छोरीको पहिलो वर्षदिनको अवसरमा बालसखा राजेन्द्रलाई निम्तो दिन गएको थिएँ, उसको टेढेमेढे प्रवचन सुरु भइहाल्यो | आफू न पिआरवाला न राजनितीमा रुचि भएको मान्छे । “पि आर र जागिर पाएपछि देशभक्ति देखाउन राजनीति गर्नुपर्ने तपाईंको बाध्यता म बुझ्न सक्छु, तर यस्ता कुरा सुनाएर दिग्दार नबनाउनुस्”, मैले सिधैं भनिदिएँ ।

“तपाईं आफैँ विदेश आउनुभएको छ, किन गफ लगाउनु हुन्छ ?” ऊ झोक्कियो ।

मैले फ्याट्ट सोधेँ- “राजेन्द्र जी, पुलचोकमा इन्जिनियरिङ गरेको मान्छेले देशले लगाएको गुन देशमै बसेर फिर्ता गर्छु भनेर कहिल्यै सोच्नुभएन ?  के पाउनुहुन्छ यो विदेशमा राजनीति गरेर ?”

ऊ तर्क दिन हर प्रयास गर्दै थियो ।  चित्त  नबुझेर फेरि मैले सोधेँ, “के दिनुभयो त तपाईँले राजनिति गरेर ?”

ऊ अनुत्तरित भएको भाव स्पष्ट झल्किन्थ्यो । त्यति नै बेला खाम हातमा बुझाएर फर्किँदै गर्दा यसो सोचेँ, दिन त दिएकै छ नि, फेसबुकमा यत्रा गफ दिन कम फुर्सद चाहिन्छ र ! अझ पोस्ट गर्दा पैसा लाग्ने भए के गर्थ्यो होला, ऊ ?

म गमिरहेँ ।

हाल: न्युजिल्याण्ड