विनयकुमार कसजू

एक जना बुद्धिमान्, इमानदार, देशभक्त र समाजसेवी विद्वान थिए । उनी लोभलालच, कामवासनामुक्त र चरित्रवान थिए । उनी देश र समाजका लागि अत्यन्तै उपयोगी र सबैका प्रियपात्र थिए ।

समयले कसैलाई पर्खँदैन । उनी पनि बूढा भइसकेका थिए । महत्वपूर्ण कार्यक्रम र भेटघाटमा पनि उनी कमै जान थालेका थिए । फलस्वरूप उनको अनुपस्थिति देश र समाजलाई खट्किन थालेको थियो । उनी भएनन् भने देश र समाजको ठुलोे नोक्सान हुन्छ भन्ने चर्चा चल्न थालिसकेको थियो ।

मानिसहरू उनलाई कसरी धेरै वर्षसम्म स्वस्थ राख्ने भन्ने उपायका बारेमा कुरा गर्थे ।

उपनिषद्कालमा एक राजा थिए ययाति । सय वर्षसम्म बाँच्दा पनि उनको भोग र कामको इच्छा पूरा भएन । उनले आप्mना छोराहरूसँग उनीहरूको उमेर मागे । चार भाइ छोराले दिन इन्कार गरे तर कान्छो छोरा पुरुले आप्mनो बाँकी उमेर दिए । छोरा पुरुको उमेर पनि ययातिले भोगविलासमै बिताए ।

आधुनिक विद्वानलाई पनि ययातिलाई झैँ कसैको उमेर प्रत्यारोपण गर्न सकिन्छ कि भन्ने खोजबिन हुन थाल्यो । विदेशको एउटा अस्पतालमा यो सुविधा छ भन्ने खबर आयो । एक जना उत्साही युवक आप्mनो आधा उमेर दिन तयार पनि भयो । अनि सबै मिलेर विद्वानलाई उमेर प्रत्यारोपण गर्न विदेश पठाइयो ।

केही दिनपछि विद्वानको उमेर प्रत्यारोपण शल्यक्रिया सफल भएको खबर आयो । उनी स्वदेश फर्कने दिन उनको स्वागत गर्न पत्रकार र नागरिक समाजको भीड लाग्यो । हवाईजहाजबाट कपाल सेतै फुलेका, कम्मर झुकेका सुपरिचित विद्वानको सट्टा एक युवक कालो केश लर्काउँदै हावामा हात हल्लाउँदै हवाईजहाजबाट ओर्ले । उनीसँगै गएका युवक भने लौरो टेक्दै पछिपछि ओर्ले । विमानस्थलको अतिविशिष्ट कक्षमा विद्वानलाई पत्रकारहरूले घेरे । “देशको विकास र समाजको सेवा अब कसरी गर्ने योजना छ ?” भनेर पत्रकारहरूले सोधे ।

विद्वानले हाँस्दै जवाफ दिए, “देशको विकास र समाजसेवाको कुरा पछि गर्दै गरौँला । पहिले एउटी कन्या खोजेर बिहे गरुँ । घरजम गरुँ । देश र समाज त छँदै छ ।”