“आमै पात गाँसिदिन्छ्यौ ?”

“के ?”

“पात गाँसिदिन्छ्यौ भनेको ?”

“के भन्छे, कहाँबाट ल्याउनु पाँच लाख, म बुढीमान्छेले ?”

“होइन, कान सुन्न छोड्यौ बुढीमाऊ ! कसले माग्यो पाँच लाख ? पात गाँसिदिन्छ्यौ पो भनेको, नातिलाई शनि ग्रहले सताइरहेको रहेछ । पुरेतले जाप लगाउन भनेका छन् । त्यसका लागि दुना टपरी चाहियो नि त बैरी आमै !”

बैरी अरे ! तँ राडलाई नमारी छाड्दिँन । भन्दै बुढीआमाले लठ्ठी टिपेर सरितालाई लखेटेको देखेर म त हेरेकै हेरै भएँ ।

करिब पाँच मिनेट जति गाली गर्दै खेदाइरहिन् । उनी पनि हाँस्तै भागिरहिन् । शायद, आमै गलिछन् क्यार ! उनी सोफामा थुचुक्क बसिन् । सरिता पनि छेउमै आएर आमैलाई अँगालो हालिन् र उनका पसिना पुछ्दै भनिन् –“कति दिनदेखि नहिँडेर खुट्टा कुजिँएका थिए । बल्ल तन्के है बुढीमाऊ !” आमै मुस्कुराइन् ।

सरिता उनका खुट्टा मुसार्न थालिन् । एकछिन बुढीसासू र नातिनी बुहारी बिच गफ भए । आमैले दिनभरि कोकोसँग कुरा गरिन् । फोनमा उनलाई क-कसले केके भने अनि आफूले के उत्तर दिइन् ? ती सबैको बेलिबिस्तार लगाइन् । उनका कुरा सकिएपछि सरिताले पनि नातिका ग्रहदसा बिग्रिएकाले त्यसको रोकथाम गर्नका लागि पुरेतले सुझाएको बताइन् । करिब करिब आधा घण्टा जति कुरा गरेपछि उनले मलाई राम्ररी निहालिन् । सायद, चिनिनछिन् क्यारा !

अनि सोधिन्– “यी नानी चाहिँ को हुन् ? म त नरी चिया लिएर आइछे भनिरहेकी थिएँ तर होइन रहिछिन् । अनुहार पनि ठ्याक्कै उस्तै पो !”

“ए ! म पनि आउने बित्तिकै कल गर्न थालेँ । साथीलाई चिनाउनै पो बिर्सेछु आमै ! उनी मेरी बाल्यकालदेखिकै साथी हुन् । हाल पनि एउटै संस्थामा काम गर्छौं । सानामा हामी खूब मिल्थ्यौँ । स्कुल जाँदा आउँदा सँगै हुन्थ्यौँ । कहिलेकाहीँ भागेर सिनेमा हेर्न पनि जान्थ्यौँ । एक दिन सिनेमा हेर्दाहेर्दै खूब रोएका पनि थियौँ । किन ? थाहा छ आमै !” सरिताले मेरो परिचय दिँदै हाम्रो बाल्यकाल पनि सम्झाइन् ।

“किन ? भन् त काली !” उनले जिज्ञासा राख्दै सरितालाई ।

“त्यस सिनेमामा एउटी बुढीमान्छे पनि पात्र थिइन् । उनी आफ्नी नातिनीलाई औधी माया गर्थिन् तर एक दिन ती आमै कता गइन् नातिनीलाई थाहा भएन । उसले निकै खोजी तर भेटाउन सकिन । आमालाई पनि सोधी । आफन्तकोमा गएकीले दुईचार दिन बसेर आउँछिन् भन्ने उत्तर पाई । केही समयपछि त्यो नातिनी विद्यालयबाट अवलोकन भ्रमणका लागि वृद्धाआश्रम गई । उसले त्यहाँ आफ्नी हजुरामालाई भेटी । उनीहरू दुवैजना एकअर्कालाई अङ्कमाल गरेर धेरै बेरसम्म रोइरहे । त्यो दृश्यले हामी पनि रोहेका थियौँ ।” सरिताले उनको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरिन् ।

“ए ! तिमेरू त बच्चैदेखि बुढाबुढीलाई माया गर्दा रहेछौ । यस्तालाई बुहारी, नातिनी बुहारी बनाएर ल्याउन पाउने हामी कति भग्यमानी है ! अनि नानीका परिवारमा को को बस्छौ ?” आमैले हाम्रो प्रशंसा गर्दै मलाई प्रश्न पनि गरिन् ।

“म, श्रीमान् र छोराछोरी !” मैले छोटो उत्तर दिएँ ।

“सासूससुरा छैनन् कि अर्को छोरासँग बस्छन् ?” उनले पुनः प्रश्न गरिन् ।

मलाई चिटचिट पसिना आयो । अनुहार रातोपिरो भइसकेको थियो । मेरो बोली नै बन्द भयो । म मौन रहेको देखेर होला । सरिताले मेरो मुखमा पुलुक्क हेरिन् र कुरा अर्कैतिर परिवर्तन गरिन् –“आमै ! गफगाफमै एक घण्टा बितिसकेछ । भोक लागेन, के खाजा खाने ? नरी पनि कता गइछे ?”

“खोई, स्कुलबाट आकै छैन होली ? दिनभरि घरैमा बस्नेलाई केको भोक लाग्छ ? म यहाँबाट कतै चटपटाएकी छुइँन । टि.भी.मा कृष्ण कँडेलको दोहोरी हेरेर बसिरहेकी छु । तिमेरू भोकाएर आएका छौ । खाजा बनाएर खाओ । मलाई एक कप मीठो चिया बनाएर ले । बाउछोरा भरे भात खाने बेलामा मात्र आउँछन् । तेरी सासू पनि भोकाएर आउँछे । उसलाई चाहिँ खाजा राखिदिनू । आज पनि पल्लो गाउँमा सासूबुहारीको झगडा भयो अरे । त्यही मिलाउन गएकी छ । यसको पनि दुखिया कर्म रहेछ । एकछिन आराम गर्न पनि पाउँदिन । काम गरिकन जस पनि नपाउने काम ।” आमैले परिवारप्रति स्नेह प्रकट गर्दै आफूलाई भोक नलागेकाले चिया मात्र पिउने अवधारणा व्यक्त गरिन् ।

सरिताको परिवारमा देखिएको मेलमिलाप साथै एकअर्काप्रतिृको सद्भाव देखेर म चकित भइरहेकी थिएँ एकातिर भने अर्कातिर आफ्नो विखण्डित परिवारलाई सम्झेर पीडित पनि । त्यसमा पनि आमैको “बच्चैदेखि… भाग्यमानी” भन्ने उद्गारले मलाई गिज्याइरहेझैँ लाग्यो । उनले सोधेको प्रश्नको उत्तर दिन नसकेर असिनपसिन भएको अवस्थालाई साथी सरिताले बुझेर प्रसङ्ग परिर्वतन गरेको घटनाले झन मर्माहत भएँ । मनमा अनेकौं प्रसङ्गकाे दोहोरी चलिरहेको थियो ।

“ए मन्जु ! के सोचिरहेकी खाजा खान आऊ ।” भन्ने सरिताको उद्गारले म झस्केँ र आफूलाई सम्हाल्दै पछि लागेँ । उनले मलाई मनपर्ने खाजा गाजरको हलुवा बनाएकी रहिछन् । उनले आमैलाई पनि चिया र हलुवा दिइन् । हामीले गफ गर्दै खाजा खायौँ । उनले बाल्यकालका विभिन्न प्रसङ्ग निकालेर मलाई हँसाउने प्रयत्न गरिरहिन् । म उनका कुरा सुनेर मुस्कुराउन खोजे पनि सकिँन । उनले मेरो अनुहार हेरेरै मलाई पढिसकिछिन् क्यार !

सरिताले मलाई सुम्सुम्याउँदै भनिन् –“तिमी मेरी बाल्यकालकी मात्र होइन, हालकी पनि आत्मीय साथी हौ । हामीबिच सबै कुरा आदनप्रदान हुन्छ तर पनि तिमीले मलाई केही कुरा लुकाएझैँ लाग्छ । तिमीले भन्न नसकेको कुरा पनि सायद त्यही हो । अघि आमैले सोधेको प्रश्नको उत्तर जुन तिमीले दिन सकिनौ ।

मलाई अघिदेखि नै ग्लानि भइरहेको थियो । झन सरिताको त्यो उद्गारले मैले आफूलाई सम्हाल्नै सकिनँ । मैले रुँदै उसलाई अँगालो हालेँ । धेरैबेरसम्म म रोइरहेँ । उनले मलाई थुम्थुम्याउँदै सम्झाइन् । मेरो आँसु पुछिदिइन् र एक गिलास पानी ल्याएर अगाडि राखिदिइन् । मैले पानी पिएँ । बाथरूम गएर मुख धोएँ । मन अलिक शान्त भयो ।

करिब आधा घण्टापछि उनले मलाई फेरि प्रश्न गरिन्– “तिमी पहिले त हजुरबाहजुरामालाई खूब माया गर्थ्याै त !कहिलेकाहीँ आन्टीसँग मनमुटाव हुँदा पनि तिमी नै सम्झाउँथ्यौ । उहाँहरूको चित्त दुख्न दिन्न थियौ तर अहिले चाहिँ तिमीलाई के भयो र वृद्ध भएका सासूससुरालाई एक्लै बनाएर तिमेरू भिन्नै बसेका ?”

“कुरा नै मिलेन ।” मैले त्यति मात्र भनेँ ।

“नमिल्ने पनि त कारण होलान्, जसको समाधान गर्न सकिन्थ्यो होला ? तिमीहरू दुवै शिक्षक अनि ससुराबा पनि त कुनै समयका नामुद शिक्षक नै हुन् । त्यस्तो नमिल्ने व्यवाहारै त के गरे होलान् र ? मैले मनले खाएर मात्र तिमीलाई भनेकी हुँ । हुन त यो तिम्रो निजी मामला हो । मैले दखल गर्न चाहिँ हुँदैनथ्यो । माफ गर मन्जू !” उनले अप्ठ्यारो मान्दै वास्तविकता जान्न खोजिन् ।

“खोइ ? कुरा कहाँबाट सुरु गरौँ सरिता ! हाम्रो पारिवारिक स्तर मिल्दो रहेनछ । हामीभन्दा उहाँहरू आर्थिक रूपमा सम्पन्न हुनुहुँदो रहेछ । परिवारले मेरो श्रीमानलाई मसँग विवाह गर्न सहमति दिइएको रहेनछ । विवाहअघि नै म स्थायी शिक्षक थिएँ तर उहाँ भने ज्यालादारीमा कलेज पढाउनुहुन्थ्यो । मसँगै पढाउने गौरव सर चाहिँ उहाँको छिमेकी र कलेज पनि दुवैको एउटै रहेछ । उहाँकै सल्लहानुसार सरले मलाई विवाह गर्नुभएको रहेछ । मैले त्यो कुरा पछि मात्र थाहा पाएँ ।

यसरी अभिभावकको इच्छाविपरीत मलाई विवाह गरिएकाले उहाँहरूको व्यवाहार मप्रति फरक हुन थाल्यो । मैले धेरै सहेँ तर कुनै परिवर्तन भएन । श्रीमान पनि अलिक फरक स्वभावका थिए । उनले सासूआमा र मलाई मिलाउन खासै भूमिका खेल्न सकेनन् । आमा एकोहोरो, म विपरीत गइरहनुभयो । अति भएपछि म पनि प्रतिकार गर्न थालेँ । घरमा महाभारत नै मच्चियो । अवस्था यस्तो भयो हामी सँगै बस्न नसक्ने भयौँ । त्यही पनि हामी सँगै थियौँ ।

बिहानबेलुका घरमा जोतिनु पर्ने । दिउँसो स्कूलमा । चार वर्षको अन्तरालमा तीन वटा छोराछोरी अनि उनीहरूको रेखदेख एक्लै गर्नुपर्ने । सान्त्वना कतैबाट पनि नहुने । एकातिर श्रीमानले फिटिक्कै नसघाउने, अर्कातिर सासूको रातदिनको कचकचले म त मानसिक रूपमा अस्वस्थ भएर एक्लै बरबराउन थालेछु ।

मेरो अवस्था जटिल भएपछि उनले मलाई घरबाट निकालेर कोठा खोजेर राखे । हामी अलग भएको पनि दश वर्ष भइसक्यो । अहिले उहाँहरूको अवस्था नाजुक छ । तीनचार थरीको अप्रेसन भइसक्यो ससुराको । अहिले कि भरेको अवस्था छ । जेठाजु, जेठानी काठमाडौँतिर बस्छन् । बिरामी हुँदा हामी नै जान्छौँ । यतिखेर त मलाई पनि उनीहरूको माया लाग्छ । सासूमा पनि परिवर्तन आइसकेको छ ।

श्रीमान पनि चिन्तित छन् तर व्यक्त गर्न सक्दैनन् । बेलाबेला उनको सुगरको मात्रा बढेर उच्च हुन्छ, औषधिले पनि काम गर्दैन । मैले पनि केही कुरा सहेको भए आज यो अवस्था आउँदैन थियो होला । श्रीमान पनि उरन्ठेउला रहेछन् । बाआमाले हाम्रै लागि भनेका हुन् भन्ने बुझेर मलाई पनि सम्झाएका भए अनि घरमा अलिअलि उनले पनि सघाएका भए मैले पनि मायाको अनुभूति गर्थें होला । म मायाको भोको थिएँ तर मैले त्यो कहिले पाउन सकिनँ । म परिवारले मन नपराई विवाह गरिएकी रहेछु भन्ने थाहा पाएपछि मेरो उनीहरूप्रतिको धारणा नै नकरात्मक भयो । यी विविध कारणले हाम्रो मिलन हुन सकेन तर अहिले पछुतो भएको छ ।

समाजले हामीलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । कति ठाउँमा त अपमानित हुन परेको छ । सासूससुरा बिरामी भएर अस्पताल लगेको फोटो हाल्दा पनि ‘नाटक’ भन्ने प्रतिक्रिया आउँछ । त्यतिखेर सबभन्दा बढी गारो हुन्छ । हुन त कर्म अनुसारकै फल हो भनेर चित्त बुझाउँछु तर अब कसरी सम्हाल्ने भन न ? तिमी बुढी सासूसमेतलाई यसरी माया गरेर सँगै बसेकी रहेछौ । म भने सासूससुरालाई पनि एक्लै पारेर बाहिरिएँ । अहिले त बच्चाबच्ची पनि ठुला भइसके । उनीहरू बाआमालाई रूचाउँछन् । छुट्टी हुनेबित्तिकै उतै जान्छन् । म नजाओ भन्दिनँ । आफूले गल्ती गरे तापनि उनीहरूले नदोहोर्याऊन् जस्तो लाग्छ । अब कसरी सँगै हुने सोचिरहेकी छु सरिता !” मन्जुले वृत्तान्त कहिन् ।

“गल्ती मान्छेबाटै हुने हो । त्यो जानेर वा नजानेर जसरी पनि हुन सक्छ । जब गल्ती भएको थाहा हुन्छ तब त्यसलाई सुधार्नुपर्छ । त्यो चाहिँ महानता हो । तिमीले त्यो महसुस गरिसकेकी रहिछौ । अब गएर हामीसँगै बसौँ भन न । उहाँहरूले मानिहाल्नु हुन्छ नि !” सरिताले बाटो देखाइन् ।