प्रमुख समाचार थियो, “आज ११३ औँ नारी दिवस भव्यताका साथ मनाइयो” । नारी दिवसको उल्लास कता पुग्यो-पुग्यो, आत्मारामको घृणित अनुहार चमेलीको मानसपटलमा झल्झली आयो ।

श्रीमान विदेश गएपछि चमेलीको दिनचार्या फेरियो । ताउलोमा जाउलोको दुःख सहिसाध्य नभए पछि दुई सालअघि ऋणधन गरेर उनले श्रीमानलाई विदेश पठाइन् । अँगालोभरिको प्राणभन्दा प्यारो श्रीमान् विदेश गएपछिका दिन चमेलीका लागि निकै कष्टकर भए । गाउँघर, मेलापात, अर्मपर्म सबै एक्लै गर्नुपर्दा चमेली कल्कलाउँदो बैँसालु उमेरमै निकै बुढी देखिन थालेकी थिइन् । त्यसमाथि ५ र ७ वर्षका दुइटा छोराछोरीको पालनपोषणपगि उनकै जिम्मामा थियो ।

एकदिन गाउँका महिलाहरूले चमेलीलाई चौतारीमा बैठक छ, भनेर बोलाए । चौतारीमा पुगेपछि उनले नारी दिवसका बारेमा थाहा पाइन् । गाउँका अगुवा महिलाहरू भेला भएर यस वर्षको ‘नारी दिवस’ भव्यताका साथ मनाउने भनेर सल्लाह गरे । चमेली आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने तथा अन्य महिलाहरूभन्दा फरवार्ड नै भएकोले होला सायद, ८ मार्चका दिन मनाइने नारी दिवसको कार्यक्रमको संयोजक उनैलाई बनाइदिए । हठात् आइपरेको जिम्मेवारीका बारेमा कल्पनै नगरेकी उनले ‘नाइँ’ भन्ने मौकै पाइनन् । अन्य महिलाहरू छलफलमै थिए, चमेली बाबु (छोरा) स्कुलबाट आउने बेला भयो भनेर सबैसँग विदा मागेर अलि छिटो बैठकस्थलबाट निस्किइन् ।

कार्यक्रमको दिन, अर्थात मार्च ८ तारिख । चमेली सदाभन्दा अलि चाँडै उठिन् । घरधन्दा सकिन्, गाईवस्तुलाई खोलेफाँडो दिइन् । बेलुकीलाईपनि गाईवस्तुलाई घाँसको बन्दोबस्त गरिन् । बालबच्चालाई खाना दिइन् । खाजा खानु है भनेर केही खाना राखिदिइन् र सकेसम्म चाँडो कार्यक्रममा पुगिन् । कार्यक्रम ११ बजे शुरू गर्ने तय गरिएको थियो । चमेली कार्यक्रम स्थलमा पुग्दा केही ढिलो भैसकेको थियो । लगत्तै उद्घोषक, रीनाले कार्यक्रम विधिवत रूपमा शुरू गरिन् ।

मञ्चमा पाहुनाहरू भरिभराउ थिए । त्यत्तिकैमा प्रमुख अतिथि भनेर गाउँका साहु भनिने ‘आत्माराम’लाई बोलाइयो । चमेली यो देखेर छक्क परिन् । अस्तिको बैठकमा नारी दिवसको कार्यक्रम हो, पुरूषलाई गेष्टको रूपमा नबोलाउने भनेका महिलाहरूले गाउँको साहुलाई प्रमुख अतिथि बनाउने निर्णय गरेछन् । चमेली चाँडै हिँडेकाले थाहा पाइनन् सायद ।

कार्यक्रम अवधिभर उनलाई के गरौँ र कसो गरौँ भएर आयो । फुत्त उठेर हिँड्न पनि आँट गर्न सकिनन् । प्रमुख अतिथि भनिने आत्मारामले नारी समानता, शसक्तिकरण तथा मानव अधिकार आदिका विषयमा जोडदार भाषण गरे । नारीहरूले गड्गडाहट ताली बजाए । कार्यक्रम सम्पन्न भयो । कार्यक्रम समापन गर्ने जिम्मा अध्यक्षता गरिरहेकी चमेलीको भागमा थियो । कार्यक्रम सोचेभन्दा सफल भएको भन्दै चमेलीले सबैलाई धन्यवाद दिइन् र कार्यक्रम समापन भएको घोषणा गरिन् ।

बाटोमा फर्किँदै गर्दा साहु आत्मारामको घिनलाग्दो अनुहार चमेलीको मानसपटलमा घुमिरह्यो । श्रीमान् विदेश पठाउने बेलामा धितो राखेर चमेलीले केही ऋण लिएकी थिइन् । श्रीमान् विदेश पुगेको केही समय पछिको कुरा हो, साँझमा खाना खाइसकेर चमेली बत्ती कात्न लागेकी थिइन् । बालबच्चा गृहकार्य गरिरहेका थिए । अचानक बाहिर केही आवाज आएजस्तो लाग्यो र चमेली बाहिर निस्किइन् । रक्सीले मातेर आफूलाई थाम्न समेत नसक्ने अवस्थामा आत्मारामले हठात् उनको हात समात्यो । कसोकसो चमेलीले आफूलाई दुष्टको पञ्जाबाट निकालिन् र घरको ढोका हतपत्त लगाइन् ।

अर्कोदिन पुनः आत्माराम आयो र चमेलीलाई विभिन्न प्रलोभन देखाई यौन सम्बन्धको प्रस्ताव राख्यो । उसले ऋण मिनाहा गरिदिने सम्मका प्रलोभन देखायो । चमेलीले यो कुरा सबै गाउँलेलाई भनिदिने धम्की दिएपछि आत्माराम आफ्नो बाटो लागेको थियो ।

हतारहतार घर पुगेर चमेलीले बालबच्चालाई खाजानास्ता दिइन् । गाईलाई खोले/कुँडो पकाएर दिइन् । बेलुकीको खाना तयार पारेर बालबच्चालाई खुवाइन् । आज उनलाई खान मन लागेन । बालबच्चा आफ्नो काममा व्यस्त थिए, चमेलीले टिभी ‘अन’ गरिन् । सात बजेको समाचारको समय थियो ।

प्रमुख समाचार थियो, “आज ११३ औँ नारी दिवस भव्यताका साथ मनाइयो” । नारी दिवसको उल्लास कता पुग्यो-पुग्यो, आत्मारामको घृणित अनुहार चमेलीको मानसपटलमा झल्झली आयो । श्रीमानलाई सम्झिइन् । अचानक आँखा रसाएछन् । ममी रुनुभो भन्दै ‘साने’ कराउन लाग्यो … ।