सुनिल पोखरेल

… उसका ओठ कापिरहेका थिए । केही बोल्न खोज्थी तर बोली फुटिरहेको थिएन । शरीर पुरै पसिनाले भिजेको थियो । कपालका लाप्साहरू उस्तै बिग्रेकाले छरपस्ट थिए।

मध्यरातमा आफ्नी प्रेमिकाको येस्तो हालत देखेर कसको मन उद्देलित नहोला र मेरो मनमा ढ्याङ्रो बजाएजस्तो भयो । उसलाई अङ्गालो हालेर सोधेँ, ‘किन यस्ता ? के भयो ?
उसले केटाकेटीले जस्तै मलाई बेस्सरी कसेर अङ्गालो हाली र भनी, ‘हेर्नुस् न सपना म भैंसीले लगारेर झन्डै मारेको,धन्न तपाईं आएर बचाउनु भयो ।’

ऊ र म प्रेमी-प्रेमिका थियौँ ! एक अर्कालाइ उस्तै प्यार गर्थ्यौँ । ऊ सुदूर पूर्वकी र म पश्चिमको मान्छे तर मायाले न त ठाउँ हेर्दो रैछ न त जात नै । म बेला बेलामा उसको कोठामा जान्थेँ, ऊ एक्लै भएको बेला मिल्नासाथ । सङ्गै खाना खाइन्थ्यो तर सुत्ने बेलामा ऊसँगै सुत्न मन्दिनथी । मैले धेरैपटक कर गरेको पनि हो तर उसको हठ र प्रेमको अगाडि केही लागेन । एउटै कोठामा पनि हामी छुट्टाछुट्टै बिस्तारामा सुत्थ्यौँ ।

मैले उसको कपाल मिलाइदिएँ, पसिना पुछिदिएँ, ओठ र निधारमा चुम्मनको बर्सा नै गरिदिएँ । पानी पिलाएँ । यतिबेलासम्म ऊ मेरो काखमै थिई केटाकेटी जस्तै ! त्यो दिन उसले केही भनिन सङ्गै रात बितेछ । जिन्दगीमा कसैसँग प्रेमपूर्वक बिताएको पहिलो रात । आहा कस्तो उन्मादी ? कस्तो आनन्द ?

…..म त सपनामा पो रहेछु । ब्युँझदा ६ बजिसकेछ। ह्या, आज कलेज जाने कष्ट गर्दिन यस्तो मिठो सपना देखेको दिनमा नि को जाओस् कलेज ? फेरि सिरक ओढेर सुतेँ तर निन्द्रै परेन !