साहित्य सम्बन्धित फेसबुकमा कसैकाे पोस्ट आइसक्दा पहिला उसैको लाइक र कमेन्ट हुन्थ्यो। फ्रेन्ड पनि ९० प्रतिशत साहित्यकारहरूलाई नै राखेको छ । आखिर धने साहित्यप्रेमी न त पर्याे, साहित्यको साझा चौतारी: फेसबुकमा आउने गजल, कविता, मुक्तक, हाइकु, युग्म कथा, लघुकथाहरू नपढी बस्न सकोस् पनि कसरी !

धने, नवीन र प्रवीण सबै साहित्यकारहरूको फ्रेन्डलिस्टमा छ नै ।  यता साहित्यिक पेज अनि ग्रुपहरूसित पनि सक्रिय रूपमा संलग्न छ। अरूका पढेर नै धने निकै लेख्न सक्ने पनि भएको थियो । राम्राे लेख्थ्यो अनि विज्ञबाट प्रेरणा र मार्गदर्शनको अपेक्षामा विस्तारै आफ्ना लेखहरूलाई फेसबुकमा साझा पनि गर्न थाल्याे।

तर धेरैजसो मान्छेको प्रवित्ति देखेर धने छक्क पर्याे । ऊ जसका पोस्टहरू चाख राखेर पढ्ने गर्थ्यो उसले नै धनेलाई ट्याग गर्न  रोके। जसका पोस्ट आउनासाथ पढेर टिप्पणी गर्थ्यो उसैले धेनेको पोस्टमा लाइक मात्रै गरेर छोडिदियो। जसका पोस्ट शेयर गरिदिन्थ्याे उसले  आजसम्म शेयर त छोडिदिउँ । एउटा टिप्पणी वा लाइकसमेत गरेको धेनेले देखेन। ग्रुप र पेजमा पनि उसका लेखलाई इग्नोर गरिन्थ्यो। सबै आ-आफ्नो धुनमा मस्त देख्याे धनेले।

“यस्ताे पाराले कहाँबाट साहित्यको सम प्रगति होस् ! नयाँ पिँढीले सिर्जनातर्फ लम्किन कसरी प्रेरणा पाउन् ! केही सुझाव प्रतिक्रिया प्रोत्साहान नपाए’सी कसरी जान्नु आफ्नो लेख के कस्तो भयो । मार्गदर्शनरहित यसरी अन्धाधुन्द एकोहोरो लेख लेख्नु भन्दा त बरु केही नलेखेकै बेस छ।”

यस्तै कुराहरूले मनमा एकोहोरो द्वन्द्व गरेपछि धनेले विस्तारै फेसबुकमा पोस्ट गरिदियो -“आजबाट बाई बाई फेसबुक ” ।