साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाँसुरीवाला

Chovar Blues Mobile Size

ईगम खालिङ

कंशलाई आफ्नो मृत्युको भयले कतै नै कतैबाट सताइरहन्छ । कति महासुरहरूलाई उनले कृष्णको वध गर्न पठाउँछ, तर उल्टा तिनीहरूको वध कृष्णले गरिदिन्छन् । एकदिन चिन्तित कंशको सामु इच्छासुर र अहमासुर अचानक प्रकट हुन्छन् । तिनीहरूले कंशलाई कृष्णको वध गरी शुभसमाचार लिएर चाँडो फर्कने कुरा सुनाउँछन् । तिनीहरूका शक्ति अनि आत्मबल देखेर कंशको विश्वास अझै बढेर जान्छ । कंशले तिनीहरूलाई गोकुल शीघ्र गएर कृष्णको वध गरी फर्कीआउने आशीषस्वरूप आज्ञा दिन्छ ।

इच्छासुर अनि अहमासुरले रूप परिवर्तन गरेर कृष्णलाई गोकुलभरि खोज्छन्, तर भेटाउँदै-भेटाउँदैनन् । पछि वृन्दावनभित्र खोज्दै जाँदा पो तिनीहरूले कृष्णलाई यमुनाको किनारस्थित एउटा वृक्षको फेदमा बसेर टोलाइरहेका देख्छन् । तिनीहरूले कृष्णलाई पछिबाट आक्रमण गर्ने निर्णय लिन्छन्, अनि चालमारेर अघि बढ्छन् । तिनीहरू जस्तो कृष्णको नजिक पुग्छन्, त्यस्तै कृष्णले बाँसुरी बजाउन थाल्छन् ।

त्यो बाँसुरीको धुन यति मधुर अनि अलौकिक थियो कि तिनीहरू कुनै समय लिइबिना नै त्यसमा डुबिपठाउँछन् । त्यस धुनमा तिनीहरू परमाणुभन्दा पनि सूक्ष्म भएर प्रकाशको रफ्तारको गतिभन्दा पनि तेज रफ्तारमा सम्पूर्ण भाव अनि अभावहरूको यात्रा गरिपठाउँछन् । जन्म र मृत्युको रहस्यको दर्शन गर्दै साथै पृथ्वी, सौरमण्डल, अनि आकाश-गङ्गा हुँदै ब्रह्माण्डको एउटा अद्भुत यात्रा गरिपठाँउछन् । जब कृष्णले बाँसुरी बजाउन बन्द गर्छन् तब तिनीहरू सिधै चौरासी लाख जुनिबाट झस्कन्छन् । कृष्णको वध गर्नको सट्टा उनका चरणस्पर्श गरेर तिनीहरू त्यहाँबाट निस्कन्छन् ।

उता वृष्णिको मथुरामा कंशले ती दुई महासुरहरूले खुशीको खबर ल्याएर फर्किन्छन् भन्ने आशामा पर्खिरहन्छ तर तिनीहरू कहिल्यै फर्की आउँदैनन् ।

Eagamkhaling7@gmail.com

प्रतिक्रिया
Loading...