१. दसैँको बाजे

ढाकामोहन बराल

खोरभरि खसी बोका छ्न् यो दशैंमा बेच्ने सुर छैन कार्कीबाको । कर्किनी आमालाई पिर पर्न थाल्यो ।

“हैन बुढा यो दशैँमा नबेचेको खसी अब दशैँपछि को किन्न आउँछ ।” कर्किनीआमा कराउन थालिन ।

“नकरा न हो बुढी दशैँको बाजे आउँदै छ मंसिरमा । दशैँमा त के भाउ आउँछ र त्यसबेला पो पैसा मुठ्याउन पाइन्छ । अहिले केही हतार छैन ।” कार्कीबाले भन्नुभयो ।

===

२. ममताको पट्टी

गएको बहत्तर घण्टा उहाँको लागि बाह्र वर्षजस्तो लाग्यो । न निद्रा छ न भोक नै छ । बरण्डामा आउने र भित्र पस्ने भइरहेछ । बेला बेलामा मोबाइल हेरिरहनु हुन्छ । “बाबु आमाले मतलब राखेका छैनन्, म बुढालाई मात्र के यस्तो छट्पटी हो ?” आफूलाई आफैंले प्रश्न गर्नुहुन्छ । छोराको कोठामा हेर्नु हुन्छ ल्यापटपमा व्यस्त छ । बुहारी फूलबारीमा टिकटक बनाउँदै छ्न् । मोबाइल बज्यो । दौड्दै गएर उठाउनु भयो । नातिको फोन रहेछ ।

“हजुरबुबा ल म अब त कलेजको होस्टेलमा आइपुगेँ । सबै कुरा ठिक छ । सजिलैसँग आइपुगियो ।” नातिले भन्यो ।

“कति बेला पुग्यौ ?” हजुरबाले सोध्नु भयो ।

“हिजै बेलुका हो त ड्याडीले भन्नु भएन र ?” नातिले भन्यो ।

“भन्दै छ होला । तिमीहरू अल्लारे छौ केही जान्दैनौ के गर्यौ भनेर पिर लाग्दो रहेछ ।” आफ्नै प्रयासमा अध्ययन गर्न अस्ट्रेलिया पुग्न सक्षम भइसकेको नातिमा पनि अझ विश्वास थिएन ममताको पट्टीले बाँधिएका हजुरबुबाको आँखामा ।