केशमा केवँराको फूल सिउरेकी, मृगको जस्तै नयन भएकी, छिनेको कम्मर, गालामा दिम्पल भएकी, हाँसिली अनि जुनजस्तै धपक्क बलेकी पम्फा सधैं मुस्कुराउने गर्थिन् । कसैसँग झर्केर बोल्थिन । साधारण लेखपढ गरेकी पम्फाको बाल्यकाल लेकवेशी, पाखा पखेरो रनबन गर्दै बितेको थियो । मगर समुदायमा हुर्केकी पम्फाले कलिलो उमेरमै बिहे गरिन् ।

पम्फाको लोग्ने सरकारी अड्डाको हाकिम थिए । लोग्नेको सेवा गर्दागर्दै पम्फाले कर्मघरमा पनि जन्मघर बराबरको समय बिताइ पम्फाको लोग्ने अफिसबाट घरमा कहिल्यै समयमै फर्केको दिन थिएन, कहिले आधारात त कहिले भोलिपल्ट बिहान झिसमिसेमा लुरुक्क घरमा पाइला टेक्ने गर्थ्यो । सधैं अफिसको कामले बाहिर-बाहिर मात्रै हिँड्ने गर्थे । पम्फालाई आफ्नो लोग्ने हाकिम भएकोले अफिसको कामले नै होला भनेर कहिल्यै शंका गरिनन् ।

सुरूवातमा पम्फाको दाम्पत्य जीवन सुखसायलमै बितेका थिए । दिनहरु बिस्तारै ढल्किदै गए । सबैको नजरमा सुखी अनि सम्पन्न देखेका पम्फाको परिवारमा एकाएक नमिठो अनि अकल्पनीय घटना हुन पुग्यो । लोग्ने सधैं अबेला मात्रै घरमा आउनुको रहस्य आफिसको कामले नभएर परस्त्रीसँग हिमचिममा परेको कुरा पम्फाले चाल पाइन् । पम्फाको पनि मनै त हो , लोग्नेको धेरैजसो बाहिर मात्रै बास हुने र घरमा समय नदिएपछि आफ्नो यौनतृष्णा मेटाउन परपुरुषसँग नजिकिन थालिछिन् । तर पुरुषप्रधान समाजले आईमाईको मात्रै गल्ती देख्न पुग्छ अनि पम्फा र हाकिमको सम्बन्ध विच्छेद हुन्छ ।

पम्फा जन्मघर फर्केर बस्न थाल्छिन् । तर हाम्रो समाजमा कुन चाहिँ परिवारको चेलीबेटी घरमा अटाउछ्न् र ? एकछिन पनि माइतीघरमा बसेको सहन्न यो समाजले । पम्फाको पुनः अपरिचित र लाहुर जत्तिकै पर परपुरुषसँग दोस्रो बिहे हुन्छ । पम्फाको दोस्रो बिहेमा नातागोता, आफन्त, दाजुभाइ, माइती अनि समाजका सबैले खुसी साटासाट गर्छन् । दोस्रो बिहेपछि पम्फाको यता माइतीघरसँग त्यति सम्पर्क हुन सक्दैन । माइती पक्ष पनि पम्फालाई लाहुरमा खुरुखुरु भेटन जान सकिन्न । पम्फाको दोस्रो वैवाहिक जीवन कसरी बितेको छ , कसैलाई थाहा हुँदैन । पम्फाले माइतीलाई सुनाउन सकिन या सुनाउन चाहिन । अन्त्यमा केही उपाय नदेखेर आफ्नो स्वार्थ लुट्ने सबै पुरुष जातिलाई अर्को जन्ममा बदला लिने गरी पम्फा यस धर्तीबाट सदाका लागि अस्ताइन् ।