मेरो कुरा सुनिरहेकी मन्दिरा एक्कासि उठेर भान्सामा गई र भेज पकौडा ल्याई । मन्दिराको खुट्टा अलिक लरखराएको देखेँ मैले । 

बाइस तेइस बर्षकी एउटी खाइलाग्दी केटी मेरो अगाडि आएर ढक्क उभिन्छे ।

यो मदिरालय उसैको हो ।

बाइस किलोमिटर पिच गर्ने ठेक्का पारेपछि गाउँ घरका झिना मसिना गुण्डा गुन्द्रुकेहरु मेरो पछि लाग्न थाले । ठेक्का परे पछि मैले यही पार्टी दिएको थिएँ । त्यो दिन पार्टीको मात्रै तीन लाखको बिल भुक्तानी गरेको थिएँ मैले मन्दिरालाई ।

त्यो दिनदेखि मेचमा बस्नासाथ ऊ अगाडि आएर सोधिहाल्छे- “के सेवा गरूँ साब ”

यो म्याग्दी चोकको “मन्दिरा मदिरालय” । यसलाई म सभ्य भाषामा मधुशाला भन्छु । यहाँ दिउँसै चिसो बियर पिउन आउँछन् युवा युवती । आजकल युवाहरू भन्दा पनि बढी युवतीहरू पिउँछन् । बियर तान्दै चुरोटको धुवाँको सर्को गोलो पारेर फुस्स फुस्स आकाशतिर फुक्छन् युवतीहरू । स्वस्थानी युगकी गोमा ब्राह्मणीले ७ बर्षमै बिहे गर्नु पर्ने बाध्यता छैन अब। आजकल केटीको भिडमा केटाहरू हुनु जरुरी छैन । मनोरञ्जन गर्ने शैली बदलिएको छ ।

मन्दिरा बिहान कलेज जान्छे । दिउँसो र बेलुकी सम्म यही मदिरालयमा बस्छे । सबैको आ आफ्नै ग्याङ हुन्छ । मन्दिराको आफ्नै ग्याङ छ । ऊ कलेज बाट सिधै यहीँ आउछे । अरू चारवटी महिलाहरू छन् त्यहाँ । पुरुष कोही छैनन् । पाँच जनाको महिला नेतृत्वले यो ” मन्दिरा मदिरालय” भव्यताका साथ चलाएको छ । मन्दिरा साहुनी हो । उनका बाबुले भारतीय आर्मीबाट अवकाश पाए पछि पेन्सनमा आएको रकमले छोरीलाइ मदिरालय खोलिदिएका रहेछन्। यो सामान्य भट्टी होइन ।

यहाँ सामान्य मान्छे आउँदैनन । यहाँ ठेकेदार पनि क बर्गका आउँछन् ।

हरेक मध्यान्हमा फिल्डमा काम गरेर थाकेको हुन्छु । कताकता मन्दिरा मदिरालयको चिसो बियरको तलतल लाग्छ मलाई । नर्सिङ चोकदेखि स्याउली बजारसम्म पिचको ग्र्याभ्लिङ सकेको भोलिपल्ट चालीस लाख रकम निकासा गर्न पहिल्यै दुई लाख घुस ख्वाउनु पर्यो । पैसा निकासा भाको भोलिपल्टदेखि राजनीतिक पार्टीका नेता कार्यकर्तालाई खाममा राखेर पैसाको प्रसाद दिँदै हैरान ।माथिदेखि तलसम्म घुस नख्वाई कुनै काम हुँदैन । आउने चुनावमा समानुपातिकमा परेका छन् भुपु उपप्रधानमन्त्री । चुनावमा उठे भने हार्छन् रे । अनि समानुपातिकबाट उठे । यिनले मसँग पैसा मागे ।

मैले ” कताबाट दिनु हजुर सडक बनाउन निकास भाको रकम यसरी बाँड्नु थाले भने कसरी सडक पिच गर्नु र ?” भनेँ ।

“अलकत्राको मात्रा घटाउनू । शय द्रम कम राख्नु त्यसको रकम मलाई दिनू ” उनले भने ।

देशको उपप्रधानमन्त्री भएको मान्छेत यति भ्रष्टाचारी छ भने म जाबो के हुँ र !

मैले पनि दिएँ शय डरम बराबरको पैसा ।

तिनले शय डरम बराबरको अलकत्राको पैसा लिएर स्कर्पियो गाडी किने। बाँकी पैसा पनि मलाई नै तिर्ने जिम्मेवारी दिए । नेता भन्दा ठेकेदार इमान्दार बन्नु जरुरत छ यो देशमा । उनले भने जस्तो शय डरम अलकत्रा कम राखेर पिच गरे भने भोलिपल्टै पिच उप्किन्छ अनि गाली त ती नेताकार्यकर्ताले होइन मैले खान्छु ।

यो कुरा सोच्दै चिसो बियर तान्दै थिएँ। मन्दिरा आइपुगी ।

“साब कस्तो लाग्यो त मृगको सुकुटी । आज त मेरै हातले बनाको”

“गज्जब मीठो बनाइछौ मन्दिरा ”

“हिजो अस्ति जस्तो हँसिलो देखिनु हुन्न नि, किन केही गडबडी ?”

“ठिकै छु” मैले भनेँ ।

“बाहिर ठिक भएर केही हुन्न भित्र चैँ ठिक हुनुपर्छ साब ।”

“पुरुषहरु भित्र जे छ बाहिर त्यहीँ देखाउँछन् ।”

“महिला ! भित्र महिला बाहिर सुकिला ? त्यही भन्नखोज्नुभाको हो र साब ?”

मन्दिराका कुरा सुनेर म हासेँ एक छिन । केही बेर सोचेँ। के भनेकी होली मन्दिराले भन्दै । भित्र महिला बाहिर सुकिला। महिलाको दुई शब्दमा उसले परिभाषा गरी । सबै यस्तै कहाँ हुन्छर ! फेरि ऊ आफैँ पनि त महिला हो नि ।

“भोलिपल्ट बिहानै ठेक्काको प्रसाद भनेर खाममा हालेर सिडियो, डिएस पि, सहायक सिडियो, कर्णेल, जिल्ला न्यायाधीश , स्थानीय विकास अधिकारी र करका प्रमुखलाई खाम थमाउँदै हिँडे । पैसा कमाउनुलाई पैसा खर्च गर्नुपर्छ त्यो मलाई थाहा छ । ठेक्का पार्नुदेखि काम गरेको रकम निकासी गर्न समेत घुस ख्वाउनु परेसी अनि ठेकेदारले काम कसरी राम्रो गरोस्। मलाई चित्त नबुझेको कुरो चाहिँ के हो भने हामीले चाहिँ ठेक्काको नाउँमा ज्यामी झैँ श्रमको ज्यावल समाउन पर्ने तर ठुला बडाहरू चाहिँ सधैँ ठेक्काको नाउँमा बिनाश्रम हामीलाई सोसिरहने ? यो देशमा बिनाश्रम धनी हुने मान्छेलाई पापी भन्छु म । यस्तै हुँदोरहेछ र पो दश किलोमिटर पिच गर्न दस बर्ष लाग्ने । बेकारमा जनतालाई सास्ती कति धुलो मैलो फोहोर निल्दै हिँडून् तिनले।”

“यस्ता कुरा त सरकारले बुझ्नु नि है” भनेर मन्दिरा भित्र आलु फ्राइ लिन गई। म चुपचापले चिसो बियर पिइरहेछु।

“रेस्टुरेन्ट जग्गा दलालका पैसा र ठेकेदारको कमाइले चलेका छन्। जग्गा किनबेच घट्यो भने रेस्टुरेन्टहरु सुक्खा देखेको छु मैले हैन त मन्दिरा” !

आलुको कवाफ चपाउँदै म फेरि मन्दिरालाई दुख शेयर गर्न थालेँ । बोल्दा हिन्दी भाषाको टोन प्रष्ट आउँथ्यो मन्दिराको बोलीमा । तर मीठो सुनिन्छ उसले नेपाली बोल्दा । मोटो देखेपछि फोहोरमा घस्रेर हिँड्ने चिप्ले किरा पनि राम्रो देखिन्छन् । बैँसले भरिएकी तरुनी फूल हो मन्दिरा । बियरले मात्तिएका अल्दारे केटाहरूले जथाभावी बोले भने ऊ सात्ताले खान्थी । केटाहरू चुपचाप लाग्थे । बियरसँगै मन्दिराको अनुहारको सुन्दरता पिउँथे आउने ग्राहकहरु । आजकल बियर पिउनु फेशेनेबल बन्नु हो रे ।

बियर र चुरोट पिउनु सामान्य लाग्छ कलेजका केटीहरूलाई ।

म यत्रो मिहिनेत गर्छु । दुई बोतल बियर पिउन सोच्नुपर्ने हुन्छ। यिन्का कमाइ धमाइ पनि छैन कसरी खर्च गर्छन् होला भनेर गमिन्थे । एक बोतल मागे भने दुई बोतल ल्याउँछे मन्दिरा। अनि तिमी पनि पिउन भन्यो भने अहिले काममा व्यस्त छु भन्छे र भागिहाल्छे । मैले तीन बोतल पिए पछि बल्ल मसँग पिउन आउँछे ऊ । म चुपचापले उसले बियर पिएको हेरिरहन्छु ।

दुई बोतल बियर ऊ बीस मिनेटमै रित्याइदिन्छे । उसलाई अलिकति बियर लागेपछि म उसका अन्तरङ्ग कुराहरू खोतल्ने प्रयास गर्छु। काम गर्ने अरू केटीहरू मन्दिरासँग धेरै डर मान्थे। पिउँदै गएसी उसले बोल्ने उसका आफ्ना निजी कुराहरू सुनेर म आनन्द लिन थाल्थेँ । मसँग ब्यागमा श्रमिकलाई बाँड्ने झोलाभरी पैसा हुन्थ्यो । रेस्टुरेन्ट छिरेपछि पैसाको मोटो व्याग म उसैलाई काउन्टरमा राख्न दिन्छु । रेस्टुरेन्टमा आउने अरू ग्राहकसँग बसेर बियर पिएको मैले आजसम्म देखेको छैन मन्दिरालाइ । यो मानेमा म अलि खुशी नै छु ।

म नभएको बेलामा पिउँछे कि के थाहा !

कहिलेकाहीँ यो प्रश्नले मलाई मनमा घोचिरहन्थ्यो। आजसम्म मैले उसलाई सोधपुछ गरेको पनि छैन यो बारेमा । म जस्तै अरु पनि ग्राहक छन् । उसको मदिरालयमा आउने हरेक ग्राहकले आशा राख्ने त्यही कुरा हो कि, “मन्दिरा मसँग बसेर बियर पियोस् ।”

“मन्दिरमा गएपछि देउतासँग बसेर सेल्फी खिच्न पाइन्छ भने मदिरालयमा आउँदा साहुनीसँग बसेर किन पिउन नपाउने हँ ?”

एकजना अधबैंसे केटामान्छेलाई रक्सी लागेछ। चिच्याउन थाल्यो । बकबक गर्दैथ्यो । मन्दिराले च्याप समातेर बाहिर निकाल्दिई। ऊ पनि भाग्यो ।

“बिल नतिरी गयो त” मैले भनेँ ।

“छोड्नुस् त्यो हुतिहारा भोलि फेरि आइहाल्छ नि ।”

रक्सी पिउनेहरु के सबै हुतिहारा हुन् र?

रक्सी त मन्दिरा पनि पिउँछे इन्दिरा पनि पिउँछे। मनमा असङ्ख्य प्रस्नहरु उठे । यो कुरा मैले मन्दिरालाइ शेयर गरिनँ ।आखिर किन गर्नु र । गरेर पो के फाइदा । चुचुरो आफ्नै । पखेटा आफ्नै। गन्तव्य आफ्नै। कर्म आफ्नै । भाग्य आफ्नै ।आखिर नपिउने पो को छ र यो दुनियाँमा ।भागवत भन्दै हिँड्ने पाण्डे पुरोहितले सिम्साझैँ खोल्चामा छादेको देखेको छु मैले । कसले के गर्यो भनेर चियो चर्चा गर्ने बानी छोडेर एक कदम अगाडि बढ्नु पर्छ ।

“त्यति राम्री बैंसले भरिएकी साहुनीसँग बसेर बियर तन्काउनु कम्ती मजा आउँदैन ! तर मान्दिन मोरी “!

एकजना भुपु सांसदले दुखेसो पोख्दै थिए मसँग । तिनको दुखमा म भित्र भित्रै खुशी मनाइरहेको थिएँ ।

“आहा ! मन्दिरा त मसँग मात्रै बसेर बियर पिउँदिरहिछ ।”

यो सबै लाहुरेहरुको बस्ती हो ।यहाँ नेपाली संस्कृतिभन्दा विदेशी रहनसहनको बोलवाला चल्छ। यहाँ पैसाको दुख छैन। यहाँ गरिबी पनि छैन।यो जिल्लामा जो कर्मचारी केन्द्रबाट खटिएर आउँछन् उनीहरू राम्रै कमाइ लिएर जान्छन् । यहाँ जातभात र छुवाछुतको व्यवहार पनि छैन। यहाँ महिला पुरुष जस्ता छन् र पुरुष महिला जस्ता छन् । यहाँ स्त्रीको आदेश चल्छ । यहाँ स्त्रीले दिउँसै बियर पिउँदा पनि पुरुषले किन पिएकी भन्न सक्तैन । यो स्वतन्त्रताको राजधानी हो । यहाँ पुरुषलाई बिहे गरेर ल्याउँछिन् स्त्रीले । यहाँ स्त्रीले बाहिरको काम गर्छन् । पुरुष महिलाको आदेशमा लाहुरेमा भर्ती हुन्छन् ।

यहाँ स्त्रीलाई गाली गलौज गर्न पाइन्न । माया गर्न पाइन्छ । सम्मान गर्न पाइन्छ । यहाँ स्त्रीको आदेश चल्छ । पुरुषले चाहेर कुनै युवतीलाई प्रेम प्रस्ताव राख्न पाउँदैन तर स्त्रीले चाहिन् भने सिधै ओछ्यानमा । यहाँ पुरुषहरू अपहरणमा पर्छन् कहिलेकाहीँ तर सकुशल फिर्ता हुन्छन् । यहाँ छोरी जन्मिदा खुशी मनाइन्छ ।

मन्दिरा तिनै परिवारकी एक सदस्य हुन् जुन घरमा नारीको हैकम चल्छ । यो मदिरालय उसको निजी हो ।उसका बाबुआमा यति बेला युकेमा छन् । इन्डियन आर्मीबाट अवकाश प्राप्त पछि युके सेकुरीटि अफिसरको जागिर पाएर उतै बसेका । मन्दिरा सन्तानको नाउँमा एक्ली छोरी हो । ऊ स्वतन्त्र छे।

सडकको काम लगभग सकिन लाग्यो। मैले सोचेभन्दा छिटो समयमा काम भयो । सडकको दायाँबायाँ पेटी बाँध्ने र कुलेसो ढलान गर्ने काम मात्रै बाँकी थियो । करिब चार महिना भयो म मन्दिराको मदिरालयमा आउने जाने गर्न थालेको । पाँच , छ जना नारीले चलाएको यो मदिरालयमा कहिले पनि झैँझगडा देखिन मैले । मानिसहरू आउँथे चाहेको कुरा खान्थे जान्थे।
मन्दिरा र म प्रायः सँगै बियर पिउँथ्यौँ तर कहिले पनि गहिराइमा पुगेर कुराहरू भएनन्। एकदिन मैले सोचेँ।अरु दुई बोतल बियर बढी पिई भने मन्दिराले आफू भित्रको सबै कुराहरू मलाई बताउँछे । मेरो प्लानअनुसारको काम भयो।

मैले भनेँ, “मन्दिरा आज मेरो ठेक्काको काम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयले निर्माण सम्पन्नको कागज दिएको छ । म खुशी छु । आज हामी दुवै बियर पियर मात्तिनै है !”

यति लामो सङ्गत । मन्दिराले पनि नाइ भन्न सकिन । दिउँसो ऊ कलेजबाट आई । सबलाइ अह्राउनु पर्ने कामहरू अह्राई । हामी दुई बियर पिउन बस्यौँ । मध्यान्हको तीन बजेको हुँदो हो । बियर पिउदै गयौ । दुई बोतल बियर पिएपछी मन्दिरालाइ अलिक लाग्दै गयो । तेस्रो बोतलको बिर्को खोल्दै उस्ले भनी –

“तिमीलाई स्वास्नीको याद आउँदैन ?”

“बिहे नै नगरीकन कसरी स्वास्नीको याद आउनु”

“ए साँच्चै तिमीले त बिहे नै पो गरेका छैनौ है !”

“छैन, हतारले बिहे गरेर फुर्सदमा पछुताउँछन् पुरुष । त्यसैले बिहे गर्न पनि डर लाग्छ मलाई मन्दिरा ”

“हा हा हा …”

मन्दिरा बेजोडले हाँसी । किन हाँसी । दुख दबाएर हाँसी कि खुशीले हाँसी । ऊ मीठो मादमा थिई । ऊ बेफिक्री थिई। ऊ निसन्कोच थिई । उसको मुहारमा कुनै लज्जा थिएन । ऊभित्र कुनै पाप देखिन मैले ।

“मनभित्र अँध्यारो नहुनेहरू पल पल विस्मृतिमा जान्छन् र हाँस्छन् जुनेली हाँसो । जुनकिरी जस्तै स्वतन्त्र पखेटा लिएर जन्मिन्छन् नारी र उड्न खोज्छन् । तर पुरुष नारीको पखेटा काटिदिन्छन् । माथी आकाश छुने चङ्गाको धागो बीचमै चुडालिदिन्छन् पुरुष । चङ्गा बीच आकाशबाट नै झर्छ धरामा । जति स्वतन्त्रता एउटा पुरुषलाई छ उति नै स्वतन्त्रता किन भएन नारीलाई…”

मेरो कुरा सुनिरहेकी मन्दिरा एक्कासि उठेर भान्सामा गई र भेज पकौडा ल्याई ।

मन्दिराको खुट्टा अलिक लरखराएको देखेँ मैले । हिन्दी भाषाको लवजमा उसले बोलेको नेपाली सुन्दा मीठो लाग्थ्यो । दिल्ली महिपालपुरको रङ्गपुरी रोडमा उसको बाल्यकाल बितेको रहेछ ।

“तिमी बिहे कहिले गर्छ्यौ मन्दिरा ?”

“खोइ किन पो हो मलाई केटा मान्छेप्रति घृणा लाग्छ ।”

“मसँग बिहे गर्छ्यौ त ? पाल्न सकिहाल्छु क्यारे । ”

“हाम्रो यहाँ त केटीले सोध्छन्, मसँग बिहे गर्छौ भनेर । ”

“जसले सोधे पनि आखिर कुरो त एकै हो । बिहे गर्ने ?”

“घर ज्वाइँ बस्नुपर्छ, मान्छौ ?”

“यो त पुरुषको स्वतन्त्रता हरण भयो नि फेरि ?”

“पुरुषले बिहे गरी लैँजादा पनि त महिलाको स्वतन्त्रता हरण भयो नि फेरि होइन र ?”

“तिमीलाई सबैभन्दा प्यारो चिज के हो मन्दिरा ?”

“म र मसँगै बाँचिरहेको मेरो अहम / मेरो स्वतन्त्रता ।”

रात परेपछि हामी छुट्टियौँ । म कोठामा फर्किएँ। बियरको नसा उत्रिएको थिएन । ओछ्यान चिसो थियो । भोलि कतै जानु थिएन। निर्धक्क सुत्ने विचार गरेँ । तर खोइ किन हो निद्रा चाहिँ लागेन। मन्दिराको अनुहार आँखाभरी आइरह्यो। यतिका समयदेखि सँगै बियर पिउने साथी ऊ । म ठेकेदार उ रेस्टुरेन्टको मालिक्नी । कहिलेकाहीँ पैसा नहुँदा ऊ मलाई फ्रीमा बियर र खाजा ख्वाउँथी तर पछि पैसा दिँदा लिन्नथी ।

बैंस र जवानीका कुरा यौन अनि उत्ताउलो कुरा कहिले गरेनौँ हामीले । सँगै बसी बियर पिउनु भनेको सेक्स गर्न अनुमती दिएको पनि त होइन नि।

अक्सर हामी पुरुष केटी मान्छेसँग बियर खाएपछि “ल यो केटी मसँग फँसी” भन्ने सपना देख्न थाल्छौँ । मन्दिरा साँच्चै कति स्वतन्त्र छे है । ऊ आफ्नो ढङ्गले बाँचेकी छे। ऊ पुरुषको आँखामा आँखा जुधाएर कुरा गर्छे । कसैले नराम्रो नजरले हेर्यो भने थप्पड हान्छे। तथापि उसको यो रेस्टुरेन्ट अर्थात “मन्दिरा मदिरालय ” गज्जबले चलेको छ । खोइ कसरी पो चलेको छ म तीन छक पो पर्छु कहिलेकाहीँ त मलाई मन्दिराले भ्रममा पो राखेकी छे कि भन्ने ।

भट्टीमा यौवन मात्रै बिक्छ रक्सी होइन भन्ने कुरा कसरी पत्याउने अब । त्यहाँ काम गर्ने सबै महिला छन् ।

मैले एकदिन मन्दिरालाइ सोधेको थिएँ, “तिम्रो मदिरालयमा सबै महिला कर्मचारी मात्रै किन ।”

जवाफ कडा थियो उसको, “पुरुष कर्मचारी भएको रेस्टुरेन्टमा पुरुषहरु खानै आउँदैनन् नि ।”

हुन पनि हो । के छ त्यस्तो । महिला र पुरुषबीच नजिक हुने केमिस्ट्री ? मन्दिराले मलाई मन पराइकी पराइन त्यो दैव जानून्। तर मैले मन्दिरालाइ मन पराएछु । आज उसलाई सम्झिदा पनि जिउ तातो भएर आयो । निद्रा लागेन । बिएर पिउँदा उसले भित्री कुरा खोल्छे कि भनेर आशा गरेको । किन भन्थी ऊ। चलाक पो छे। ऊ होसमा छे । ठेक्का गर्ने क्रममा मैले कति रक्सी खाने तास खेल्ने स्त्री भेटेको छु । ती कति गति छाडा उत्ताउला फोहोर बोल्छन्।सुन्ने पुरुषलाई पो लाज । तर मन्दिरा अर्कै पाराकी छे ।

जिल्लास्थित सडक डिभिजन कार्यलयका वरिष्ट इन्जिनियर र स्थानीय विकास अधिकारीको रोहवरमा सडक निर्माणको काम सप्पन्न भएको सम्झौता पत्रमा हस्ताक्षर भएको भोलिपल्ट म काठमाडौं आएँ ।

मन्दिरा कलेजबाट आएकी पनि रहिनछ । उधारो केही बाँकी थिएन । मैले उसलाई भेटेर आउनुपर्ने कुनै कारण पनि थिएन । म आएँ। म आउँदा त्यहाँको हरियाली, त्यहाँको चिसो बतास, त्यहाँको पहाडी आनन्द र त्यहाँका मानिसले उपभोग गर्ने स्वतन्त्रता आँखाभरी सारेर ल्याएँ। जति महिना म त्यँहा बसेँ। मैले आफ्नो पुरुष अस्मिता डगमगाइन । अस्मिता के स्त्रीको मात्रै हुन्छ र ! हामी पुरुष चै गन्हाउने बोका मात्रै हौँ र?

म पुरुष त्यसमाथि पनि ठेकेदार, सबै पुरुष खराब मात्रै आउँछन् भन्ने स्थानीयले गुनासो गर्थें मसँग । म चोखो फर्किएँ। मैले कसैलाई दुख दिइनँ। कसैको श्रम पनि शोषण गरिनँ। कसैको चित्त पनि दुखाइनँ । जम्मा जम्मी नौ महिना बसेँ म त्यो पहाडी सहरमा । म जाँदा रित्तो थिएँ । र फर्किंदा पनि रित्तै फर्किएँ। एउटा ठेकेदारले लुटेर लान्छ भन्ने जनताको भ्रमलाई मैले चोख्याउनु पनि थियो । परिस्थिति पनि त्यस्तै पर्यो। राजनैतिक पार्टीका कार्यक्रम परिरहन्थ्यो । चन्दा दिँदा दिँदा हालत खराब भैसकेको थियो । अलिकति कमाएको पैसा बियर पिएर सकेँ। मलाई घाटा पनि छैन । नाफा पनि छैन। मन्दिराले बियर पिउन साथ दिई । बस् यति मात्रै हो । कोही साथी पनि कमाइनँ र कोही शत्रु पनि कमाइनँ । जस्तो गाको त्यस्तै फर्किएँ । मलाई न नाफा न नोक्सान ।

===

दस बर्ष पछि म पुनः त्यहाँ गएँ । एउटा खानेपानी योजनाको ठेक्का परेको थियो मलाई । त्यही बाटो भएर गएँ जहाँ मन्दिराको मदिरालय थियो । पसेँ । बियर पिउने लत छुटिसकेको थियो ।

साइनबोर्ड त्यही थियो । वातावरण उस्तै थियो । मात्रै फरक थियो मन्दिराको मुहारको चमक । त्यो फुर्ती, त्यो यौवन, त्यो लाली, त्यो ताकत, ती हाउभाउ, त्यो चञ्चलता केही बाँकी थिएन उसमा। थियो त केवल एउटा उराठ ओठ जसलाई कतिले जुठो हाले होलान् अनुमान लगाउन सकिन्थ्यो । रेस्टुरेन्टमा थुप्रै बच्चाहरु थिए।

एउटा सानो केटो मन्दिराको मुहारसँग मिल्दोजुल्दो देखेँ। यता आऊ भनेँ । बालक नजिक आयो । नाम सोधेँ । उसको नाम मनिष रहेछ । मन्दिरा बियर लिएर आई। मैले पिउन छोडेको दश बर्ष भो भनेँ ।

“बिहे गर्यौ मन्दिरा ?”

“छैन ।”

“अनि यो बाबु कसको ?”

“मेरो ।”

“कसरी ?”

“स्वतन्त्रताको उपयोग । ”

मलाई घृणा लाग्यो उसको स्वतन्त्रताप्रति । स्वतन्त्रता भनेको स्वच्छन्दता त थिएन कतै ? मलाई अब चाहिँ शङ्का लाग्यो। तर खोइ के सोचेकी छ मन्दिराले जिन्दगीलाई। त्यसपछि म त्यो “मदिरालय” मा कहिले पनि फर्केर गइनँ ।