काकीको कुरा सुनेर आशादिदीसँग झनक्क रिस उठ्यो । सोचेँ ईख नभएको मान्छे होइन, बिख नभएको सर्प होइन । साँच्चै आशादिदी मान्छे हो कि जनावर ? काकीलाई केही जवाफ दिइनँ ।

तेस्रो पटक, तेस्रो घरबाट पनि आशादिदी अपमानित ढङ्गले निकालिई भन्ने खबर सुनेपछि आशादिदीप्रति एक प्रकारको क्षोभ, आश्चर्य, रिस र दुःखको हुण्डरी चल्यो मनमा ।

सोचेँ कस्ती खालकी मूर्ख स्वास्नीमान्छे !

बारम्बार किन ऊ अपमानको आगामा डढ्न जान्छे ?

किन ऊ सबैको घरबाट तिरस्कृत, लाञ्छित र अपहेलित भएर निष्कासित हुन्छे ?

किन ऊ आफैँलाई सम्मान गर्न सक्तिन ?

के ऊ लतारी-पोतारी हो ?

आफ्नै सानो एकनाले घरमा बसेर, बत्ती काटेर, दुनाटपरी खुटेर, सिल्कारोटी बनाएर आजीविका गरेकी थिई ।

घरीघरी कि ऊ धनीहरूको घरमा भाँडा माझ्ने नोकर्नीभन्दा एक स्तर माथि उठेर, सहयोगी भएर बसौँ बस्छे ?

के उसकै गल्तीले गर्दा उसले यस्तो अपमान भोग्नु परेको हो ?

जसले जुन बेला बोलाए पनि सहयोग गर्न तत्पर भएर जाने आशादिदी यस्तरी हन्डर खाँदा पनि किन उसको अहंमा चोट लाग्दैन ?

जुन घरमा कामको लागि बोलाउँछन्, तिनीहरूले नै उसबाट लिनुसम्म काम लिएर धूलोसित टकटक्याएर मिल्काउँछन् बेइज्जतीपूर्ण ढङ्गले ।

जस पाउनु सट्टा अपजसको सिकार भएकी आशादिदीको के दुख्ने मुटु छैन ? कहाँ लुकाएर राखेकी होली ती अपमानका घाउहरूलाई ? कसरी निको पारी उसले ?

यस्तै तर्कनाहरू उठिरहे मनमा ।

बारम्बार उसका जीवनमा यस्ता अपमानित क्षणहरू पुनरावृत्त भएको देखेर जहाँबाट ऊ निकालिएकी थिई ती घरहरूमा गएर तिनै व्यक्तिहरूसँग आशादिदीबारे जान्न मन लाग्यो ।

हुन त उसका सङ्घर्षपूर्ण जीवनगाथा उसैको मुखबाट सुनेकी थिएँ ।

बिहेपश्चात् उसले भोगेका ती अपमानित र दुःखद क्षणको सिलसिला आजसम्म यथावतै छन् ।

विपन्न परिवारमा जन्मेकी आशादिदीलाई चौध वर्षको उमेरमा साठी वर्षको विधुर बूढासँग बिहे गराइदिएको थियो धनी भएको कारण ।

छोराछोरीको डरले बूढाले आशादिदीलाई मूलघरमा राख्न नसकेर पछाडिपट्टिको एकनाले घरमा राखेका थिए ।

आफ्नै झडकेलो छोराको कुटिल चालमा बजारकै एउटा बदमास युवकले फकाउँदा पनि मेरो यस्तै भाग्य हो भनेर बूढो लोग्नेलाई छोडेर जान सकिन ।

बूढो लोग्नेबाट चार सन्तान भएर पनि कोही बचेनन्- निःसन्तान भई ऊ ।

तरुनी स्वास्नीलाई एकछिन छोड्न बूढालाई गाह्रो भए पनि स्वास्नीको भावना र रहरलाई बूढाले बुझ्न सकेन । सम्पत्ति भएर पनि बूढाले राम्रो खान र राम्रो लुगासम्म दिन सकेन ।

अस्सी वर्षको उमेरमा लोग्नेको मृत्युपछि ऊ तिनै सानो एकनाले घरमा बसेर बत्ती काटेर बेच्ने, अरूको दुनाटपरी खुटिदिने, सिल्कारोटी बनाएर बिक्री गर्ने, कसैको बिहे, व्रतबन्ध र पूजाआजामा रोटी पकाउन र अन्य सहयोग गर्न जाने, यस्तै अनेक किसिमले आफ्नो जीविका गर्न थाली ।

एकपल्ट बजारकै सम्पन्न साहुकी श्रीमती चिनियादिदीले आफ्नो घरमा बस्न बोलाएपछि आफ्नो एकनाले घरमा ताला लगाएर चिनियादिदीको घरमा रैथाने भएर बस्न थाली, त्यो घरमा बसेको एक वर्ष बित्दा नबित्दै अनेक बात लगाएर आशादिदी त्यो घरबाट निकालिई ।

चिनियादिदीको घरमा गएर सोधेँ, “दिदी ! आशादिदीले के अपराध गरी र त्यसरी निकालिदिनुभयो ?”

चिनियादिदीले रोष प्रकट गर्दै भनी, “त्यो नक्कचरी बैगुनीको कुरा गरेर साध्य छैन । श्रीमानले नबोला भन्दाभन्दै मेरो जिद्दीले बोलाएँ । यस कारण उसलाई पनि राम्रो होस्, मलाई पनि राम्रो होस् । काम त भूतले झैँ गर्थी । पछिपछि त टेर्नै छोडी, डराउनै छोडी, ऊ पो घरकी मालिक्नी जस्ती भई । म नभएको बेला मेरो कोठामा गएर श्रीमानसँग गफ गर्दै बस्ने, मेरो दराज-बक्सा खोलेर हेर्ने, भण्डारहरूमा उसैले अडकल गर्ने, अरू काम गर्ने,  नोकरहरूलाई गाली गर्ने, श्रीमानलाई नै मीठोमीठो बनाएर खुवाउने, मलाई वास्ता नगर्ने यस्तै सिमाना नाघेर काम गरेकीले निकालिदिएँ, मलाई त मेरौ सौता भएर बस्ली भनेर पो डर लाग्यो ।”

चिनियादिदीले आशादिदीबारे अनर्गल कुरा गरे पनि मैले त्यो दृष्टिले आशादिदीलाई मूल्याङ्कन गर्न सकिनँ । मलाई लाग्यो मान्छेको शङ्का विषालु भए पछि त्यसको परिणाम घातक हुन्छ । चिनियादिदीको कुरा मनमै राखेर म सुवर्णलक्ष्मी काकीको घरमा आएँ ।

विधुवा सुवर्णलक्ष्मीको एउटै जवान छोरा केदार बजारकै नामी कपडा व्यापारी थिए ।

सुवर्ण काकीको सानो परिवार भएकाले आशादिदीलाई बोलाएर घरमै राखी । आशादिदीबारे जेजस्तो कुरा सुने पनि त्यसको वास्ता नगरी काकीले आफ्नो सुखसुविधाको लागि बोलाई । त्यही काकीको घरमा डेढ वर्ष बसेर आशादिदी अनेक बात फेरि निकालिई ।

यस्तै अनेक लाञ्छना पाएको कुरा अरूबाट सुने पनि काकीको मुखबाट सुन्ने इच्छा भयो ।

म काकीको घरमा गएर आशादिदी निकालिएको कारणबारे सोधेँ ।

“काकी ! तपाईंले त आशादिदीलाई निकै माया गरेर राख्नुभएको थियो रे ! तपाईंलाई पनि निकै सुखसुविधा भएको थियो रे, त्यस्तो ठूलो के कारण पर्यो र आशादिदीलाई निकाल्नुभएको ?”

सुवर्णकाकीले घृणित भाव व्यक्त गर्दै भनी, “यस्तो सुखसुविधाले सम्पन्न घरमा आएकी थिई । आफ्नै औकातमा, आफ्नै ठाउँमा बसे हुन्थ्यो । काम त गरेकी हो । काम गर्न पनि सिपालु थिई । त्यो त मुसा भएर पस्ने, पछि बघिनी पो हुँदिरहिछ । उसले आफ्नै औकात पनि बिर्सी । आफ्नो ठाउँ पनि बिर्सी । उसले त बिस्तारै मलाई पछाडि धकेल्दै गई । छोरालाई मात्र हातमा लिने, पसलमा बस्ने पैसा, कपडा छोरासँग सुटुक्क माग्ने, आफैँ पनि लिने, घरको काम अलपत्र छोडेर हत्त न पत्त पसलमा बसेर छोरासँग मस्तले गफ गर्ने, मलाई नटेर्ने, यस्तै अनगिन्ती उसका गल्तीहरूले निकालिदिएँ । कतै छोरालाई नै फसाउली भन्ने डर लाग्यो ।”

काकीको कुरा सुनेर आशादिदीसँग झनक्क रिस उठ्यो । सोचेँ ईख नभएको मान्छे होइन, बिख नभएको सर्प होइन । साँच्चै आशादिदी मान्छे हो कि जनावर ? काकीलाई केही जवाफ दिइनँ ।

म सरासर चिरञ्जीवीको घरमा आएँ जसको घरमा ६ महिना बसेर आशादिदी चोर बात लागिपाएर निकालिएकी थिई ।
मैले चिरञ्जीवीसँग आशादिदी निकालिएको कारणबारे सोधेँ ।

चिरञ्जीवीले उत्तेजित हुँदै भयो, “आशादिदी त बदमासै रहिछ । कसैके कुरामा विश्वास नगरी बिरामी श्रीमतीलाई पनि सुख होला, उसलाई पनि टेक्ने ठाउँ र समाउने हाँगो होला भनेर बोलाएर ल्याएँ । काम गर्न त सिपालु रहिछ । तर हात लामो रहिछ । श्रीमतीको दुई तोलाको सुनको सिक्री हरायो । यो घरमा अरू छैन । उसकै काम हो, कति सोधेँ कहाँ बताउनु ? आखिर हराइहाल्यो । राख्न मन लागेन, उसलाई आफ्नै घर जाऊ भनेर भनेँ ।”

चिरञ्जीवीको कुरा सुनेर मन त कटक्कै दुख्यो, तर उसको कुरा पनि मनमै राखेर आशादिदीको घरमा गएँ ।
सानो एकनाले घर, रातो माटाले लिपेर सिनित्त र सुकिलो बनाएको । सफासुग्घर । तलपट्टि दुइटा साना कोठामा स्कूलमा पढ्ने चार जना गाउँका विद्यार्थीहरू बस्दा रहेछन् । माथिपट्टि पनि दुइटा साना कोठा, एउटा खाना पकाउने र एउटा कोठामा सुत्ने । त्यस्तो पुरानो, थोत्रो एकनाले घर पनि रातो माटाले लिपेर चिटिक्क बनाएकी थिई आशादिदीले ।
हँसिलो, फरासिलो र जाँगरिलो आशादिदीले म जाँदा बत्ती काट्दै धकियाको छेउका चाङ लगाएकी थिई ।

कहिलेकाहीँ उसले आफूले भोगेका जीवनका अनेकौँ दुःखद घटनाहरू, प्रसङ्गहरू मलाई सुनाउने गर्थी । म पनि चाख दिएर सुन्थेँ ।

बेला-बेला जान्थेँ उसकहाँ । माया गर्थी मलाई । म पनि गर्थेँ ।

त्यसैले उसमाथि लगाएका ती आरोपहरूले मेरो मन बिझिरहेको थियो । अशान्त भइरहेकी थिएँ म । उसको जीवनमा भएका यी अप्रिय र दुःखदायी घटनाले मलाई निश्चय पनि आघात पारेको थियो ।

मलाई देख्नासाथ ऊ खुसीले उज्यालिई । उसको उज्यालो र प्रसन्न अनुहार देख्दा लाग्यो उसमाथि लगाएका आरोपहरू सबै निराधार र असत्य होऊन् । सबै हावामै हराएर जाऊन् ।

आशादिदीले खुसी हुँदै भनी, “बहिनी ! तिमी त धेरै दिनपछि आयौ नि ।”

“बिरामी भएर आउन नसकेकी । तपाईंलाई त सम्झिरहन्छु । तपाईंबारे अनेकौँ कुरा सुनेर दुःखी भएँ । तपाईंसँग पनि रिस उठ्यो । किन तपाईं अर्काको घरमा काम गर्न जानुहुन्छ ? कति अर्काले दिएको अपमान सहनुहुन्छ ? के तपाईंको मुटु ढुङ्गाको हो र ? दुख्दैन तपाईंको मुटु ? घरमै बसेर काम गर्न सक्नुहुन्छ । तपाईंको सीप छ । जाँगर छ । कति निकालिनु हुन्छ ? काम गर्ने बेला मरिहत्ते गरेर काम गर्नुहुन्छ- आखिर जसै पाउनुहुन्न । के सार भाये काम गरेको ?”
मेरो स्वर अलि कडा भयो ।

आशादिदीले शान्त र सरल भावमा भनी, “बहिनी ! म त खेतको डल्ला फुटाल्ने र खन्ने कोदाली हुँ । खन्ने काम र डल्ला फुटालेपछि कोदालीको के काम ? जतिले मलाई अनेक लाञ्छना लगाएर निकाले पनि जति अपमान गरे पनि मलाई कुनै असर परेको छैन । जुन बेला मेरो आवश्यकता थियो, सबैले मलाई माया गरेर बोलाए । जसको घरमा बोलाएर गएँ, आफ्नै घर सम्झेर काम गरेँ, परिवारका सदस्यहरूलाई पनि आफ्नै परिवार सम्झेँ । जुन कुरा आफ्नो थिएन, ती कुरालाई आफ्नै सम्झेँ, त्यसैले मेरो कर्मप्रति र मेरो भावनाप्रति गर्व छ । म दुःखी छैन । जति तिमीले सम्झेकी छ्यौ । बरु दुःखी तिमी भएकी छ्यौ । साँच्चै बहिनी ! ती अपमानको बिखलाई मैले पिइनँ । भुइँमै पोखिदिएँ । अथवा उनीहरूतिरै फर्काइदिएँ ।”

आशादिदीको कुरा सुनेर छक्क परेँ ।

तैपनि सम्झाउँदै भनेँ, “दिदी ! जेहोस् अबदेखि अर्काको घरमा बोलाए पनि नजानुस् । घरैमा बसेर काम गर्नुस् । भगवानको शरणमा गएर बाँकी जीवन बिताउनुस् । आफ्नो हातमा सीप हुँदाहुँदै किन अर्काको चाकडी गर्नुपर्यो ?”

आशादिदीले हाँस्दै भनी, “बहिनी ! म त मान्छेकै सहयोग गर्न जन्मेकी छु । म मान्छेलाई नै भगवानको रूप सम्झन्छु । मान्छेकै शरणमा जान्छु । मान्छेकै दुःखसुखमा साथ दिन्छु । कुनै बेला कसैले माया गर्लान्, कुनै बेला उपेक्षा गर्लान्, अहिले म चार जना विद्यार्थीहरूको आमाझैँ भएर भात पकाएर खुवाइरहेकी छु । मलाई सन्तोष छ । भोलि फेरि कसैले कामको लागि सहयोग मागे फेरि जानेछु ।”

आशादिदीको आफ्नै जीवन दर्शनबारे अनौठो कुरा सुनेर विस्मयमा परेँ । न त मैले उसको कुरालाई काट्न नै सकेँ न त समर्थन नै गर्न सकेँ । एउटा विचित्रको अनुभूति भयो आशादिदीको कुरा सुनेर

लाग्यो – आकाशमा बादलहरू अस्थिर भएझैँ आशादिदीभित्रका ती तीता टर्रा दुःखहरू र विषम अनुभवहरू बादलझैँ तत्कालै हराउने रहेछन् ।

सोचेँ आशादिदी भरिएको गाग्री हो- जुन कहिल्यै रित्तिँदैन ।

आशादिदी जाँतो हो, जो हमेसा पिसिरहन्छे ।

कसैको विषाक्त र कृतघ्न व्यवहारले नछुनु विस्मयकारी स्वभाव होइन त आशादिदीको ?

उसलाई दुःखको पहाडले थिचेन, बरु दुःखको पहाडलाई आफ्नै पैतालाले थिची ।

अशादिदीको यो सफलता हो कि असफलता मैले छुट्याउन सकिनँ ।

तर कताकता लाग्यो उसको प्रसन्नता उसको सफलता हो । चुपचाप म घर फर्कें ।

(भागीरथी श्रेष्ठको कथासङ्ग्रह “रातो गुलाफ”बाट)