगुन्जेल उसको आर्थिकावस्था पनि राम्रो भइसकेको थियो । आफ्नै सानो भए पनि घर थियो । उसको पेन्सिन पनि बढेर दुई प्राणीलाई मनग्गे आउन थालेको थियो ।

देबेनले उसकी नव श्रीमतीलाई गर गहनाहरु पनि बनाइदिए र आफ्नी स्व:श्रीमतीको घाँटीको मंगलसुत्र र औंठी पनि उसैलाई जिम्मा लगाइदिए । जे होस् देबेनको नयाँ जीवन राम्रैसँग चल्न थालेको थियो। विगतमा जस्तो अभावको दलदलमा उसकी नयाँ जीवनसङ्गिनीले जीवन बाँच्नु परेको थिएन। तर पनि देबेनको मनभित्र निराशा त गुम्सिरहेकै थियो। ऊ पलपलमा आफ्नी स्व:श्रीमतीलाई सम्झेर भावुक बन्थ्यो। उसलाई एउटै पश्चात्ताप के थियो भने अहिलेको जस्तै पहिला पनि आर्थिक कष्ट नहुँदो हो त विगतको जीवन पनि उसको कति आनन्दसँग बित्थ्यो होला भनेर।

ऊ सम्झिँदा सम्झिँदै पुराना दिनहरुको सम्झनामा हराउन पुग्छ । उसकी जेठी श्रीमतीले भनेका कुनै कुनै कुराहरु अनि उनीहरुले अभावसँग सम्झौता गरेका कतिपय पलहरु । कति दिन त उनीहरुले साँझको खाना खोले खाएर मात्र पनि बिताएका थिए सुरुका दिनहरुमा । जब छोरा, छोरीहरु बढ्दै गए झन् अभावको खाडल खनिँदै गएको थियो। तर पनि उनीहरुले एकापसमा सम्झौताको जीवन बिताइरहेका थिए। जे होस् मन मिलेको थियो र त दुख र अभावका पहाडहरु सजिलैसँग उक्लिरहेका थिए।

जब छोरा पनि कमाउने भयो तर अपसाेच ! उसकी श्रीमतीको शरीर रोगी भयो। अन्त्यमा सुख र आनन्दको जीवन जिउन नपाई नै श्रीमतीले देह त्याग गरिन्। एउटै धोको मनमा बिझिरहन्थ्यो कि आफ्नी जेठी श्रीमतीलाई पनि अहिलेकीलाई जस्तै सुखमा नै राख्ने तर सबैको भाग्यमा त्यस्तो सुख, खुसी कहाँ लेखिएको हुन्छ र ?

छोरोले पनि विवाह गरेर आफ्नो छुट्टै संसार बसायो। छोरी पनि ज्वाईंसँगै आफ्नो जीवन बिताउन बाध्य बनी। यता देबेन भने आफ्नी कान्छी श्रीमतीसँग जसोतसो जीवन गुजार्न थाले। हुन त श्रीमान् श्रीमती हुँदैमा सबैको मन कहाँ मिल्छ र अनि विचार पनि सबैको नमिल्न सक्छ। देबेनको पनि यस्तै हालत हुन पुग्यो। ऊ जे भए पनि पढालेखा मान्छे थियो। विचार पनि उच्च नै थियो। ऊ कसैलाई भनेर बिझाउने र कसैलाई पनि दुख नदिऊँ भन्ने स्वभावको थियो। तर उसकी अहिलेकी श्रीमती भने ठिक उल्टो स्वभावकी। उनीहरुबीच विचारको बेमेल थियो तर पनि देबेनले आफ्नै भाग्यलाई दोष दिएर मौनता अङ्गाल्दै बाँच्न बाध्य थियो।

शुरु शुरुमा त ऊ सोच्ने गर्थ्यो। जे भए पनि पहाडकी नारी उसलाई मधेशको तौर तरिका थाहा छैन। घर गृहस्थी पनि थाहा छैन। पछिपछि सिक्दै जाली भनेर ऊ केही भन्दैथ्यो। तर नजान्नु एउटा कुरा, सिक्न नचाहनु अर्को कुरा। उसकी श्रीमतीमा कुनै परिवर्तन आएन । सिक्नु पर्ने व्यावहारिक कुरा सिक्न चाहिन उसले । तर आधुनिकताको सिकारु बन्न चाहिँ भ्याई।

देबेनकी श्रीमतीको खाना पकाउनेसम्म ढङ्गरङ्ग थिएन । न उसले सिक्न नै चाही। भुक्लुक्क चामल उसिन्यो। दाल उमाल्यो लट्याङ्ग पट्याङ्ग सब्जी पकायो, खान दियो। बस् उसको दैनिकी त्यति थियो । घर सफा सुग्घरमा पनि रत्ति मन थिएन उसलाई । पहाडमा गाई बस्तु चराएर हुर्केकी, दाउरा, घाँसपात गरेर हिँडेकी, घरको कामकाजको के आशा गर्नु ? भनेर देबेनले घरको सबै काम आफैँ गर्ने गर्दथ्यो।

कसैको करकाप, दवाब नभएर होला । कसैलाई आदर सत्कार र इज्जत गर्नु पर्ने जरुरी पनि थिएन तिनलाई। श्रीमानले पनि कुनै दिन त सिक्ली नि ! एकैचोटि कसलाई आउँछ र ? भनेर केही भन्दैनथ्यो । श्रीमानको मौनतालाई उसले नबुझेर हो वा बुझेर पनि नपत्याएर हो, भात पकाउन र खाको भाँडा मोल्न बाहेक अन्य काम गर्न जरुरी ठानिन कहिल्यै पनि।

===

दिनहरु बित्दै गए। उनीहरुको जीवन बचाइमा परिवर्तन कहिल्यै आएन ।आफ्नो पेन्सन थाप्यो श्रीमतीलाई बुझायो। श्रीमतीले जे जस्तो ल्याउँछे, पकाउँछे, जस्तो दिन्छे, जे दिन्छे त्यही खायो सन्तोष मान्यो बस्यो । त्यही नै दिनचर्या भयो उनीहरुको ।

समयले अनेकौं परिवर्तन ल्यायो। घरगृहस्थीको काममा श्रीमतीको कुनै उन्नति प्रगति भएन तर उसले फेसन गर्न, सामाजिक सञ्जाल चलाउन भने मस्तले सिकी। सामाजिक सञ्जाल चलाउन नजानिञ्जेल ऊ ठिकै थिई। घरको सारा काम नगरे पनि दिनभर घरमै श्रीमानकै छेउमा वरिपरि बस्थी। यसो उसो किनमेल गर्न जान्थी। साधरण लवाई, खुवाई, सिउँदोभरि रातै सिन्दुर भरेर साधारण कुर्ता, सुरुवाल लाएर बजार निस्किन्थी। बोलीचाली पनि ठिकै थियो। कम्ती बोल्ने बानी पनि थियो ।

समयले जब आफ्नो पाइला चाल्दै गयो। संसारमा परिवर्तन हुनु कुनै नौलो कुरा थिएन। परिवर्तन त भई नै रहेको थियो हरेक कुरामा। तर अचाक्ली परिवर्तन त देबेनकी श्रीमतीमा आएको दुई तीन बर्षभित्रै देखिन थाल्यो लवाइ, खुवाइ, हिँडडुल, शृंगार पटार आदिमा अचम्मैसँगले परिवर्तन आयो। देबेन चुपचापसँग उसको रमिते बनेर उसकाे चालढाल हेरिरहन्थ्यो।

देबेनका आफन्तहरुले उसलाई सचेत नगराएका पनि होइनन् अनि देबेनले पनि आफ्नी श्रीमतीलाई नसम्झाएको होइन। “तिमी आफूलाई सुहाउँदो फेसन गर। आफ्नो हैशियत, उमेर हेर अनि आफ्ना, आफन्तको पनि इज्जत हेर। तिमीलाई मान्छेहरुले के के भन्न थालिसके ? अलिकति त लाज मान।” तर अहँ उसकी श्रीमतीको चालढाल बद्लिएन। न त उसले श्रीमानको वचनलाई नै आत्मसात गरी। दिनानुदिन हदले पार गर्दै गयो। श्रीमतीको व्यवहारमा परिवर्तन आएन। ऊ त अझ मैमत्ता बनेर हिँड्न थाली।

साँझको खाना झट्टपट्ट खुवायो अनि धन्दा लापर्लुपुर गर्यो। बेलुकाको आठ /नौ बजेतिर चिरिच्याट्ट बनेर टिकटकको लाईभमा बसिगयो। दुनियाँ पर पुरुषसँग लाईभ च्याट गर्न । यो त उसकी श्रीमतीको दैनिकी नै बन्न पुगेको थियो। यही विषयमा पनि देबेनले उसकी श्रीमतीलाई कति सम्झायो तर ऊ कहाँ टेर्नेवाली थिई र ? श्रीमान त मात्र उसकाे लागि कठपुतली जस्तै थियो जो आयश्रोतको लागि मात्र उसलाई आवश्यक थियो ।

===

पुषको महिना रातको बाह्र बजेसम्म पनि देबेन चिसो ओछ्यानमा गुडुल्किएर ननिदाई के के सोच्दै ओछ्यानमा पल्टिइरहेको थियो। उता अर्को कोठामा श्रीमती हाँसोको फोहोरासहित जिस्किरहेकी थिई प्रवासी पुरुषहरुसँग । देबेनलाई उसकाे त्यस्तो व्यवहारले दिक्क लागिसकेको थियो । उसकी श्रीमतीले उसलाई पटक्कै भाउ दिन छाडेकी थिई । उसले पनि भन्न छाडेको थियो। कति भन्दा पनि नलागेपछि ऊ पनि श्रीमतीदेखि आजित भइसकेको थियो ।

दिनानुदिन श्रीमतीजीको व्यवहार र स्वभावमा पुरै परिवर्तन आएको देखेर देबेनले पनि एउटा जुक्ति रच्यो । टिकटकमा फेक एकाउन्ट खोलेर श्रीमतीलाई छक्क्याएर उसको भित्री मनसाय बुझ्नलाई। बढ्दै गएको दूरीले गर्दा देबेनले त यस्तो सोच्न थालेको थियो कि,  उसको अर्कै केटासँग अफियर चल्दैछ भने किन सँगै बाँच्नु ? बरु खुसीसाथले गए हुन्थ्यो ।

एक रात देबेन पनि टिकटकको लाइभ च्याटमा बसेर टिकटक चलाइरहेको थियो । श्रीमती हाई गर्दै देखा परी। श्रीमतीको लाईभ के शुरु भाथ्यो पुरुषहरुको उपस्थिति शुरु भयो हाई, हेल्लो, माया गर्दै। त्यसै अनुरुप उसले पनि श्रीमतीलाई प्रवीणको रुपमा देखा परेर हाई भन्यो। नयाँ पुरुषको आगमन र बोलाहटले श्रीमतीजी मस्किँदै बोल्न थाली। -“हेल्लो प्रवीणजी कहाँबाट। लौ यहाँलाई स्वागत छ मेरो लाईफमा।”

लाईभको अर्थ नबुझेर उस्की श्रीमती अर्थात रेश्माले लाईफ भन्थी। कुराको शिलशिला चल्यो। रेश्माले प्रवीणलाई पनि सदा झैं अन्य पुरुषहरुलाई ढाँट्ने र पुरुषहरु जसरी जिस्किएर, इत्रिएर मस्किंदै बोल्ने गर्थी प्रवीणसँग पनि उस्तै चाला शुरु भयो।

===

हरेक रात प्रवीण पनि रेश्मासँग लाईभ च्याटमा बोल्न थाल्यो। शुरुमा त उसकी श्रीमती अर्थात रेश्माको हाउभाउ र बोली, शारीरिक प्रस्तुति देखेर देबेन तीनछक्क पर्यो। आफैँले आफैँसँग प्रश्न पनि गर्यो। “के यिनी मेरी श्रीमती नै हुन् र ?”भनेर तर सामाजिक सञ्जाल र प्राविधिक बस्तु अनि आधुनिक प्रविधिले देबेनकी श्रीमती कहाँबाट कहाँ पुगेकी थिई। ऊ निस्फिक्री अनि निर्लज्जसँग पर पुरुषहरुसँग कुरा गर्थी। एकदिन देबेन अर्थात (प्रवीण)ले रेश्मा अर्थात (श्रीमतीजी)लाई भेट्ने प्रस्ताव राख्यो। उसले पनि हुन्छ भनी। दिनहुँ कुरा गर्ने क्रममा रेश्मालाई सबै कुरा सोध्न थाल्यो प्रवीणले। रेश्माले अरुलाई उल्लु बनाएझैं प्रवीणलाई पनि आफू अविवाहित भएको कुरा बताई रहेकी थिई।

निक्कैसमयसम्म लाईभमा कुराकानी भइरह्याे ती दुईको।

कहिलेकाहीं रेश्माले प्रवीणलाई भन्ने गर्थी, “तपाईंको पनि फोटो हाल्नु न !अनि लाईभमा आउनु न हेरौँ यहाँको अनुहार कस्तो छ ? रेश्मालाई मन पराउने मान्छेको दर्शन पनि गरूँ। अनुहार नै नदेखी कसरी माया गर्नु ?”

यसको जवाफमा प्रवीणले भन्ने गर्थ्यो, “मन मिले भइगयो नि ! किन अनुहार हेर्नु पर्यो ? म एकदिन साक्षात् देखा पर्छु नि !तिमीसँग सुहाउँदो जोडी छ प्रवीण चिन्ता नमान ।”

काल्पनिक दुनियाँमा ती दुई मग्न र मक्ख थिए तर शाश्वत दुनियाँमा पराईझैं।  खान पनि बेग्लै समयमा खान्थे। पहिला श्रीमानलाई दिएर अनि आफू खान बस्थी बिहान, बेलुका नै । श्रीमान् खाना खाएर केही किताबहरु पढ्दै बस्थ्यो भने श्रीमतीको ध्यान,धुन उहीमा थियो।

उनीहरुले विवाह गरेको पनि दश बर्ष बित्नै लागेको थियो। विवाह गरेको बार्षिकोत्सव मनाउन भनी देबेनले श्रीमतीलाई आग्रह गर्यो तर श्रीमतीले उति मन गरिन तर पनि देबेनले कर गर्यो। उनीहरुले विवाहको दशौं बार्षिकोत्सव साधारण तरिकाले मनाए। तस्वीरहरु खिचे। देबेनले आफ्नो फेसबुक वालमा ती तस्वीरहरु पोष्ट गरे तर श्रीमतीले त फेसबुक चलाउन प्राय:  सकेकी थिई। देबेनले जुक्ति लगाइरहेको थियो कि उसकी श्रीमतीको खास इच्छा के हो त ? ऊसँग बस्ने इच्छा छ या छैन ? यदि छैन भने म कर गर्दिनँ भनेर ।

===

लाईभ च्याटमा कुरा गरेको पनि निक्कै समय बित्दै गएको थियो। अब भने देबेनले हिम्मत गर्यो। यो नखरमाउलीलाई असलियत देखाउँछु भनेर।

एक रातको लाईभ कुराकानीमा प्रवीणले प्रस्ताव राख्यो रेश्मालाई। हामी भोली दिउँसो फलाना ठाउँमा भेटौँ भनी। उसो त प्रवीणले आफू मलेशिया भएको बताएको थियो तर नेपाल आएको केही दिन भयो भनेर भनेको थियो। प्रवीणले रेश्मालाई भन्यो। अबको भेटमा हामीले पक्का गर्नु पर्छ कि हामी विवाहमा परिणत हुने भन्नेबारे। कुराकानीको शिलशिलामा प्रवीणले रेश्मालाई सोधेको थियो कि तिमी नढाँटी भन तिम्रो विवाह नभएकै हो र ?भनेर। निक्कै कर गरेपछि रेश्माले सत्यता खोलेकी थिई सबै आफ्नो । बिहे त गरेकी हूँ आफूभन्दा बिस बर्ष जेठोसँग तर मन मिल्न सकेन। विचार र व्यवहार मिलेन हाम्रो। म त मनले श्रीमान् ठानेर बसेकी हुइनँ। मात्र यस कारण बसेकी छु। अभाव र दुख छैन। एक्लो बुढो छ। कसैको कर्कर छैन। यही बुढोलाई पकायो, खुवायो,आफू खायो बस् ज्यानलाई आराम छ। दुख गर्नु पर्या छैन। यतिको सुख,सुविधा नभए किन बस्थेँ र ? त्यहीमाथि भत्ता पनि मेरै नाममा गर्दिएको छ। आफू खुसी खर्च गर्न पाएकी छु । बस् यत्ति लालचले हो यहाँ थन्किएर बस्नु परेको ।

अँ…..उनीहरुको भेट्ने दिन रेश्मा चिरिच्याट्ट पर्दै थिई दिउँसोतिर कतै जानु छ भनेर। तर देबेन (प्रवीण)ले पनि आज मेरो पनि साथी भेट्नु छ भनेर बाहिर निस्किने कुरा राखेको थियो र ऊ निस्की पनि हाल्यो। भेट्ने साबिक ठाउँ बताएको स्थानमा प्रवीण गएर बस्यो। श्रीमतीजी (रेश्मा )ले निक्कै अबेर गर्दा लाग्यो उसलाई | श्रीमतीजीलाई शृंगारपटारमा समय लाग्यो भनी।

ऊ पुगेको एक घण्टापछि रेश्मा चिरिच्याट्ट परेर आई। ऊ अचम्भित बन्न पुग्यो। घरमा हुँदा गलामा पोते थियो। सिन्दुर त लाउन छाडी सकेकी नै थिई तर त्यहाँ आउँदा उसकाे गलामा पोते थिएन। लुगा पनि अर्धनग्न जस्तै लाएकी थिई। देबेन श्रीमतीलाई देखेर एकोहोरो भइरहेको थियो भने श्रीमतीजी पनि देबेनलाई त्यहाँ देखेर तीन छक्क परी।

उनीहरु केहीक्षणसम्म त ट्वाल्ल परेर एकार्कालाई हेरिरहे।

केही समयपश्चात् श्रीमतीजीले मुख खोली-“अनि तपाईं त साथीलाई भेट्नु छ भनेर निस्कनु भाथ्यो। यहाँ पो हुनुहुन्छ त !”

उसले जवाफमा भन्याे- “अनि हो त ! साथीलाई भेट्न आको नि। ! मेरी टिक्टक साथी रेश्मा यहाँ मलाई भेट्न आउँछु भनेकी थिई । खोई अहिलेसम्म आइपुगिन । सायद आउँदै होली। पख न भेटेर सँगै घर फर्कूं। म तिमीलाई पनि परिचय गराइदिन्छु। बिचरी बुढा पीडित रहिछन् ।”

श्रीमानको कुराले रेश्मा धर्मरमा परी। उसलाई एक भनूँ न दुई भनूँ भयो। त्यहाँबाट भागूँ जस्तो पनि लाग्यो तर जान्छु भन्न सकिन। उसलाई नहुनु पश्चाताप भयो। टिक्टकको दुनियाँमा दुनियाँभरका पर पुरुषलाई झुक्याएर रमाइलो गर्ने हुँदा आज आएर आफ्नै श्रीमानले पनि आफूलाई पङ्गु बनाई दिएकोमा । ऊ त्यतिकै टोल्हाई रहेकी थिई, लाज मिश्रित पश्चातापमा डुबेर।

देबेनले नै व्यङ्ग्यात्मक रुपले बोलाउँदै भन्यो श्रीमतीलाई- “रेश्मा ! जाऔँ हामी सँगै घर । जहाँ तिमी असन्तुष्टिको साथ बाँचिरहेकी छ्यौ। एक अर्ध पुरुषसँग जो तिम्रो लायक छैन । तिमीलाई कर पनि त छैन। कष्टकर जीवन बिताउन। म तिम्रो श्रीमानलाई सम्झाइदिन्छु। तिम्री श्रीमती तिमीसँग असन्तुष्ट छिन्। उनलाई बिदा देऊ भनेर।”

देबेनको कुराले श्रीमती (रेश्मा) जिल्ल परी। लाजले अनुहार रातोपिरो भइहेको थियो। अलिक परबाट छोरा, बुहारी पनि आइरहेको देखेर ऊ धर्म सङ्कटमा परी। सायद देबेनले बोलाएको थियो छोरा, बुहारीलाई त्यहाँ। त्यहाँबाट भागूँ जस्तो लाग्यो। तर पाइला अगाडि बढाउन सकिन ऊ ।

यत्तिकैमा बुहारीले भनी, “आण्टी तपाईं त मसँग पनि टिक्टक च्याटमा मक्ख परेर बोल्नु हुन्छ नि ! क्या त त्यो नरेश नामको केटा । तपाईंले मेरो माया भन्नु हुन्छ नि ! हो त्यहीँ नक्कली नामको नरेश हूँ म। जोसँग तपाईंले केही समयपछि जाने भनेर तय नै गरिसक्नु भएको थियो। “