
चियाबारीमा चियापत्ती टिप्दा-टिप्दै रक्तचाप बढेर अन्तरीलाई दिनभरि साह्रो परिरहन्छ । साथीहरूले घरमा गएर आराम गर भन्दा पनि अन्तरीले सकी नसकी पत्ती टिपिरहन्छे ।
तौलाइबाट घर फर्किँदा बाटामा नै घाँस काटेर ल्याउँछे । अन्तरीको स्वास्थ्य ठिक नभएको पनि धेरै दिन भइसक्यो । बेलुकी घरमा आएर पनि ऊ चुपचाप काम गरिरहन्छे । साथीभाइ र छिमेकीहरूले उसलाई डाक्टर देखाउने सल्लाह दिँदा पनि ऊ चुप लागेर बसिरहन्छे ।

इगम खालिङ (दार्जीलिङ)
दशैँ आउनै लाग्यो तर चियाबारीको मालिकले वेतन नदिएको दुई-तीन महिना भइसक्यो । बोनस झन् सोच्नै सकेको छैन । साँझमा बारीबाट सिमी र इसकुसका मुन्टा टिपेर लिएर तरकारी बनाउनलाई केलाउँदै थिई कि छोरा ट्युसनबाट आइपुग्छ । बिहान मकै भुटेर पानी-कागतको धोक्रीमा बन्द गरेर राखेकी थिई त्यही झिकेर चिनीको चियासित छोरालाई दिन्छे ।
चियासित भुटेको मकै खाएर छोरा स्कुलको गृहकार्य गर्न थाल्छ । अन्तरी पनि अगेनामा आगो सल्काएर पानी तताउन थाल्छे । एकछिनपछि गाईलाई घाँस हाल्न गोठतिर लाग्छे । गोठमा गएर गाईलाई घाँस हालीकन गोबर सोरिरहेको बेला छोराले उसलाई सोध्छ, “आमा ! मलाई मोबाइल फोन कहिले किनुदिनुहुन्छ ?”
छोराको प्रश्न सुनेर अन्तरी एकछिन रोकिन्छे, त्यसपछि छोरालाई इशारा गर्दै भन्छे, “ किनिदिउँला, जा अहिले पढ्दै गर !” छोरा खुसी हुँदै त्यहाँबाट निस्कन्छ । तर अन्तरीलाई भने टाउको झिनिनि भएर रिङ्गटा लागेर आउँछ । उसले गाईको छेउको बाँसको मूलखाँबालाई च्याप्प समात्छे । अलिक सञ्चो भएपछि घाँस चबाउँदै गरेको गाईलाई बिस्तारीसित मुसार्दै पिलपिल आँसु झार्छे ।
केही बेरपछि पल्लो घरको साइँली आएर उसलाई खबर सुनाउँछे, “अन्तरी ! भोलि गेट मिटिङका निम्ति चिया फ्याक्ट्री जानु हरे हैँ । मिडिया पनि आउँछ हरे ।”
साइँलीले दिएको खबर सुनेर उसलाई गाईको माया झन् लागेर आउँछ । उसको आँखामा आँसु देखेर छोराले किन त्यसरी रोएकी भनेर सोद्दा ऊ झन् रोई पठाउँछे । छोरा पनि आँसुसरि हुन्छ ।
राति निदाउने बेलामा छोराले भन्छ, “आमा ! होस्, मलाई मोबाइल फोन किनिदिनु पर्दैन ल ! म ठूलो भएर मात्र फोन चलाउँछु ।”
भोलिबिहान अन्तरी सकीनसकी पलङबाट उठ्छे तर गेट मिटिङका निम्ति फ्याक्ट्री जान सक्दिन । दिउसो साइँली आएर चियाबारीका प्रबन्धकहरू फ्याक्ट्रीमा ताल्चा लगाएर भागेका कुरा सुनाउँछे । त्यसपछि बन्द चियाबारी र आफ्नो श्रीमान्लाई सम्झिल्याउँदा धेरैपल्ट उसको मुटुमा सास थुनिएझैँ हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

