असोज १ ! विश्वकर्मा पूजाको तयारीका लागि अघिल्लो दिनदेखि सरसफाई ध्वजा पतका टाङ्ने र कारखाना पसिर सजाउने कार्य गरियो । विभिन्न प्रकारका मिठाइ, नरिवल, धूप, दीप, नैवेदादिको प्रबन्ध मिलाइयो । पण्डितले सबेरै विधिपूर्वक पूजा आरम्भ गरे । कारखाना मेनेजर कर्ता बसे । मण्डपको पूजा कर्म सकिएपछि त्यहाँ रहेका मेसिन तथा औजारहरूमा फूल अक्षता चढाइए, ढोगे । आआफ्ना साइकल, मोटर साइकल र कारमा पनि रङ्गीचङ्गी ध्वजा बाँधे, सिँगारे अनि प्रसादी ग्रहण गरे । कतिले आफ्ना बालबच्चा सम्झिए अनि झोलामा राखे ।
कारखानाको मेसिन अपरेटर मध्य एक थिए सन्तबहादुर ! त्यसदिन उनी बिहानैदेखि ढोकामा उभिएर साथीहरूले पूजा गरेको हेरिरहेका थिए । अरूले प्रसादी ग्रहण गरिसकेपछि बल्ल मेनेजरले उनलाई अक्षता र फलफूलको पोको अघि सारिदिए । तर उनले वास्ता गरेनन् ।
“यिनलाई किन प्रसादी नदिनु भएको ? अघि फूल अक्षता चढाउने बेलामा पनि मण्डपमा बोलाइएन । किन सर ?” पहिलोपटक सहभागी मैले सोधेँ ।
“ए …, तिनी ? तिनी त विक हुन् ! त्यसैले फलफूल खान दिएको ! तर नहुने रे ! मण्डपमै बसेर पूजा गर्न पाउनु पर्ने रे ! कस्तो जमाना आयो हेर्नु त ?”
“सर ! हामी पनि त जमाना अनुसार चल्न पर्यो नि ! काम लिँदा भित्र, पूजा गर्दा बाहिर ? सिङ्गो मानव सभ्यतालाई होच्याएर हजुर हामीले यस्तो व्यवहार गर्न पनि त भएन नि !”
“आ …, एकाउन्टेन सर पनि ! पूजा आजा जस्तो पवित्र कार्यमा जानाजान छोइछाइ गर्न मिल्छ त ?”
“त्यसो भए सर, आज यहाँ हजुरले कसको पूजा गर्दै हुनुहुन्छ ?” मैले फ्याट्टै सोधेँ । उनी यत्रो आँखा पारेर अफिसभित्र छिरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।