साइकल झन्-झन् हुत्तिइरहेको । मैल विवश भएर भगवान् भरोसे आफूलाई बनाइसकेको हुन्छु । यस्तैमा देख्छु- अगाडिबाट साझाको बस ‘प्वाँ’ ‘प्वाँ’ गर्दै उक्लिरहेको हुन्छ ।
शहरका घाम नलाग्ने, चिसा र गह्नाउने घरहरूमा डेरा लिन मैले मन पराइनँ । खुला, पहारिलो र स्वास्थ्यवर्धक ठाउँ खोज्दाखोज्दै पुगेँ म पोहोर साल बाँसबारी बस्न, झिटीझम्टा बोकेर । भगवानले अवस्था खाइहाल्दो नदिए पनि जिब्रोचाहिँ दिएका छन् ज्यादै नै जिबुल्ले । त्यसैले लङ्का गएर बसूँ वा पलङ्का गएर, गोजीमा चारै पैसा मात्र हालेर भए पनि दिनको एक-दुईबाजि असन-इन्द्रचोकतिर घाँटी तान्न नगई मलाई धरै छैन ।
यहाँ बस के चढ्नु छ, सिद्रा हुनु छ, लादी काढ्नु छ । घर पुगेर यसो मन्टो निहुराएर छातीतिर ‘सुँ सुँ’ के गर्यो आफ्नो जीउ आफैँलाई अमिलो गह्नाइरहेको । म एक साधारण हैसियतको मान्छे, मोटर र मोटरसाइकल किन्ने म सपनामा पनि सोच्न सक्दिनँ, त्यसैल म आफ्ना सारा कामहरू हिँडेरै फर्स्याउने कोशिस गर्दछु ।
सधैँ फुर्सतमा घरमा बसेर समयको हिसाब गर्छु । अनि पाउँछु मेरो अमूल्य समयको झन्डै चार घण्टा त दुई खुट्टाले बाटो नाप्ने काममै खर्च भइरहेको छ । त्यस चार घण्टाको मात्रै पनि सदुपयोग गर्न पाए कस्तो हुन्थ्यो ? यो दुःख केही टर्थ्यो कि ? मेरो अभावको पूर्तिमा केही सघाउ पुग्थ्यो कि ?
फेरि मेरी सुख-दुःखकी सँगिनी पनि त त्यस्तै छ ! मलाई एक बाजि दगुराए पुग्नेमा दश बाजि दगुराउँछे । असन र इन्द्रचोक चहारेर आई पोकापन्तरा भूइँमा बिसाएर खुइय्य गर्न पाएको हुन्न ऊ भन्दछे- “लौ, मैले अरू थोक त ल्याउन भनेँ तिमीलाई, झन् मूल कुरो चामल त भन्नै बिर्सेछु । गेडै छैन । के पकाउने लौ अब ?”
मनमा लाग्छ— मारिदिऊँ यसलाई घाँटी किक्लिक्क अँठ्याएर वा भनिदिऊँ भातको सट्टा मेरै टाउको पका । तर केही भन्दिनँ । खालि एक बाजि क्रोधपूर्ण मुद्राले त्यसलाई तलदेखि माथिसम्म हेर्छु र झम्टेर एउटा खालि झोला टपक्क टिप्छु र बाहिर हुर्रिन्छु ।
म भात खान बसेको हुन्छु- चूपचाप । अब तलदेखि माथिसम्म मलाई हेर्ने पालो उसको छ । म हातमा पानीको गिलास लिन्छु ।
यस्तैमा ऊ भन्छे- “त्यस्तो राम्रो शरीर हेर, हाड र छालासिवाय केही बाँकी छैन । के गरूँ, यो अभावले मेरो सुद्धी नै पनि हराइसक्यो । साह्रै दुःख दिन थालेँ म तिमीलाई । साइकल किन एउटा । केही सुबिस्ता त हुन्छ ।”
म भन्दछु- “तेरो प्रस्ताव राम्रो हो । पर्खी, म घ्याम्पो फोरेर खबटाको असर्फी बनाउँछु, अनि ।”
ऊ भन्दछे- “यी लाऊ, एउटा दोस्रो हाते नै भए पनि साइकल लिएर आऊ ।”
अनि मेरा अगाडि दुइटा सिङ्गासिङ्गै हरिया गैँडा ऊ तेर्स्याइदिन्छे ।
म छक्क परेर सोध्छु- “कहाँबाट आयो यो ?”
ऊ भन्छे- “दश महिनादेखि महिनाको बीस-बीस रुपियाँ मैले खुत्रुकेमा खसाल्ने गरेकी थिएँ ।”
म अवाक् भएर त्यसको अनुहारतिर हेर्छु । उस उमेरमा पनि मलाई त्यो राम्री लाग्दछे । यो अभावको जिन्दगी नभएको भए शायद त्यो चाँडो बूढी हुने थिइन । अघि भर्खर यसलाई घाँटी थिचेर मार्ने मैले सोचेथेँ । मलाई ग्लानि भएर आयो । अनि मैले यत्ति नै भनेँ- “आवश्यकताको कटौती गरेर र पेट काटेर साइकल किन्नैपर्ने त्यस्तो के थियो ? म अझै बलियो छु, हिँडिहाल्थेँ नि ।”
ऊ केही भन्दिन । खालि मुसुक्क हाँस्छे ।
त्यसै दिन एउटा अर्धानो साइकल मैले किनेँ पनि र अनि एक जनालाई बनीमा गुरु थापेर साइकल चढ्न सिक्न थालेँ । तर बूढो सुगालाई पढ्न ज्यादै गाह्रो हुँदो रहेछ । बीस-बीस दिनको अभ्यासपछि बल्ल-बल्ल सन्तुलन आयो । यत्तिको लागि मैले एक पटक हात मर्काएँ, अर्को पटकक घुँडो फोरेँ र तेस्रो पटक एउटा बङ्गारा भाँचेँ । सन्तोष यही भयो, त्यस दिन मेरा बनीका गुरुले निर्णय दिए— म उत्तीर्ण भएँ, अब निर्धक्क सडकमा विचरण गर्न सक्छु ।
त्यस दिन ब्रह्ममुहूर्तमा बाँसबारीबाट असनका लागि साइकलमा मेरो पहिलो सवारी निस्क्यो । साइकलको दायाँ-बायाँ र पछाडि अनेक हाँडाचिन्डा र झोला तन्द्राङ्ग र तुन्द्रुङ्ग झुन्डिएका थिए । अर्धाङ्गिनीले ढोकासम्म आएर दाहिने हात उचालेर हत्केला देखाई । मानाैँ काडलक कार चढेर अफिस जान लागेको कुवेरपति स्वामीलाई उसकी पत्नी ‘बाइ बाइ डार्लिङ !’ भनिरहिछ । म प्रसन्नचित्त एउटा गीत गुनगुनाउँदै सररर अगाडि बढिरहेको हुन्छु । सडक सुनसान छ । तर कताबाट हो कुन्नि जादू गरेझैँ एउटा भलादमी फुत्त मेरो अगाडि ठिङ्गिन आइपुग्छ । अत्यासमा म साइकललाई देब्रेपट्टि स्याट्ट काट्छु । मेरो यस प्रत्युत्पन्न मतिबाट भलादमी त बच्दछ, तर स्वयम् भने पुग्दछु साइकलैसुद्ध गड्याङ र्याङ्ग र्याङ्ग गर्दै तीन हात तल खेतमा माटो सुँघ्न । म भूलुण्ठित नै हुन्छु, उता त्यो नाथे भलादमी सडकको डीलमा आएर कराउँदछ ‘राम’ ‘राम’ ‘राम’ – मानाे मेरो परमधाम त्यहीँ भइरहेछ ।
त्यस नाथेलाई त मैले देखाउनै पर्यो- मलाई केही भएको छैन भनेर । त्यसैले म फुर्तीका साथ जुरुक्क उठ्छु, छरिएका हाँडाचिन्डा र झोला सोहोर्छु । जीउ झारझुर पार्छु र साइकललाई ठेल्दै सडकमा उक्लन्छु ।
भलादमी नजिकै आएर सोध्छ- “कहीँ चोटपटक त लागेको छैन यहाँलाई ।”
दुर्घटनाको जड नै त्यही नाथे थियो, त्योदेखि मलाई साह्रै रीस उठिराखेको हुन्छ । म च्याँट्ठिएर भन्छु- “मैनको मान्छे हुँ र म एक बल्ड्याङ खाँदैमा केही भइहाल्ने ?” अनि फेरि चोरी औँला ठड्याउँदै म भन्छु- “यो सबै घटेको तपाईंले गरेर नि श्रीमान् । तपाईं भूत हो कि के ? कहाँबाट उब्जिन आइपुगेको यसरी ठिङ्ग मेरो साइकलअगाडि ?”
अब त्यो पनि रन्कन्छ र भन्छ- “नाच्न जान्नु छैन आँगन टेढो ! सडकमा मान्छे देख्न पाउको छैन दन्न खेतमा आलुसिला खोज्न आफू मन्टिने, दोष अरूलाई ?”
अब मैले सोचेँ- नबोल बाबु ! यससित । म दौंसो भिटामिन र क्यालरिज पेटमा नपर्ने निर्धो र सुकुट्याङ्ग मान्छे कहीँ पनि झगडा गरिहाल्ने साहस गर्दिनँ । म यस्तोमा कसैलाई पनि सके तर्साउन खोज्छु नसके पुच्छर लुकाएर भाग्छु । त्यसैले त्यसलाई केही जवाफ नदिई म लुसुक्क अगाडि खस्किन्छु ।
तर पनि त्यो मान्छे मेरो पछाडिबाट कराएर भन्छ- “ओ महाशय ! तपाईंको साइकलको ह्यान्डिल बाङ्गिएको छ । फेरि कहीँ उँधो नमुन्टिनोस् ।”
नबोलूँ भन्दा पनि सुख नपाइने । मलाई झनक्क रीस उठेर आउँछ र फरक्क फर्केर भन्छु- “ए के पाखेलाई जिस्क्याएको ? म के भर्खर छोप्राकबाट आएको खरिगाँठे हुँ ?”
अब ऊ भन्छ- “हैन, हैन तपाईं त भर्खरै वाशिङ्टनबाट आएको हेनरी किसिङ्ग नै हुनुहुन्छ ।” अब ऊ ल्याब्य्राक्क ओठ लेब्य्राउँछ, फरक्क फर्कन्छ र फटाफट अगाडि बढ्छ । अनि म पनि आफ्नो बाटो लाग्छु ।
अब त्यसलाई देख्न छाडेपछि म फेरि साइकल चढ्छु । तर यो के अचम्म ? बरु एउटा अडियल टट्टु चढ्न केही सजिलो होलो त्यो साइकल चढ्न मलाई त्यस्तो गाह्रो पर्यो । बायाँ-बायाँ लग्न-लग्न म लाख कोशिस गरूँ, त्यो कर्के-कर्के हुँदै दाहिन्यै छेउमा पुग्छ र खेतमा हामफाल्न खोज्छ । म पसिना-पसिना भइरहेको हुन्छु । ओर्लन म चाहन्नँ । एउटा जाबो निष्प्राण साइकलसँग म किन हार मानूँ । यस्तैमा म देख्छु- केही परबाट एक जना साथी मैतिर आउँदो छ । मेरो साइकलको अस्वाभाविक चाल देखेर ऊ कराउँछ- “ए मूला, तँ एकाबिहानै ट्वाँट धोकेर साइकलमा निस्केको त हैनस् ? मर्लास्-मर्लास् ।”
अब मेरो साइकल हुर्रिंदै उसैलाई सोझ्याएर अघि बढ्छ । ऊ कराउँछ- “ए गधा ! तेरो सुर क्या हो ?” म दाह्रा किटेर ब्रेक समात्छु । ऊ ट्याप्प दुवै हातले ह्यान्डिल अँठ्याउँछ । म ओर्लन्छु ।
अनि ऊ कराएर भन्छ- “पाखे मोरा ! ह्यान्डिल यस्तरी बाङ्गिएको पनि तँलाई पत्तो छैन । फेरि साइकल चढ्नुपर्छ ।”
ऊ ह्यान्डिल सोझ्याइदिन्छ, बुद्रुक्क उफ्रेर साइकल चढ्छ, सर्र एक फन्को घुमाएर ल्याउँछ र भन्छ- “यसै झम्पटलाई तैँले दुई सय खन्याएको ? मुर्खै होस् ।”
साथीबाट यसरी भएजति विशेषणका आशीर्वादहरू प्राप्त गरेपछि म भन्छु- “लौ है त ?” अनि उसैको नक्कल गर्दै बुद्रुक्क उफ्रेर साइकल चढ्छु । ‘देखासिकी गरिजा आरिसे मरिजा’ झन्डै-झन्डै फेरि त्यहाँ उँधो मुन्टिएको । बडो मुश्किलले दाह्रा किटेर म सम्हालिन्छु । उता मेरो त्यही साथी फेरि कराउँछ- “ए कन्चेट ! तँलाई साइकल रम्ररी चढ्न आइसकेकै रहेनछ । रम्ररी जा है । हेर भीडमा नचढेस् ।”
भीडको त के कुरा आफूलाई त त्यो कोलटार ठोकेको सुनसान र सम्मै बाटो पनि भीडतुल्य भएर पो मार्यो । अब शीतलनिवासतिर पुगेको हुन्छु । प्रातः भ्रमणमा अगाडिबाट आइरहेकी मेरी छिमेकी डाक्टर तुम्बाहाम्फे भन्छे- “नमस्कार दाइ !”
म एउटै हात उठाएर भन्छु- “ओ, नमस्कार ! आज कता गएर बहिनी ?” मैले यति भन्न नपाउँदै साइकलमा मेरो सन्तुलन बिग्रिसकेको हुन्छ । साइकल हुत्तिँदै गई फन्न घुमेर पछारिन्छ र मचाहिँ पछारिनबाट जोगिन डाक्टर तुम्बाहाम्फेलाई गम्म अँगालो हाल्न पुग्छु । अत्याहटमा मेरो हात ठाउँ-कुठाउँ कता परेछ कुन्नि, चट्याङ्ग शब्द आउँछ । आँखाले आगोको झिल्कैझिल्को देख्दछु । म गाला सुमसुम्याउन थाल्दछु । ऊ उता पड्कन्छे- “गुण्डा ! आवारा ! भलादमी भन्ने ठानिराखेकी त लफङ्गा पो रहिछस् ।” अब चप्पल चट्चट् चट्काउँदै ऊ अगाडि बढ्छे ।
अवाक् भएर देखियुन्जेल त्यसैलाई हेरिरहन्छु । मेरो मुखबाट एक शब्द पनि फुट्न सक्दैन । यसो घडी हेर्छु, समय धेरै नै गइसकेको हुन्छ । लाग्छ- बरु हिँडेरै आएको भए अहिलेसम्ममा लैनचौर पुगिसक्थेँ । म फेरि मरेकाे मनले साइकल उठाउँछु, ह्यान्डिल सोझ्याउँछु र त्यसलाई डोर्याएरै अगाडि बढ्दछु ।
पानीपोखरीनिर पुगेपछि म फेरि साइकल चढ्छु र बिस्तारै-बिस्तारै प्याडल चलाउन थाल्दछु । अब ओरालो आएको हुन्छ । म प्याडल चलाउन बन्द गर्दछु । साइकल हुत्तिन थाल्दछ । म थिच्छु, तर ब्रेक लाग्दैन । साइकल झन्-झन् हुत्तिइरहेको । मैल विवश भएर भगवान भरोसे आफूलाई बनाइसकेको हुन्छु । यस्तैमा देख्छु- अगाडिबाट साझाको बस ‘प्वाँ’ ‘प्वाँ’ गर्दै उक्लिरहेको हुन्छ । ऊ आफ्नो गतिमा आइरहेको हुन्छ । म आफ्नो गतिमा गइरहेका हुन्छु । भिडन्त हुने कुरामा अब मलाई कुनै पनि शङ्का रहेको हुँदैन । बस अब झन् ताेडले ‘प्वाँ’‘प्वाँ’ गर्न थाल्दछ । म अब काटीकुटी त्यस बसलाई भयङ्कर यमराजको रूपमा देख्न थाल्दछु । ‘लौ जुध्यो, लौ जध्यो’ – मेरो मुखबाट एउटा भयङ्कर चीत्कार निस्कन्छ । एक्कासि साइकललाई छाडेर म छेउतिर फालहाल्दछु । ड्याम्म गएर म पर्खालमा बजारिन्छु । क्याराक्क एउटा शब्द आउँछ । म पुलुक्क आँखा हेर्छु र यसो शरीर सुमसुम्याउँछु । मुखबाट निस्कन्छ- “भगवान म जिउँदै छु ।”
यसो बसतिर दृष्टि दिन्छु । साइकल मेरो किचिएर कच्याककुचुक भइसकेको हुन्छ । ड्राइभर झ्यालबाट आधा जीउ बाहिर निकालेर मेरो सात पुस्तालाई तर्पण दिइरहेको हुन्छ । ममा कुनै प्रतिक्रिया नभएको देखेर ऊ भन्छ- “मोरो त बहिरो पाे हो क्यार !”
मेरो दृष्टि फेरि साइकलमा पर्दछ । त्यो अब काम नलाग्ने भइसकेको छ । ती हरिया दुइटा गैँडा मेरा अगाडि आएर फेरि तेर्सिइन्छन् । यी सब कुराको सूत्रपात गर्ने त्यही मोरो हो । म त हिँडिरहेकै थिएँ नि ! अनि मेरो मुखबाट त्यसका लागि एउटा भद्दा गाली निस्कन्छ…।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।