
“… फटाहाहरूलाई सत्ता लम्ब्याउने र जनता जिप्ट्याएर फेरि चुनाव जित्ने ध्याउन्न बाहेक अरूथोकको कुनै चिन्ता छैन । बजार भाउ यसरी बेलगाम हिनहिनाउँदै छचन्नाएको छ । किनिसक्नु छैन । हामीजस्ताले त नबाँचे नि भो अब !” पोकामा टाँसिएको मूल्य नियाल्दै ऋषिराम भुतभुताउँदै थिए महिला चिच्याएको आवाज आयो ।
“लौ न नि … ! वीरबहादुर दाइ ढले ।”

लोकनाथ पुडासैनी
“अहो ? लौ न के भो यिनलाई ? … पानी ल्याओ ल्याओ ।”, अर्को कुनामा रहेका उनी हुत्तिँदै पुगे । त्यहाँ दौडादौड र खैलाबैला मच्चियो ।
“छारेरोग हो कि क्या हो ? जुत्ता सुघाउँनु पर्यो ।” पैसा गन्दैगरेका साहु काउन्टरदेखि कराए ।
“के को छारेरोग ? दाल, चामलको भाउ भन्दिनु भो ! सुन्नेबित्तिकै पुर्लुक्कै ढले नि बिचरा !”
“खै, अलि पर पर बस । हावा नछेक । … वीरबहादुर दाइ ! ए वीरबहादुर दाइ ! के भो ? आँखा खोल त ! लाऊ, पानी खाऊ !” मिनरल वाटरको बोत्तल खोलेर उनको निधार र गालामा छम्कँदै ऋषिरामले झकझक्याए ।
“खै खै … !?” नभन्दै साहुजी जुत्ता खोल्दै आइपुगे ।
“वाइह्यात ! उता जानुस् ।” ऋषिरामले साहुलाई नमिठोसँग फड्कारे ।
“त्यै त । के भा’होला यो साहु !? पागल !” अर्का ग्राहक बोले ।
“… जुत्ता त अब कसले कसलाई सुघाउँछ हेर्दै जानु ।” वीरबहादुरलाई उठाउँदै ऋषिरामले हाँक दिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 








