टिचिङ्ग अस्पताल जानु थियो, शान्तिलाई ।

घरको काम मिलिक्कै सकेर जादूगर जसरी रोडमा पुगिन् । रोड ठप्प थियो, अस्पताल जाने रनाहामा समाचार सुन्ने फुर्सदै नै भएन । ट्वाल्ल पर्दै चकमन्न सडकमा आँखा ओछ्याएर बन्दको असर नियाल्दै थिइन् । मोटरसाइकलको हर्नले शान्तिको समािध टुट्यो ।

“हेल्लो म्याम, निकै चिन्तामा हुनुहुन्छ। अत्यावश्यक कामका लागि जान लाग्नुभएको जस्तो छ । मसँग पास छ, हजुरलाई गन्तव्यसम्म छोडिदिन्छु नि ।”

अनिता काेइराला

हेलमेट खोलेर चिनेको मान्छे जसरी मीठो मुस्कान छोड्यो बाइकवालाले । निकै सभ्य परिवारको संस्कारी छोरोजस्तो देखिने बाहिरी आवरण थियो । बोली उस्तै मीठो।

शान्तिलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो । मक्ख पदै बाइकवालाको अनुहार नियालेर बोलिन्, “टिचिङ्ग अस्पताल जाने बाबु, बरू तपाईं कतासम्म हो ? ”

“लौ कस्तो संजोग ! म पनि सहिद गंगालाल हृदयरोग केन्द्र जान लागेको । हजुरलाई अस्पताल छोडेर म जाउँला । आरामले बस्नुस्, केही अफ्ठ्यारो मान्नु पर्दन ।”

युवकको बाइकमा बसेर शान्ति सोच्न लागी – कान्छोकै उमेरको रहेछ, सहरमा पनि यस्ता संस्कारी युवापुस्ता अझै रहेछन् । बाआमाले कस्तो चाहिँ संस्कार दिएका होलान् ? मेरै सन्तानहरूले यसरी नचिनेको मान्छेलाई तुकनसुरले सहयोग गर्लान् ? त्यो पनि सहयोग नै नमागी ।

“म्याम, हजुर कहाँ जब गर्नुहुन्छ ?”

“शिक्षक थिएँ बाबु, अहिले अवकाश प्राप्त भएँ ।”

“हँ… हजुर अवकाश प्राप्त ? होइन होला ?

“चाँडै अवकाश लिनुभयो होला । हजुरलाई हेर्दा त त्यस्तो लाग्दैन त । जीवनलाई निकै सन्तुलनमा राख्नुभएको रहेछ । परिवारमा को को हुनुहुन्छ नि ?”

“छोराछोरी बाहिरै छन् बाबु, म पनि भर्खरै अमेरिकाबाट आएको । श्रीमान् कान्छी छोरीको दीक्षान्त समारोहका लागि क्यानडा जानुभएको छ ।”

“तपाईंलाई त केही रोग छ जस्तो पनि लाग्दैन । अस्पतालमा कसैलाई भेट्न जान लाग्नुभएको ?”

“आफैंलाई हो । अलि सन्चो भएन । त्यहाँ दिदीको छोरा डाक्टर छ त्यही भएर, यसो सल्लाह लिन जान लागेको।”

कुरा गर्दागर्दै अस्पतालको गेट आयो बाइक टक्क रोक्कियो ।

“बाबु, धेरैधेरै धन्यवाद ! यस्तो अफठ्यारो अवस्थामा यहाँसम्म ल्याइदिनु भयो । मलाई त आफ्नै कान्छो छोरोजस्तै लाग्यो ।”

बाइकवाला युवकको अनुहार अँध्यारो भयो । शान्तिको कान नजिकै आएर फुस्फुसायो, “कान्छो छोरो नभन्नु न साह्रै चित्त दुख्यो । श्रीमान् जस्तो भने हुँदैन, बरू भरे पनि लिन आउँछु । यी यो कार्ड राख्नु, फोन गर्नु होला ।”

शान्ति खङ्ग्रङ्ग भइन् । विश्वास खरानी भयो ।