भोली भ्यालेनटाइेन डे, विशाल सदाझैं इशालाई भेट्ने तयारीमा उत्साहित थियो । ऊ नजिकैको सपिङ सेन्टरमा गएर इशाको लागि उपहार किनिरहेको थियो । फूल लिन भनी उसले के हात अघि बढाएको थियो । केही शब्दहरु उसका कानमा आएर ठोक्किए ।

“यार त्यो इशा खत्तम छे । भ्यालेनटाइेनको दिनमा उसले कति जनाको हातको उपहार लिन्छे लिन्छे ।”

अर्को आवाज, “अनि त्यस्तो जानी, जानी किन उपहार दिन्छौ त तिमीले पनि ?”

अघिकै आवाज, “यसो रिल्याक्स नि ! आजको जमानामा को लैला मजनु छन् र ?”

यो भन्नमा मात्र प्रेम दिवस (भ्यालेन्टाइेन डे )। व्यवहारमा “उल्लु दिवस” हो । दुवैतर्फबाट उल्लु बनाउने । जे थियो यसको भ्यालु पहिला थियो । बस्, आजको समयमा यो दिन यसै रिल्याक्स गर्ने र प्रेमी प्रेमिकाको नाममा ठग्ने दिन मात्र हो । अब हेर, भोलि त्यही इशा र निलिमालाई दिनलाई, म गिफ्ट किन्दैछु । तिनीहरुलाई के थाहा कि ? म यस्तो ट्रिक रच्छु भनेर ? मलाई पनि त तिनीहरुले त्यसै गर्दा हुन् भोलि ।”

यसैबिचमा अर्काले थप्यो, “ती केटीहरुलाई थाहा छैन होला त ? तिमी विवाहित हौ भनेर ।”

अघिकै आवाज , “अरे आजकाल विवाहसँग के मतलब ? जिन्दगी गुजार्ने भनेर “भ्यालेन्टाइेन डे”मा गुलाब लिएका हुन् र ? त्यस्तै भए अरुबेला पनि भेटघाट गरेर, एकार्काको बारेमा बुझेर जिन्दगीलाई अघि बढाउँथे नि । साँचो प्रेम र जिन्दगीलाई एउटै सिक्काको पाङ्ग्राे बनाउने भए किन भ्यालेनटाइेन डे कुर्नु पर्छ ? यी मैले एकवर्षमा इशा र निलिमालाई हिजै मात्र कन्ट्याक्ट गरेको दुवै मलाई भेट्न राजी छन् । न त उनीहरुलाई मेरो वास्तविक जीवनसँग मतलब छ । न त मेरो बारेमा चियो चर्चा नै ।”

अर्को आवाज , “ओहो ! यार, मलाई, तिम्रो यस्तो चाला मन परेन । तिमीले आफ्नी श्रीमतीलगायत अन्य केटीहरुलाई नै उल्लु बनाउँदै रहेछौ त !”
अघिल्लो आवाज, “छोड्देऊ यार । कोही मतलब नराखी हाम फाल्छन् भने म के गरुँ ? रह्यो श्रीमतीको कुरा । मैले श्रीमतीलाई कुनै अभाव र दु:ख दिएको छैन । बस् यो त गेम हो । आफ्नो घरपरिवारलाई घाटा नपारिकन मनोरन्जन गर्ने खेल खेलेको मात्र ।”

ती युवकहरुका कुरा सुनेर विशाल किङ्कर्तव्यविमूढ बन्यो र गुलाब लिन अघि बढेका उसका हातहरु निष्क्रिय बने । ऊ निस्तब्ध बनेर त्यसै टोल्हाइरह्यो ।