१. पुन्टेहरुको प्रश्न

“ पहिलाको जस्तै समस्या नहोस् भनेर सरकार सजग छ । आवश्यक पर्ने मेसिनहरुको थप व्यवस्था गरिएको छ ।”

ढाकामोहन बराल

मन्त्रीज्यूले रेडियोमा भन्नुभयो । सबै जना खुसी भए । सबै जना खुसी भएको देखेर पुन्टेहरु पनि खुसी भए । पुन्टेहरु किन खुसी भए थाहा भएन । तर पुन्टेका बाबाहरु, “यसपटक छोराहरुले आफ्नै पुस्तक पढ्न पाउने भए ” भनेर खुसी भए ।

एक महिनापछि बिहान रेडियोमा समाचार आयो, “ मेसिनहरुको समयमा नै व्यवस्था गरिएको भए पनि कागज अभावमा पुस्तक छाप्न नसकिने । ” पुन्टेहरु अलि बुझ्न सक्ने भएछन् । आजभोलि सोध्न थालेका छ्न्, “ बा तिमीहरुले भोट राख्ने कागज कहाँबाट आउँछ ?”

 

२. पार्टीको आदेश

“ बाबु हेर त्यस्तो उग्र हुन नहुने । अब कहाँ बसेर पढ्छौ ? आफैँ पढ्ने ठाउँ ध्वस्तै बनाएछौ हिजो त ।” राजेन्द्रले छिमेकीको छोरालाई भने ।

“ यस्तै हो अंकल राजनीतिमा ।”

उसले हल्का रुपमा लियो ।

“ राजनीति भनेर आफ्नै क्याम्पस बिगार्नु भएन नि ।” राजेन्द्रले भने ।

“ के गर्ने त पार्टीले आदेश दिएपछि । छोड्नुहोस् अंकल हजुर राजनीति बुझ्नुहुन्न ।” उसले भन्यो ।

 

३. ज्याकेट

साँझ छिप्पिँदै गयो । चिसो बढ्न थाल्यो । चोकमा मान्छे निस्किन छोडे । मैले पसलको सटर बन्द गरेँ । भित्र पसेँ । सटरसहित भित्रको एउटा कोठा भाडामा लिएको छु । कोठाको एक कुना भान्छा अर्को कुना छोराको अध्ययन कक्ष र बाँकी सबै ।

आज छोरो शयन कक्षमा बसेर अध्ययन गर्दै रहेछ । चार वर्ष भएछ, घरमा ज्याकेट नकिनेको । पुरानो ज्याकेटले काम गर्न छाड्यो दाँतले घण्टी बजाउँछन् । बढ्ने छोराको ठूलो ज्याकेट घटेर नाभिस्थानमा पुग्ने भएछ त्यसैले साँझ भएपछि सिरक खोज्न थालेछ । दिनभरको पैसा पसलको सामान किन्न र खाने चामल अनि तरकारी किन्न ठिक्क छ ।

“ जे सुकै होस् छोरालाई ज्याकेट किन्न पर्यो ।”

भित्री मनले आँट दियो । तरकारी चलाउँदै श्रीमतीले जाडोले निला भएका ओठ देखाउँदै भनिन्, “जाडो भन्दा त गर्मी जाती, है बुढा ?”