‘तिमीलाई यो पनि छ त्यो पनि छ । त्यसैले तिमी यहाँ पनि जाऊ त्यहाँ पनि जाऊ ।’

नन्दलाल आचार्य

डाक्टरको सल्लाहअनुसार ऊ अनेक ठाउँ पुग्यो ।

  • ऊ गङ्गालाल पुग्यो र मुटु देखायो ।
  • ऊ भरतपुर पुग्यो र क्यान्सर जँचायो ।
  • ऊ फलानो ठाउँ पुग्यो र चिलानो देखायो ।
  • ऊ चिलानो ठाउँ पुग्यो र फलानो देखायो ।

अन्त्यमा नङ्गटराम बन्यो र आफूसँगै परिवार जनलाई सडकछाप बनायो ।

अचल सम्पत्ति साहूको नाममा दर्ता गरेकै क्षण उसको बिमार डब्लियो ।

यस ठाउँमा अनुहार देखाउँदिन भन्दै परिवारजन लिएर अज्ञातयात्रामा निस्कियो ।

केही वर्षमै गाउँलेहरूले उसलाई मरिसकेको अनुमान गरे । उसको परिवार बिचल्ली परेको ठोकुवा गरे ।

एकदिन ससुराली जाँदा मैले उसलाई हृष्टपुप्ट भेटेँ । सर्माउँदै अनेक प्रश्न तेर्स्याएँ । उसले दिनहुँ बिहानबेलुका दुई दुई घण्टा अस्पताल जाने गरेको बतायो । त्यसबेलासम्म मसमेत रोगको भकारी बनिसकेको थिएँ । मैले पनि पिछलग्गु बन्ने इरादाले उसलाई पछ्याएँ ।

ऊ केको अस्पताल जान्थ्यो ! योगग्राम धाउँदो रहेछ र योग गरेर फर्कँदो रहेछ ।

मैले आश्चर्य प्रकट गर्दा योगग्राम भवन देखाउँदै उसले भनेको थियो, ‘आमाको कोखबाट पहिलोचोटि जन्मेँ । दोस्रोचोटि यसै अस्पतालबाट जन्मिरहेछु ।’