सानो छँदा मैले आमालाई सोधेको थिएँ, “आमा, यो बत्ती निभेर कहाँ जान्छ? ”
“लोडसेडिङ भन्छन् लाटा त्यसलाई”, आमाले हाँस्दै भन्नुभयो। साँझको समय थियो। चुलोमाथि पिलपिल टुकी बलिरहेको थियो। टुकीको सलेदोमा ऐजेरु पलाएका थिए। सायद सलेदो पनि म जस्तै भोको थियो। चुलोमुनि दाउरा बलिरहेकाे थियाे। दाउराको रापले कराइमा तिहुन पाक्दै थियो। मेरो पेट बटारेेर आयो। “आमा, भोक लाग्यो भन्या! ” म झर्किएँ।
“एकैछिन पख् न, अब पाकिहाल्यो त।”- यत्ति भनेर आमाका चुरा सिलौटामा बज्न थाले।
हजुरबुबाको ख्वाङ् ख्वाङ् खोकेकाे प्रष्टै सुनियाे। म पिरामा टुक्रुक्क बसेर घूँडामा चिउँडो बिसाएँ।
बजिरहेका आमाका चुरा एक्कासि मौन भए। बा आज पनि मातेर आएछन्। म आमाको छेउमा लुसुक्क टाँसिएँ।
बा हजुरबुबा ढलेको बिस्तारामा थ्याच्च बस्दै सोध्नुभयो -“अझै भात पाकेन?”।
आमाका चुरा फेरि बज्न थाले। बा रेडियोको कान बटार्न थाल्नुभयो। रेडियोले स्याँ~~~~~ मात्र बोल्यो।
“बन्द गर्नुस् न त्यो ट्याक्रो ! दिनभरि पनि स्कुलका केटाकेटीको झर्को, घरमा पनि शान्ति छैन! ”- आमा गर्जिनुभयो।
“के रे?! आफ्नो कमाइ खायो भनेर हेप्छेस् ? तँ आइमाईले गर्दा मलाई सबैले गाउँमा हेप्छन्। अझ तेरै खटन ! ” – बा पनि गर्जिनुभयो र रेडियो फुत्त फाल्नुभयो। त्यसदिन रेडियो मात्र फुटेन। अरू पनि धेरै फुटे । विशेष गरी सबैकाे मन ।
मिलिक्क बत्ती आयो। बत्तीले कोठा मात्र उज्यालो बनायो।
मैले बातिर हेरेर भनेँ – “बा ! बत्ती आयो, खाना खाऔँ न?”
बा ले हजुरबुबातिर हेर्नुभयो – “बा ! बत्ती आयो, खाना खाऔँ। ”
हजुरबुबाका आँखा बिस्तारै खुले र चिमलाई नियाले। चिम पहेंलो बलेको थियो, टुकी जस्तै पहेंलो। आमाको हात बिस्तारै टुकीतिर गयो, एकछिन अडियो र सलेदोलाई निमोठ्यो। आमाका औंला कालो ऐजेरुले पोतिए। आमाका चुरा फेरि बज्न थाले। हाम्राे परिवारमा यसरी बत्ती निभ्छ, आउँछ…
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला