१. वृद्धभत्ता

पुडासैनी बाजेको चेहेरा मलिन छ । उनी गाउँका पुराना काँग्रेस । अठहत्तर वर्षको उमेरमा पनि राज्यले दिएको वृद्धभत्ता थाप्न पाएका छैनन् ।

काँग्रेससितको पुरानो सम्बन्ध र मोह दर्साउन पन्ध्रसालको चुनावमा भोट हालेको कथा सुनाउँछन् ।

उनको वास्तविक उमेर अठहत्तर भैसक्यो । तर, नागरिकता उमेर घटाएर बनाएकाले भर्खर त्रिसठ्ठी वर्षमा हिँड्दैछन् । पन्ध्रवर्ष घटाएर नागरिकता बनाएकाले वृद्धभत्ता हात पर्नसकेको छैन ।

उनका दामलीले सातआठ वर्ष अगाडि नै पैसा थाप्न थालेका हुन् । तर, उनले पाउन अझै सातआठ वर्ष लाग्नेवाला छ । किनभने नागरिकताअनुसार सत्तरी टेक्न ठ्याक्कै सातवर्ष बाँकी छ ।

अठहत्तर नाघ्न लाग्दा पनि वृद्धभत्ता खान नपाएकोमा मनभरि पीडा छ । अरुले महिनैपिच्छे पैसा थापेकोमा कताकता जलन र औडाहा छ । भित्र एक खिन्नता छ ।

एकदिन मैले सोधेँ–“बा ! किन यत्रो उमेर घटाएर नागरिकता बनाउनु भो ?”

उनले रहस्य खोले–“ खोइ नानी ! हाम्रा नेताहरुले भने– देशमा कम्निस्ट शासन आयोभने साठी पुगेका बूढाबढीलाई गोली ठोकेर मार्छन् । त्यै डरले उमेर घटायो भने त धेरैवर्ष बाँच्न पाइएला भनेर घटाएँ । तर, अहिले आफैँलाई धोका भो नानी ।”

मैले भनेँ–“ अनि बूढाबूढीलाई मार्नेरहेछन् त ?”

“ किन मार्थे, उल्टै बूढाबूढीलाई यत्रो पैसा दिँदाराछन् । अर्काकै लैलैमा लागेर उमेर घटाइयो तर आफैँ वञ्चित भैयो । नजुरेपछि यस्तै हुन्छ ।”

त्यहीवेला पुडासैनी बूढीले च्याँठिँदै रोष पोखिन्–“ काग बाठो हुँदा गु खान्छ भन्थे त्यै भाको हो ।”

बूढाले ट्वाल्ल परेर बूढीलाई हेरिरहे, केही बोल्न सकेनन् ।

२. दुई भँगाला

धेरैदिनपछि पिपलु छायाँमुनि दुईजना मित्रहरुको भेट भयो । उनीहरु उहिल्यै सँगसँगै राजनीतिमा होमिएका पात्र थिए ।

पुण्य कार्की

समाज परिवर्तनको निम्ति उनीहरुले क्रान्तिकारी बाटो रोजेका थिए ।

दुई मित्रमध्येको ‘क’ चतुर, चण्डाल, चंखे प्रवृतिको मान्छे थियो ।

अर्को ‘ख’ चाहिँ बुद्धु, बोधो सरल अनि इमानी स्वभावको थियो ।

दुइटै एउटै पार्टीमा लड्दै भिड्दै अहोरात्र खट्तै राजनीतिक यात्रामा हिँडिरहे, हिँडिरहे ।

समयको खेल । आआफ्नो बुद्धि, औकात र स्वभावअनुसार खानुपर्ने । एउटै पार्टीमा भए पनि उनीहरुका प्रवृतिगत भँगाला फाटेर एउटा उत्तर दिशामा थियो । अर्कोले दक्षिण दिशा समातेका थियो ।

छन त एउटै नदीमा थिए । तर, दुई भँगालामा बाँडिएका थिए र धेरै वर्षसम्म उनीहरुको भेट भएको थिएन ।

वर्षौँपछिको भेटमा उनीहरुले मनका औडाहा बिसाए । जीवनका दुःखसुख साटासाट गरे । आआफ्ना जीवनका प्राप्ति र अप्राप्ति सुनाए ।

‘क’ ले भन्यो– म त अहिले पाँचतले आलिशान बंगलामा छु साथी ।

‘ख’ ले भन्यो– म त अझै अनाकण्टर जंगलाँ छु साथी ।

‘क’ ले फेरि भन्यो– अहिले त मेरो आफ्नै ग्यारेजमा कार छ ।

‘ख’ ले भन्यो– मेरो त अहिलेसम्म न घर छ, न घरेडी छ , न कार छ, जीवन बेकार छ ।

‘क’ ले फेरि सुनायो– मेरो त पुत्रको निम्ति पालीमा पल्सर छ ।

‘ख’ ले भन्यो– मित्र मेरो त पेटमा अल्सर छ ।

‘क’ ले अर्को प्राप्तिको पनि खुलासा गर्यो– मेरो त परिवारका हरसदस्यको घाँटीमा सुनको चेन छ ।

‘ख’ ले मलिन मुहारमा बोल्यो– मेरो त छातीमा अथाह औडाहा र बेचैन छ ।

यो संवादपछि नदीका ती दुई भँगाला आआफ्नै दिशामा बग्न थाले । बूढो पिपलको रुख टोलाएर ती दुई यात्रीलाई हेरिरह्यो ।

३. फादर्स डे

कुशेऔँशीका दिन एकाबिहानै मताने बूढा नाम्लाडोरी भिरेर खरबनतिर लागे । हुर्केको छोरो सहरमा छ । हुर्केका छोरी ज्वाइँका घरमा छन् । गाउँमा पितापूर्खाको घर रुङ्गेर बसेका छन् बूढाबूढी । बूढेसकालमा लेकवेँसीको खेतीपाती धाउनु, बस्तुभाउको लन्ठो ब्यहोर्नुले बुढा दिग्दार छन् । दिग्दार मानेर पनि भएको छैन पापी पेट भर्नु नै छ ।

वृद्ध अवस्थामा पनि भनेजस्तो सुखशान्ति नमिल्दा बूढा विरक्तिबोधमा रन्थनिन्छन् । उनको मुखबाट अनायास निस्कन्छ–“ बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधैमाथि…।”

घाँस काट्न खरबन पुगेका बूढालाई आज घर फर्किनुको अलि हतारो छ । हिजो बेलुका लाल्मु गाई ब्याएको छ । सुत्केरी गाईलाई सेवाचाकर गर्नुछ ।

उनले सोचे–“ आऽऽ आज घोत्लीका चिउला झारेर लान्छु ।”

रुख चढेर घोत्लीका चिउला लुछ्दालुछ्दै खुट्टो खुस्केर क्वान्द्रामा डङ्ग्रङ्ग पछारिन पुगे । धेरैबेरसम्म त्यो सुनसान पाखामा बेखबर इन्तु न चिन्तु भई लडिरहे ।

पछि हँहँहँ…. गरेर चिच्याएको आवाज कसैले सुन्यो । उसले गाउँमा खबर गरिदियो । छरछिमेकी खरबन पुगे । बूढाको दाहिनेतिरको नलीखुट्टो ढुङ्गामा बज्जारिएर भाँच्चिएको रहेछ ।

झोलुङ्गामा हालेर गाउँको स्वास्थ्यचौकीसम्म त पुर्याए । तर हड्डी भाँच्चिएकोले सहरको सुविधासम्पन्न अस्पताल पुर्याउनु पर्ने स्थानीय अहेबले सुनायो ।

अब लैजाने कसले ? सहरमा बस्ने छोरालाई अनेक पटक फोनसम्पर्क गर्न खोजे । सम्पर्कै हुन सकेन ।

सो घडी सहरमा छोरो मोबाइल फ्लाइङ्ग मोडमा राखे पितृ दिवशको सन्देश फेसबुक वालमा पोष्ट गर्न व्यस्त थियो–“ ह्याप्पी फादर्स डे ! संसारका बाउहरू साँच्चै महान् हुन्छन् । बाउहरूको मुहारमा खुसी थप्नु प्रत्येक छोराहरुको कर्तव्य हो ।”

गाउँमा बाउ खुट्टो भाँचेर बेवारिसे पल्टिराखेको अवस्थामा ऊ भने वालमा लाइक र कमेण्ट गनिरहेको थियो ।