कृष्णदास घर फर्किरहेछ । रातको समय । पानी पर्न आँटेको छ । छिनछिनमा बादल गर्जिने र कहिलकाहीँ त चट्याङ परेजस्तो भयानक आवाज पनि उठ्ने गरिरहेछ । यो आवाज त्यस्तै छ जस्तो कि कुनै मानिसको मनलाई पश्चात्तापले चुट्दै जान्छ । कृष्णदास हिँडिरहेछ । बराबर चम्किने बिजुलीको उज्यालोमा उसको अनुहार निमेषभर झिलिक्क देखिन्छ । त्यसपछि फेरि ऊ अन्धकारमा हुन्छ । त्यस गहिरो अन्धकारमा झिलिक्क देखिने कृष्णदासको अनुहार मानो कुरुक्षेत्रजस्तो छ, जसमा उसका मनभित्रका कुराहरू फुटेर परस्पर मुक्कामुक्की गरिरहेझैँ प्रतीत हुन्छ ।
उसको अव्यवस्थित कपालमा पानीको थोपा फाट्टफुट्ट तप्किन थाल्छ । फलतः उसको पाइला झन्-झन् लामो छ, छिटो हुँदै जान्छ । उसको मनमा लागिरहेछ— कहीँ निथ्रुक्क नभिजोस् ।
पानीको थोपा क्रमशः ठूलो-ठूलो हुँदै आउँछ र हुँदा-हुँदा यहाँसम्म कि पूरा वर्षाको रूप धारण गर्छ । कृष्णदास आफ्नो टोलको गल्लीभित्र छिरिरहेछ । ओत लागेर हिँड्दा पनि उसको घुँडासम्म पानीको छिटाले रुझाइसकेको छ ।
धेरैबेरदेखि चुरोटको प्यासलाई सञ्चित गरिराखेको कृष्णदास गल्लीको एउटा सानो पसलनिर आइपुग्छ । ऊ एकछिन त्यहाँ अड्छ । खल्ती छामछुम गरी दुई पैसाको एउटा मोटरमार चुरोट किनेर सल्काउँछ । पसलनिरको भित्तामा टाँसिएर कृष्णदास चुरोटको धूवाँ छोड्दै गइरहेछ । पानीको वेग थामिएला कि भन्ने आशाले ऊ कहिले माथि आकाशमा पुलुक्क हेर्छ, कहिले चाहिँ निहुरेर आफ्नो निथ्रुक्क भिजेको सुरुवालतिर हेर्ने गर्छ ।
घरमुनि पुग्दा कृष्णदासको हालत बिलकुलै विचित्र देखिएको थियो । दैन्य र ग्लानिको मूर्ति कृष्णदास ढोकाभित्र यसरी छिर्छ मानो कुनै चाेर, अपराधी, अँध्यारो, अरूबाट अदृश्य स्थानतिर घिस्रिन्छन् ।
भर्याङ उक्लँदै कृष्णदास भान्सा बुइगलमा पुग्छ जहाँ उसको भाइ केशव पिलपिलइरहेको देखा पर्छ । कृष्णदासलाई अनायास उसमाथि रीस उठ्छ । उसको शिथिल हातमा जोश आउँछ । फलतः ऊ एक चड्कन केशवको गालामा दिन्छ—
“पढ्नुवर्नु छैन, दिनभरि खेल्या…गधा काँको ।”
“के गरेको बाबु, तैँले यो ?”- भान्साबाट हत्तपत्त ओर्लेर केशवलाई आफ्नो जम्मै ज्यूले छोप्दै कृष्णदासकी आमाले भनी- “बालकमाथि पनि कोही हात छोड्छ ?”
“ल भैगो, सँभाल्नुहोस् त्यसो भए हजुर नै, मलाई वास्ता छैन…” कष्ण्दास झर्किँदै करुवा लिएर कौसीतिर पुग्छ र हातखुट्टा धोएर भान्साखण्डमा आइबस्छ । कुनै दैनिक नियम पालन गरेतुल्य ऊ छिटो-छिटो गाँस लिँदै जान्छ र साथसाथै थुक्तै पनि । उसले थुक्ताखेरि छरिएका भातका सिताहरू भान्साखण्डबाट पर-पर छरिँदै जान्छन् ।
कृष्णदास जुरुक्क उठ्छ । हत्तपत्त चुठिसिद्ध्याएर ऊ भर्याङ ओर्लिन्छ र अन्त्यमा ऊ आफ्नो कोठाभित्र पस्छ ।
कृष्णदासको कोठा । जहाँ धेरै चीज भैकन पनि केही नभएजस्तै छ । भित्तावरिपरिका तस्वीरहरू उसको बाबुको पालादेखि जहाँको तहीँ छन् । यिनै तस्वीरहरू उसको बाबुको पालामा शायद बोल्थे होलान् तर अहिले खै…। तस्वीरका फ्रेमहरू कुन रङ्गका हुन् भन्नेसम्म थाहा पाउन पनि मुश्किल परिरहेछ । किनभने त्यहाँनिर धूलोको एक प्रकारले गुँड बनिसकेको छ । तस्वीरहरू कुनै महादेवका, कुनै रामचन्द्र र कृष्णका छन् । साथै केही बुद्ध भगवानका पनि ।
यसका अतिरिक्त कृष्णदासको त्यस दुई झ्याले कोठामा एउटा ज्यादै ठूलो काठको सन्दूक पनि छ । जसले भूइँको एक फराकिलो भागलाई आफ्नो कब्जामा राखेको देखिन्छ । सन्दूक निश्चय पनि गह्रुँगो होला, किनभने त्यो ठूलो छ, फराकिलो छ । यसको भव्य आकृतिले कोठालाई गहकिलो तुल्याएको छ । यो सन्दूक उसको बिहे गर्दा स्वास्नीले दाइजोमा ल्याएकी थिई र यो नौ वर्ष यतादेखि जहाँको तहीँ छ, त्यस घरको इष्टदेवजस्तो ।
त्यस सन्दूकमा लगाइएको अलीगढी ठूलो ताल्चा आजसम्ममा शायदै दुई-तीन पटक खोलिएको होला । सन्दूकमा मारेको त्यो ताल्चाले यदाकदा एउटा रहस्यपूर्ण वस्तुलाई आफ्नो चिरसुरक्षामा राखेको प्रतीत हुन्छ । ताल्चाको आफ्नै विशिष्टता, सन्दूकको गुरुत्व र त्यसभित्रको रहस्य कुन्नि के हो ।
जे होस् कृष्णदासको कोठा खाली-खालीजस्तो बिलकुलै देखिँदैन । सन्दूकमाथिको ठूलो पित्तले करुवा- जो प्रायः पानीले भरिएकै रहन्छ, अहिले पनि त्यहीँ छ ।
कोठाभित्र पस्नासाथ जस्तो कि कृष्णदासलाई लागेको थियो, उसको मनको घबराहट शान्त होला र उसको मन एक प्रकारको नयाँ आनन्दले रमाउला । तर कृष्णदासको मन एकाएक रूखको खोक्रो ओडारतुल्य खङ्ग्रङ्ग सुक्छ । जब उसको आँखा क्रमशः कोठाको अरू चीजहरूबाट अगाडि भित्ताको एक भागमा गई अड्किन्छ ।
उसको आँखा त्यस ठाउँमा ठीक त्यसै गरी अड्किन्छ जस्तो कि हिँड्दाहिँड्दै कुनै मानिसको खुट्टा हिलो-माटोमा अथवा धापमा गाडिन्छ । कृष्णदास त्यो भित्ताबाट आफ्नो आँखा जबरजस्ती खिच्न खोज्छ । भित्ताको त्यो सानो भाग र कृष्णदासमा सङ्घर्ष चल्छ । कृष्णदासको अनुहार त्यसै भित्तामा कुनै तान्त्रिक शक्तिद्वारा वशीभूत भएझैँ प्रतीत हुन्छ । उसको मानसिक स्नायु तन्किँदै जान्छ— बिलकुल रबर तन्किएझैँ । अन्त्यमा ऊ कमजोर, दुर्बल हुँदै जान्छ । कृष्णदास मनमनै यहाँसम्म पुग्छ कि ऊ आफ्नो एउटा आँखा त्यस भित्तालाई चढाएर भए पनि त्यहाँबाट हट्न सकोस् र झ्वाट्ट अचानक ऊ आफ्नो आँखालाई जोड्ने भित्ताबाट तान्छ— प्रतीत यस्ता हुन्छ कि कुनै डोरी, धागो अथवा अन्य यस्तै वस्तु सहसा च्वाट्ट चुँडेर लत्रिरहन्छ ।
सलाई क्वार्र कोरेर कृष्णदास चुरोट सल्काउँछ । चुरोट स्वाइँ-स्वाइँ तान्दै जान्छ र कोठामा धूवाँको गोल-गुम्फन प्रेतात्माजस्तै पौडिन थाल्छ।
तर भित्ताको त्यस सानो भाग अझै सुरक्षित छ । त्यहाँको स्वच्छ आकाशी रङ्ग भित्ताको अरू खुइलेको भागबाट टड्कारै भिन्न देखिन्छ ।
कृष्णदास एक बाजि आफ्नो बगली छाम्छ । मानो हृदयरोगका पीडित व्यक्तिहरू कहिलेकाहीँ आफ्नो नाडी छामेर त्यसमा स्पन्दन पाई फेरि हिँडडुल र आनन्द मनाउँछन् ।
कृष्णदास स्थानीय दैनिक अखबारको पन्ना पल्टाउँदै-पल्टाउँदै जान्छ । यसै गरिरहन्छ । सुपारीलाई स्वादिलो ढङ्गले चपाउँदै चुरोट फुकिरहेछ । ऊ भित्र-भित्र स्वास्नीको प्रतीक्षामा छ ।
कृष्णदासकी स्वास्नी भर्खरको सानो बच्चालाई छातीमा च्यापेर दूध चुसाउँदै आइरहेकी छ । उसकी जेठी छोरी आमाको औँला समातिरहेकी छ । ऊ निद्राले चूर छ ।
कृष्णदासकी स्वास्नी । उसको आँखा र खाने मुखले बताउँछ कि ऊ आफ्नो उमेरमा ज्यादै राम्री थिई तर हाल उसको जन्मसिद्ध सुन्दरताबाहेक अरू कुनै आकर्षण छैन । उसले आफ्नो पाखुराको गुदगुदे मासु, पिँडौलाको लच्किलोपना र छातीको उभारलाई चार सन्तानहरूमा बाँडिसकेकी छ । शेष ऊसँग फाटेका आँखा, कच्याककुचुक परेको छाती र रुक्खो नाडी, यीबाहेक केही छैन ।
एउटा सानो मैलो ओछ्यान झारेर कृष्णदासकी स्वास्नी छोरीलाई त्यसमाथि सुताउँछे र आफू निहुरेर कुमले भित्तामा अडेस लगाई चोलो माथि सार्छे । दूधको मुन्टो छोराको मुखमा चुसाउँछे । ऊ एक चोटि आङ तानेर ‘हाई’ गर्छे, फेरि कोठाको चारैतिर सर्र हेरेर भन्छे, “आज के चीज नभा-नभा जस्तो छ नि कोठामा ।”
“के छैन र सबै थोक त छ नि !” कृष्णदास फर्केर स्वास्नीलाई हेर्छ र बिस्तारै आँखा घुमाएर दराजको ऐनातिर औँल्याउँदै सोध्छ, “साँच्चि, हेर त त्यो ऐना कल्ले फटायो… माल त केही पनि राख्न दिँदैनन् यही शान्तिले होला ।”
“त, जे भो शान्तिले” —छोरीतिर देखाएर- “यही यौटी त छ नि बिचरी बिगार्ने-भत्काउने ।”
कृष्णदासीकी स्वास्नी लोग्नेलाई रहस्यपूर्ण ढङ्गले हेर्छे । यो हेराइमा ऊ केही-केही मुस्काउँछे र भन्छे-
“फेरि, कत्ति न मालसामान ल्याएर जोर्यो तस्तो नि, कुन जुगदेखिको दराज हो , कोठा मात्रै साङ्ग्रो तुल्याइरहेछ…”
“अब के त फाल्दिऊँ यसलाई, कि बेचिदिऊँ…?” अचम्मको अनुहार लगाएर कृष्णदास सोध्छ ।
“मैले काँ बेच्नू भनेँ र ?” कृष्णदासकी स्वास्नी ठस्केर भन्छे— “यस्सै पनि झर्किने, ऊ पनि फेरि अहिले हो र फुट्या कति दिन भैसक्यो…के नथापा जस्तो गर्या नि !”
मनमनै कृष्णदासलाई थाहा छ, त्यो उसले अहिले मात्र होइन पहिलेदेखि नै फुटेको देखेको थियो । दराजको ऐना जसकाे चतुर्थांश भाग फुटेर कोप्चिएको आँखाजस्तै देखिएको छ ।
कृष्णदास एकछिन ट्वाल्ल त्यहाँ हेर्छ, हेरिरहन्छ ।
बाहिर रात क्रमशः उचालिँदै गइरहेको हुन्छ । सन्नाटाले घर छाना, गल्ली, सडक सबै थोकलाई छुँदै-छुँदै आइरहेको हुन्छ । पानी थामिसकेको छ । तर केही थोपाहरू अझै पनि कता-कताबाट तपतप बिलकुल नरम अस्पष्ट आवाज तप्किरहेछन् ।
कृष्णदासको कोठामा बत्ती झन्-झन् उज्यालो हुँदै आइरहेछ । कृष्णदासकी स्वास्नी मनमनै निश्चय गरेर कोठाको सन्नाटापूर्ण वातावरणलाई खलबल्याएर बोल्छे— “पक्का ल, क्यै चीज छैन आज ह्याँ…के छैन के छैन जस्तो लागिरहेछ ।”
कृष्णदास बोल्दैन । उसको मन सूक्ष्म रूपले झस्किन्छ मात्र ।
“के हेरिरा त्यो नसुतेर, बार बज्न लागिसक्यो होला” -कृष्णदासी स्वास्नी बिस्तारै सोध्छे— “साँच्चि, कति बज्यो होला ?”
अब कृष्णदास झन् बोल्दैन । मनमा कसैले थचक्क थिचेजस्तो उसलाई अनुभव हुन्छ । घाँटी ख्याकखुक गर्दै झ्यालमा गएर जबरजस्ती केही थूक फाल्छ । त्यसपछि ऊ चुरोट सल्काउँछ । चुरोटको मण्डलाकार धूवाँले आफू र स्वास्नीको अनुहारबीचको भागलाई ढाक्न खोज्छ ।
“अँ, लौ घडी खै, कल्ले लग्यो, कसैले चोरेर लग्यो कि क्या हो ?” एक्कासि भित्तामा हेरी जिल्ल परेर कृष्णदासकी स्वास्नी भन्छे ।
“साँच्चि, कल्ले चोर्यो त ?”
कृष्णदास बोल्छ तर उसको बोलाइमा घडी हराएको सुन्दा उठ्नुपर्ने उत्तेजना र आश्चर्य कत्ति पनि छैन मानो उसलाई थाहा छ घडी कहाँ छ भन्ने कुरा ।
कृष्णदास स्वास्नीलाई हेर्छ, स्वास्नी कृष्णदासलाई हेर्छे । यो हेराहेरमा विचित्र खालको रहस्य पाक्न थाल्छ । कृष्णदासकी स्वास्नीको आँखा शङ्कालु हुँदै आउँछ ।
कृष्णदास चुरोट बेसरी तानेर बुरुरुरु धूवाँ छोड्छ । धूवाँको पातलो पर्दाभित्र कृष्णदासको अनुहार केही मुस्काएजस्तो प्रतीत हुन्छ ।
“के हाँस्नु त्यो घरको माल चोरेर लैजाँदा पनि ।” कृष्णदासकी स्वास्नी फिस्स हाँसेर भन्छे । उसको अनुहारमा घृणा उम्रन्छ, ऊ फेरि भन्छे- “कसैले चोरेर लगेको हैन त्यो, मलाई थाहा छैन र ?”
“थाहा भए चूप लाग्नू” -कृष्णदास चुरोटको धूवाँलाई हटाउँदै भन्छ ।
“ऊँ अझ चूप लाग्नू रे, ल आफूले सोध्या हैन कल्ले चोर्यो भनेर…?”
“त्यो त यसै भन्या” -कृष्णदास अघिकै जस्तो मुस्काउँछ । ऊ एकदम लुच्चोजस्तो देखिन्छ । शरीरलाई खुम्च्याएर डल्लो पार्छ । चुरोट तान्छ । बुरुरुरु धूवाँ छोड्छ ।
“आमालाई नभन बरु, दिक्क मान्नुहुन्छ फेरि ।”
कता-कता कृष्णदासकी स्वास्नीको मनमा यौटा अवाञ्छनीय शङ्का उठ्छ, जसलाई ऊ निर्मूल गर्न चाहन्छ । तर जति-जति ऊ लोग्नेको अनुहारलाई गहिरिएर हेर्दै जान्छे उति-उति उसको मनको शङ्का उल्टो बलियो हुँदै आउँछ । तर यसमा ऊ विश्वास राख्न चाहन्न । ऊ एक बाजि फेरि भित्तामा हेर्छे जहाँ घडी रहन्थ्यो र जसबाट निरन्तर ट्वाक्ट्वाक् आवाज आइरहन्थ्यो ।
कृष्णदासकी स्वास्नी पुनः लोग्नेतिर फर्किन्छे जो अहिले मुस्काएको छैन, गम्भीर छ, केही सोचिरहेको जस्तो छ ।
“आमालाई कति दिनसम्म नभन्ने, थाहा पाइहाल्नुहुन्छ नि…भोलि बिहानै बाग्मती जाँदा सोध्न आउनुहुन्छ ‘कति बज्यो’ भनेर, लुकाएर लुक्ने कुरै छैन ।” -कृष्णदासकी स्वास्नी खिन्न भएर बोल्छे । उसको बोलाइमा कुनै चुड्किलोपना छैन । एकदम खिन्नता, एकदम दुःख ।
ऊ फेरि भन्दै जान्छे- “बज्यैको फेरि द्यौताजस्तो मानेको घडी त्यो…सधैँ भन्नुहुन्छ- ‘अरू थोक जे-जे गर्छौ तर, यो घडी यौटा क्यै नगर्दे । यो भएन भने म भुतुक्कै मर्छु । छिन-छिनमा हेर्नुपर्छ मलाई ।’ के गर्नु, हुनन पनि ससुराज्यूको चिनोहरूमा यौटा बाँकी ।”
“भैगो सुन” -कृष्णदास कुरा खोल्छ- “म तिमीलाई साफ-साफ कुरा भनिदिन्छु-घडी मैले बन्दकी राखेको छु ।”
“घडी किन ! मलाई नै बन्दकी राख्नुभा’ भए हुन्थ्यो नि…” अनुहार उचालेर कृष्णदासकी स्वास्नी भन्छे- “हजुरलाई मैले एक चोटि हैन, दुई चोटि हैन, सयौँ चोटि हात जोरेँ बिन्ती गरेँ – यस्तो काम नगरूँ भनेर, तर हजुरले…”
“होइन, तिमी किन यसरी रिसाएकी ? घडी बन्दकी पो राख्या, बेच्या हो र ? फेरि आइहाल्छ नि ।”
“आइहाल्यो नि, कन्पासा आइहाल्यो, औँठी आइहाल्यो, आएन ? चाँदीको करुवा आइहाल्यो, मलाई किन ढाँट्नु, म के बाहिरिया मान्छे हुँ र…?
कृष्णदासको मन चिमोटिन्छ । पुनः कुनै अपराधबाट उत्पन्न मानसिक भयले उसलाई सताउन सुरु गर्छ । फलतः कृष्णदासको अनुहार अधीर देखिन्छ । शायद ऊ केही बोल्न चाहन्छ तर बोल्दैन, बोल्न सक्तैन । मानो उसभित्र ठिङ्ग उभिएर कुनै यमतुल्य प्रताडक उसलाई जबरजस्ती अपराधी सिद्ध गर्न खोजिरहेछ ।
कृष्णदास भित्रभित्रै जल्छ, बिद्रोह गर्छ । ठीक यौटा लुलो खुट्टाजस्तो कृष्णदास जमिन खोजिरहेछ टेक्नको लागि ।
कृष्णदास सोच्छ- उसलाई स्वास्नी चाहिन्छ । स्वास्नीको दरो आङ चाहिन्छ । उसकी स्वास्नीको छातीमा मासु नै मासु गुज्मुजेको हुनुपर्छ र त्यो कडासेकडा हुनुपर्छ । उसलाई यो कत्ति मन पर्दैन कि उसकी स्वास्नीको छाती एकदम खुकुलो खल्लो खल्लो जस्तो देखियोस् । यो उसकी स्वास्नीले बुझ्नुपर्छ- के ऊ सधैँ चौलानी पिइरहन सक्छ ?
कृष्णदास जुरुक्क उठ्छ । झ्यालबाट हेर्छ । बाहिर चकमन्न छ । उस्तै चकमन्न । यदाकदा कतै-कतैबाट आउने पानीका शेष थोपाहरू पनि तप्किन बन्द भइसकेका छन् । कृष्णदास फेरि झ्यालबाट हट्छ ।
नजिकै उसकी स्वास्नी घुँडाभित्र मुख जोरेर बसिरहेकी छ । उसको मुख खास्टोले ढाकेर घुँडाभित्र लुकेको छ । शायद ऊ उँघिरहेकी छ ।
कृष्णदास स्वास्नीतिर हेर्छ । हेरिरहन्छ । हेर्दाहेर्दै स्वास्नीको एक काल्पनिक चित्र उसका आँखाअगाडि उपस्थित हुन्छ । यस चित्रको नियमानुसार उसकी स्वास्नी अर्कै देखिन्छे, टुनुक्क परेकी ढक्क फुलेको छाती ।
कृष्णदास रोमाञ्चित हुन्छ ।
“लक्ष्मी, हेर त, यता हेर” -कृष्णदास हातमा यौटा किमती बडिस लिएर भन्छ- “यो लगाऊ ल ।” आँसु पोतरिएको अनुहार उठाएर कृष्णदासकी स्वास्नी पाेइतिर हेर्छे । उसको आँखा कृष्णदासको आँखासँग जुध्न थाल्छ र ऊ क्रमशः कठोर देखिन थाल्छे । बडिसलाई मुट्ठीभित्र च्यापेर अनायास डल्लो पार्छे । त्यसपछि ऊ घाँटीबाट हिक्का निकाल्दै भन्छे- “म के रण्डी हुँ ? मलाई के हजुर रण्डी बनाउन चाहनुहुन्छ ?”
रातको सन्नाटा च्यातेर लक्ष्मीको आवाज उदाङ्ग हुन्छ । उसको पातलो जीउभित्र समुद्री ज्वार उर्लिरहेछ ।
हिक्काको साथसाथै ऊ भन्दै गइरहेकी छ- “हजुरले त्यो भित्ताको घडी बन्दकी राखेर मलाई रण्डी बनाउन खोज्नुभएको हो ? के यो हजुरले ममाथि माया देखाउनुभएको ? हजुरलाई त मेरो मासुको डल्लो चाहिन्छ । हजुरलाई मेरो मनसँग कुनै वास्ता छैन ।”
यौटा अवर्णनीय वेगमा आएर कृष्णदासकी स्वास्नी हातको बडिसलाई ध्वार्र च्यात्छे, झ्यालबाट फुत्त फ्याँक्छे र त्यसपछि ऊ एकदम शिथिल भएर खास्टोले हात-मुख छोप्छे ।
भित्ताजस्तो अचल कृष्णदास जुरुक्क उठ्छ । यौटा पुरानो कोटको हेङ्गर भित्ताको त्यो भागमा झुन्ड्याउँछ जहाँ पहिले यौटा घडी थियो । भित्ता-घडी ।
(पोषण पाण्डेकाे आँखीझ्याल कथासङ्ग्रहबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।