“अरू बेला सधैँ काग बसेर बिस्ट्याउने त्यो कालो ठूटो वर्ष-वर्ष दिनमा धोइपखाली गरेर फूलमाला चढाएको देख्छु । आज पनि त्यहाँ त्यसै गर्दैछन् । त्यतिका मान्छे जम्मा भएर के गरेको होला चिरीबाबु ?”

बारीको तरकारी मन्डीमा पुर्याएपछि सडक पेटीमा खर्पन बिसाउँदै इन्द्रलालले सोध्यो ।

– “खै ! सहिद भनेको त्यै हो भन्थ्यो क्यारे !”

– “त्यो भनेको के नि ?”

– “देशमा क्रान्ति गरेको मान्छे रे ।”

– “अलि बुझ्ने गरी भन् न ! देउता हो ?”

– “अरू कुरा था’छैन । तर आफू मरेर अरूलाई सत्तामा पुग्ने बाटो खोलिदिने काम गरेको रे क्या ।”