“लालाबाला सबै बोकेर आइस् त बाबु ।” बुबाले भन्नु भयो ।

“अब सबै यतै बस्छ्न् म मात्र फर्कन्छु । के गर्ने जागिर छोड्न सकिएन हैन भने बेइमानहरुको सहरमा फर्कन मन नै छैन ।” छोराले भन्यो । सधैं शान्त र आनन्द देखिने छोराको कुराले बुबा अचम्म पर्नुभयो । बच्चाबच्ची रमाएर भित्र बाहिर गर्न थाले । बुहारी भित्र पसेर झोलाको सामान निकाल्न थालिन् । सानैदेखि मेहनत गर्ने छोराको सहरमा विदेशी प्रोजेक्टमा ठिकैको जागिर थियो । जीवन आनन्द पूर्ण नै थियो । हिउँदमा दुईचार महिना बुबा आमा पनि उतै जान्थे । आज अचानक छोरो फर्केको देखेर बुबा गहिरो सोचमा डुब्नु भयो ।

ढाकामोहन बराल

“भयो भो अहिले कुरा गर्दिन किन तनाव बढाउनु बिचाराको ।” मनमा कुरा खेलाउनु भयो । वल्लोखाट र पल्लोखाट बाबु र छोरा सुतेका छ्न् । आँखा चिम्लेर निदाएको अभिनय मात्र गर्छ्न् दुबैले । अर्को कोठामा सासु बुहारीको अवस्था त्यस्तै छ । बिहानी पख घडीमा नम्बे डिग्रीको कोण बनिसक्यो तर दुबैको आँखामा निद्रा छैन । सिरान छेउको करुवाबाट पानी खान बुबा र छोरा एकै पटक उठे ।

“के भयो बाबु केही भन्दैनस् । रात भर जागै छ्स् । तेरा पिरले म पनि निदाउन सकिन ।” बुबाले भन्नु भयो ।

“मेरो कमाई र यहाँको सिमलको रुखमुनिको खेत बेचेर जोडेको घर जाने भयो बुबा ।” छोराले भन्यो ।

बुबा उठेर बस्नु भयो । “के भएछ यस्तो ?” सोध्नु भयो ।

“के गर्नु बा ? छिमेकीले खोलो लुकाएका रहेछ्न्, थाहा भएन । अहिले खोलो उधिने । खोलाको मापदण्डले हाम्रो घर पनि जाने भयो ।” छोराले बतायो ।