हेमलक जबर्जस्ती हुलियो चिसो कोठामा । उसको आगमनले कोठाभरि तातो हल्लिखल्ली मच्चियो !

हेमलकले लाजले भुतुक्क भएर सोध्यो – “यत्रा विचारकहरू भएको ठाउँमा म बदनाम हेमलकको के काम ? ”

हेमलकलाई भनियो – “जुन कामको लागि तँ बदनाम छस्, त्यही काम । तँलाई जसले पिउँछ, तैंले उसको ज्यान लिनुपर्छ ! ”

सुमन सौरभ

कोठाका सबैको नजर हेमलकमा थियो, हेमलकको नजर सेतो दाह्री भएको र सेतै धोती लगाएको भद्र वृद्धमा गएर टक्क अडियो ।

हेमलक सुस्तरी अगाडि बढेर बूढाको सम्मुन्ने पुग्यो र आँखा जुधाएर उभियो ।

बूढा निश्चिन्त थिए मानौँ कि उनको अगाडि अर्ध-हरियो हेमलक छैन बरू शुद्ध पञ्चामृत छ ।

ग्लानिबोधमै हेमलकले बूढालाई सम्झायो – ” ए बूढा, तिमीले यो सहरको देवता मानेनौ रे, किन ? सहरका युवाहरू भाँड्यौ रे, किन ? उनीहरूले भनेको खुरुक्क मानेर माफी मागे कुरै सकिन्थ्यो ।”

“तिमीलाई केही थाहा छैन हेमलक, चुप बस ।” बूढाले भने र भिडमा फर्किए – ” हेर केटा हो, उमेरले गर्दा उसै पनि धेरै म बाँच्नेवाला छैन, कसैसँग माफी माग्दिनँ ।”

हेमलकले भन्यो – ” धेरै बाँच्नेवाला छैनौ भन्ने थाहा रैछ, माफी नमागे मर्छौ भन्ने पनि थाहा होला, यति थाहा पाएको मान्छे किन ‘केही थाहा छैन’ भन्दै युवाहरू भड्काउँदै हिँड्छौ ? माफी मागे बाँच्छौ, नमागे मलाई पिउँछौ र सदाकालको लागि चैट् । ”

बूढाले केही नबोली हेमलक हातमा लिए र आँखा चिम्लेर स्वाट्ट पारे ।

जिद्दी बूढा सिद्धिए , हेमलक पनि सिद्धियो ।

माफीभन्दा सिद्धिनुमा बूढा असन्तुष्ट थिएनन्, बूढाभन्दा बढी हेमलक सन्तुष्ट थियो – “अरे वाह बूढा, पिइदियौ र म सदियौंदेखिको बदनाम हेमलकलाई अमर बनाइदियौ !”