सरस पाण्डे

म हरेक दिन एक लिटर दूध लिएर प्रकाश बाको घर जान्छु । उहाँको छोराले मलाई हरेक महिना दूधको पैसा खातामा हालिदिन्छन् । बाले कहिले दूध लिनुहुन्छ । कहिले फिर्ता गर्नुहुन्छ । महिना मरेपछि छोराले पठाएको पैसाबाट कति फिर्ता आयो भन्दै प्रकाशबा मेरो पसलमा आउनुहुन्छ र दूध नराखेको दिन हिसाब गरेर पैसा लानुहुन्छ ।

बाले अचेल धेरै भयो दूध राख्न मान्नु भएको छैन । घरमा एक्लै हुनुहुन्छ । म आज त जसरी दूध राखेर आउॅंछु भन्दै भर्याङ उक्लिँदै थिएँ । बा एक्लै फत्फताइरहेको सुनेर एकछिन ढोका बाहिर बसेँ । ‘घरमा एक्लै छु । हिजोआज त जिउ पनि साह्रै गल्छ । किन नगलोस्, तीन बिस पार गरिसकेँ । शरीरभित्र रोगको भकारी भरिएको छ । सावित्री हुँदा दिन कटेको पत्तो हुँदैनथ्यो । यो एक्लोपनले पनि मलाई गाह्रो बनाउँदैछ । धेरै बाँच्दिनँ कि के हो । छोरी कहिलेकाहीँ आउँथी त्यो पनि पोहोर साल अमेरिका उडी । घरको बहाल त्यत्रो आउँछ । अब त बैंकमा पैसा राख्नसमेत जान नसक्ने भएँ ।’

‘हजुरलाई एक्लै छाडेर जान्न बा ! विदेशमा धेरै गाह्रो हुन्छ । भन्नेबित्तिकै हजुरलाई लान पनि त मिल्दैन । सुगर, प्रेसरको रोगी हुनुहुन्छ । काठमाडौँमै छौँ क्यारे, मेरो जागिर छँदैछ । म हजुरलाई सुखले पाल्छु बा । मलाई विदेश जानै मन छैन । म नेपालमै बस्छु । छोरोले यसो भन्दाभन्दै पनि जिद्दी गरेर पठाएँ ।

सबैका छोराछोरी विदेश गएर पैसा पठाएको देख्दा आफूलाई पनि लोभ लाग्यो । तर पैसाले धाराको पानी थापेर दिॅंदो रहेनछ । न त अस्पताल गएर औषधि नै किनेर ल्याउॅंदोरहेछ ।पैसा पैसा भन्दा आज यो गति भयो मेरो । पैसाभन्दा ठूलो परिवार हुँदो रहेछ । मर्ने बेलामा थाहा भएर के गर्नु । सावित्री मेरो काखमै अस्ताइ, बरु उसले सुख पाई । एउटा भएको छोरोलाई पैसाको लोभमा विदेश पठाउने मै मूर्ख हूँ । ओछ्यानमै पर्ने भएँ । उफ्….. कसको फोन आयो । मोबाइल समाउने हुती पनि छैन । छोरो पो रहेछ । ‘हेलो ! हेलो ! विधान तँ कैले आउँछस् ?’
‘बा मैले त बिहे गरेँ नि ! हजुरलाई ल्याउने वातावरण नै मिलेन । थाहा छ बा ! हजुरकी बुहारीले महिनाको नेपाली पाँच लाख कमाउँछिन् । नेपाल आएपछि बिहेको भव्य पार्टी गर्नुपर्छ ल । घरमा काम गर्ने मान्छे राख्नुस् भन्दा मान्नुहुन्न । मिलेसम्म यो दशैँमा हामी घर आउँछौँ । त्यसपछि माने मान्नुस् नमाने नमान्नुस् काम गर्ने मान्छे राखेरै फर्किन्छौँ ।’

बाको हातबाट मोबाइल खस्छ । उहाँ सोफाबाट पुर्लुक्क भुइॅंमा खस्नुहुन्छ । मोबाइल एकोहोरो बोलिरहन्छ । ठूलो स्वरमा ‘बा ! बा !’ भनेको आवाज बाहिर आउॅंछ । म हेरेको हेर्यै हुन्छु ।